Friday 27th of April | २०७५ बैशाख १४ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्वाभिमानको रहस्य

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार |
newsabhiyan
newsabhiyan

आचार्य लक्ष्मण भण्डारी, मान्छेको नैसर्गिक स्वभाव भनेको आनन्दको खोज हो । प्रत्येक मनुष्य आनन्दको खोजमा सक्रिय रहेको हुन्छ । मनुष्यका हरेक क्षणहरु आनन्द प्राप्तिकै लागि खर्च भइरहेका हुन्छन् । मान्छे जहाँ जाओस्, जे गरोस् वा जसरी बाँचोस्, ऊ प्रसन्न रहन चाहन्छ, खुसी रहन चाहन्छ ।

चुरोट खाने मान्छेले पनि चुरोटको धूवाँभित्र आनन्दको खोजी गरिरहेको हुन्छ, चुरोट नखाने मान्छेले पनि स्वस्थ जीवनशैलीभित्र आनन्द देखिरहेको हुन्छ । चोरी गर्ने र चोरी गर्न हुन्न भन्ने दुवै खालका मान्छेले आनन्दकै खोजी गरिरहेका छन् ।

व्यापार गर्नेले अपार पैसा कमाउन चाहन्छ । पैसा कमाएर सुन्दर घर, परिवार, मीठो भोजन, मनोरञ्जन गर्नु र आनन्द प्राप्त गर्नु व्यापारीको काम हो । एक जना कर्मचारीले जागिर खाएर पैसा कमाएपछि सुखको नै आशा गर्दछ । शिक्षक, नेता, पत्रकार, सन्त, कलाकार, कवि, लेखक वा मजदुर यी सबैले खोजेको सुख हो, आनन्द हो । अर्थात् आनन्द मनुष्य मात्रको साझा अभीष्ट हो, मनुष्यजीवनको एक मात्र गन्तव्य हो ।

तर आनन्द लामो समयको मिहिनेत, परिश्रम र साधनाको प्रतिफल मात्रै होइन । आनन्द प्राप्त गर्न कुनै पनि कठिन र दुःसाध्य काम गर्नुपर्दैन । न त आनन्द अनन्त प्रतीक्षाको प्रतिफल नै हो । आनन्द हरपल उपलब्ध छ । हामी हरेक ठाउँ, हरेक परिवेश र हरेक प्रयत्नमा आनन्दलाई प्राप्त गर्न सक्दछौँ । हामीलाई आनन्द प्राप्तिमा मात्र हुन्छ भन्ने भ्रम छ तर आनन्द अभाव र त्यागमा पनि उत्तिकै प्रतिष्ठासाथ स्थापित छ ।

हामी आनन्द एकाएक उपलब्ध हुन सक्ने कुरा होइन भन्ने मानसिकतामा बाँचेका छौँ । यही मानसिकताले गर्दा नै हामी आनन्दलाई भेट्न असफल भइरहेका छौँ । आनन्द छोरानाति, पनाति र धेरै रूपैयाँपैसाको जोहो गरेपछि मात्र प्राप्त गर्न सकिन्छ भन्ने चिन्तन पालेर बसेका छौँ हामी ।

आनन्द आजै र अहिल्यै प्राप्त गर्न सकिन्छ भन्ने कुरामा हामीलाई पत्यार लाग्दैन । आनन्दलाई भविष्यको गर्भमा छोडेर हामी स्वर्णिम वर्तमानलाई दुःख, कष्ट र तनावले ग्रस्त बनाउँदै बाँचेका छौँ । हामीसँग जे छ, तनाव छ । हाम्रो वर्तमान निराशा र कुण्ठाले भरिपूर्ण छ ।

हरेक पलहरु आनन्दले युक्त छन् । प्रकृतिको यो विशाल काखमा लाग्छ, मान्छे नै सबैभन्दा धेरै दुःखी र चिन्ताग्रस्त छ । अन्य पशुलाई एक सेकेन्डपछि हुने हुनामीका बारेमा पनि केही थाहा हुँदैन । कसाइले हतियार उदाइरहेको हुन्छ, तर खसी र बोकाहरु त्यत्तिकै आनन्दित भएर घाँस र परालको त्यान्द्रो खाइरहेका हुन्छन् । भविष्यप्रतिको अज्ञानता परमेश्वरको अत्यन्त ठूलो अनुकम्पा हो । यदि भोलि हुने कुरा आजै थाहा हुँदो हो त संसार यति रसिलो र सुमधुर पक्कै हुने थिएन ।

मान्छे अन्य पशुपक्षी र प्राणीहरु भन्दा बढी तनावग्रस्त हुने कारण उसको आवश्यकताभन्दा धेरै बाठोपन हो । ईश्वरले उसलाई चिन्तनको लागि मस्तिष्तक दिएको छ, तर चिन्तनलाई उसले चिन्तामा बदलेको छ । चाहिनेभन्दा बढी इन्द्रियहरुको गुलाम बनेको छ । पशुहरुमा मान्छेको भन्दा नियमित जीवनशैली देखिन्छ ।

आपूmसँग जे उपलब्ध छ, त्यसबाहेकको अपेक्षा पशुहरुमा हुँदैन । मान्छेका लागि भोजनलाई स्वाद लिएर ग्रहण गर्नका लागि जिब्रो उपलब्ध भएको छ, तर जिब्रोलाई यति उत्तेजक वस्तुको भोजनमा व्यस्त बनायो कि आज उसको जिब्रो झट्ट स्वाद नपाउने भएको छ । सादा भोजन र सागसब्जीले उसलाई नपुगेर चटपटेजस्ता अति मसलादार वस्तुको उपभोगमा ऊ लाग्यो ।

पशुहरु यौन र मनोरञ्जनमा पनि मान्छेभन्दा व्यवस्थित र शालीन देखिन्छन् । पशुहरु निश्चित ऋतु, महिना र समयमा मात्र यौनक्रियामा सहभागी हुन्छन् । जहिले पायो उहिले पशुहरु छाडा भएर यौनको दुरूपयोगमा लागेका देखिँदैनन्, तर आजको मान्छे यौनसन्तुष्टिको नाममा यति गिरेको छ कि हामी कल्पनासम्म पनि गर्न सक्दैनौँ । यौनक्रियाको कुनै नियम, निश्चित अनुशासन र परिधि निर्माण गर्न मान्छे कहिल्यै सफल हुन सकेन । अनेकसँग यौनसम्पर्क स्थापित गर्दै हिँड्न पाउँदा आनन्दको अनुभूति गर्ने महिला र पुरूषको सङ्ख्या निकै बढ्दो छ ।

बाहिर हेर्दा भलादमी, शिक्षित, बुज्रुक र सम्मानितजस्ता देखिने मान्छेहरु पनि यौनका विषयमा अत्यन्त नराम्रोसँग चुकेका देखिन्छन् । घरमा श्रीमान् या श्रीमती हुँदाहुँदै पनि लुकीछिपी अनेकसँग यौनकार्यमा लाग्नेहरु पत्याउनै नसकिने गरी बढेका छन् । नेपालजस्तो रोजगारीको अभाव भएको ठाउँमा त झन् समग्र समय नै यौनको चिन्तनमा बिताउनेहरुको सङ्ख्या अधिक छ ।

आजको मान्छे पाशविक आनन्दभन्दा माथि उठ्न सकेन । कतिपय विषयका सन्दर्भमा त झन् मान्छे पशुभन्दा पनि निकृष्ट भएर गएको छ । पशुमा मुख्य तीन प्रकारका आनन्द हुन्छन् : १) भोजनको आनन्द २) विषयवासना तृप्तिको आनन्द र ३) निद्राको आनन्द ।

पशुहरुको चिन्तन जतिखेर पनि खानकै लागि हुन्छ । दाम्लोबाट छुट्यो कि बालीनाली वा खाद्यान्नमा मुख लगिहाल्ने पशुको स्वभाव हुन्छ । यौनका सन्दर्भमा त झन् पशुको कुनै नगरौँ । आमा, बाबु, दिदीबहिनी, दाजुभाइजस्ता सम्बन्धको कुनै हेक्का हुँदैन पशुहरुलाई । समय आएपछि विपरीत लिङ्गी भेटे पुगिहाल्छ ।

अति कामको वेगमा त पशुहरु समलिङ्गीमाथि नै आक्रमण गर्न पनि पछि पर्दैनन् । समय र मौसमको ख्याल भने मान्छेमा भन्दा पशुमा भएको पाइयो । निद्रा पशुको अर्को स्वभाव हो । निदाउनुको कुनै सीमा छैन तिनलाई ।

यसरी पशुलाई वासना तृप्ति, भोजन र निद्राको बाहेक अर्को कुनै कुराको ध्यान हुँदैन । आजको मान्छे पनि यिनै पाशविक आनन्दभन्दा माथि उठ्न सकेन । भोजनकै चिन्तनमा लागेको छ, रातदिन । ‘के गर्ने, खानकै लागि त यति दुःख गरिएको छ । त्यसैले भोजनचाहिँ टन्न गर्नुपर्छ’– यो आममानिसको भनाइ हो ।

यही भनाइले पनि मान्छे खानका लागि मात्र बाँचेको प्रस्ट हुन्छ । अरु गर्नुपर्ने काम बिर्सिए पनि खान भने हामी कहिल्यै छोड्दैनौँ । न त हामीमा भोजनको मात्राका बारेमा कुनै ज्ञान नै छ । कस्तो खाने ? कसरी खाने ? के खाने ? यसरी छनोट गर्नुभन्दा पनि ‘खान पाए हुने’ चिन्तनले हामीमा घर गरेको छ । पेटमा हावा र पानीलाई चाहिने ठाउँसमेतको अतिक्रमण गरी हामी भोजन गर्दछौँ ।

कामवासना तृप्तिका सन्दर्भमा पनि आजको मान्छे पशुभन्दा माथि उक्लन सकेन । आज पशुहरुझैँ मान्छे नाता, सम्बन्ध, मर्यादा र अनुशासनको लक्ष्मणरेखालाई उल्लङ्घन गरी यौनक्रियाकलापमा संलग्न भएका प्रशस्त घटनाहरु पत्रपत्रिकामा प्रकाशित हुने गरेकै छन् ।

आफ्नो हैसियत, पद, प्रतिष्ठा, शारीरिक अवस्था, सामाजिक मूल्य र मर्यादाभन्दा हामीलाई हाम्रा इन्द्रियहरुको अतिभोगको इच्छा पूरा गर्न मन लाग्दछ । यसरी सामाजिक र नैतिक धरातलको नियमलाई पनि धुजाधुजा बनाई इन्द्रियजन्य आनन्दका लागि आजको मान्छे पशुवत् लागेको छ र लगभग पशु बनेको छ ।

निद्राको पनि कुनै नियम छैन । बिहान सबेरै उठ्ने मान्छेको सङ्ख्या निकै कम छ । आजभोलि त बजारिया मान्छेहरु बिहान ८–१० बजेसम्म बिछौना छाड्दैनन् । कहिले सातै बजे सुतिदिन्छौँ भने कहिले १२ बजेसम्म टेलिभिजन हेरेर बसिदिन्छौँ हामी । निद्राको मोहले बिहान दिसापिसाब, थुक, खकार त्याग गर्नुपर्ने जान्दाजान्दै पनि बिछौना छोड्न चाहँदैनौँ । यी पाशविक वृत्ति नै आजको मान्छेका पहिचान बनेका छन् ।

मान्छे र पशुको फरक निर्णय क्षमता हो । मान्छेमा कर्तव्याकर्तव्यको निक्र्योल गर्नका लागि, उचितानुचितको विवेचन गर्नका लागि र जीवनलाई ठीक दिशामा हिँडाउनका लागि परमेश्वरले विवेक दिएको छ । पशुमा विवेकको अभाव छ । यही विवेकको अभावमा भोजन, निद्रा र वासनाको तृप्तिका लागि पशु एकोहोरो लागिरहन्छ । तर, मानिसका इन्द्रियभन्दा माथि विवेक छ । इन्द्रियहरुले चाहेका कुरा पाउने, नपाउने वा कति पाउने भन्ने कुरा यही विवेकको निर्णयपछि मात्र व्यवहारमा लागू हुन्छ ।

विवेकले इन्द्रियका आकाङ्क्षालाई समाज, संस्कृति, धर्म, मूल्य र मर्यादाको कसीमा राखेर मूल्याङ्कन गर्छ र त्यसपछि मात्र क्रियान्वयनका लागि सिफारिस गर्दछ । यसरी विवेकले गरेको सिफारिसका आधारमा नै इन्द्रियहरुले गर्ने र नगर्ने कुराको छिनोफानो हुन्छ ।

मान्छेका सन्दर्भमा सबैभन्दा वैज्ञानिक प्रक्रिया नै यही हो । तर, भएको के छ भने हाम्रो विवेक इन्द्रियहरुको गुलाम बनेको छ । हाम्रा गुप्तेन्द्रियहरुले भनेअनुसार हामी हिँड्छौँ । जिब्रोले मागेको कुरा विवेकलाई नसोधी खाइदिन्छौँ । बोल्न मन लागेको कुरा विचारै नगरी बोलिदिन्छौँ । सुन्न नहुने कुरा सारै ध्यान दिएर सुनिदिन्छौँ ।

हाम्रा इन्द्रियहरुले जितेको र विवेक पराजित भएको अवस्था छ । इन्द्रियहरु विवेकमाथि हाबी भएपछि हामीबाट कहिल्यै पनि परमार्थ र कल्याणका काम हुन सक्दैनन् । संसारमा जति पनि निर्माण र विकासका काम भएका छन्, ती सबै सुन्दर र शान्त विवेकका परिणाम हुन् भने ध्वंस र विनाश इन्द्रियका परिणाम हुन् ।

बाबुआमाले भनेको नटेर्ने छोराछोरी उद्दण्ड र अनुशासनहीन हुने गर्दछन् । अभिभावकले भनेको मान्नेहरुले नै सबैको प्रेम र स्नेह पाउन सक्छन् । अभिभावकप्रति उत्तरदायी सन्तानबाट मात्र समाज र राष्ट्रको कल्याण सम्भव हुन्छ ।

हरेक मान्छेमा हुने विवेक पनि उसका इन्द्रियहरुको अभिभावक हो । यदि समाजलाई सुसंस्कृत, मर्यादित र समुन्नत तुल्याउने हो भने इन्द्रिय विवेकको अधीनस्थ हुनु नितान्त आवश्यक छ । विवेकलाई लत्याएर मान्छे इन्द्रियका पछि मात्र लाग्यो भने उसको पतन निश्चित छ । इन्द्रियको स्वभाव नै स्वच्छन्दता हो । ऊ त मौका पायो कि आफ्नो प्रभाव देखाउन तम्तयार भइहाल्दछ ।

केटाकेटीहरुमा कर्तव्य र अकर्तव्यको विवेचन गर्ने क्षमता हुँदैन तर ठूला मान्छेले प्रेमपूर्वक सम्झाएपछि मान्दछन् । केटाकेटीले जे पायो त्यही चाहन्छन् । बजार भेट्यो कि उनीहरु आमाबाबुसँग केही न केही किनिदिन आग्रह गरिहाल्छन् ।

बजारमा राखिएका विभिन्न सरसामग्री किनिदिँदा अभिभावकले उनीहरुको आवश्यकता र वस्तुस्थितिको मूल्याङ्कन गर्नसक्नुपर्दछ । अन्धाधुन्ध केटाकेटीका मागहरु पूरा गर्न थाल्ने हो भने भोलि उनीहरु उद्दण्ड र अराजक हुने खतरा बढेर जान्छ ।

हामी पनि इन्द्रियहरुका अभिभावक हौँ । यो शरीर हाम्रो घर हो । घरमा अभिभावक सबैभन्दा उच्च र सम्मानित हुन्छन् । हाम्रो बुद्धि र ठीकबेठीक छुट्याउने विवेक शरीरको अभिभावक हो । यही बुद्धिको निर्देशनलाई अक्षरशः परिपालन गरेर मात्रै हामी सुन्दर जीवन व्यतीत गर्न सक्दछौँ ।

जहाँ अभिभावकका निर्देशनको अवमूल्यन हुन्छ र आपूmखुसी स्वच्छन्द निर्णय गर्न थालिन्छ, त्यहाँ मर्यादा र अनुशासनको थोपोछिटो बाँकी रहँदैन । आज हरेक व्यक्तिको विवेक आफ्ना इन्द्रियहरुको बन्दी बनेको छ । इन्द्रियहरुले जे चाह्यो त्यही गरिरहेका छन् । हाम्रो मन विवेकको होइन, इन्द्रियहरुको नोकर बनेको छ ।

व्यक्ति जब इन्द्रियहरुको गुलाम बन्दछ, उसले कहिल्यै परहित र लोककल्याणको काम गर्न सक्दैन । किनभने सबैका लागि बाँच्ने इन्द्रियको स्वभाव होइन । इन्द्रियहरु त केवल आफ्ना लागि बाँच्ने गर्दछन् । हो, अवश्य पनि इन्द्रियहरुलाई सबैको कल्याणका लागि परिचालित गर्न सकिन्छ, तर इन्द्रियहरुले विवेकको निर्देशनलाई मान्न सक्नुपर्दछ ।

विवेक विभिन्न मानवीय सभ्यता, आदर्श, समाज, संस्कृति र मर्यादाको साझा दर्शन हो । त्यसैले विवेक कहिल्यै पनि एकाङ्की हुन सक्दैन । विवेकका हरेक प्रयत्नमा व्यक्तिलाई निचताबाट उचतातिर लैजाने सामथ्र्य लुकेको हुन्छ ।

विवेकको तेस्रो नेत्र खुलेका बेलामा व्यक्तिका तमाम अशान्ति, उच्छृङ्खलता र भोगवासनाले शान्ति, अनुशासन र त्यागको विशिष्टतालाई प्राप्त गरेका हुन्छन् । विवेक शक्ति नै व्यक्ति र समाजलाई सर्वदा उन्नति र शाश्वत विकासको गिरिमा उकाल्ने एक मात्र सोपान हो ।

त्यसैले, विवेक शरीरभन्दा माथि रहेको छ । शासन उल्टो हुन सक्दैन । माथिकाले नै तलका माथि शासन गर्ने हो । माथिकाले तलकाको कुरा र मागलाई सुन्नुपर्दछ भन्ने कुरा ठीक हो । तर माथिकाको निर्देशन पालन गर्नु तल्ला कर्मचारीको परम कर्तव्य हो । कर्मचारीहरु हाकिमले भनेको मान्न छाडे भने कार्यालय राम्ररी चल्न सक्दैन, दण्डहीनता र भद्रगोल बढेर जान्छ ।

समाज र व्यक्तिव्यक्तिमा आज यही दण्डहीनता बढेर गएको छ । शिरले पुच्छर होइन, पुच्छरले शिर हल्लाइदिएको छ । हाम्रो विवेकमाथि हाम्रा इन्द्रियहरु नराम्ररी हाबी भएका छन् । सायद, यही भएर होला हामीमा निराशा बढेर गएको छ । जहाँ विेवक गुलाम बनेको हुन्छ, त्यहाँ आशाको सञ्चार कसरी हुन्छ र !

हाम्रो मनले विवेकलाई होइन, इन्द्रियजन्य भोग, ऐश्वर्य र तृप्तिलाई अनुमोदन गरेको छ । थाहा छैन, इन्द्रियहरुले विवेकमाथि शासन गरेको अवस्था कहिलेसम्म चल्ने हो । हाम्रो भौतिक क्रान्तिले इन्द्रियहरुलाई मालिक र विवेक एवम् विचार शक्तिलाई नोकरमा बदलिदिएको छ । यसैले समान लुटेरा, ठग र धूर्तहरुको अखडा बन्दैछ ।

आउनुस्, अव विवेकको राज्य स्थापित गरौँ र इन्द्रियको दासताबाट मुक्त बनौँ । आजको आवश्यकता अध्यात्म क्रान्ति हो । यही क्रान्तिभित्र मात्र विवेक र विचारले मूल्य पाउँछन् । विवेकलार्इं छोडेर, इन्दियको मात्रै पछि लाग्ने मनमाथि नियन्त्रण कायम गरौँ । हाम्रा इन्द्रियमाथि यदि विवेकको शासन भयो र मन पनि विवेकको पछि लाग्यो भने हामीले गुमाएको परम खुसी, मर्यादा, शान्ति र लोकहितको दर्शनअनुसार हाम्रो जीवन अघि बढ्नेछ ।

हामी पाशविक आनन्दभन्दा माथि उठौँ र परमको गन्तव्यतिर प्रस्थान गरौँ । कहिलेसम्म हामीले इन्द्रियहरुको गुलामी गर्ने र आफ्नो प्रतिष्ठालाई सतहमा पु¥याउने ? हामीलाई पशुभन्दा पृथक मह¤वमा स्थापित गर्ने विवेकको अनादर गरेर गुप्तेन्द्रियको चाकडी गर्दैमा के हामी महान् बन्दछौँ ?

इन्द्रियका दासहरुको शिर त सधैँ डर, लाज र चिन्ताले झुकिरहेको हुन्छ । इन्द्रियको दासतालाई स्वीकार्नेहरुले त आफ्नो स्भाभिमान मात्र गुमाउँदैनन्, जीवनलाई धन्य बनाउने स्वर्णिम अवसरको पनि दुरूपयोग गरिरहेका हुन्छन् । विवेकको पूजा गरेर सभ्य र सम्मानित बनौँ । इन्द्रिय हाम्रा साधन हुन्, विवेक तिनको सारथि । यही नै संसार विजयको वास्तविक सूत्र हो र स्वाभिमानको रहस्य पनि । न्यूज अभियानका लागि चितवन पोष्टका साथमा/acharyalb@gmail.com


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan