Wednesday 21st of February | २०७४ फाल्गुण ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकार सम्पूर्ण नेपालीलाई अग्रीम सहिद घोषणा गर

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ ६ शनिबार |
newsabhiyan

देबेन्द्र चुडाल,काठमाडौं । पुष २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले रुपन्देहीको देवदहमा हत्या गरिएका दुई व्यवसायीलाई सहिद घोषणा गरेको छ । हत्या गरिएका बसन्त पौडेल र केही समय अगाडि हत्या गरिएका दुर्गा तिवारीलाई सहिद घोषणा गरिएको हो ।

प्रत्येक सरकारैपिच्छे आ–आफ्ना पार्टीका कार्यकर्ताकर्ताहरुलाई सहिद घोषणा गर्न तँछाड मछाड चल्ने गरेको छ । हालसम्म कति व्यक्तिलाई सहिद घोषणा गरियो र सहिद घोषणा गरेका व्यक्तिहरुको योगदान के हो भने प्रष्ट नै नपारी सरकारले हजारौं व्यक्तिलाई सहिद घोषणा गरेको छ ।

सहिद घोषणा गरेपछि उनीहरुका परिवारलाई १० लाखको आर्थिक सहयोग सरकारले उपलब्ध गराउने गरेको छ । आजसम्म सहिद घोषणा गरिएका व्यक्तिहरुमा गाडीले किचेर मरेका, भीर÷पहाडबाट खसेर मरेका लिनदिनको मुद्दामा झगडा भएर मरेका व्यक्ति, रिसइबीमा हत्या गरिएका व्यक्तिहरु समेतलाई सहिद घोषणा गरेर सरकारले सहिदहरुको अपमान गरेको छ ।

आजसम्म कति व्यक्तिलाई सहिद घोषणा गरियो उनीहरु को को हुन् कुन कुन जिल्लाका हुन् भन्ने समेत गृह मन्त्रालयमा रेकर्ड रहेको भेटिँदैन । तत्कालिन गृहमन्त्री वामदेवको पालामा त लोग्ने स्वास्नीबीच झगडा भएर हत्या गरिएका व्यक्तिलाई समेत सहिद घोषणा गरिएको थियो ।

त्यसैले अब सरकारले पटक पटक सहिद घोषणा गर्नुभन्दा सम्पूर्ण नेपाली जनतालाई अग्रिम सहिद घोषणाा गर्नु उपयुक्त हुनेछ । नेपाललाई नयाँ नेपाल भनेर विश्वमा चिनाउने हो भने विश्वमै सम्पूर्ण नेपाली जनतालाई सहिद घोषणा गर्नु अब ढिला गर्नु हुँदैन ।

आजसम्म विश्वका कुनै पनि मुलुकले आफ्ना जनतालाई अग्रीम सहिद घोषणा नगरेको हुनाले नेपालले नै त्यो विश्व कीर्तिमान राख्नका लागि समेत सम्पूर्ण नेपाली जनतालाई अविलम्ब सहिद घोषणा गर्नु उपयुक्त हुनेछ । सम्पूर्ण नेपाली जनतालाई अग्रिम सहिद घोषण गरेपछि सरकारले पटक पटक सहिद घोषणा गर्नुपर्ने बाध्यताबाट मुक्ति समेत पाउनेछ ।

अग्रीम सहिद घोषणा गरेपछि सहिद भएको प्रमाणपत्र लिएर उसका परिवार जिल्ला प्रशासन कार्यालयमा गएपछि त्यहीबाट सहिद परिवारले पाउने १० लाख रुपैँया पाउनु सहिद परिवारको नैसर्गिक अधिकार समेत हुनेछ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला झण्डै सात हजार व्यक्तिलाई सहिद घोषणा गरेपनि माओवादीले चलाएको जनयुद्धमा मारिएका सेना र प्रहरीहरुलाई सहिद घोषणा नगरिएको हुनाले उनीहरुलाई समेत सहिद घोषणा गरि उनीहरुका परिवारलाई रु. १० लाख आर्थिक सहयोग दिनु सरकारको कर्तव्य र दायित्व समेत हो ।

विश्व कीर्तिमान राख्नका लागि र नयाँ नेपाल भनेर विश्वमा नै नेपाललाई चिनाउनका लागि सरकारले सम्पूर्ण नेपाली जनतालाई अग्रीम सहिद घोषणा गर्न खुट्टा कमाउनु हुँदैन । अहिले नेपाल सगरमाथाको देश भनेर विश्वमा चिनिन्छ भने अब सम्पूर्ण नेपाली जनता सहिद भएको देश भनेर विश्वलाई चिनाउन सरकारलाई के को आपत्ति ?

यदि शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यो कार्य गर्दैन भने अब बन्ने वाम गठबन्धनको नेतृत्वको नयाँ सरकारले सरकार निर्माण भएकै दिन सम्पूर्ण नेपालीलाई अग्रिम सहिद भएको निर्णय गर्न सक्नुपर्दछ त्यो नै सम्पूर्ण नेपालीको लागि खुसीको दिन हुनेछ, अझ त्यो निर्णय भएको दिन सार्वजनिक विदा समेत दिनु उपयुक्त हुनेछ । 

लेखकका यी विचार नीजि हुन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan