Thursday 24th of May | २०७५ जेठ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एआईजी चन्द र महाशाखा प्रमुख लोहनीबीच द्वन्द्व : प्रहरीकै सेटिङमा बत्ती निभाएर तस्करी

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ २४ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २४ माघ । महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरी र मातहत निकायहरुबीच द्वन्द्व सिर्जना हुन पुगेको छ ।

आयुक्त कार्यालयले आफू मातहतका निकायले सूचना प्रवाह गर्दा वा अनुसन्धानको कारबाही अगाडि बढाउँदा अनिवार्य जानकारी गराउनुपर्ने बताएपछि एकआपसमा द्वन्द्व सिर्जना उत्पन्न हुन पुगेको हो ।

प्रहरीको चेन अफ कमाण्डमा रहनुपर्ने भन्दै आयुक्त कार्यालयका प्रमुख एआईजी जयबहादुर चन्दले मातहतका सबै निकायलाई चेन अफ कमाण्डको विषयमा निर्देशनात्मक अभिव्यक्ति दिन थालेपछि मातहत निकायका प्रमुखहरुले प्रहरी प्रधान कार्यालयलाई सूचना प्रवाहका सबै विषय जानकारी गराउन नसकिने बताउन थालेका छन् ।

जानकारी भए पनि मिडियामा दिनुपर्ने विषय सधैं अनुमति लिइरहनु नपर्ने जनाएका हुन् । महानगरीय अपराध महाशाखाले गत ६ महिनाअघि ८८ किलो सुन बरामद गर्दा आफूलाई किन जानकारी नगराएको भन्दै आयुक्त कार्यालयका प्रमुख चन्दले महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीसँग स्पष्टीकरण लिएका थिए ।

जबकि, बरामद भएको सुनको पत्रकार सम्मेलनमा उनी पनि उपस्थित भएका थिए । तर, उनी त्यो पत्रकार सम्मेलनमा उपस्थित हुनपर्ने थिएन । जस लिनैका लागि उनी उपस्थित भएको चर्चा त्यतिबेला चलेको थियो ।

चन्दले लोहनीलाई मात्र होइन, काठमाडौं उपत्यकाको वृत्तमा कमाण्ड गरिरहेका डीएसपीहरुलाई समेत त्यही प्रकारको निर्देशन दिने गरेका छन्, जसले गर्दा प्रहरी परिसरको भूमिकामा समेत प्रश्च चिह्न खडा भएको छ ।

स्रोतमा एआईजी चन्दलाई ब्रिफिङ गरेपछि मात्रै परिसरका प्रमुखहरुलाई ब्रिफिङ गर्ने गरेका छन् । परिसर प्रमुखहरु यतिबेला केही बोल्न सक्ने अवस्थामा नभएको दुखेसो गर्न थालेका छन् । टिके भन्ने टीकाबहादुर मगर प्रहरी इन्काउन्टरमा मारिए भन्ने समाचार आएपछि पनि चन्दले लोहनीसँग स्पष्टीकरण लिएका छन् ।

अनुसन्धान गर्ने निकाय महानगरीय प्रहरी अपराध महाशाखाबाटै उक्त सूचना बाहिरिएको थियो । जिम्मेवार निकायबाट फैलिएको भ्रामक सूचनाले अहिले प्रहरीमा लफडा सुरु भएको छ । महानगरीय प्रहरी प्रमुख एआईजी चन्दले टिके कहिले मर्यो भन्ने, कहिले घाइते भन्ने ?

यस्तो सूचना कसरी लिक भयो । भन्दै लोहनीसँग प्रष्टीकरण मागेका स्रोतले जनाएको छ । भक्तपुरको एक हुन्डी कारोबारीलाई पक्राउ गर्दा पनि लोहनीले उनै चन्दको निर्देशनमा छाड्नुपरेको बताइन्छ । अपराध महाशाखाका एसएसपी लोहनीको टोलीले भक्तपुरबाट हुन्डी कारोबारी राजेश उपाध्यायलाई उठाएर ल्याएको थियो ।

राजेशका हुन्डी पार्टनर जेपी भट्टराईको स्वार्थमा एआईजी चन्दले लोहनीलाई छाड्न निर्देशन दिएपछि उनले बाध्य भएर छाडका थिए । स्रोतका अनुसार आयुक्त कार्यालयले छुट्टै घुमुवा राखेर आफूअनुकुल काम नगर्ने प्रहरी अधिकृतहरुलाई दिइने मूल्यांकनमा समेत भेदभाव गरिएको बताइन्छ ।

त्यति मात्र होइन, काठमाडौं प्रहरी परिसरका प्रमुख रवीन्द्र धानुकलाई पनि स्पष्टीकरण सोध्ने तयारी भइरहेको बताइन्छ । आयुक्त कार्यालयको हस्तक्षेपको यो नयाँ शृंखला होइन । चन्दले जिम्मेवारी सम्हालेलगत्तै उनले आफूलाई जानकारी नगराई कुनै पनि सन्देश प्रवाह नगर्न भनेका थिए ।

तर परिसर अन्य मातहत निकायले त्यसलाई आफ्नो कार्यक्षेत्रभित्र रहेका स्थानको सूचना प्रवाह गर्न आयुक्त कार्यालयको अनुमति लिइरहनुनपर्ने भन्दै संचार माध्यममा सूचना प्रवाह गर्दै आएका थिए । पछिल्लो पटक महाशाखालाई ललितपुर क्षेत्र नं. १ बाट विजयी सांसद नवराज सिलवालको खोजी गर्ने जिम्मेवारीसमेत दिइएको थियो ।

तर, महाशाखाले त्यसमा वास्ता नगरेपछि टिके प्रकरणमा स्पष्टीकरण लिएका हुन् । माथिल्लो निकायले मातहत निकायको मूल्यांकन गर्ने भएकाले पनि यतिबेला एसएसपी लोहनी एआईजी चन्दको निर्देशन मान्न बाध्य भएका छन् । उनै एआईजी चन्दले मूल्यांकन गर्ने भएकाले पनि हुन्डी कारोबारीलाई छाड्नु परको लोहनीले आफू निकटका अधिकारीसँग दुखेसो गर्ने गरेका छन् ।

प्रहरीकै सेटिङमा बत्ती निभाएर तस्करी
तस्करी नियन्त्रण गर्नुपर्ने प्रहरी आफैंले राती बत्ती निभाएर सीमामा तस्करी गर्छन् भन्दा अपत्यारिलो लाग्न सक्छ । तर, पूर्वक्षेत्र झापा र सप्तरीका भारतीय नाकाबाट सशस्त्र प्रहरीकै मिलेमतोमा सुपारीको तस्करी हुने गरेको पाइएको छ । सशस्त्र प्रहरीको पूर्व क्षेत्रको डीआईजी पद अहिले खाली छ ।

डीआईजी जानकीराम भट्टराई एआईजीमा बढुवा भएपछि एसएसपी बेदन यादवले कार्यबाहकको जिम्मेवारी पाएका छन् । तर, उनै यादवसमेतको मिलेमतोमा झापाको काँकडभिट्टा, भान्टाबारी र सप्तरीको भारदह नाकाबाट सुपारी तस्करी मौलाएको बताइन्छ ।

एसएसपी यादव, झापा सीमा सुरक्षाका एसपी रमेश सुवेदी र सप्तरीका एसपी रामाधार यादवले तस्करीहरुसँग मिलेर सुपारी तस्करी गर्ने गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार एसएसपी यादव राती आफैं राजमार्गमा गस्तीमा निस्कन्छन् । उनी आफैं ती तीनै नाकामा पनि पुग्छनु ।

तर, उनको काम तस्करी नियन्त्रणका लागि नभएर तस्करको संरक्षणका लागि हुने गरेको छ । बाहिर कुर्था सलवारको व्यापार गर्ने तर भित्रभित्रै सुपारीको तस्करी चलाउने कांग्रेसका स्थानीय नेता भारतेन्डु मल्लिकलाई यी तीन प्रहरीले संरक्षण गर्ने र उनीबाट रकम असुल्ने गरेको स्रोतको दाबी छ, बुधबारमा उल्लेख छ ।

स्रोतका अनुसार झापाका हरेक दिन बेलुका १५ देखि २० मिनेटसम्म बत्ती जान्छ । खासमा त्यो लोडसेडिङ नभएर प्रहरी र तस्करकै मिलेमतोमा सुपारी सीमा कटाउन बत्ती निभाउने गरिएको बताइन्छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan