Wednesday 17th of January | २०७४ माघ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बिपी पढ्ने, गिरिजा नपढ्ने :गिरिजाको महत्वाकांक्षाले कांग्रेस बर्बाद : प्रसाईं

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २४ सोमबार
newsabhiyan
newsabhiyan

प्रसाईं परिवार झापा बिर्तामोडका भए पनि विराटनगरका कोइरालाहरूको संगतमा पुग्दै कांग्रेस राजनीतिमा सक्रिय भए । खानदान राजनीतिक नभए पनि कोइरालाहरूको नेतृत्व स्विकार्दै प्रसाईं परिवारले राजनीतिमा सक्रियता देखाए । यही परिवारका ९६ वर्षीय रामबाबु प्रसाईं (सिके प्रसाईंका दाइ) २०४६ देखि २०४८ सम्म झापा कांग्रेसका सभापति, मेची र कोशी अञ्चलको संयोजक हुँदै २०४८ देखि २०५२ सम्म पार्टीको केन्द्रीय कोषाध्यक्ष पदमा रहे । २०४८ र २०५१ को संसदीय निर्वाचनमा पराजित भएका प्रसाईंको संगत कोइराला परिवारका बिपी, गिरिजादेखि कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सुवर्णशमशेर राणाहरूसम्म भयो । उनले ती नेताका राजनीतिक जीवनदेखि व्यक्तिगत स्वभावबारे सुनाए :

बिपी, गिरिजा र नोना भाउजूलगायत रहेको विराटनगरको कोइराला निवास राजनीति गर्नेहरूका लागि तीर्थजस्तै थियो । जो गए पनि आदरसत्कार र झन्झट नमानी कुराकानी हुन्थ्यो । बिपीका बाबु कृष्णप्रसादले विराटनगरमा विद्यालय खोल्नुभयो । समाजसेवामा लाग्नुभयो । उहाँलाई त्यहाँका मान्छेले पिता भन्थे । राजनीतिको आधार उहाँले नै तयार गर्नुभयो । व्यापार पनि गर्नुहुन्थ्यो । यसै क्रममा मुद्दा लाग्यो । सर्वस्वहरण नै भयो । यसकै बदलामा छोराहरूले पनि राजनीतिलाई निरन्तरता दिए ।


रामबाबु प्रसाईं, कांग्रेस नेता
बिपी हुन्जेल गिरिजा छायामा

बिपी हुन्जेल गिरिजाबाबु छायाझैँ हिड्नुभयो । बिपीको परमभक्त हुनुहुन्थ्यो । बिपी परलोक भएपछि गिरिजाबाबुको व्यवहार विचित्रको देखिन थाल्यो । ‘हाम्रो कोइराला परिवारले धेरै ‘स्याक्रिफाइस’ गरेको छ, हाम्रोबाहेक राजनीतिमा ‘स्याक्रिफाइस’ गर्ने परिवार नै छैन’ भन्ने भावना उहाँमा उब्जियो । कांग्रेसमा कोइरालाहरूको मात्र त्याग, तपस्या छ भन्ने गिरिजामा बिपीपछि भोग गर्न पाउनुपर्ने म नै हो भन्ने भावना आयो ।

जबकि गणेशमान र किसुनजीपछि गिरिजाबाबु तीन नम्बरमा हुनुहुन्थ्यो । तर, बिपीको भाइ र कोइराला भएपछि मैले नै पाउनुपर्छ भन्ने अहम् गिरिजामा देखियो । मान्छेको व्यक्तिगत आकांक्षा हुन्छ, तर तीन नम्बरको मान्छेले एक नम्बर हुन खोज्नु पार्टीका निम्ति कति राम्रो होला ? बिपी हुन्जेल गिरिजामा यस्तो भावना आएको थिएन, तर ०३९ मा बिपी बितेलगत्तैदेखि उहाँमा यस्तो भावना देखियो ।

गिरिजाको महत्वाकांक्षाले कांग्रेस अस्तव्यस्त

तेस्रो व्यक्तिमा यस्तो महत्वाकांक्षा देखिएपछि कांग्रेस बर्बाद भयो । उहाँको महत्वाकांक्षामा घिउ थप्ने पनि धेरै जन्मिए । ‘अब प्रधानमन्त्री, पार्टी सभापति सबै तपाईं नै हो’ भनेर भड्काउने पनि देखिए । नतिजा– गणेशमानजीजस्तो नेताले कांग्रेस छोड्नुपर्‍यो ।

किसुनजी पनि गिरिजाबाबुकै कारणले अलगजस्तो हुनुभयो । बाहिर भन्ने होइन, तर सभापति र प्रधानमन्त्री दुवै आफूले पाउनुपर्छ भन्ने भावनाबमोजिम काम गरेको देखियो । चुनाव भएर पार्टीले जित्दा आफैँ अग्रसर भएर टिक्नका लागि गुटबन्दी चाहियो, पैसा चाहियो, पार्टीलाई त्यतैतिर लानुभयो । यस्तै व्यवहारले पार्टीमा विखण्डन ल्यायो ।

प्रधानमन्त्री र सभापति हुनलाई जति धेरै क्षमता बिपी, सुवर्णशमशेर र किसुनजीमामा थियो, गिरिजामा त्यति साह्रो क्षमता थिएन । तर, दुवै पद उहाँलाई चाहिने । यो भनेको गर्न सक्ने क्षमताको कुरा हो । तर, उहाँ यो पदमा पुग्न सक्ने क्षमताका लागि गुटबन्दी गर्ने र पैसा खर्च गर्न सक्ने स्वभावको हुनुहुन्थ्यो । बिपी हुँदादेखि पार्टीमा आफूअनुकूलको संगठन गर्ने, सदस्य बनाउने र कुद्ने गिरिजा नै हुनुहुन्थ्यो ।

०४८ को आमचुनावमा गणेशमानजी उठ्दै उठ्नुभएन । किसुनजी र गिरिजाबाबु उठ्नुभयो । तर, किसुनजीलाई हराउनमा गिरिजा गुट लाग्यो । प्रधानमन्त्री भएर ०४७ को संविधान बनाएपछि जितेको भए फेरि प्रधानमन्त्री किसुजी नै हुनुहुन्थ्यो । जसरी पनि हराउने कोसिसका कारण ६–७ सय भोटले मदन भण्डारीसँग उहाँ हार्नुभएको हो ।

पछि, किसुनजीलाई हराउन र विद्या भण्डारीलाई जिताउन प्रधानमन्त्री भएकैै वेला गिरिजाबाबुले सबै शक्ति प्रयोग गर्नुभयो । ०५६ को निर्वाचनमा किसुनजी भावी प्रधानमन्त्री भन्दै होमिएपछि कांग्रेसको बहुमत आयो । किसुनजीलाई भावी प्रधानमन्त्री नभनेको भए कांग्रेसले जित्ने थिएन । पार्टीबाट उहाँ प्रधानमन्त्री पनि बन्नुभयो, तर विडम्बना एक वर्ष पनि टिक्न नदिई गिरिजाबाबुले नै उहाँलाई प्रधानमन्त्रीबाट हटाउनुभयो ।

बिपीको पालामा पनि थियो गुटबन्दी

गुटबन्दी बिपीको पालामा पनि थियो । तर, त्यत्ति बलियो थिएन । तर, अहिले आ–आफ्नो शक्ति हडप्न र एकताको अभावमा गुटबन्दीको रोग देखिएको छ । पहिलोदेखि तीन चार तहसम्मका नेतालाई शक्ति हडप्ने ध्याउन्न हुन्छ । पहिलोपल्ट मै बन्न पाए हुन्थ्यो भन्ने हुन्छ ।

दोस्रोपल्ट अर्को भइसक्यो, अब मेरै पालो हो भन्ने भावना हुन्छ । तर, नपाउने अवस्था आएपछि गुटबन्दीले प्रश्रय पाउँछ । दाजुभाइ, परिवारमाथि नचाहिँदो र निहित स्वार्थ भएपछि अप्ठ्यारो हुन्छ । कांग्रेसलाई यही गुटबन्दीले घेरेको छ, खाएको छ ।

जब कांग्रेसले एजेन्डा फेर्‍यो

००३ देखि ०६२ मा महाधिवेशन नहुँदासम्म कांग्रेसको एजेन्डा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भन्ने थियो । समाजवाद अलि पछि थपियो । राष्ट्रियताभित्रै राजसंस्था थियो । राजसंस्था नरहे हाम्रो राष्ट्रियता रहँदैन भन्ने कांग्रेसको मान्यता थियो । काठमाडौंमा महाधिवेशन हुँदासम्म माओवादीले गिरिजालाई फकाउन सके । खेल्न पाए ।

गिरिजाबाबुलाई अब पहिलो राष्ट्रपति बनाउँछौँ भने । तपाईं हाम्रो पनि नेता हो भनेर फकाउँदा उहाँ फकिनुभयो । यो हाम्रो दाबी होइन, व्यवहारले देखिएको कुरा हो । पछि, माओवादीले राष्ट्रपतिमा रामराजाप्रसाद सिंहलाई उठाए ।

 

पहिलो राष्ट्रपति बन्छु भन्ने लोभले वर्षौंदेखि मानेर आएको राजसंस्थाबाट गणतन्त्रमा जान गिरिजा तयार हुनुभएको देखिन्छ । ज्ञानेन्द्रसँग केही कुरामा असझदारी थियो, तर उनीसँग कुरा मिलेन भन्दैमा राजसंस्था नै हटाउन उहाँ तयार हुनुभयो । स्कुलमा हेडमास्टरले नराम्रो काम गर्दा उनलाई हटाउने नभई स्कुल नै भताभुंग पार्नेजस्तै काम हुन पुग्यो । गिरिजाबाबुले यस्तै गर्नुभयो ।

ज्ञानेन्द्रले शाहले संविधान मिचे

पछि, समझदारीबाट होइन, खेलभित्रबाट डा. रामवरण यादव राष्ट्रपति बन्नुभयो । गिरिजाबाबुले कहिलेकाहीँ बेबी किङको पनि कुरा गर्नुहुन्थ्यो, तर राजसंस्था हटाएर गल्ती गरिएछ भन्नेचाँहि देखाउनुभएन ।

ज्ञानेन्द्र नमान्ने तर, उनका नातिलाईचाहिँ मान्न खोजेकोजस्तो उहाँले देखाउनुभयो । गिरिजाले राम्रो काम गर्नुभएन र ज्ञानेन्द्रले आफ्नो शक्ति बढाउने मौका पाए । मौका पाउँदा गिरिजा पछि पर्नुभयो, यसले पनि उहाँमा रिस देखिन पुग्यो ।

महत्वाकांक्षा कहिलेकाहीँ राम्रो पनि हुन्छ, तर ज्ञानेन्द्र नाजायज महत्वाकांक्षाको सिकार भए । असोज १८ साधारण किन पनि हो भन्दा संविधानको व्यवस्था अनुसार नै धारा १२७ अनुसार ज्ञानेन्द्रले अध्यक्षता लिएका थिए ।

सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दलाई केही महिना प्रधानमन्त्री बनाए । केही महिना फेरि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए । फेरि १९ माघ २०६१ मा ज्ञानेन्द्र आफैँ अध्यक्ष भए । यसरी प्रधानमन्त्री बनाउन सक्ने प्रावधान ०४७ को संविधानमा नभए पनि अध्यक्षता लिएर ज्ञानेन्द्रले सोझै संविधान मिचे । आफैँले भ्वाङ पार्दा राजतन्त्र नै उड्यो ।

बिपी पढ्ने, गिरिजा नपढ्ने

 

दाजुभाइ भए पनि बिपी र गिरिजाबाबुमा आकाश–पातालको फरक थियो । अध्ययनले राजनीतिमा धेरै महत्व राख्छ । गिरिजाबाबुले धेरै पढ्न पनि पाउनुभएन । मलाई थाहा भएसम्म उहाँ म्याट्रिक मात्र हो । म्याट्रिक पास गरेर गिरिजाबाबु र म भारतबाट आयौँ । हामी त्रिचन्द्र कलेजमा आइएस्सीमा भर्ना भयौँ । चार–पाँच महिनापछि उहाँले बीचमै पढाइ छाडिदिनुभयो ।

तर, पछि पनि मानिसले अध्ययन गर्छ । एकेडेमिक अध्ययन नगरे पनि अरू अध्ययन गर्न सकिन्छ । तर, फिल्डमा सक्रिय हुनुपरेको हुनाले गिरिजाबाबुको बाहिरी अध्ययन गर्ने स्वभाव पनि भएन । समय नै पाउनुभएन । गाडी र रेलमा हिँड्दा पनि बिपीसँग दुई–चारवटा किताब कहिल्यै टुट्दैन थिए । तर, गिरिजाबाबुको स्वभाव भने पत्रपत्रिका पढ्ने, किताब पढ्ने नै भएन/थिएन ।

बिपी एउटा पत्रिका लिनुभयो भने त्यसको शीर्षक हेर्दैमा भित्र के छ भनेर अनुमान लगाइसक्नुहुन्थ्यो । तर, किताब, अखबार पढ्नेभन्दा साथीभाइसँग धेरै गफ गर्न गिरिजाबाबु मन पराउनुहुन्थ्यो । साथीभाइले लाने कुरा र बुझ्नैपर्ने भएपछि उनीहरूबाट कुरा बुझ्ने शैली गिरिजाको थियो । समयको दबाबभन्दा पनि मान्छेहरूको अभिरुचि बेग्लाबेग्लै हुने भएकाले बिपी र गिरिजामा यस्तो फरक देखिएको हो । त्यागको हिसाबले त गिरिजाबबुलाई पनि लिनुपर्छ । १०/१२ वर्षको उमेरदेखि राजनीतिमा लाग्दा उहाँले धेरै पढ्न पनि सक्नुभएन । काममा गल्ती भए होलान्, बेग्लै कुरा हुन् । तर, निरन्तर दुःख झेलेर पनि पार्टीमा निरन्तर लाग्नु उहाँको राम्रो पक्ष थियो । उहाँको एउटै गुण निरन्तरता हो ।

दुःखको बाटोमा गणेशमान र सुवर्णशमशेर

सुवर्णशमशेर अध्ययनशील, इमानदार र बफादार हुनुहुन्थ्यो । गणेशमान आफ्नो कुरा नछाड्ने भएर ‘आइरनम्यान’ नामले चर्चित हुनुहुन्थ्यो । बडाकाजीको नाति जसलाई लाउन, खान दुःख थिएन । सम्पन्न परिवार हुँदाहुँदै पनि प्रजातन्त्रका लागि दुवैजना लागे । सम्पन्न हुँदाहुँदै पनि जेल जानुपर्ने, दुःख पाउनुपर्ने बाटो यी दुई नेताले रोजे ।

उहाँहरूलाई बिपीको बाबुलाई दुःख दिने सरकारविरुद्ध लड्छु भन्ने लागेको होला । तर, सम्पन्न र आरामसँग बस्न पाइने र आरामशैली जीवनशैली जिउन सक्ने हुँदाहुँदै जेल जानुपर्ने दुःखको राजनीतिमा सुवर्ण र गणेशमान होमिनुभयो । प्रजातन्त्रप्रति आस्था भएकाले नै यसरी दुःखको बाटो रोज्दै, दुःख भोग्नुभयो ।

किसुनजी त्यागी र सिद्धान्तवादी

किसुनजी त्यागी र सिद्धान्तवादी नेताका रूपमा कहलिनुभयो । उहाँ पदमा हुँदा र नहुँदाको सरल जीवनशैलीले यही देखाउँछ । १ पुस ०१७ मा तत्कालीन राजा महेन्द्रले कुनै कसुरविना बिपी, गणेशमान र किसुनजीलाई जेल हाले । बिपी प्रधानमन्त्री, किसुनजी सभामुख, गणेशमान र सूर्यनाथ उपाध्याय मन्त्री हुनुहुन्थ्यो । तर, उहाँहरू विनाकसुर ८ वर्ष सुन्दरीजल जेलमा बस्नुपर्‍यो ।

यता, सुवर्णशमशेर कांग्रेस सभापति हुनुहुन्थ्यो । उहाँले राजा र प्रजा मिलेर काम गर्नुपर्छ भन्ने वक्तव्य निकाल्नुभयो । आठ वर्ष जेल बसेपछि बिपी, गणेशमान, उपाध्याय छुट्नुभयो । तर, सभामुख किसुनजी छुट्नुभएन । किनभने, जेल परेदेखि नै किसुनजीले सभामुख हुनुभन्दा अगाडि मात्र म कांग्रेस थिएँ, सभामुख हुँदा स्वतन्त्र हुँ र मलाई जेलमा राख्न पाइँदैन भन्ने अडान राख्नुभएको थियो । तर, आफ्नो अडानमा दृढ उहाँलाई ०२५ मा बिपीहरूसँगै जेलबाट छाडिएन । थप एक वर्ष राखेपछि मात्रै छोडियो । मलाई पञ्चायतले त्यत्तिकै थुन्यो, थुन्नै हुने थिएन भन्ने अडान राखेकैले उहाँलाई थप एक वर्ष बढी जेलमा राखिएको थियो । रमेश सापकोटाले गरेको कुराकानी नयाँ पत्रिकाबाट ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan