Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सम्बद्ध पक्ष चिन्तित: आजै संखुवासभा, भोजपुर र म्याग्दीमा उम्मेदवारमाथि आक्रमण

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २८ मंगलबार
newsabhiyan

काठमाडौँ, २८ कात्तिक (रासस) : सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई सुरक्षित र भयरहित बनाउने प्रयास गरे पनि मुलुकका विभिन्न स्थानमा उम्मेदवारमाथि नै आक्रमण हुन थालेपछि सम्बद्ध पक्षले चिन्ता व्यक्त गरेका छन् ।

सरकारले निर्वाचनलाई लक्षितगरी शान्तिसुरक्षा व्यवस्थालाई सबल, सुदृढ र प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्दै आएको छ तर आजै संखुवासभा, भोजपुर र म्याग्दीमा उम्मेदवारमाथि आक्रमण भएको छ ।

यसअघि शनिबार रोल्पामा वाम गठबन्धनका उम्मेदवार वर्षमान पुन र शुक्रबार रुकुममा सोही गठबन्धनका उम्मेदवार जनार्दन शर्मामाथि आक्रमण भएको थियो । रोल्पामा आइतबार भिरबाट ढुंगा लडाएर पुनः पुनमाथि आक्रमण भएको थियो ।

आज भोजपुरमा नेकपा (एमाले)का नेता ताथ पूर्वमन्त्री शेरधन राई सवार सवारीमाथि बम पड्काइएको छ । यस्तै संखुवासभामा वाम गठबन्धनका उम्मेदवारमाथि हातेबम आक्रमण गरिएको छ ।

म्याग्दीमा नेपाली काँग्रेसका उम्मेदवार सवार सवारीसाधनमाथि पनि बम आक्रमण भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन ‘खारेज’ गर्ने भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विरोध अभियान शुरु गरेको छ । तर मुलुकका विभिन्न जिल्लामा उम्मेदवारमाथि भइरहेको आक्रमणका बारेमा हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । शान्तिसुरक्षामा खलल पु¥याएको भन्दै नेपाल प्रहरीले सो पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले नेकपाका कार्यकर्ताले आक्रमण गरेको बताए पनि सो पार्टी मौन बसेका कारण घटना थप रहस्यमय बन्दै गएको छ ।

चन्द नेतृत्वको पार्टीले उम्मेदवारको घरमा कालो झण्डा राख्ने, उम्मेदवारमाथि आक्रमण शुरु गरे पनि त्यसलाई नियन्त्रण गर्न सरकारले चासो नराखेको भन्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आपत्ति प्रकट गर्नुभएको छ । उहाँले सत्तापक्षका नेता तथा उम्मेदवारसँग सुरक्षाकर्मीको भीड लगाएको तर वाम गठन्धनका उम्मेदवारमाथि आक्रमण भइरहँदा कुनै चासो नदेखाएकामा गुनासो गर्नुभयो ।

रोल्पाको चुनावी अभियानमा सहभागी तथा दुई पटक आक्रमणमा पर्नुभएका नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले निर्वाचन भाँड्ने मनसायका साथ आफू र आफ्नो गठबन्धनमाथि आक्रमण भएको बताउनुभयो । उहाँले बम आक्रमण र भिरबाट ढुंगा लडाउने जस्तो आपराधिक क्रियाकलापले आफू हतोत्साहित नहुने भन्दै गलत क्रियाकलाप छाड्न चन्द नेतृत्वको नेकपालाई आग्रह गर्नुभयो ।

गृह मन्त्रालयले आगामी निर्वाचनका लागि दुई लाख ६७ हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । जसअनुसार, नेपाल प्रहरी ६० हजार, नेपाली सेना ६४ हजार, सशस्त्र प्रहरी बल ३० हजार, राष्ट्रिय अनुसन्धान विभागका एक हजार ५०० र म्यादी प्रहरी ९८ हजार परिचालन भएका छन् ।

रोल्पा र रुकुममा उम्मेदवारमाथि नै आक्रमण हुन थालेपछि निर्वाचन आयोगले आइतबार सुरक्षा निकायका अधिकारीलाई बोलाएर शान्तिसुरक्षाको अवस्थाका बारेमा जानकारी लिएको थियो । आयोगले शान्तिसुरक्षामा कुनै पनि कमजोरी नगर्न सरकारलाई निर्देशनसमेत दिएको छ । आयोगले निर्देशन दिएको दुई दिन बित्दा नबित्दै आज देशका तीन स्थानमा उम्मेदवारमाथि नै आक्रमण भएको छ ।

भोजपुरको टेम्के मैयुङ गाउँपालिकाको चुनावीसभामा जाँदै गर्दा आक्रमणमा पर्नुभएका पूर्वसञ्चारमन्त्रीसमेत रहनुभएका शेरधन राईले आफूलाई हत्या गर्ने योजनाका साथ आक्रमण भएको बताउनुहुन्छ । घटनालाई गम्भीर रुपमा लिएको भन्दै उहाँले त्यसमा संलग्नलाई कारबाहीको माग गर्नुभयो । देशव्यापी रुपमा आक्रमण बढेपछि गृह मन्त्रालयले घटनाको सूक्ष्म अनुसन्धान र छानबिन गरिरहेको जनाएको छ ।

गृहमन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले उम्मेदवारमाथि आक्रमण हुने विषय क्षम्य नभएको भन्दै दोषीमाथि कारबाही हुने बताउनुभएको छ । बाँकेमा आज आयोजित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै उहाँले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सरकार तयार रहेको बताउनुभयो ।

राज्य संयन्त्रले पनि पहाडी जिल्लामा विप्लवको पार्टीलाई सुरक्षा चुनौती ठानेको छ । तराईमा भने जातीय राजनीतिलाई चुनावी चुनौती मानिएको छ । पहिलो चरणको चुनावका लागि सुरक्षाकर्मी परिचालन भइसकेका छन् । पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा चुनाव हुँदैछ । गृहमन्त्रालयले संवेदनशील, अति संवेदनशील र सामान्य संवेदनशील गरी तीन वर्गमा मतदानस्थललाई वर्गीकरण गरी सुरक्षाकर्मी खटाउने योजना बनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan