Tuesday 18th of September | २०७५ असोज २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपालमा प्राङ्गारिक मलको प्रयोग अत्यन्त कमजोर अवस्थामा : कृषि विज्ञ खतिवडा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २१ शुक्रबार |
newsabhiyan
newsabhiyan

नेपालमा संस्थागत रुपमा के कस्ता रासायनिक मलहरु भित्रिएका छन् ?

मूलतः संस्थागत रुपमा नेपाल भित्रिएका रसायनिक मलहरु मध्ये सरकारवाट अनुदान प्राप्त युरिया, डाईएमोनियम फस्फेट र म्युरेट अफ पोटास हुन । यि तीनवटै अनुदानित रसायनिक मलहरुको कारोवार कृषि सामग्री कम्पनि लिमटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडवाट हुँदै आएको छ ।

उपरोक्त सरकारी अनुदानको रसायनिक मलको कारोवारका अतिरिक्त कर्पोरेसनले एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेट गरि २ वटा बहुतत्वयुक्त रसायनिक मल समेत ब्यापारिक कार्यक्रम मातहत रहने गरी विक्रिवितरण गरिरहेको छ ।

रसायनिक आयात तथा विक्रि ब्यवस्थापनमा निजी क्षेत्रको समेत भूमिका रहोस भन्ने उद्देश्यले कृषि मन्त्रालयले रसायनिक मल नियन्त्रण आदेश, २०५५ मा अनुसूचित भएका मलहरुको पैठारी गर्न आयात ईजाजत समेत दिने नीति अनुरुप केहि निजि फर्म/कम्पनीहरुले आयात ईजाजत प्राप्त गरेको भएता पनि तीनिहरुवाट गुणस्तरिय रासायनिक मल आयात गरि सर्वसुलभ किसिमले विक्रि वितरण भईरहेको देखिदैन ।

प्राङ्गारिक मलको प्रयोग स्थिती कस्तो छ र यसको महत्व के हो ?

कर्पोरेसनले प्राङ्गारिक मलको ब्यापारिक कारोवार तथा मल उत्पादन कार्यक्रम दुवै हालसम्म गरेको छैन । तथापि,  ब्यापारिक गतिविधिवाट कृषकहरुलाई जसरी रसायनिक मल उपलब्ध गराईन्छ त्यसै गरि यसको सन्तुलित प्रयोग तथा प्रभावकारी उपयोगका लागि जानकारी समेत प्रवाह गर्नु पर्दछ भन्ने कर्पोरेसनको मान्यता रहि आएको छ ।

प्राङ्गारिक मलवाट माटोमा हुने महत्वपूर्ण फायदाहरुलाई रसायनिक मलको प्रयोगवाट कमजोर तुल्याईसकेको अवस्था भएको हुँदा नेपाल सरकारले प्राङ्गारिक मल उत्पादन तथा प्राङ्गारिक मल प्रवर्द्धन कार्यक्रम समेत माटो ब्यवस्थापन निर्देशनालय मार्फत सञ्चालन गराई रहेको अवस्था छ ।

नेपालमा प्राङ्गारिक मलको प्रयोग स्थिती अत्यन्त कमजोर अवस्थामा पुगेको हुँदा माटोमा हुनै पर्ने प्राङ्गारिक पदार्थको तह समेत घट्न गएको छ भने अर्को तर्फ प्रत्यक्ष रुपमा माटोको भौतिक तथा रसायनिक गुणहरुमा समेत नकारात्मक हुन गई बालीनालिको उत्पादकत्वमा ह्रास आईरहेको छ ।

प्राङ्गारिक पदार्थको अभाव हुनु, प्राङ्गारिक मलको प्रयोग नगरिनु जस्ता कारणले कृषकहरुले प्रयोग गरिरहेको रसायनिक मलहरुले समेत अपेक्षित उत्पादन दिन सकिरहेका छैनन् । यो ठुलो चूनौतिको विषय भएतापनि कर्पोरेसनले विभिन्न सञ्चार माद्यम तथा तालिम आदिवाट जागरुकता पैदा गर्ने प्रयास गरिरहेको छ ।

रासायनिक तथा प्राङ्गारिक मलमा अनुदानको स्थिती कस्तो छ ?

लागत सहभागिताका आधारमा नेपाल सरकारले मूख्यतत्वयुक्त युरिया, डि.ए.पि. र पोटासलाई २०६५ साल देखि नै अनुदानमा समावेश गरेको हो । नेपाल सरकारले रसायनिक मलका लागि विनियोजन गर्ने वजेट तथा रसायनिक मलको मागवीच धेरै फरक छ ।

नेपालमा वर्षेनि करिव ५ लाख मे.टन. विभिन्न तत्वयुक्त रसायनिक मलको आवश्यकता पर्दछ तर हालका वर्षहरुमा ३ लाख मे.टन. भन्दा वढी परिमाणका लागि अनुदान प्राप्त हुन सकेको छैन । निरन्तर परिवर्तन भईरहने कृषि प्रविधि,  बालिनालिका किसिम, खेती प्रणाली, ब्यवसायिक खेती आदिका कारण रसायनिक मलको मागमा समेत विविधता आउने हुन्छ । विभिन्न थरिका तत्वयुक्त विभिन्न थरिका मलको मागलाई सम्बोधन हुने गरि सरकारले अनुदान दिने अवस्था देखिदैन ।

प्राङ्गारिक मल उत्पादन तथा कृषकस्तरमा मल उत्पादन कार्यक्रम अन्तर्गत माटो ब्यवस्थापन निर्देशनालय मार्फत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएका छन् तथापि आवश्यकताको तुलनामा यो अत्यन्त न्यून हो ।

प्राङ्गारिक मलको खरिदमा समेत सरकारको  अनुदान प्रवाहमा बृद्धि हुनु पर्ने आवश्यकता देखिन्छ । सरकारी अनुदान प्राप्त रसायनिक मल खरिद गर्दा अनिवार्य प्राङ्गारिक मलको प्रयोग गराउने अवस्थाको सिर्जना गराउने तर्फ समेत सरकारको निति बन्नु पर्ने आवश्यकता छ ।

नेपाल आयात भएका रासायनिक मलहरुको सन्तुलित प्रयोग कसरी गर्न सकिन्छ ?

रसायनिक मलको सन्तुलित प्रयोग भन्नाले माटोमा रहेका विरुवाका लागि आवश्यक पर्ने तत्वहरुको समानुपातिक वृद्धि गर्नका लागि आवश्यक परिमाणमा आवश्यक तत्वयुक्त मलको प्रयोग गरी माटोको पौष्टिक सन्तुलन मिलाउनु नै हो ।

माटोमा रहेका विरुवाका लागि आवश्यक पर्ने मुख्य तत्वहरु,  सहायक तत्वहरु,  सुक्ष्म तत्वहरु लाई विरुवाले निरन्तर प्रयोग गरिरहने हुँदा यसको आपुर्ति समेत सोहि किसिमले गर्नु पर्दछ । सरकारले अनुदान प्रवाह गरेको रसायनिक मलहरुमा युरियावाट ४६ प्रतिशत नाईट्रोजन, डि.ए.पि.वाट १८ प्रतिशत नाईट्रोजन र ४६ प्रतिशत फस्फोरस, म्यूरेट अफ पोटासवाट ६० प्रतिशत पोटासियम तत्व प्राप्त हुन्छ । यि सवै मुख्य तत्वयुक्त रसायनिक मलहरु हुन ।

विरुवालाई यि वाहेक अन्य १३ वटा सहायक तथा सुक्ष्मतत्वहरु आवश्यक पर्दछ । यिनिहरु मध्ये कुनै १ मात्र तत्वको अभावमा समेत बालीनालीले उत्पादन दिन नसक्ने हुन्छन् ।

मुख्य तत्वयुक्त रसायनिक मलको निरन्तर प्रयोग तथा  प्राङ्गरिक मल तथा सुक्ष्मतत्वहरुको प्रयोग नगरिदा माटोको गुणस्तरमा नकारात्मक असर पर्न गएको मात्र नभई सहायक तथा सुक्ष्मतत्वहरुको अभावमा वालीनालीको उत्पादनमा समेत असर पर्न थालेको छ । यही कारणले कृषकहरुलाई सन्तलित मल प्रयोगका लागि आवश्यक मलखाद तथा शिक्षा दिने दुवै कार्यहरु कर्पोरेसनले अघि वढाईरहेको छ ।

माटोमा सुक्ष्म तत्वहरुको आपुर्ति गर्न के गर्न सकिन्छ ?

नियमित किसिमले यथेष्ठ प्राङ्गारिक मल प्रयोग गरिएको खण्डमा सुक्ष्मतत्वहरुको परिपुर्ति समेत सँगसगै हुन जान्छ । सुक्ष्म तत्वहरुको अभावकै अवस्था सिर्जना भईसकेको माटोमा भने रसायनिक मलको साथमा मिश्रित सुक्ष्म तत्व जस्तै साल्ट ट्रेडिङवाट आयात गरिएको जिङ्क तथा वोरोनयुक्त सिङ्गल सुपर फस्फेटको प्रयोग गर्न सकिन्छ । यसवाट जिङ्क तथा वोरोनको आपुर्ति हुन जान्छ ।

साथै यो मलमा क्यालशियम र सल्फर समेत हुने हुँदा सहायक तत्वको समेत फस्फोरस मलको साथसाथै आपुर्ति हुन पुग्दछ । यि सहायक तथा सुक्ष्म तत्वहरुका अलावा अन्य सुक्ष्मतत्वहरु प्रयोग गर्नु परेमा माटो ब्यवस्थापन निर्देशनालय वा मातहतका क्षेत्रिय माटो परिक्षण प्रयोगशालाको शिफारिस तथा सल्लाह अनुसार छुट्टै सुक्ष्मतत्व खरिद गरि प्रयोग गर्नै पर्ने हुन्छ ।

माटोमा रहेको सुक्ष्मतत्वहरुको अवस्था जानकारी पाउनका लागि आफ्नो जमिनको माटो परिक्षण गराउनु र परिक्षणको नतिजा अनुसार नै आवश्यक परिमाण अनुसारको सुक्ष्मतत्वको प्रयोग गर्नु वुद्धिमानि हुन्छ र यसवाट माटोको गुणस्तर समेत जोगाउन सकिन्छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन वाट गैह्र अनुदानित कार्यक्रम अन्तर्गत आयात गरिएको रासायनिक मलको  विशेषता के के हुन ?

नेपालमा सरकारवाट अनुदान प्राप्त रसायनिक मलहरु मुख्यतः एकलतत्वयुक्त (Single Nutrients) किसिमका छन् । यस अन्तर्गत युरीयामा ४६ प्रतिशत नाईट्रोजन तत्व मात्र रहेको हुन्छ तथा म्युरेट अफ पोटासमा ६० प्रतिशत पोटासियम तत्व रहेको हुन्छ । डाईएमोनियम फस्फेट (DAP) मा भने १८ प्रतिशत नाईट्रोजन तथा ४६ प्रतिशत फस्फोरस हुने हुँदा यसलाई बहुतत्वयुक्त (Complex Fertilizer) को रुपमा रहेको छ । यसवाहेक अन्य तत्वयुक्त रसायनिक मलहरुमा सरकारको अनुदान रहेको छैन ।

उपरोक्त मलहरुको लामो समय देखिको निरन्तर तथा जथाभावि प्रयोगले माटोमा असर पुगिरहेको पाईन्छ । विरुवालाई आवश्यक पर्ने परिमाण भन्दा ज्यादा मात्रामा खाद्यतत्वहरु माटोमा प्रयोग गरिने गरेको अवस्था रहि आएको छ ।

पोटासको प्रयोग गर्दै नगर्ने र डि.ए.पि. सँग युरियाको प्रयोग गर्ने हुँदा एकातर्फ पोटासियम तत्वको अभाव भईरहेको छ भने अर्को तर्फ नाईट्रोजनतत्व आवश्यकता भन्दा वढी प्रयोग हुने गरेको स्थिति छ । यसले गर्दा रसायनिक मलको असन्तुलित प्रयोग हुने गरेको, अनावश्यक खर्च वढ्ने गरेको, बाली उत्पादनमा नकारात्मक असर परेको हुन्छ ।

माथि भनिएका अवस्थाहरुको समस्यावाट कृषकहरुलाई जोगाउने उद्देश्यले साल्ट ट्रेडिङ कर्पोरेसनले बहुतत्वयुक्त र सहायक एवं सुक्ष्मतत्वहरु समेत समावेश भएको रसायनिक मलहरुको आयात गरि सवै बिक्रिकेन्द्रहरुवाट विक्रि ब्यवस्थापन गरिरहेको छ ।

ती मलहरुमा सिङ्गल सुपर फस्फेट जसमा १६% फस्फोरस, १२% सल्फर तथा २१% क्यालशियम रहेको छ । यसका अतिरिक्त सुक्ष्मतत्वहरु जिङ्क तथा वोरोन मिश्रण गरिएको हुँदा यो रसायनिक मल सवै वालीनालीहरुका लागि अति महत्वपूर्ण हुन्छ । यसका साथै कर्पोरेसनले आयात गरि विक्रि ब्यवस्थापन गरेको एमोनियम सल्फेटमा २१% नाईट्रोजन तथा २४% सल्फर रहेको हुन्छ ।

विरुवालाई ठिक मात्रामा आवश्यक पर्ने नाईट्रोजन तथा मुख्य सहायक तत्वको रुपमा रहेको सल्फरले गर्दा यसले प्रभावकारी उत्पादन दिन सक्ने हुन्छ । युरियामा नाईट्रोजनतत्व मात्र रहने तर एमोनियम सल्फेटमा भने सल्फरको प्रतिशत उल्लेख्य (२४%)  हुने भएकाले मुलतः तेलहन लगायत अन्य सवै वबालीनालीहरुका लागि यसलाई अत्यन्त उपयोगि मान्न सकिन्छ ।

सल्फर समेत हुने कारणले गर्दा र सवै तत्वहरु प्रयोग हुन सक्ने किसिमको मल भएकाले यसको मूल्य अनुदानित युरिया भन्दा महङ्गो देखिएतापनि उपयोगिताको हिसावले सस्तो र उत्पादनका हिसावले प्रभावकारी हुन्छ । नाईट्रोजनका लागि एमोनियम सल्फेटको प्रयोग गर्दा डि.ए.पि.को सट्टा सिङ्गलसुपर फस्फेटको प्रयोग गर्नु लाभदायक हुन्छ किनभने नाईट्रोजनयुक्त मलको कारणले वढ्ने माटोको अम्लियपनालाई सिङ्गलसुपर फस्फेटमा भएको क्यालशियम तत्वले ठिक तहमा राख्ने काम गर्दछ ।

कर्पोरेसनवाट आयात गरिएको अनुदान रहित रासायनिक मलवाट एकातर्फ सरकारको अनुदान माथिको भार घट्न जान्छ भने अर्को तर्फ कृषकहरुले सन्तुलित मलखादको प्रयोगका लागि विकल्प प्राप्त गर्दछन अथवा एकै स्थानवाट विभिन्न पोषक गुण भएका मल रोजेर प्रयोग गर्ने अवसर प्राप्त गर्दछन् । यसका अतिरिक्त सहायक तथा सुक्ष्मतत्वहरु समेत समावेश रहेको हुँदा अनुदानित मलको विकल्पको रुपमा मात्र नभई गुणस्तरीय पुरकको रुपमा समेत सहयोग हुन गएको छ ।

गैह्र अनुदानित मल आपूर्तिको उदेश्य के हो र कृषकले कसरि प्राप्त गर्न सक्तछन ?

गैह्र अनुदानित रसायनिक मल आपुर्तिको मुल उद्देश्य भनेको विविध तत्वयुक्त गुणस्तरिय रसायनिक मल बालीनालीका लागि आवश्यक पर्ने ठिक समयमा र माग बमोजिमको परिमाणमा विना झन्झट कृषकलाई उपलब्ध गराउनु नै हो ।

यसका अन्य विशेषताका वारेमा यस अघि नै भनि सकिएको छ । सरकारवाट रसायनिक मलको अनुदान वापतको बजेटले खरिद हुने रसायनिक मलवाट कृषकको आवश्यकता पुरा हुन नसक्ने लगायत अनुदानित मलको खरिदमा सरकारी प्रकृयागत ब्यवस्थाका कारण तेश्रो मुलुकवाट आयात ब्यवधान समेत आईरहने हुँदा रसायनिक मलको सर्वसुलभताका लागि कर्पोरेसनले निजी ब्यापार कार्यक्रम वाट आयात ब्यवस्थापन गरि रसायनिक मलको आयात तथा विक्रिवितरणलाई भरपर्दो तुल्याएको हो ।

सिमित परिमाणमा प्राप्त हुने अनुदानित रसायनिक मलको वितरण कार्यलाई मलखाद आपुर्ति तथा वितरण ब्यवस्थापन (जिल्लास्तर) कार्यविधि, २०६९,ले निर्देशन तथा नियन्त्रण गरेको हुन्छ । यसको मतलव जुनसुकै स्थानका कृषक वा डिलरहरुले जतिसुकै परिमाणमा अनुदानित रसायनिक मल प्राप्त गर्न सक्तैनन् । यसको अतिरिक्त आपुर्ति सम्बन्धि जिल्लास्तरीय समितिहरुवाट हुने निर्णय अनुसार मात्र विक्रिवितरण हुने हुँदा प्रकृयागत थप जटिलताहरु पनि रहेका छन् ।

यसको विपरित अनुदान रहित रसायनिक मल खरिद गर्नु पर्दा सिधै कृषकले तथा डिलरहरुले विना कुनै प्रकृया चाहेको परिमाणमा खरिद गर्न सक्ने हुन्छ । तसर्थ, गैह्र अनुदानित रसायनिक मलको आयातले रसायनिक मलको आपुर्ति ब्यवस्था सुदृढ वनाएको मात्र नभई कृषि उत्पादनमा समेत प्रत्यक्ष सहयोग पुग्न गएको छ ।

कर्पोरेसनले रसायनिक मलखाद सम्बन्धि ज्ञान अभिवृद्धि गराउन के कस्तो प्रयास गरिरहेको छ ?

रसायनिक मलको प्रयोगकर्ता भनेको कृषकहरु नै हुन् । मुलुकभरका कृषकहरुलाई मलखादको विषयमा उचित ज्ञान तथा शिप प्रदान नगरिदा सम्म उपलब्ध रसायनिक मलको सदुपयोग तथा माटोको गुणस्तरमा सुधार ल्याउन सकिदैन ।

कर्पोरेसनले नेपाल सरकार, माटो ब्यवस्थापन निर्देशनालयको प्राविधिक परामर्श तथा सहयोगमा कृषकलाई रसायनिक मल तथा माटोको गुणस्तर सम्बन्धि जनचेतना अभिवृद्धि गराउने कार्यक्रमको समेत थालनी गरिसकेको छ । यस अन्तर्गत कर्पोरेसनवाट मलखाद सम्बन्धि पुस्तिका वितरण, डिलर तथा कृषकस्तरीय तालिम, सञ्चार माद्यमहरुवाट सूचना तथा जानकारीमूलक शन्देसहरुको प्रशारण  गरिदै आएको छ ।

अनुदानित तथा गैह्र अनुदानित रसायनिक मलखादहरु नेपालको २८ वटा विक्रिकेन्द्रहरु वाट विक्रिवितरण भईरहेको र सवैविक्रिकेन्द्रहरु वाट कृषकहरुलाई जानकारीमुलक शन्देश प्रशारण गर्ने क्रममा नै आज पनि यो कार्यक्रम सञ्चालन भईरहेको छ । यसवाट सवै कृषक समुदायहरु लाभान्वित हुनुहुने छ भन्ने आशा गर्न सकिन्छ ।

अन्त्यमा,  कृषक समुदायका लागि केहि सन्देश दिनु  छ ?

अवश्य छ । हामीले प्राङ्गारिक मलको साथ-साथै सन्तुलित किसिमले मात्र रसायनिक मलको प्रयोग गर्नु पर्ने हुन्छ । हामी सँग रहेका विभिन्न तत्वयुक्त रसायनिक मलको प्रयोग गरेको अवस्थामा माटोमा कमी हुँदै गएको क्यालशियम, सल्फर, जिङ्क, वोरोन जस्ता विरुवाको लागि आवश्यक पर्ने सहायक तथा सुक्ष्म तत्वहरुको सहज आपुर्ति वढाउन सक्तछौं । आफ्नो खेतवारीको माटो परिक्षण गराई सोहि अनुरुप शिफारिस गरिए अनुसारको मलखाद प्रयोग गरिएमा मात्र हामीले हाम्रो माटो जोगाउन र त्यसवाट निरन्तर उत्पादन लिन सक्ने हुन्छौं ।

कृषक दाजुभाई दिदीवहिनीहरुले मलखाद तथा माटो ब्यवस्थापन सम्बन्धमा स्थानिय निकायको मातहत रहेका कृषि शाखा लगायत माटो ब्यवस्थापन निर्देशनालय र प्रदेश भित्रै रहेका माटो परिक्षण प्रयोगशालामा सम्पर्क गरि प्राविधिक सेवा तथा परामर्श समेत प्राप्त गर्न हुन निवेदन समेत गर्दछु ।
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan