Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मोरङमा मतदान शुरु, सप्तरीमा हर्षोल्लासपूर्ण

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २१ बिहिबार
newsabhiyan

विराटनगर,२१ मंसिर ।मोरङमा मतदान सुचारु ढंगले शुरु भएको छ । बिहान ७ बजेदेखि नै मतदान शुरु भएको निर्वाचन आयोगको कार्यालय विराटनगरले जनाएको छ ।

विराटनगरस्थित विभिन्न मतदान केन्द्रमा बिहानैदेखि मतदाता लामबद्ध भएर मतदान कार्यमा सरिक भएका छन् ।

विराटनगरको सत्यनारायण माध्यमिक विद्यालयस्थित मतदान केन्द्र, कञ्चनबारीस्थित मतदान केन्द्र, महेन्द्र मोरङ क्याम्पसस्थित मतदान केन्द्रमा बिहान ७ः३५ बजेसम्ममा २५ भन्दा बढी मतदाताले मतदान गरिसकेको विराटनगरस्थित निर्वाचन आयोगका कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी गराउनुभएको छ ।

विराटनगरका छवटा निर्वाचन क्षेत्रअन्तर्गत ७५८ वटा मतदानकेन्द्रबाट छ लाख ४४ हजार ७८२ जना मतदाताले मतदान गर्नेछन् ।

सप्तरीमा मतदान शान्तिपूर्ण

यसैबीच, प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं २ को सप्तरी जिल्लामा आज बिहान ७ बजेदेखि शान्तिपूर्ण एवं हर्षोल्लास साथ मतदानको कार्य शुरु भएको छ ।

अत्यन्त उल्लासका साथ अत्यन्त चिसोका बाबजुद लामबद्ध भई महिला, पुरुष, युवायुवती, वृद्धवृद्धा मतदान गर्नका लागि धैर्यतापूर्वक लागेको पाइएको छ ।

साथै, मतदान केन्द्र र मतदाताको सुरक्षाका लागि तीन तहमा सुरक्षा व्यवस्था मिलाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तथा म्यादी प्रहरी खटिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले भन्नुभयो ।

त्यस्तै, सुरक्षा निकायद्वारा गस्ती शुरु गरिएको छ भने निर्वाचन अनुगमन टोली पनि खटिएको बताइएको छ ।

उता मतदान कार्यमा समस्या आउन नदिन सम्पूर्ण निर्वाचन व्यवस्था भएको सप्तरीका मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगाना राससलाई बताउनुभयो । आ–आफ्ना उम्मेदवारलाई विजयी गराउन लामबद्ध भई मतदान गर्न लागेको राजविराज–३ वडाका समाजसेवी सुशीललाल दासले भन्नुभयो ।

सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लामा निर्वाचनका लागि पाँच हजार ९७० सुरक्षाकर्मी परिचालन गरिएको छ ।

त्यस्तै, सुरक्षाकर्मीबाहेक नेपाली सेनाले समेत विभिन्न मतदानस्थलमा राखी निगरानी बढाएको बताइएको छ ।

प्रहरी उपरीक्षक सिंहले जिल्लामा एउटा पनि मतदानस्थल सुरक्षाका दृष्टिकोणले सामान्य नरहेको जानकारी दिँदै जिल्लाका कुल २९५ मतदानस्थलमध्ये २०७ अति संवेदनशील र ८८ संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको बताउनुभयो ।

यस्तै, स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सप्तरी जिल्लाको भारतीय सीमा क्षेत्रमा सुरक्षा सतर्कता पनि बढाइएको स्थानीय प्रशासनले जनाएको छ ।

सप्तरी जिल्लामा चारवटा प्रतिनिधिसभा र आठवटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् भने २१ जना तेश्रोलिंगी गरी कुल तीन लाख ४६ हजार २१४ जना मतदाता रहेका छन् ।  (रासस)


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan