Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मैले रामचन्द्रलाई कारबाही गरे के हुन्छ ? : जाेशी,कम्युनिस्टबाहेक सबै शक्ति हामीसँग छन् : पौडेल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक १९ आइतबार
newsabhiyan
newsabhiyan

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएर चुनावी प्रचारमा व्यस्त छन् ।

टिकट बाँडफाँटमै धेरै कसरत गर्नुपर्दा बिहीबार ढिला गरी उम्मेदवारी दर्ता गराएर चुनावी प्रचार थालेका पौडेललाई हाइसञ्चो भने अझै छैन किनभने एक आफूले चुनाव जित्नुछ, अर्काे कांग्रेसलाई देशभरबाट माथि उठाउनु पनि छ । आसन्न निर्वाचन र कांग्रेसको अवस्थाको विषयमा कुराकानी :

बिहीबार देशभर उत्साहपूर्ण तरिकाले मनोनयन दर्ता सम्पन्न भएको छ । तपाईंले यसलाई कसरी मूल्यांकन गर्नुभएको छ ?

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि देशमा पहिलो आम निर्वाचन हुँदैछ । प्रदेश तथा प्रतिनिधि सभाको चुनाव एकसाथ हुन लागिरहेको छ । अब यसले नेपाललाई नयाँ बाटोमा लैजाने छ । अहिलेसम्म जुन अन्योल थियो ।

त्यो अन्योललाई हटाएर शान्ति सुव्यवस्था कायम गराएर देशलाई स्थिर, प्रगतिको बाटोमा लैजाने काम यो निर्वाचनले गर्नेछ । यो निर्वाचन अत्यन्त महत्वपूर्ण घडीमा भइरहेको छ । यो निर्वाचन देशमा लोकतन्त्र राख्ने कि निरंकुशतातिर जाने भन्ने बीचमा पनि लडाइँ हो । र हामी लोकतन्त्रका पक्षमा ७० वर्षदेखि लड्दै आएका छौं र लोकतन्त्रलाई बचाईं राख्नेछौं । लोकतान्त्रिक समाजवादको माध्यमले नेपालको प्रगति गर्छाैं । नेपाली जनताको उन्नति हुन्छ । नेपाली जनतलाई शान्ति, सुख र समृद्धि दिन हामी आतुर छौं ।

नेपाली कांग्रेस अहिले कठिन अवस्थामा छ नि, दुई वाम शक्ति एकताबद्ध भएका छन् । यो बेला चुनावमा जानु त कांग्रेसका लागि बहुत चुनौतीपूर्ण होइन ?

लोकतन्त्रलाई पछाडि धकेल्न चाहने तत्वहरुले फेरि पनि नयाँ किसिमको चहलपहल गरेको देखिन्छ । यसबाट हामी लोकतन्त्रवादीहरु बिचलित हुँदैनौं ।

हामी नेपाली जनतामा विश्वास गर्छाैं, नेपाली जनता लोकतन्त्रमा विश्वास गर्छ । र नेपाली जनताले लोकतन्त्रको अहित हुन दिने छैनन् । लोकतन्त्रलाई अब फेरि पछाडि धकेल्ने प्रयत्न सफल हुन दिने छैनन् । त्यसैले हामी निश्चिन्त छौं ।

हामी लोकतन्त्रवादी भन्नुभयो । हामीमा कोको रह्यो र अब ? राप्रपा तपाईंहरुसँग असन्तुष्ट भएर अन्तै जान लाग्यो । लोकतान्त्रिक गठबन्धन त बनेन त ?

नेपाली कांग्रेसको सदस्यको नाताले र नेपाली कांग्रेसलाई माया गर्ने, कम्युनिस्ट एकतामा नजाने सबै शक्तिहरु हामी हौं ।

मधेसवादी दलसँग नि तपाईंहरुको एकता हुन सकेन ?

होइन, यो सिट बाँडफाँडको कुरा भयो अनि व्यवहारिकता अलि मिलेको छैन । तर हामी लोकतन्त्रको रक्षाका लागि एक छौं ।  वाम गठबन्धन भएपछि कांग्रेस अब एक भयो ।

कांग्रेसबाहिरका घर फर्किए अब कांग्रेस पनि बलियो हुन्छ भन्ने थियो । तर टिकट वितरण  असन्तुष्टि देखाउने धेरै गए र बागी उम्मेदवार नै खडा भए नि ?

पार्टीका यस्ता सानातिना घटना घटिरहन्छन् । सबैको चित्त बुझाउन सकिँदैन । तर, नेपाली कांग्रेस मूल रुपमा एक छ र यो चुनावमा कांग्रेसले जित हाँसिल गर्नेछ ।

कांग्रेसको सदस्य नै भएर बागी उठ्नेहरुलाई के गर्नुहुन्छ त ?

सदस्यता नै खारेज हुन्छ । स्वतः पार्टीबाट निस्कासित हुन्छ ।

तनहुँको अन्य दलसँगको प्रतिस्पर्धालाई कसरी हेर्नुभएको छ ?

तनहुँमा हामीलाई अफ्ठ्यारो छैन । किनभने हामी सजिलै चुनाव जित्छौं । जहिले पनि तनहुँमा नेपाली कांग्रेसले जित्दै आएको छ । हामी जित्छौं ।

यही कांग्रेस अनुकुल नतिजा आएन भने चुनावपछिको कांग्रेस कहाँनेर होला ?

कांग्रेस अरु सुव्यवस्थित हुनेछ । झन् विकासवादी हुनेछ । जनताको पक्षमा जनमुखी हुनेछ । चुनावपछि कांग्रेस एककृत हुनेछ ।

अन्त्यमा, नेपाली जनतालाई चुनावको मुखमा तपाईंको सन्देश के हो ?

नेपाली जनतालाई सन्देश एउटै छ । देश ७० वर्षदेखि एउटा अन्योलमा फस्यो । त्यसको कारण देशको विकास हुन पाएको छैन । देशलाई राजनीतिक स्थिरता दिएर उन्नतिका लागि अगाडि बढ्ने हो । समृद्धिको बाटोमा हिँड्ने हो ।

 

खारेजीमा पर्नुअघि जाेशीकाे अन्तर्वार्ताः  मैले रामचन्द्रलाई कारबाही गरे के हुन्छ ?

 

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलकाविरुद्ध कांग्रेस नेता गोविन्दराज जोशीले उम्मेदवारी दर्ता गरेपछि पौडेललाई मात्रै होइन सिंगो नेपाली कांग्रेसलाई नै झड्का दिएको थियाे ।

त्यसाे त चुनावमा सँगै नभए पनि यी दुई नेता तनहुँका परिचित प्रतिद्वन्द्वी हुन् । तनहुँमा सबैभन्दा ठूलो गुट नै पौडेल–जोशीका बीच । सबै कार्यकर्ता यही दुई गुटमा विभक्त छन् । तनहुँबाट एकअर्कालाई सिध्याउने खेलमा कांग्रेसका यी दुई नेता सधैं प्रतिस्पर्धी भए ।

पूर्व शिक्षा र गृहमन्त्रीसमेत बनेका जोशी भ्रष्टाचारको अभियोग लागेपछि केन्द्रीय राजनीतिभन्दा बाहिर परेका छन् । कांग्रेसभित्रैको यो लडाईंले चुनावी नतिजा कस्तो निकाल्ला ? स्वतन्त्र भन्दै कांग्रेस भित्रैबाट यो बागी उम्मेदवारी किन त ? यसैको वरिपरी रहेर जोशीसँग गरेको  कुराकानी :

केन्द्रीय पार्टी कमिटीले त रामचन्द्र पौडेललाई टिकट दिएर चुनाव लड्न पठायो । तपाईंले चाहिँ किन उम्मेदवारी दर्ता दिनुभएको ?
नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ को भेलाले मलाई आधिकारिक उम्मेदवारको रुपमा प्रस्तुत गरेको छ । वास्तवमै नेपाली कांग्रेसको मै आधिकारिक उम्मेदवार हुँ । चुनाव कानुनी कुरा होइन राजनीतिक कुरा हो ।

त्यसकारण प्राविधिक कारणले कसैले उम्मेदवारको टिकट ल्याउला तर यो क्षेत्रको मै आधिकारिकता उम्मोदवार हुँ । मलाई क्षेत्र नम्बर एक कार्यकर्ताले तपाईंका विरुद्ध कोही उठ्यो भने त्यसलाई हामी सहयोग गर्दैनौं भनेका छन् । त्यो पनि ८-१० हजार कार्यकर्ताले ।

अर्को, जंगबहादुर राणले बोलेसी कानुन हुन्थ्यो तर उसलाई शासन गर्न ऐनकानुन चाहिन्छ भन्ने लागेर मुलुकी ऐन बनायो । अहिलेको हाम्रो केन्द्रीय कमिटीले आफैं बनाएको विधान पनि कुल्चिएर टिकट बाँड्ने काम भएको छ । जुन अवैधानिक छ । २-४ जना बसेर निर्णय गरेर बसालिएको अहिले पद्दतिकाविरुद्ध मेरो उम्मेदवारी हो । अहिले पार्टीले टिकट दिँदा भागबन्डाको आधारमा दिइएको छ, इमान्दार कार्यकर्तामाथि अन्याय गरिएको छ । देशभर टिकट किनबेच भएको छ । यस्तो वेथितिकाविरुध्द मैले उम्मेदवारी दिएको हुँ ।

मेराबारेमा विभिन्न भ्रम सिर्जना गरियो । जुन समानुपातिक दिने भन्ने कुरा थियो भनेर भ्रम फैलाइयो त्यो पनि भ्रम नै छरिएको हो । पार्टीका नेताले मिलाउनै चाहदैनथे । मलाई टिकट दिनै चाहँदैनथे । मलाई भनिएको चाहिँ के थियो भने, तलाईं समानुपातिकमा १० नम्बरभित्र पारिदिन्छु भनेका हुन् ।

अब मलाई १० नम्बरमा पार्छु भन्नुको मतलब के हो तपाईं आफै बुझ्नुहोस् । अनि मलाई अर्को क्षेत्रमा जाउ पनि त भन्न सकिन्थ्यो नि तर भनिएन ? किन भनिएन भने मलाई षडयन्त्रपूर्वक फसाउने तरिका अपनाइयो । मेरो उम्मेदवारी त्यसकैविरुद्ध हो ।

तपाईंले उम्मेदवारी दर्ता त गराउनु भयो तर फिर्ता गर्नुभएन भने साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्ने भनेका छन् त ? तपाईं के गर्नुहुन्छ ?
तनहुँको कांग्रेस मसँग छ । उनीहरुले त अस्ती मैले टिकट माग्दा खेरी नै खेद व्यक्त गरेका हुन् नि । यहाँ एउटा षडयन्त्रकारी जत्था, जसले मलाई कारवाही गर्नु भन्न सक्छ । मेरा कार्यकर्तालाई कारवाही गर्छु भन्न सक्छ, अनेकौं दुख दिन सक्छ । जे भनोस्, म यहाँको कार्यकर्ताको साथमा देशभरको भावनालाई समेट्नै म डटेर चुनाव लड्छु, उम्मेदवारी फिर्ता गर्दिनँ ।

हिजो रामचन्द्र पौडेलकै विरुद्ध उठेका व्यक्तिलाई आज उनैले टिकट दिएका छन् । उनैले टाउकोमा बोकेर हिँडेका छन् । कांग्रेसको कारबाही त यही न रहेछ । क्षेत्र नम्बर १ को समिति मसँग छ यही कसैले कारबाही गर्छु भन्छ भने मैले पनि निकालिदिए हुन्छ नि रामचन्द्र पौडेललाई । म पनि रामचन्द्र पौडेललाई साधारण सदस्यबाट निकालि दिन सक्छु, किन भने १ नम्बरको क्षेत्रीय समिति मसँग छ, त्यहाँका पदाधिकारी मेरा हातमा छन् । के मैले निकालिदिउँ रामचन्द्र पौडेललाई ? तर त्यो काम राजनीतिक कुरा होइन । म त्यसो गर्न चाहन्न तर उनीहरु त जे पनि बोल्छन् जे पनि गर्छन् ।

गोविन्दराज जोशि र रामचन्द्र पौडेलबीच एकअर्कालाई सिध्याउने खेलकै परिणाम हो, अहिलेको यो अवस्था भन्ने चर्चा छ । आफूले जित्छु भन्नुभन्दा पनि रामचन्द्रलाई हराउँछु भनेर उम्मेदवारी दिनुभयो भन्ने आरोप छ नि तपाईंलाई ?
मैले उम्मेदवारी जित्नै भनेर दिएको हुँ । किनकी हिँजोहिँजो पनि जितेकै व्यक्ति हुँ । तर, चुनावी प्रतिस्पर्धा नै मेरो र एमालेबीच हुन्छ । रामचन्द्रजीसँग हुँदैन ।

उहाँलाई त म सजिलै हराउँछु । तपाईं आफैं गएर १ नम्बरमा बुझ्नु भयो भने उहाँको जनमत छैन थाहा पाउनुहुन्छ । अनि २६ वर्ष मन्त्री भएर उहाँले केही गर्नुभएन भन्छन् मान्छेहरु, मैले भनेको होइन । हामी राजनीतिकर्मी बाँच्ने भनेको कार्यकर्ताको मायाममताले हो, त्यहाँ उहाँले पाउने माया ममता नै छैन अब कसरी बाँच्नुहोला । त्यहाँ हजारौं कार्यकर्ताले तपाईं उठ्नुपर्छ भनेपछि मैले जान मिल्छ ? तलाई आफैं भन्नुहोस् न । त्यसैले ममाथि जे होला मेरा साथीहरु सहन तयारछन्, म तयार छु ।

रामचन्द्र पौडेल पनि कांग्रेसका वरिष्ठ नेता हुनुहुन्छ । उहाँको पनि जनमत त पक्कै होला । तर तपाईंहरुको इगोको लडाईंले अर्को पार्टीलाई फाइदा पुग्यो भने त्यहाँ तपाईंहरुले जितेको मान्ने कि कांग्रेसले हारेको ?
सुन्नुस् न, २०४८ सालमा २ नम्बर क्षेत्रबाट सिफारिस भएको हुँ । उहाँले मलाई ३ नम्बर क्षेत्रमा पठाउनु भयो र २०५१ सालमा मलाई नसोधि १ नम्बर क्षेत्रमा पठाउनुभयो । पोहोर साल मलाई समानुपातिकसम्म दिनुभएन । यो राजनीतिक भएन नि । यो जिल्लामा २०२५ सालदेखि नेपाली कांग्रेसको नेतृत्व मैले गरेको हुँ । कांग्रेसको संगठन मैले बनाएको हुँ ।

पोहोर समानुपातिकसम्म नदिने, अहिले पनि त्यस्तै । ल मानौं १ नम्बर भएन ल २ नम्बरमा टिकट दिएको भए के हुन्थ्यो ? अथवा अरु जिल्लामा पनि म जान सक्थें । समानुपातिकमा पनि मलाई १ दिन के बिग्रन्थ्यो । त्यसकारण उहाँको मप्रतिको दृष्टिकोण त तनहुँका सबैलाई थाहा छ । तर, यसपटक म आफैं जित्ने हो मेरो सम्भावना पनि छ । जुन जनलहर मसँग छ त्यसले मलाई जिताउँछ ।

तपाईं र नेता रामचन्द्र पौडेलबीचको गुट तनहुँमा सधैं चर्चामै रह्यो तर तपाईंमाथि लागेको भ्रष्टाचारको अभियोगको देशभर चर्चा छ ? अभियोग विचारधीन अवस्थामै रहँदा कसरी भोट माग्नुहुन्छ ?
यस विषयमा म बोल्दिन्, यससँग सम्बन्धित मलाई केही नसोध्नुस् । अदालतप्रति म बोल्निनँ ।

मतदाताले जवाफ खोजे के भन्नुहुन्छ नि ?
होइन यो विषयमा म बोल्दिनँ । अरु कुरा गरौं ।

ल ठिकै छ, १ नम्बर क्षेत्रका मतदाताले के विश्वास र के हाधारले तपाईंलाई भोट हाल्छन्जस्तो लाग्छ ?
एक त त्यहाँका मान्छेहरु अभिभावकविहीन भएका छन् । उनीहरुले अहिले त्यो महसुस गरिरहेका छन् । म अभिभावकत्व दिन्छु ।

दोस्रो, उनीहरुलाई के विश्वास छ भने गोविन्दराज जोशी भइदियो भने हाम्रो यहाँका आवश्यकता पूरा गर्न अत्यन्त सहयोग पुग्यो भन्ने उनीहरुलाई लागिरहेको छ । म सहयोगी पनि छु । के ठूलो कुरा छ तनहुँमा । एउटा, हस्पिटल छैन, एउटा स्तरीय सरकारी कलेज छैन । त्यसकारण मैले यहाँको आवश्यकता बुझेको छु । र त्यहाँका मान्छेले पनि गोविन्दराज जोशीले काम गर्छ भन्ने बुझेका छन् । राष्ट्रिय राजनीतिमा अहिले तनहुँको उपस्थिति छैन । जब म यहाँबाट हटें । मसित यो जिल्ला र देशकै विकास गर्न सक्ने योजना छ ।

 न्यूज अभियानका लागि समाधान दैनिक/अमृत सुवेदी 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan