Friday 27th of April | २०७५ बैशाख १४ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘हिरो बनौं, किरो र जिरो नबनौं’

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २८ शुक्रबार |
newsabhiyan
newsabhiyan

राजन कार्की, जिम्मी कार्टरले गिरिजा मेरो हिरो भनेका थिए, उनी हिरो बने कि जिरो, त्यसको परिणाम आमनिर्वाचनमा आएर नेपाली कांग्रेस तीन बल्ड्याँङ् हुनपुगेको छ ।

नेपालको राजनीतिमा कांग्रेस शेरबहादुर देउवाजस्ता अहंकारीले चलाउँदैमा शेर बन्नसक्दैन भन्ने स्पष्ट हुनपुगेको छ । राजनीतिको शेर बन्न हुंकारले मात्र हुन्न, जनताको मन पुकार्न सक्नुपर्ने रहेछ । कांग्रेस नीतिमा, सिद्धान्तमा, जनबल र जनअपेक्षामा असफल भयो । निर्वाचनको परिणामको परिभाषा यही हो ।

चुनाव त हा¥यो हा¥यो, नैतिक रुपमा समेत कांग्रेस माइनस हुनपुगेको छ । चुनाव हार्नासाथ प्रधानमन्त्री देउवाले राजीनामा दिनुपथ्र्यो, त्यत्ति गरेको भए कांग्रेसको प्रजातान्त्रिक धार, आधार र छविमा दाग लाग्ने थिएन ।

लज्जाजनक हार भए पनि देउवाले राजीनामा दिएनन् र सत्तामा गजधम्म बसेकै छन् । यद्यपि राजीनामा दिए पनि सत्ता हस्तान्तरणको विधि सम्पन्न नभएसम्म चलाउने त उनैले थिए । चुनावभन्दा पनि यो नैतिक हार, कांग्रेसका लागि भविष्यमा चट्य्राङ पूर्वानुमान भन्दा फरक पर्दैन ।

बहुदलपछिको १२ वर्षे कूशासन र लोकतन्त्रको यो पछिल्लो २ सय १२ दिने शासन समाजवाद र प्रजातान्त्रिक भविष्यका लागि साखढे सातको दशा नै सावित हुनपुग्यो । जसको लाभ वामपन्थीहरुले दुईहातले सोहोर्न‘ सोहरे । वामपन्थीलाई मात र प्रजातन्त्रवादीको पुर्पुरोमा हात हुनपुग्यो ।

अहिलेको यो खड्गोमा धुकधुकीसम्म रहेको कांग्रेसले नीति, नेतृत्व र सिद्धान्तमा भएका कमजोरीको सही मन्थन गर्न सकेन भने कांग्रेसको वर्तमानमा जस्तै भविष्य पनि सूर्यग्रहण नै लाग्नेछ ।

प्रजातन्त्रवादीको सातो गयो, देश रातो देखियो । हुन त जनयुद्धकालमा पनि रगताम्मे थियो देश, त्यतिबेलाको रगतपच्छे रातो र अहिलेको जनादेशले देखाएको रातोमा भिन्नता छ ।

त्यो रगताम्मे रातोको कलंक धुन यो राताम्मे जनादेशले सक्ला कि नसक्ला, यसको शिरोभारो एमाले र माओवादीले बनाएको वाम मोर्चामा अन्तर्निहित छ । वाम मोर्चाले पाएको यो मौका जनघात, राष्ट्रघात धुने धोविघाट पनि हो ।

हुन त इटलीमा ग्यारीवाल्डीले योङ इटलीजस्तो क्रान्तिकारी दस्ता तैयार गरेका थिए, रेडसर्टजस्तो दल खोलेका थिए । यी दस्ता र दलले इटलीको शान्ति र समुन्नतिको जग बसाले र लोकतान्त्रिक राजनीतिमा समाहित भए । जसको परिणाम आजको मजबुत इटली हो । त्यो अनुकरणीय कामको शिक्षा वाम मोर्चाले लिन सक्ला कि नसक्ला ?

ओली र प्रचण्ड, शेक्सपियरले लेखेजस्तो कठपुतली बनेर Cowards die anyties before their death को नियतिका सिकार होलान् कि जनअपेक्षाअनुसारको स्वाधीनता, समानता, न्याय र सर्वोन्नतिको परिणाम देलान् ? त्यो अग्नि परीक्षा सुरु भयो ।

माओ, चारु, चाउको इतिहास सकारात्मक साहसको इतिहास हो, यिनले जनघात अथवा राष्ट्रघात कहिल्यै गरेनन् । प्रचण्ड र केपी ओलीको बितेका दिनहरु भरलाग्दो जनवादी, देशवादी छैन । तिनको बिगत त्यसै भन्छ । यी दुबै नेता उन्माद, भ्रष्टाचार, दुराचार, सत्तामोह, भागबण्डामा चुर्लुम्मै डुवेका प्रमाणहरु छन् ।

यिनीहरु बाहुबली पाल्न र खल्तीमा हाल्न जान्ने नेतामा पनि गनिन्छन् । यसकारण चुनाव विजेता र वाम मोर्चाका महान हस्ती यी दुईका सामु यक्ष प्रश्न तरवार बनेर उभिएको छ– इमान नभएकाको कलंकित अर्को चर्को अध्याय थपिने त होइन ? यी दुबै नेता जनइच्छा परिपूर्ति गर्न सफल होउन् भन्ने हाम्रो कामना छ ।

राष्ट्र बनाउने इच्छाशक्ति भएको ‘स्टेट्स्म्यान’ नेपालको आवश्यकता हो । त्यो इच्छाशक्तिको झल्को वाममोर्चाले भाषणमा, घोषणापत्रमा दिन सफल भएको छ, जसलाई जनताले पत्याएकै हो । समृद्धि र समुन्नति अवको एजेण्डा पनि भनेका छन् यिनले ।

तर, सत्तामा नजाँदै जुन प्रकारको ठस्कने र मस्कने, गुट र उपगुटका रलमल र अलमल, भागबण्डाको भद्रगोल खडा गर्न थालेका छन्, यिनीहरुको इच्छाशक्ति पतन हुन थालेकोमा समाजमा चिन्ता र चासोको पारो बढ्दै गएको छ ।

बिगत १२ वर्षमा ओलीले प्रचण्डलाई र प्रचण्डले ओलीको चरित्रमा शव्दवाण अर्थात लाठे मुङ्ग्रो बजारेकै हो, सिस्नो पानीले चुट्नु चुटेकै हो । चुनाव अघि यी दुई एक भए । पुरानो कुरा बिर्सिएर नयाँ श्रृंखला सुरु भयो । मित्रताले विजयमाला पनि पहि¥यायो । एउटै माला दुबैले गला गाला जोडेर लगाए पनि ।

चर्चिल र रुजवेल्ट नै बन्ने सपना देखाएका हुन् ओली र प्रचण्डले । ५० वर्ष शासन गर्ने यिनको लक्ष्य छ । कांग्रेसको रुख फाँडेर सूर्य रोप्ने, सूर्य फलाउने, उदाउने यिनको उद्देश्य छ । यी दुईको राजनीतिक सम्मोहनकलाले नतिजा दियो, तथापि यिनीहरु घेरिएको र यिनको सोच नफेरिएको आफन्तवाद र भतिजावादमा स्वाह हुने खतरा पनि त्यत्तिकै छ ।

यसकारण अर्को प्रश्न उठेको छ– चर्चिल र रुजेवेल्टको केमेष्ट्रीको उपज हो एटलान्टिक चार्टर । ओली र प्रचण्डको केमेष्ट्रीको उपज वामपन्थी सर्वसत्तावाद र निरंकूशता कि विधिको शासन ? देशमा १ सय २६ जाति छन्, यिनको समानुपातिक सूचीमा न सतार छन्, न कुशवाह, कुर्मी, चमार, मुसहर, दमाई, कामी, राउटे कोही पनि छैनन् ।

दश पन्द्र जातिले चलाउने सत्ताले सवासय जातिको भलो, एकता, हक र हित संरक्षण गर्ने कार्यसूची समेत यिनमा छैन । मुख्य सवाल अन्याय र गरीवीको उन्मूलन हो । वामपन्थीको आधारशक्ति भनेकै गरीवी र अन्यायपूर्ण भएकाले वाममोर्चाले भनेको समृद्धि र सुशासनका लागि यिनले विशेष काम गर्लान् र ? विश्वास कम र शंका बढी गर्न ठाउ दिन्छ ।

विश्वप्रशिध्द दार्शनिक अरबिन्दले लेखेका छन् : यदि तिम्रो मनमा दास मानसिकता, परावलम्बी चिन्तन र कलुषित विचार छ भने तिमी कहिले पनि आफ्नो माटोका लागि बाँच्न सक्दैनौं । अहिलेलाई अदृश्य शक्तिले अपराजेय बनाईएका अपवित्र गठबन्धनका नायकव्दय प्रचण्ड र ओली त्यस्तै शक्तिशाली बनेका हुन्, जो नेपाली जनताको आँखामा नयाँ नेपाल, धर्मनिरपेक्ष नेपाल, गणतन्त्र नेपाल, संप्रभू नेपाल बनाउने धूलो झोंकेर राष्ट्रवादलाई चितामा सेलाएर नेपाली जनतालाई मलामी बनाईरहेका छन् ।

१२ वर्षमा पनि यी दुवै नेता सिङ्गो राष्ट्रको राजनेता बन्न नसक्नुको कारण यिनीहरुभित्र पन्पिएको सत्ता र शक्तिको महत्वाकांक्षा हो । अहिलेलाई हेर्दै जाउँ, नयाँ जनादेश पाएका छन्, हेर्दै कति जिम्मेवारीपूर्ण काम गर्छन् । आगे आगे होता है क्या ?

चुनाव हारेको लोकतान्त्रिक शक्ति प्रतिपक्षमा बस्नेछ भने अव वाममोर्चाभित्र सत्ता समीकरण, शक्ति बाँडफाँडको प्रतिस्पर्धा हुनेछ । राजतन्त्रको अस्त भएपछि निरंकूशतन्त्रको अन्त्य भयो, प्रजातन्त्रको सूर्य उदायो भन्ने कुरा बिगत १२ वर्षले गलत साबित गरिसकेको छ ।

यो आमनिर्वाचनमा जनसहभागिताले प्रजातन्त्रकै पक्षमा मतदान गरेको छ । त्यो जनबललाई वामपन्थी सिद्धान्तको साँचोमा ढालियो र प्रजातन्त्रलाई गौण पारियो भने, वामपन्थीको अराजकता उत्पादन गर्ने कारखाना त्यही हुनपुग्नेछ । वाम मोर्चाले प्राप्त गरेको जनादेशमा राष्ट्र, सुशासन, स्वाधीनता र समानता प्रष्ट देखिनुपर्छ ।

अन्यथा वाम मोर्चाको ओरालो यात्राको प्रारम्भविन्दु अन्यत्र खोज्नुपर्ने छैन । मुसल वाम मोर्चाभित्रै गर्भधारण गर्नेछ र अर्को महाभारतको सृष्टि वाम मोर्चाकै कोखबाट जन्मने छ । यदि सतर्क भएनन् यी भने ।

यतिखेर विश्व समाचारका दुई विषय छन् : ह्यारी पोर्टर पुस्तक र नेपालमा लोकतान्त्रिक शक्तिको हारसँगै वाम मोर्चाको चुनावी विजय । वाम मोर्चा जनयुद्धकारी र प्रजातान्त्रिक अभ्यास गरिरहेको दुई वामशक्तिको संगठन हो । यसको एकताका कुरा पनि चर्चामा छ ।

यी दुबै शक्ति पटक पटक सत्तामा गए, संविधानमा अटाए, चुनावमा विजयी बने, एकपछि अर्को तिलस्मी घटनाक्रम घटिरहेका छन् । वाम मोर्चा पेण्डोराको बाकस साबित नहोस्, जनअपेक्षा पुरा गर्न ल्याकत र ताकत देखाओस् भन्ने कामना गर्नु उचित हुनेछ ।

खेलको नियम हुन्छ, राजनीतिको सिध्दान्त हुन्छ, राज्य बिधिमा चल्छ । प्रजातन्त्रको सुन्दरता भनेकै यही हो । यो सुन्दरतामा आ“खामा गाजल सुहायो भन्दैमा मुखभरि गाजल पोत्ने काम वाम मोर्चाले ग¥यो भने चुनावबाट उदाएको सूर्य कालाम्मे बन्नेछ । जनादेशको अपमान हुनजानेछ । यो यथार्थ वाम मोर्चाले हेक्का राख्न जरुरी छ ।

केपी ओली र प्रचण्ड सूर्य उदाए झैं उदाएका छन्, सूर्यको राप र तापको लोकतान्त्रिक तरिकाले सदुपयोग गरुन् । जनादेशको स्वागत र चुनाव जित्नेहरुलाई हार्दिक बधाई छ । यद्यपि डन र धनवादका लाउकेहरुले पनि चुनाव जितेकाले पक्कै गाँसमा ढुंगा लागेको छ तर तिनलाई सम्बन्धित पार्टीले सही मार्गमा हि“डाउलान् विश्वास गरौं ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan