Saturday 17th of November | २०७५ मङ्सिर १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एउटी विद्रोही प्राज्ञ : प्रेमा शाह–२

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ ४ बिहिबार |
newsabhiyan
newsabhiyan

नरेन्द्रराज प्रसाई, कतिसम्म भने कर्माचार्यले ‘मेरो आफ्नो घरको सुनको लिस्नो टेक्ने एक जना अप्सरा तिमी मात्रै हुन सक्छ्यौ’ भनेर प्रेमा शाहलाई एकोहोर्याएका थिए । यी विविध प्रपञ्चका कारण शाहको मन उनीसँग टपक्कै टाँसिएको थियो । वास्तवमा प्रेमा शाह भित्री हृदयकी सोझी थिइन् ।

एकातिर कर्माचार्य आपूmसँग मरिमेट्ने र अर्का्तिर प्रेमालाई पनि आफ्नो सन्तान जन्माउने विशेष इच्छा थियो । उनले समाजसामु पनि एक जना वरसँग वरण हुनु नै थियो । त्यसैले दुई वर्ष प्रेम गरेपछि यी प्रेमीप्रेमिकाको बिहे गर्ने निष्कर्ष निस्क्यो ।

प्रेमा शाह आरएम कर्माचार्यसँग गुह्येश्वरी गइन् । त्यहाँ गएर कर्माचार्यले प्रेमा शाहको सिउँदोमा एक चिम्टी सिन्दूर हालिदिए । यिनीहरूले एकअर्कालाई माल्यार्पण गरे । वाचाबन्धनका साथ उनीहरू एउटा डेरामा बस्न थाले । बिहेपछि प्रेमा शाह आफ्नो नवशिशुको प्रतीक्षामा रहन थालिन् ।

प्रेमाकी छोरीको जन्म र पतित्याग
बिहे गरेको अर्को वर्ष जल जन्मिन् । अथवा भनूँ २०३९ सालमा जल शाहको अवतरण भयो । छोरी जन्मेपछि प्रेमा शाहको एउटा आन्तरिक इच्छा पूर्ति पनि भयो । आरएम् कर्माचार्य, प्रेमा शाह र जलको संयोग त्यति बेला लोभलाग्दो नै देखिन्थ्यो तर यो सानो र सुखी परिवारमा एक्कासि हुन्डरी आयो ।

किनभने प्रेमा शाहले कर्माचार्यको पनि आपूm उप पत्नी भएको थाहा पाइन् । त्यही कारणले नै कर्माचार्यको जीवनबाट प्रेमा शाह आफ्नी छोरीसहित टाढाटाढा जाने निस्कर्षमा पुगिन् । त्यसपछि चाहिँ उनी काखे नानी बोकेर सर्लाहीतिर लागिन् ।

प्रेमाको जागिर
सर्लाहीमा पनि टिक्न नसकेर उनी वीरगन्जमा आइन् । तर पनि रोजीरोटीका लागि उनले कुनै न कुनै काम गर्नै पर्थ्यो । त्यसैले उनले फेरि सर्लाहीकै नवजीवन विद्याश्रममा पढाउने विचार गरिन् । उनले पढाउने विषयचाहिँ मुख्यतया अङ्ग्रेजी र नेपाली थिए ।

यी कहिलेकाहीँ इतिहास पनि पढाउँथिन् । त्यस हाईस्कुलमा उनले आठ वर्ष पढाइन् । त्यसपछि उनी फेरि वीरगन्जतिरै लागिन् । यसै क्रममा उनले सुरुमा वीरगन्जको ठाकुरराम क्याम्पस र नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा पनि पढाइन् ।

प्रेमाका बाजेको बलत्कारी शैली
प्रेमा शाह खुबै विद्रोही थिइन् । यी विद्रोही स्वभावकी हुनाको प्रमुख कारण यिनका जिजुबुबा जनरल विज्ञानशमशेर जबरा थिए । हजुरबुबाप्रति उनका मनमा घृणा थियो । आफ्ना हजुरबुबालाई भेटेपछि यी तर्कने नै गर्थिन् र वादविवाद पर्यो भने मुखमुखै पनि लाग्ने गर्थिन् ।

त्यतिमात्र होइन यिनले एकचोटि हातमा पिस्तोल बोकेर आफ्ना अर्का जिजुबुबा दमनशमशेरलाई हान्न पनि गइन् तर अरूले छुट्ट्याएर त्यस गोलीबाट दमनशमशेरलाई बचाएका थिए । त्यसैले यिनलाई यिनका मामा वरुणशमशेर राणा र मावलीपट्टिका जिजुबुबा विज्ञानशमशेर राणाले कम्युनिष्ट पनि भन्ने गर्थे । तर यिनीचाहिँ न्यायवादी थिइन् ।

प्रेमा शाहका जिजुबुबा जनरल विज्ञानशमशेर राणा तात्कालिक क्रुर संस्कारका प्रतिनिधि थिए । उनी आपूmभन्दा सानालाई मान्छे नै गन्दैनथे । उनीद्वारा नोकरहरू कहिले जुत्तैजुत्ताले पिटिएका हुन्थे भने कहिले भान्से र सुसारेलाई यिनले भर्याङबाट खसाउने गर्थे ।

त्यति मात्र होइन यिनका जिजुबुबाले घरका सुसारेहरूसँग पालैपालो शारीरिक सम्पर्क पनि गर्थे । बलत्कारपछि यदि उनीहरूमध्ये कोही गर्भवती भए भने तिनलाई बैठकेसँग टीका लगाइदिएर डाँडो कटाउँथे । यी सबै दृश्यहरू हेरेर नै प्रेमा शाहले श्लील र अश्लील साहित्यको गोरेटो कोरिन् । अन्ततस् त्यस विधामा उनी अति सफल पनि भइन् ।

प्रेमाको सङ्गठन
प्रेमा शाह आफ्नो पौरख रोप्तै फेरि वीरगन्ज पुगिन् । त्यहाँ गएर उनले साहित्यिक र सांस्कृतिक सङ्गठन गरिन् । उनी सङ्गठन गर्न सिपालु थिइन् । त्यसैले त्यस ठाउँका स्रष्टालाई उनले एउटै मञ्चमा राख्ने प्रयास गरिन् । उनैले त्यहाँ ‘नारायणी वाङमय प्रतिष्ठान’ खोलिन् र त्यस संस्थाको आफै अध्यक्ष पनि भइन् ।

प्रेमा शाह लेखन कलामा जसरी सफल भइन् त्यसरी नै यिनी सङ्गठनात्मक शैलीमा पनि सफल मानिइन् । घरव्यवहार र गृहस्थी जीवनमा असफल भए तापनि यिनी छोरी पाउन, हुर्काउन र छोरीलाई प्रसिद्ध तुल्याउन सफल भइन् । त्यतिमात्र होइन यिनी साहित्यको फलैँचामा ढकमक्क फुलेरै बसिरहिन् ।

प्रेमाको ध्रुवचन्द्र गौतमसँग सम्बन्ध
प्रेमा शाहका मन पर्ने स्रष्टामा डा.ध्रुवचन्द्र गौतम अग्र भागमा दरिन्थे । उनीहरू दुबै वीरगञ्जका भए तापनि उनीहरूको परिचय काठमाडौंमा २०२२/२३ सालतिर शैलेन्द्रकुमार उपाध्यायका घरमा भएको थियो । त्यस बखत मन्त्री उपाध्यायले आफ्ना घरमा आयोजित साहित्यिक गोष्ठीमा यी दुईलाई पनि निम्त्याएका थिए। त्यसपछि उनीहरू धुमधाम नजिक हुन थाले ।

पछिसम्म पनि प्रेमा शाह भन्थिन् “ध्रुवले मलाई सुक्ख दुक्खमा पनि साथ दिएका थिए । गौतम पनि प्रेमा शाहलाई अति सम्मान र स्नेह गर्थे । उनीहरू दुबै जनाको विचार पनि मिल्थ्यो । यसै प्रसङ्गमा डा.गौतमले भनेका थिए “प्रेमा र मेरो भेट हुनुको तात्पर्य हामी गफमा भुल्लिन थालिहाल्थ्यौं ।

म वीरगञ्ज पुगेका बेला हाम्रो तुरून्तै सम्पर्क भइहारल्थ्यो । अनि कहिले रिक्सामा चढेर र कहिले पैदलै पनि हामी वीरगन्जका सडकहरू नाप्न थाल्थ्यौं ।“ प्रेमा र डा.गौतमको अति घनिष्टता उनीहरू एक अर्काबाटै नइलाई पनि थाहा थियो ।

त्यसैले एक पटक तीन जना अर्थात् जल शाह सहित प्रेमा शाह र डा.ध्रुवचन्द्र गौतमको सम्मानमा नइ गृहले रात्रि भोजको आयोजना गरेको थियो । त्यस बेला आपूmले रक्सी नखाए तापनि शाहले गौतमको ग्लास रित्तो हुनबाट बञ्चित गराई रहन्थिन् । वास्तवमा ध्रुवचन्द्र गौतम पनि कमलो मनका धनी मानिन्छन् । उनी नेपाली साहित्यका महारथी मात्र होइनन् मानवताका पूजारी पनि हुन् । उनी आपूmलाई गाएकका रूपमा पनि देखाउन चाहन्छन् । त्यसैले पनि प्रेमा शाह गौतमको जय मनाउने गर्थिन् ।

प्रेमाको प्रेम भोक
प्रेमा शाहलाई बाँचुञ्जेल प्रेमको भोक थियो । तर उनी आफ्ना लागि यस ब्रह्माण्डमा कुनै गतिला पुरुष देख्तिन भन्थिन् । यसै प्रसङ्गमा उनले फेरि आफ्नो मनको भाका प्रस्तुत गरेकी थिइन्, यदि अमेरिकाका पूर्वराष्ट्रपति जोन एफ. केनेडी बाँचेर आए र मेरा अघि उभिएर प्रेम प्रस्ताव राखे भने उनीसँग समर्पित भएर मेरो बाँकी जीवन बिताउने मभित्र अझै चाहना छ । तर उनले केनेडी जस्तो वीर पुरूष नपाए तापनि आफ्नो सम्पूर्ण उत्तरार्ध केनेडीकै देशमा गएर विताइन् ।

प्रेमा र ‘शिरिषको फूल’

प्रेमा शाहको स्त्री पुरूषसँग बराबर सम्पर्क थियो । उनी सरसल्लाह दिन पनि पोख्त थिइन् । उनी मान्छेको नाउँ राख्न पनि पोख्त थिइन् । केही लेखकहरूले आफ्नो किताप नाउँ राख्न पनि उनलाई अनुरोध गर्थे । यसैक्रममा पारिजातको उपन्यास ’शिरीषको पूmल’को नाउँ पनि प्रेमा शाहले नै राखेकी थिइन् ।

त्यस किताबलाई पारिजातले ’ढिला विष’ लगायत एघार वटा शिर्षक राखी प्रेमा शाहलाई उपन्यासको उपयुक्त नाउँ चुन्न अनुरोध गरेकी थिइन् । अनि त्यस कृतिको पाण्डुलिपि पढेर प्रेमा शाहले ती एघार वटा नै नाउँ पन्साएर “ढिला विष“को नाउँ ’शिरीषको पूmल’ राख्न पारिजातलाई सल्लाह दिएकी थिइन् ।

प्रेमाका कृति
प्रेमा शाह नेपाली साहित्यमा यौनसाहित्यलेखनमा बढी आकर्षित भइन् । यिनले ‘पहेँलो गुलाफ’ (कथासङ्ग्रह स् २०२३) निकालेर नेपाली कथासाहित्यमा यौन आकर्षण प्रस्तुत गरेकी छिन् । ‘पहेँलो गुलाफ’को प्रकाशन नेपाली भाषा साहित्यमा यौन मनोवैज्ञानिक कथाको एउटा सशक्त उपलब्धि थियो ।

‘विषयान्तर’ (कथासङ्ग्रह स् २०२८) पनि उनको दोस्रो यौनकथासङ्ग्रह हो । प्रेमा शाह २०१६ सालमा शारदा पत्रिकामा प्रतिकृया शिर्षकको कथा लिएर नेपाली साहित्यमा प्रवेश गरेकी थिईन् । प्रेमा शाहले २०४० सालमा ‘ममी’ नामक लघुउपन्यास पनि लेखिन् । सो कृति पनि यौनआकाशमै नाचेको पाइयो ।

यसका साथै ‘आकाश विभाजित छ’ नामक उपन्यासचाहिँ यिनले अरू चार जना स्रष्टाको सहभागितामा लेखिन् । प्रेमा शाहले साहित्यको सृजना गर्दै जाँदा ‘रामेको कथा’ (२०४२), ‘आनन्दको आविष्कार’ (२०४३) र ‘मनु र भँगेरा’ (२०४३) सहित तीनवटा बाल उपन्यास लेखिन् ।

साथै उनले उमेर छिप्पिन थालेपछि बालकथाहरू लेख्न थालेकी थिइन् । उनका छवटा बालकथासङ्ग्रह प्रकाशित छन् । ‘जिन्की र जोकर’ (२०४०), ‘मन्टुकी बज्यैको कथाको पेटारो’ (२०४०), ‘इन्द्रधनुष’ (२०४२), ‘रङ्गीचङ्गी कथाहरू’ (२०४५), ‘राम्रो काम’ (२०५१) र ‘रेका केही कथा’ (२०५१) । यसका अतिरिक्त यिनले बालगीतका दुईवटा सङ्ग्रहहरू पनि प्रकाशनमा ल्याइन् । साहित्यमा लडीबुडी गर्दै जाँदा उनी ‘उज्यालो’ नामक बालपत्रिकाको सम्पादनमा पनि लागिन् ।

प्रेमाका पुरस्कार
प्रेमा शाहलाई पुरस्कारको खासै चाहना थिएन । यतिहुँदाहुँदै पनि साहित्यको आराधनामा समर्पित भएबापत उनले मैनाली कथा पुरस्कार, मैना पुरस्कार, विश्वनारी नेपाली साहित्य सम्मान र विश्वनारी नेपाली साहित्य पदक ग्रहण गरिन् । आईए पढेताका अन्तरकलेज नेपाली भाषासाहित्य सम्मेलनमा यिनी कथामा प्रथम भएकी थिइन् । साथै त्यसैताका सम्पन्न चित्रकला प्रदर्शनीमा समेत यिनी प्रशंसित भएकी थिइन ।

प्रेमाको भ्रमण
प्रेमाले नेपाल राज्यका विभिन्न ठाउँका अतिरिक्त भारत, हङकङ, थाइल्यान्ड, जापान, कतार र अमेरिकाको पनि भ्रमण गरिन् । अन्ततस् उनी आफ्नै छोरीसँग अमेरिकामा नै बस्न थालिन् ।

प्रेमाकी छोरी जल शाह
प्रेमा शाह कहिले कता लागिन्, कहिले कता हिँडिन्स तर जताजता पाइला चाले तापनि उनको खोकिलामा जल शाह नै टाँस्सिएकी थिइन् । उनको ध्यान नै आफ्नी छोरीलाई शिक्षादीक्षा दिनु थियो । छोरीलाई लेखाउँदै र पढाउँदै प्रेमा शाह पुनः काठमाडौँमा आइन् र डेरा जमाइन् ।

छोरी किशोरावस्थाबाट उक्लेपछि चलचित्रहरूमा जान थालिन् । हुँदाहुँदै एक दिन उनकी छोरी जल शाह नेपाली चलचित्र जगतकी सर्वश्रेष्ठ नायिका भएर देखा परिन् । सुरुमा प्रेमा शाह, प्रेमा शाह नै भएर चिनिए तापनि छोरीको बढ्दो जनप्रियताका कारणले कालान्तरमा उनी जल शाहकी आमा भएर पनि चिनिन थालिन् ।

जल शाहले पनि आफ्नी आमाको प्रभावबाट कविता लेखिन् । जल शाहचाहिँ २०६३ सालको सुरुमा संयुक्तराज्य अमेरिका पुगिन् । अनि उनले आफ्नी आमालाई पनि त्यहीं पुर्याइन् । वास्तवमा जल शाह प्रेमाकी छोरी मात्र थिइनन् । उनी प्रेमा शाहको जीवनमा करूणा, भर र संरक्षणकी देवी पनि थिइन् । जलले पनि छोरी पाइन् र प्रेमाबाटै ती छोरीको नाउँ कलश राखियो । जल कलशकै मायामा बाँधिएर प्रेमाले आफ्नो सम्पूर्ण आकाशको परिक्रमा गरेकी थिइन् ।

प्रेमाको निधन
२०७४ साल पुस ५ गते प्रेमा शाहको अमेरिकाको युटाह राज्यको साल्ट लेकस्थित इन्टर माउण्टेन अस्पतालमा निधन भयो । प्रेमाको नेपाली हिन्दू परम्परा अनुसार अन्त्यष्टि गरिएको थियो । सुरेश दर्पण पोख्रेलका अनुसार उनलाई नेपालको राष्ट्रिय झन्डा ओढाइएको थियो । उनको पार्थिव शरीरमा उनकी छोरी जल शाहले दागबत्ती दिएकी थिइन् । यदि मान्छेभित्र मन, वचन र कर्म जीवित रहन सक्यो भने संस्कार पनि बाँचिरहन्छ भन्ने सग्लो प्रमाण जलले प्रस्तुत गरिदिइन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan