Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नतिजा आएकै दिनदेखि एमालेलाई गाली गर्दै बाहिरिन्छन र भोलि हामीसँग टाँसिनुपर्छ : डा. नारायण खड्का

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २२ बुधबार
newsabhiyan
newsabhiyan

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले मंसिर १० र २१ गतेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मतपरिणा सार्वजनिक हुन थालेको दिनदेखि नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमल दाहाल प्रचण्डले एमालेलाई गाली गर्न सुरु गर्ने र आफूहरुसँग टाँसिन आउने भविष्यवाणी गरेका छन् । उदयपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेद्धवार समेत रहेका नेता खड्का चुनावी प्रचारप्रसार सामाग्री तयार पार्न र पार्टी नेतृत्वसँग केही महत्वपूर्ण राजनीतिक भेटघाटको लागि काठमाडौं आएका छन् । यही मौकामा वाम गबठन्धन, निर्वाचनमा कसको अवस्था कस्तो ? कांग्रेसको चुनावी तयारी र ल्याउन सक्ने नतिजा र समसामयिक विषमा केन्द्रित रहेर  गरेको कुराकानीको सम्पादित अंश :


लोकतान्त्रिक गठबन्धनको चुनावी तयारी कस्तो छ ?

चुनावी तयारीको कुरा गर्नुहुन्छ भने हाम्रो त गठबन्धन भन्दापनि सिटको सामान्य तालमेलमात्रै हो । कम्युनिष्ट गठबन्धनजस्तो हाम्रो कुनै गठबन्धन होईन । जित्ने संभावना भएका साथीहरुलाई हामीले छोडिदिएको मात्रै हो । जस्तो महोत्तरीमा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई हामीले सघाउने, सुनसरीमा संघीय समाजवादी फोरम नेपालका बरिष्ठ नेता अशोक राईजीलाई, चितवनमा राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेजीलाई र धनकुटामा सुनिल बहादुर थापालाई, मकवानपुरमा राप्रपा अध्यक्ष कमल थापालाई र सिन्धुपाल्चोकमा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबरालाई सघाउने भएका छौं । यो हाम्रो चुनावी सहकार्यमात्रै हो । गठबन्धनभन्दा पनि यो हाम्रो “लुज एलायन्स” मात्रै हो । वाम गठबन्धन भन्नुभन्दापनि म यसलाई कम्युनिष्टहरुको एलायन्स भन्छु । बाम भनेको लेफ्ट हो । हामी पनि लेफ्ट हौं । कांग्रेस पनि प्रगतिशील समाजवादी भएकोले हामीलाई पनि लेफ्ट नै भन्छन् । अरुहरुले हामीलाई पनि वाम नै भन्छन् । कम्युनिष्ट गठबन्धनको कारणले जुन एउटा खतरा हुन सक्छ भन्ने आशंका वा भयको कारणले हाम्रो साथीहरुले अब गैरकांग्रेसीहरुलाई भोट चाहीँ हाल्छन् । स्थानीय तहकोजस्तो चाहीँ हुँदैन् । त्यसैले चुनावी तयारी कस्तो छ भन्दापनि हामी करिब करिब आफ्नै स्टे«न्थको आधारमा चुनाव लडिरहेका छौं । आफ्नै बलबुतोमा चुनाव लड्दैछौं ।

एमाले र माओवादी केन्द्रको गठबन्धन कति लामो समय जाला त ?

मैले धेरै पहिल्यै नै यसबारेमा बोलिसकेको छु कि यो गठबन्धन चुनाव सम्पन्न भएको केही दिनभित्रै भत्किन्छ । अहिले नै यीनीहरुवीच समस्या आईसकेको छ । एमाले र माओवादी केन्द्रवीच अन्तरकलह सुरु हुनुको अर्को कारण भनेको अंकगणित पनि प्रधान कारण हो । जस्तो उनीहरुले ६० र ४० को जो भागबण्डा लगाए, यसमा नै समस्या पैदा भएको छ नि । यसको सामान्य अर्थ के हो भने एमालेले ६० प्रतिशत लिनु भनेको उसले ४० प्रतिशत त गुमाउनुपर्यो नि । त्यस्तै माओवादीले ४० प्रतिशत मात्रै लिनु भनेको पनि उसले पनि सिँगो ६० प्रतिशत गुमायो नि । जुन जुन ठाउँमा एमालेका मान्छेहरुले भोलि टिकट पाउँछु भनेर आकांक्षा राखेका थिए । सोही अनुसार पार्टीमा काम गरेका थिए । योगदान गरेका थिए । त्यो ४० प्रतिशत त गुम्यो नि । ती सबै नेताहरु असन्तुष्ट हुने भए । माओवादीको हकमा उसले ६० प्रतिशत छोड्यो ।

भन्दाखेरि, माओवादीका ६० प्रतिशत उम्मेद्धवाहरु जसले हिजो पार्टीमा यत्रो लामो समय योगदान पुर्याएका थिए । उनीहरु त आक्रोशित छन् नि । उनीहरु टिकट गुमाएको कारण पनि एमालेका उम्मेद्धवारहरुलाई भोट हाल्नको लागि तयार छैनन् । अहिले त्यही समस्या ठाउँ ठाउँमा देखिएको छ । एमाले र माओवादीवीचको यो किचलो मेरो गृहजिल्ला उदयपुरमा पनि देखिएको छ । टिकट पाउनुपर्ने मान्छेले पाएको छैनन, नपाउनुपर्ने मान्छेले पाएको भन्दै बागी उम्मेद्धवारीहरु परेका छन् । भद्रगोल अवस्था देखिएको छ । त्यसकारण यो गठबन्धनबाट हामी आँत्तिनुपर्ने कुनै कारण छैन । यो गठबन्धन आफ्नै आन्तरिक कारणबाट भताभुंग हुन्छ । एउटा मैले अघि अंकगणितको कुरा गरें । अर्को कुरा भनेको माओवादी चाहीँ एउटा यत्रो लडाई गरेर आएको पार्टी हो । हाम्रो क्रान्तिकारी छबि छ, हामी परिवर्तनका मुद्दा लिएर आएका हौं, यो दलदलमा भासिएको एमालेजस्तो पार्टीसँग मिल्नुपर्यो भन्ने खालको उनीहरुमा भित्रभित्रै यस्तो आशंका छ । कतै एमालेमा नै पार्टी बिलय हुने हो कि भन्ने डर पनि छ । पार्टीको अस्तित्व नै समाप्त हुने हो कि भन्ने आशंका व्याप्त छ ।

उसो भए वाम गठबन्धनबाट कांग्रेस आँत्तिनुपर्ने कुनै कारण छैन ? कांग्रेसले कति सिट जित्छ ?

हो, मैले अघि पनि भनिहालें वाम गठबन्धनमा धेरै ठूलो समस्या छन् । उनीहरुबाट डराउनुपर्ने कुनै कारण म चाहीँ देख्दिन् । हामी त यो निर्वाचनमा मज्जासँग ८० सिट जित्न सक्छौं । प्रत्यक्षतर्फको १६५ मध्ये हामी ८० सिट जित्छौं । यो भन्दा पनि धेरै हुनसक्छ । यो त मेरो प्रारम्भिक आँकलन मात्रै हो । यता समानुपातिकमा पनि ४० देखि ४५ सिट आउँछ । यसरी हेर्दा, कुनैपनि पार्टीको बहुमत त पुग्दैन । त्यसैले हेर्दै जानुहोला चुनावी नतिजा आउँदै गर्दा माओवादीले १५ देखि २० सिट जितेपनि धेरै ठूलो कुरा हो । माओवादीले हारेपछि अनि एमालेले भोट दिएन भनेर आक्रोश पोख्न सुरु गर्छ । त्यहीँबाट झगडा भएर उनीहरुवीच भताभुंगको अवस्था सुरु हुन्छ । त्यहीबाट एमालेलाई गाली गर्दै प्रचण्ड निस्किन्छन् । र, भोलि हामीसँग टाँसिनुपर्ने उनको बाध्यता हुन्छ । त्यसकारण मैले अहिलेदेखि नै भन्ने गरेकोछु कि कांग्रेस र माओवादी मिलेर सरकार बन्ने संभावना चाहीँ छ है भनेर ।

अबको चुनावमा कांग्रेसले एमाले र माओवादी मिल्दा पनि यत्रो सिट जित्छौं भनेर यहाँले दाबी गर्नुभयो, तपाईहरुले जित्ने आधार चाहीँ के के हुन ?

हामीले जित्ने मुख्य आधार भनेको नै एमाले र माओवादीवीचको गठबन्धनको अन्तरविरोध अर्थात अन्तरकलहका कारण नै हो । कता कता यीनीहरुले हामो अधिकार खोसिदिने हुन कि, हिजो पनि साम्यवादवी नारा दिईरहेका थिए । यीनीहरु उग्र रुपमा आए भनेदेखि भोलि भौगोलिक ध्रुवीकरण होला कि । मधेशमा मधेशी र पहाडियाहरुवीच त्यहीँ नै लडाई हुने हो कि, त्यही कारणले मुलुकमा अशान्ति चाहीँ फैलिने हो कि, वा बाहिरी शक्तिले हस्तक्षेप पो गर्ने हो कि भन्ने यी विविध आशंकाहरु चाहीँ जनताको मनमा छन् । अब यीनीहरु धेरै बलियो भएर आए भने संविधानमा तलमाथि गर्न खोज्छन् । फेरि द्धन्द्ध हुन्छ । आन्दोलन हुन्छ । अनि हामी चाहीँ अन्र्तराष्ट्रिय शक्तिहरुको मलिनो भूमि बन्न सक्छौं भन्ने आशंका पनि भएको हुनाले अलिकति सावधानी एउटा भयो । अर्को कुरा, हाम्रो बनिबनाउ खालको गठबन्धनले हामी आँत्तिनु पर्ने केही पनि छैन । हामीले जनजिविकाको मुद्दामा काम गरेका छौं । खाली हामीले प्रचार नगरेर बसेका छौं ।

हुन त हामीभित्रपनि गुटबन्दीले यसमा काम गरेको छ । गुटकै कारण हामी धरायशी भएका छौं । टिकट दिने काममा पनि त्यति न्याय भएको छैन । हाम्रो पार्टीमा जो जो टिकट बाँड्नेमा बसे, उनीहरुले पहिले आफ्नो व्यवस्था गरे । –यो कुरा मैले खुल्ला हृदयले भन्दैछु) उनीहरुले समानुपातिकमा ठ्याक्क आफ्नो मिलाए । अनि त्यसपछि बाँकी बक्यौतामा हामीजस्तो मान्छेलाई ध्यान दिए । यो खालको अन्यायपनि तीनीहरुले गरे । त्यो कारणले गर्दा केही अन्तुष्टिहरु त होलान् नै । तर हाम्रो बढि कारणभन्दापनि यही गठबन्धनको अन्तरकलहकै कारण हामीलाई अवसर आउने भयो ।

वाम गठबन्धन बनिसकेपछि यहाँको पार्टी नेतृत्वले त अब मुलुकमा एकदलीय निरंकुशता ल्याउने भए भनेर अभिव्यक्ति दिएको छ नि, यसरी अत्तालिनुको कारण के हो त ?
यसको आउन सक्ने परिदृश्यहरुको सही विश्लेण नगरेको कारण अत्तालिएको कारण हो जस्तो लाग्छ । खतराको संभावना चाहीँ के भने यीनीहरुले अब राष्ट्रपति प्रणाली चेन्ज गरेभने चाहीँ केही अप्ठ्यारो हुन्छ । फेरि मुुलुकमा अस्थिरता जन्मिन्छ । हुन त दुई तिहाँई नै ल्याउने त कुनै संभावना नै छैन । त्यो अवस्था आयो भने पनि अलिकति खतरा नै हुने भयो । अहिले भैरहेको जुन यथास्थिति जो छ नि त्यसमा माथितिर अलिकतिपनि यीनीहरु बलियो भएर खलबल्याउने वित्तिकै द्धन्द्ध बढ्छ । त्यो यीनीहरु अलिकति खल्बल्याउँछन कि भन्ने आशंका, र संविधानको अधिकारहरु खुम्च्याउँछन कि भन्ने एउटा प्रारम्भिक आशंका (सबैको मनमा लौ अब के के नै अब चाहीँ पहिरो नै आउने हो कि) भन्ने खालको आशंका भएको हुनाले त्यो खालका अभिव्यक्तिहरु हाम्रो पार्टीका शीर्ष नेताहरुबाट पनि आए । तर, गर्दै लाँदा, देख्दै लाँदा एमाले र माओवादीवीचको अन्तरकलह अहिले जसरी अघि बढिरहेको छ । यसबाट मलाई लाग्छ कि यो चाहीँ हामीलाई एउटा ठूलो अवसर नै भयो ।

माओवादी केन्द्र एमालेसँग मिल्दा तपाईहरुलाई यत्रो किन आपत्ति त ?

होईन, बास्तवमा माओवादी केन्द्र एक्लै चुनाव लडेको भएपनि उसको आफ्नो तागद रहिरहन्थ्यो नि । तर एमाले र माओवादी केन्द्रवीच एक्कासी तालमेल र भविष्यमा पार्टी एकता नै हुने भनेर जसरी घोषणा भयो । यो त टप डाउन एप्रोच हो । ओली एण्ड प्रचण्ड मिलेर माथि एकता घोषणा गरे । तालमेल गरे । तर तल्लो स्तरमा अर्थात दुवै पार्टीहरुका कार्यकर्ता तहमा उनीहरुको तालमेल र एकताको सेन्टिमेन्टस् छिर्नै सकेको छैन । एकताका भावनाहरु तल्लोस्तरसम्म पुग्नै सकेको छैन । यो कुरा स्वयम एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुलाई पनि राम्रोसँग थाहा छ । स्थानीय तहको निर्वाचनको घाउ पनि आलै छ । यी सबै समस्याहरुले गर्दाखेरि हामी डराउनुपर्ने कुनै कारण छैन । तर सुरुको अर्थात हाम्रो प्रारम्भिक विश्लेषण भने अलिकति आँत्तिएकोजस्तो देखियो । तर यो चाहीँ हामी सुरुमा आँत्तिएकोजस्तो रहेनछ ।

कांग्रेसको चुनावी घोषणापत्रमा एमाले र माओवादीले तल्लो स्तरमा उत्रिएर गालीगलौज गरिएको छ, यसबारे चौतर्फी आलोचना भएको छ । यहाँको धारणा के छ ?

मैले घोषणापत्र अलिकति कडा आयो भनेर भनेको छु । त्यस्ता खाले शब्दहरु नराखेको भए हुन्थ्यो भन्ने मेरो भनाई हो । यही हो, हाम्रो कमजोरीहरु भनेको । पार्टीमा गिरिजाबाबुदेखि अन्य नेताहरुले मन पराएर ल्याएका विद्धान साथीहरु हुनुहुन्छ । तर के भनेदेखि हामीले यहाँ अन्तरविरोधमा खेल्नै जानेनौं । अहिले एमाले र माओवादीलाई नै गाली गरिहाल्नुपर्ने जस्तो अवस्था थिएन् । माओवादीको बारेमा पनि कुरा गर्नुहुन्छ भने यत्रो क्रान्तिकारी छबि भएको पार्टी, हिजो परिवर्तनको एजेण्डामा हामीसँग सहकार्य गर्दै आएको पार्टी हो ।

आज एमालेसँग मिल्नु भनेको उसलाई नै भोलिका दिनमा अपुरणीय क्षति हुन्छ भनेर भनेको भए हुन्थ्यो । हुन त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डजीको बहकिने बानी छ । (कहिले हामीसँग आएर लात्ती हान्छन्, त कहिले एमालेसँग मिलेर लात्ती हाँन्छन् । त्यो त उनको बानी छ ।) उनी अवसर उपयोग गर्न त खोज्छन नि । त्यसबारेमा अलिकति हल्का शब्द प्रयोग गर्न सकिन्थ्यो । हुन त उनीहरुले पनि हामीलाई बाँकी राख्दैनन् । तरपनि घोषणापत्रमा उनीहरुको बारेमा मत्थर भएर प्रस्तुत हुनुपर्दथ्यो । यद्धपी घोषणापत्रमा आलोचना गर्नु त स्वभाविक कुरा हो । एक अर्कालाई गाली गरेर नै आफ्नो हैसियत बढाउने हो । तर अति नै बढि चाहीँ गर्नुहुँदैन ।

घोषणापत्रमा तपाईहरुले मुलुकलाई समृद्ध बनाउने विषयमा पूरानै नाराहरु समेट्नुभएको छ नि ? घोषणापत्रको मस्यौदाकारहरुले ध्यान दिएनन भन्ने व्यापक आलोचना छ नि ?

पूराना र नयाँ भन्नुभन्दापनि हाम्रा विकासका अवसरहरु तीनै कुराहरु हुन् । तपाई उल्टाएर भन्नुहोस वा पल्टाएर भन्नुहोस । विकासका अवसरहरु तीनै हुन् । पर्यटनको कुरा गर्नुहोस, वा कृषिको कुरा गर्नुहोस, वा जलस्रोतको कुरा गर्नुहोस वा उर्जा क्षेत्रको कुरा गर्नुहोस् । अवसरहरु त यीनै त हुन नि । यहाँ अब एकैचोटि २० हजार मेगावाटको विजुली उत्पादन गर्छौं भनेर हावा कुरा लेख्नु त भएन नि । अब सबैले भन्ने भनेको नै विजुली उत्पादनकै कुरा हो नि । भन्नको लागि त यहाँ सबैले पर्यटन नै भन्ने हो । सबैले कृषि नै भन्ने हो । सबैले शिक्षा र स्वास्थ्यको विकास भन्ने नै हो । कुरा त उही पूरानै हुन् । त्यस्तै रेलमार्गका कुरा सबैले गर्ने नै भए । विमानस्थल बनाउँछु भन्ने कुरा सबैले भन्ने नै भए । यो त के भने कसरी भन्ने मात्रै फरक कुरा हो । लक्ष्य कति राख्ने भन्ने हो ? लक्ष्य त कति व्यवहारिक र अरुको पनि व्यवहारिक हुँदैन । गर्छु भनेर अठोट गर्न त पाईयो नि ।

यहाँको जिल्लामा चाहीँ वाम गठबन्धनको प्रभाव कस्तो पाउनुभएको छ ?

गठबन्धनको प्रभावबारे मैले अघि पनि अनौपचारिक रुपमा पनि भनिसकेको छु । जहाँको उम्मेद्धवार जहाँ लड्नपर्नेथियो, उनलाई अन्तै पठाईदिएको छ। त्यहाँ विद्रोह भईदियो । उनीहरुकै पार्टीबाट बागी उम्मेद्धवार उठिदिए । जस्तो यहाँले प्रदेशकै कुरा गर्नुहुन्छ भने पनि मेरो क्षेत्रको एक नम्बर प्रदेश “क” मा एमालेले एक जना उम्मेद्धवार खडा गर्यो, एमालेकै अर्को मान्छेले बागी हाल्यो । जसलाई आधिकारिक भनिएको थियो, उसलाई आफ्नो उम्मेद्धवारी फिर्ता गर्न बाध्य बनाईएको छ । यो गठबन्धनको प्रकृति हेर्नुहोस् । क्षेत्र १ को प्रदेश ख मा हेर्नुहोस माओवादीका रामबहादुरलाई टिकट दिईयो, अब उनकै विरुद्धमा दुईवटै आफ्नै माओवादीका साथीहरुले बागी हालिदिए ।

त्यस्तै अर्को हेर्नुहोस, क्षेत्र नम्बर २ को संघमा टिकट दियो आधिकारिक रुपमा माओवादीको हिमाल राईलाई । तर, एमालेका पोलिटब्युरो सदस्यले वागी उम्मेद्धवारी दिए । अन्तिममा ती पोलिटब्युरोलाई उम्मेद्धवारी फिर्ता बनाउन बाध्य बनाईयो । भनेपछि थाहा हुन्छ कि गठबन्धन कस्तो भनेर यहीँबाट प्रष्ट हुन्छ । गठबन्धनका आफ्नै आयामहरु छन् । जस्तोसुकै गठबन्धन भएपनि यतिखेर मान्छेहरु अर्थात आम जनताहरुले मेरो पार्टीको भनेर कसैले भोट हाल्दैनन् । चूनौतिहरु थुप्रै छन् । कसले काम गर्न सक्छ, हिजोको दिनमा कसले जनताको विकासको निम्ति काम गरेको छ । र, भोलिको दिनमा कसले काम गर्न सक्छ ? को सँग तागद र आँट छ भनेर जनताले हेर्छन नि । विगतमा कसले काम गरेको छ भनेर रेकर्ड हेरेरमात्रै जनताले मत हाल्छन् । भोटर्सहरु पनि दुईवटा संरचनामा छन् । जस्तो पार्टीको हार्टकोरहरुले त पार्टीकै उम्मेद्धवारहरुलाई नै भोट हाल्ने भैहाले किनकी तीनीहरु भनेको हार्डकोर हुन । अर्को छ, कसले काम गर्न सक्छ भनेर उनीहरुले चाहीँ मान्छे हेर्छन र त्यसलाई भोट हाल्छन् ।

तपाईकै कुरा गरौं, यो निर्वाचनमा वाम गठबन्धनबाट कत्तिको डर छ वा जित्छु नै भन्ने ढुक्कमा हुनुहुन्छ ?
जनताको अनुहारमा उत्साह, र एक किसिमको मनोविज्ञान हेर्दा मलाई गठबन्धनबाट कुनै चिन्ता छैन । खाली के चाहीँ हो भने मैले यो निर्वाचनमा अलिकति बढि अर्थात् राम्रो “मार्जिन” होस भन्ने चाहेको थिएँ, त्यो चाहीँ कत्तिको हुन्छ मलाई थाहा छैन । तर, जित्ने कुरामा म पूर्ण विश्वासमा छु । चुनाव जित हार भनेको त भोलि धेरै फ्याक्टहरुले गर्दा हुन्छ । तर, म पूर्ण विश्वस्त छु कि जनताले मलाई न्याय गर्नुहुन्छ । जनताले मेरो काम देख्नुभएको छ । मेरो कामको मुल्यांकन त हाम्रो पार्टीका सभापति आदरणीय शेरबहादुर देउवाजीले पनि गर्नुभएको रहेछ भन्ने कुरा अस्ति हाम्रो जिल्लाका नेताहरुसँगै म पनि थिएँ । (जब टिकटको कुरा आयो केन्द्र वा संघमा डाक्टर साहबको के छ भनेर साथीहरुले मेरो कुरा गर्दा खासगरी साथीहरुले मलाई समानुपातिका राखेर अघि बढ्दा कस्तो हुन्छ भनेर धारणा राखेका थिए, प्रधानमन्त्रीले एकछिन त बढो शान्तसँग साथीहरुको कुरा सुन्नभयो । मैले पनि साथीहरुलाई कसले जित्छ त चुनाव भनेर सोधें । यस्तो कुरा आएपछि प्रधानमन्त्री जंग्निुभयो । के कुरा गरेको यहाँ ? २४० क्षेत्रमध्ये सबैभन्दा बढि काम गर्ने नेता नै डा. खड्का हो, उसले जति काम कसैले पनि गरेको छैन भन्नुभयो । यति काम हाम्रा साथीहरुले गरिदिएको भए नेपाल कहाँ पुग्थ्यो, हाम्रो पार्टी कहाँ पुग्थ्यो ? भनेर भन्नुभयो।) यो तथ्य हो । उहाँले अझै चर्को स्वरमा नाराणजीले विकास निर्माणका धेरै कामहरु गर्नुभएको छ। उहाँले बाटोघाटोदेखि खानेपानी सबै क्षेत्रमा विकास गर्नुभको छ भन्नुभयो । मलाई लाग्छ, कामको मुल्यांकन हाम्रो पार्टीको शीर्ष तहमा पनि भएको रैछ । जनताले पनि मुल्यांकन गर्नुभएको होला ।

यहाँको व्यक्तिगत चुनावी एजेण्डाहरु के-के छन् ?
मेरो त्यस्तो खोक्रो कुराहरु केही पनि छैनन् । म पुग्ने कुरा मात्रै गर्छु । मेरो त्यस्तो धेरै आकाश पाताल जोडेर खोक्रो कुरा गर्ने कुनै काम नै छैन । मैले यहाँ मुख्य कुरा तल्लो भेगमा अहिले खहरे खोलाहरुको ठूलो समस्या छ । त्यस्तै माथिल्लो भेगमा सडक पूर्वाधार निर्माण गर्नुपर्ने टड्कारो समस्या छ । खानेपानी, विजुली, शिक्षा, स्वास्थ्यका कुराहरु छन् । तल्लो भेगको खहरे खोलाहरुको समस्याको लागि मेरो करिब ७ अर्बको परियोजना बनिसकेको छ । विस्तृत अध्ययन भैसकेको छ । हाम्रो प्रधानमन्त्री भारत भ्रमणमा जाँदाखेरि पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्तामा हाम्रो टिमले पनि यो एजेण्डा राखिदिएको छ ।

यद्धपी ४१ बुँदै नेपाल भारत संयुक्त विज्ञप्तीमा चाहीँ त्रियुगा नदिको बारेमा केही कुरा आएन् । तर नदि नियन्त्रणका कुरा पनि त्यहाँ परेका छन् । एउटा यो ठूलो परियोजना छ । यदि त्यहाँबाट भएन भनेपनि हामी आफ्नै आन्तरिक स्रोतबाट यो परियोजना सम्पन्न गर्न सक्छौं भन्ने मलाई त्यो हिम्मत छ । यो काम सम्पन्न हुनेवित्तिकै यसले विकासमा विशाल आयाम थपिहाल्छ । यसले उलटपुलट नै ल्याउँछ । कृषि फार्म बन्छ, पार्कहरु बन्नेदेखि लिएर सिँचाई र नयाँ सहरु बन्नेदेखि लिएर सुुकुम्बासीहरुलाई व्यवस्थापन गर्ने लगायतका थुप्रैखाले संभावना भएकोले यो सपना अघि बढिसकेको पनि छ । र, अर्को कुरा विमानस्थल निर्माणको लागि विस्तृत वातावरण अध्ययनको लागि कुरा पनि अन्तिम चरणमा पुगेको छ । यही हप्तामा रिपोर्ट दिईसकेपछि त्यसलाई पनि अगाडि बढाउने कुरा छ । एउटा, एयरपोर्ट जो विराटनगरकै हाराहारीको संभावना आईरहेको छ । त्यो एयरपोर्ट पनि निर्माण हुन्छ । त्यस्तै एउटै नदि जसले भोजपुर र खोटाग जोडिन्छ । त्यसको प्रधानमन्त्रीले अस्तिमात्रै शिल्यान्स गर्नुभयो । दुवै जिल्ला जोडिसकेपछि हाम्रो उदयपुरलाई आर्थिक विकासको केन्द्र बनाईदिने हो । त्यस्तै युवाहरुको रोजगारीको लागि कृषि वा अन्य के हुन्छ एउटा विशाल ईनिष्टिच्युट खोलेर अघि बढ्ने मेरो योजना छ ।

आम मतदाताहरुमा यहाँको सन्देश के छ ?

आदरणीय उदयपुरवासी दाजुभाई दिदिबहीनीहरु हुन त मैले राजनीति गरिरहँदा भन्दै आएको छु कि जनतालाई मैले सँधैभरि ईश्वर भन्ठानेको छु । उहाँहरुको आत्मामा ईश्वर भएको हुनाले हामीले ईश्वरलाई कहिल्यैपनि ठग्नुहुँदैन । ढाँट्नुहँदैन । उहाँहरुलाई ढाँट्नु राजनीतिक पाप हो । ढाँट्नु राजनीतिक अपराध हो भन्ने मेरो सिद्धान्त छ । हामीले त पुग्ने कुरा गर्नुपर्छ । बोलेको कुरा पुर्याउनुपर्छ भन्ने मेरो सिद्धान्त हुने भएको हुनाले मैले बोलेको कुरा पनि पुर्याएको छु पनि । हाम्रै पहलमा, तागदमा र बलमा कोशीमा पुल बनेको छ । अन्य ठूला ठूला पुलहरु बन्दैछन् । यी लगायत एक सय एक विद्यालय भवनहरु बनेका छन् । गाउँ गाउँमा एम्बुलेन्सहरु पठाईदिएका छौं । मलाई लाग्छ, हाम्रो जिल्लामाजस्तो एम्बुलेन्सहरु अन्य जिल्लामा गएका छैनन् होला । यी सबै कामहरु हामीले जनतालाई आधार मानेर नै गरेका हौं । बोलेका कुरा पूरा गर्दै आएका छौं ।

यो कुरा त स्वयम् मेरो क्षेत्रका जनताहरुले प्रत्यक्ष महशुस गर्नुभएको छ । गाईघाटबजारमा पुल, मोतिगढा भन्ने ठाउँमा क्याम्पस हामीले नै बनायौं । यी सबै कामहरु हाम्रै तागद र हाम्रै पहलमा भएका हुन् । देउरीमा विशाल खानेपानी आयोजना सम्पन्न भयो । यो पनि हाम्रै पहलमा बनेको हो । चिलाउने भन्ने साबिकको गाविसमा पहिलो सोलार बत्ति पुर्याउने मान्छे मै हुँ । जलजलेमा पनि अहिले विशाल खानेपानी आयोजना बन्दैछ । यो पनि हाम्रै पहलमा हो । लाफा गाउँमा पनि खानेपानीको अत्यन्तै हाहाकार थियो, विकराल समस्या थियो, यो ०५६ सालको कुरा हो । (जहाँ मानिसहरु ५ घण्टा उकालो चढेर पानी लिन जानुपर्दथ्यो, त्यहाँ पनि हामीले खानेपानी पुर्याएँ, म हारेपनि त्यहाँका जनतालाई हराईन्।” अहिलेसम्म मैले गरेको कामको सबैभन्दा ठूलो सन्तुष्टि यहीँ प्राप्त भयो । त्यस्तै मैले बलम्तामा पनि लाफागाउँजस्तै खानेपानी आयोजना निर्माण गरें । त्यतिवेला त मलाई माओवादी, काँग्रेस र एमाले सबैले मिलेर मलाई फुलमाला लगाएर स्वागत गर्नुभएको थियो । त्यतिवेला पनि म त हारेको मान्छे । यी त हामीले ढाँटेका कुरा होईनन्, यी त गरेका कामका तथ्यांकहरु हुन् ।

रिपोर्टर्स नेपाल  / सम्पादक रुद्रबहादुर कार्की


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan