Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेसजनले आफ्नै घरको सिसा सफा गरे पुग्छ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार |
newsabhiyan

खिला कार्की, यो पटक कांग्रेसलाई सुधारका लागि के गर्ने भन्ने विषयको सुरुवात एउटा कहानीबाट गरौं जस्तो लाग्यो । एक दम्पतीका बीचमा एउटा विषयमा सधैंजसो छलफल हुँदो रहेछ । त्यो छलफलको विषय भनेको दिनहुँ छिमेकीको घरमा सुकाउने लुगामा केन्द्रित थियो ।

दिनहुँ लुगा सुकाउने छिमेकीको घरमा लुगा भने कहिल्यै सफा देखिँदैनथे । सधैं मैलो लुगा किन सुकाएको भन्ने छलफल गर्ने दम्पतीले लुगा मैलो हुने कारण पत्ता लगाएछन् । त्यो कारण भनेको आफ्नै घरमा सिसा मैलो भएको रहेछ । उनीहरूले सिसा पुछे छिमेकीको घरमा सुकाएको लुगा सफा देखिन थाले ।

अब नेपाली कांग्रेसले पनि आफ्नै घरको सिसा सफा गर्न जरुरी छ । कांग्रेस कमजोरी माथिको कहानीमा छिमेकीको घरमा मैलो लुगा सुकाएको देखिए जस्तै कांगेसभन्दा अरू शक्ति किन बलिया भए भनेर एक दिन ती दम्पतीले जस्तै कारण खोजी गर्न लागेर आफैंलाई शुद्धीकरण गर्न जरुरी छ ।

कांग्रेस यति कमजोर कुनै एक जना नेता वा कुनै एक जना कार्यकर्ताको गल्तीका कारण भएको होइन । नेताहरूको पनि गल्ती र कार्यकर्ताहरूको पनि गल्तीका कारण कांग्रेस यो अवस्थामा पुगेको हो । त्यसकारण अब कांग्रेसजनले व्यवहार र विधान सफा बनाउन जरुरी छ ।

व्यवहार : नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूको व्यवहार सफा नभएका कारण नै अहिले कांग्रेस कमजोर बनेको हो । कांग्रेस नेता, कार्यकर्ताहरू विभिन्न पक्षविपक्षमा बाँडिएर कांग्रेस सकिँदा खुसी मनाउने अवस्थामा पुगे । यो भनेको आफ्नै घर पोलेर खरानी बेचेर धनी बन्ने सपनाभन्दा अरू के हुन्छ र ?

अहिले चुनावको समीक्षाका नाममा एक पक्षले अर्को पक्षलाई गाली गर्ने एउटा पक्षले अर्को पक्षले असहयोग गरेको भन्दै कारबाहीका लागि सिफारिस गर्ने लहर चलेको छ । तर अहिले कांग्रेसजनले यसो गर्नुभन्दा आफ्नो घरको सिसा सफा गर्नु जरुरी छ ।

त्यो भनेको, अर्को पक्षलाई गाली गर्नुभन्दा आफूमा पनि केही गल्ती थियो कि भन्ने सोच्न जरुरी छ । अनि शक्तिमा भएको एउटा पक्षले अर्को पक्षलाई कारबाहीका लागि सिफारिस गर्नेभन्दा विगतमा मैले पनि गल्ती गरेको थिएँ । विगतमा मैले पनि असहयोग गरेको थिएँ कि भनेर एकपट पुनर्विचार गर्न जरुरी छ ।

बीपी कोइरालाले स्थापना गरेको पार्टी नेपाली कांग्रेस । यो पार्टीका नेता, कार्यकर्ताहरू भनेको बीपीका अनुयायी पनि हुन् । तर कांग्रेस नेता, कार्यकर्ताहरूको व्यवहार भने बीपीको अनुयायीको जस्तो होइन, बीपीमाथि अन्याय गर्ने जस्तो छ । बीपी कोइराला पार्टीमा आफूसँग प्रतिस्पर्धा गर्न साथीहरूलाई प्रेरित गर्ने गर्दथे ।

तर अहिले आफ्ना प्रतिस्पर्धीलाई दुस्मनको व्यवहार देखाउने गर्दछन् । बीपीको प्रेरणाले डा.भूदेव राई कांग्रेसको महाधिवेशनमा बीपीको विपक्षमा खडा भएका थिए । तर हामी बीपीका अनुयायी भन्ने अहिलेका कांग्रेस आफ्ना प्रतिस्पर्धीलाई दुस्मन ठान्छन् । पार्टीको आन्तरिक प्रतिस्पर्धामा उत्रिएका साथीलाई आफू शक्तिमा आएपछि झन्डैझन्डै गैरकांग्रेस देख्छन् । यो घर पोलेर खरानी बेच्ने सपना कार्यकर्ताहरूले मात्र होइन नेताहरूले पनि देख्न थालेका छन् ।

अर्को भनेको बीपी कोइरालाले २०३६ सालको जनमतसंग्रहमा परशुनारायण चौधरीलाई भावी प्रधानमन्त्री घोषणा गरेर जनमतसंग्रहमा होमिनु भएको थियो । अहिले चुनावमा जाँदै गर्दा पार्टी कुनै निर्णय गर्दैन । अनि कांग्रेसका आधा दर्जन नेता आफंैलाई प्रधानमन्त्री घोषणा गर्दै चुनावी मैदानमा जान्छन् ।

आधा दर्जन नेताहरूले प्रधानमन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेपछि प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति देउवा आफूलाई ज्योतिषले भनेको अझै प्रधानमन्त्री बन्ने घोषणा गर्नुहुन्छ । अहिले कांग्रेसजनको व्यवहार बीपीका अनुयायीको जस्तो कहीँ कतै देखिँदैन । कांग्रेसजनहरू अहिले बीपीमाथि अन्याय गर्ने अत्याचारी जस्ता देखिएका छन् ।

विधान : चुनावपछि नेपाली कांग्रेसको विधान परिवर्तनको पनि बहस सुरु भएको छ । तर बीपी कोइरालाका पालामा विधानमा धेरै कुराको व्यवस्था थिएन । विधान नहुँदा व्यवहार थियो । आज व्यवहार छैन विधानले बाँध्नु परेको छ । विधानले बाँध्न खोज्दा पनि विधान विपरीत गर्नेहरू बलिया बनेका छन् ।

बीपी कोइरालाले पार्टीको केन्द्रीय समिति र मन्त्रिमण्डल बनाउँदा महिला, लिम्बू, राई, दलित, मधेसी, थारू, नेवार, तामाङ, थकालीलगायतलाई समावेश गर्नुभएको थियो । त्यो बेला विधानमा नै यस्तो व्यवस्था थिएन । तर आज यो व्यवस्था विधानमा छ ।

विधानको व्यवस्था र विधानको मर्म र लक्ष्यलाई सकेसम्म विपरीत गर्ने काम भएको छ । कांग्रेसजनले बीपीको सन्देश र संस्कारलाई बुझ्नै भन्दा पनि घरमा बीपीको तस्बिर राख्ने काम भयो । मस्तिष्कमा बीपीको संस्कार राख्ने कुनै कांग्रेसजले सकेनन् ।

आज महिला, मधेसी, राई लिम्बू, दलित सवैलाई समावेश गर्ने कांग्रेसको विधान छ । मुलुकको संविधान छ । तर अहिले नेता कार्यकर्तामा बीपीको जस्तो विवेक छैन । महिलाको आरक्षण कोटामा पार्टीको केन्द्रीय समितिदेखि पार्टीका अवसरसम्म सबै औंलामा गन्ने महिलाहरू पुग्ने, आदिवासी जनजाति, दलित, सबै आरक्षणको कोटामा केन्द्रीय समितिदेखि पार्टीका अवसरमा जीवनभर औंलामा गन्नेहरूले उपभोग गर्ने भएको छ । सबैको कांग्रेस बीपीका पालामा विवेकले भएको थियो । आज विधानले बाँध्दा पनि नेता कार्यकर्ताहरूको विवेक पुग्न सकेको छैन ।

त्यसकारणले विधानले भन्दा बढी काम विवेकले गर्ने रहेछ । विवेकले धेरै काम गर्‍यो भने बीपीका पालाको जस्तो सबैको कांग्रेस बन्छ । सबैको कांग्रेस बनाउनका लागि सबै कांग्रेसजनले आफ्नै घरको सिसा सफा गर्न जरुरी छ । न्यूज अभियानका लागि देशान्तरका साथमा । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan