Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रहरीमा आईजीपी प्रतिष्पर्धा चर्को हुने, बढ्यो आकांक्षीको दौडधुप !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ २६ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २६ माघ । नेपाल प्रहरीमा ३० वर्षे सेवाहद हटाउने विभिन्न कोणबाट चालिएको कदम असफल हुने निश्चित भएको छ । निर्वाचनअघिदेखि सुरु भएको यो खेलमा धेरै तगारा तेर्सिएपछि ३० वर्षे सेवाहद हटाउन सक्रिय हुनेजति सबै निराश भएका छन् ।

वर्तमान सरकारले कानुनी जटिलता नआउने गरी प्रहरीको नियमावली पविर्तन गर्न खोजे पनि कांग्रेस दलभित्रबाट यसको चौतर्फी विरोध भएको थियो ।

आईजीपी प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँको दल नेपाली कांग्रेस नराम्रोसँग फसकेको निष्कर्ष दलकै कतिपय नेताले निकाल्दै प्रहरीको नियमावली परिवर्तनमा नलाग्न देउवालाई सुझाएका थिए ।

देउवासँग असन्तुष्ट कांग्रेसका प्रभावशाली नेताले प्रहरीमा अर्को चलखेल गर्न खोजे पार्टी नेतृत्वविरुद्ध कडा कदम चाल्ने सम्मको चेतावनी दिएपछि देउवा पछि हट्नुभएको छ । तथापि कांग्रेसको असन्तुष्ट पक्षलाई प्रभावमा पार्न नियमावली तत्काल परिवर्तन गर्न सक्रिय भएका व्यक्ति यसमा लागिपरेका छन् ।

प्रहरीमा नियमावली परिवर्तनको खेललाई सफल बनाउन भावी आईजीपीका प्रतिष्पर्धीलाई बालुवाटार प्रवेश गर्नसमेत नसक्ने अवस्था खडा गरिएको थियो । यसमा प्रम देउवाका स्वकीय सविच भानु देउवा स्वयं सक्रिय हुनुभएको थियो ।

उहाँले कसैको प्रभावमा परेर बालुवाटारमा केही उच्च प्रहरी अधिकारीलाई निषेध गर्नुभएको थियो । तर, विभिन्न कोणबाट देउवामाथि दबाब परेपछि प्रहरीमा पु्रानै नियमावली अनुसार आईजीपी बन्ने अवस्था सृजना भएको छ । आईजीपी यही सरकारले बनाउने सम्भावनालाई समेत नकार्न नसकिने अवस्था बनेको छ ।

फागुनभित्र सरकार नबने चैत्रको पहिलो सातामा नै नयाँ आईजीपी बनाउनुपर्ने अवस्थासमेत आउन सक्छ । नेपाल प्रहरीका आईजीपी अर्याल र उहाँका ब्याची १५ एआईजी तथा सशस्त्र प्रहरी बलका आईजीपी सिंहबहादुर श्रेष्ठ अनि उहाँका ब्याची दुई एआईजी घरबिदा बसेमा नयाँ आईजीपी चयन चैत्रको सुरुमै हुन सक्छ ।

हालकै नियमावली कायम रहेमा सशस्त्रका आईजीपी श्रेष्ठले एक महिनाअघि नै घरबिदा बस्ने सोच बनाउनुभएको उहाँ निकटस्थ सूत्रले बताएका छन् । अर्का आईजीपी अर्यालको हकमा उहाँ घरबदिामा बसेमा अन्य एआईजीमाथि समेत दबाब पर्न सक्छ । त्यस अवस्थामा देउवा सरकारले आईजीपी बनाउन सक्छ ।

सरकार निर्माणका लागि प्रचण्डले लेनदेन दरिलो तरिकाले उठाउने हुँदा एमाले र माओवादीको कुरा मिलिहाल्ने छाँट छैन । मिलेमा मात्र नयाँ सरकारले आईजीपी बनाउन सक्छ । आईजीपीमा प्रहरीबाट सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीबीच कडा प्रतिष्पर्धा हुने छाँट देखिएको छ ।

खनाल आफ्नो ब्याचीमा एक नम्बरमा हुनुभएकाले सरकारले वरिष्ठता नमिच्नेमा ढुक्क हुनुहुन्छ । विगतमा वरिष्ठता मिचिँदा आईजीपी प्रकरणले धेरै राजनीतिक तरंग ल्यायो । प्रहरीभित्र बढी राजनीतिकरण भयो । त्यसैले पनि देउवा सरकार रहेमा वा वामपन्थी सरकार रहेमा पनि वरिष्ठता नमिचिनेमा खनाल आशावादी हुनुभएको बुझिएको छ ।

उहाँले तराईमा खटिँदा होस् या अपराध अनुसनन महाशाखा र उपत्यका ट्राफिक महाशाखामा रहँदा लोकप्रिय काम गर्नुभएर प्रहरीको कमाण्ड पाउनुपर्ने दाबी गर्नुभएको बुझिन्छ ।

अर्का चर्चित आकांक्षी रमेश खरेलले विगतमा आफूले गरेको राम्रो काम र विवादमा कहिले नआएको भन्दै सरकारको नेतृत्व गर्ने सम्भावित नेतालाई भेटेर लबिङ बढाइरहनु भएको छ । सीआईबी निर्देशक पुष्कर कार्कीले पनि विवादमा नआउने गरी काममा सक्रिय हुनुभएको छ ।

उहाँले राष्ट्रपति विद्या भण्डारीसँगको नाता सम्बन्धलाई समेत प्रयोगमा ल्याउन खोजिरहनुभएको छ । आईजीपी अर्यालका विश्वासपात्र डीआईजी मनोज न्यौपानेले पनि आईजीपी बन्ने पहल गरिरहनु भएको छ । सशस्त्रमा शैलेन्द्र खनाल निर्विकल्प आईजीपी जस्तै हुनुहुन्छ ।

उहाँ आफ्ना ब्याचीमध्ये वरिष्ठमात्र नभई डेढ वर्षअघि एआईजीको फूली लगाउनु भएको हो । आन्तरिक व्यवस्थापन र बाह्य सम्बन्धमा उत्तिकै टाठा खनाललाई आईजीपी बन्नबाट रोक्ने खेल पनि भइरहेका छन् । उहाँमाथि विभिन्न आरोप लगाउने र अदालतमा मुद्दा हाली आईजीपी बन्नबाट रोक्न केही समूह योजनाबद्ध रुपमा लागिरहेका छन् ।

उहाँका मुख्य प्रतिष्पर्धीमध्ये पुष्पराम केसीले आफू आईजीपी भइ छाड्ने बताउँदै हिँड्न थाल्नु भएको छ । केसीले पछिल्लो समय आफूलाई एमालेनिकट भन्दै हिँड्नु भएको छ । जथाभावी बोल्दै हिँड्ने स्वभावले उहाँलाई धेरै समस्या आएको बुझिन्छ ।

उता खनाल र केसी दुवैले सशस्त्रको कमाण्ड हाँक्न नसक्ने भन्दै नारायणबाबु थापाले भित्री सक्रियता देखाइरहनु भएको छ ।

आफूले दुवैलाई माथ खुवाउने गरी थापाले चलखेल गरिरहनु भएको छ । सशस्त्रमा पाँच एआईजीको बढुवाले अबको तीन वर्षपछि बन्ने अर्को लटका डीआईजीमध्येको आईजीपीको दौडसमेत अन्यत्र मोडिएको विषय खुलाइसकेको छ, विमर्शमा उल्लेख छ ।

गत हप्ता फूली लगाउनेमध्ये पाँचजना एआईजीको आईजीपी बन्ने सम्भावना लगभग टुंगिएको छ । हालका डीआईजी मध्येबाट सुरज श्रेष्ठलगायतका अधिकृत अबको तीन वर्षपछि आईजीपी बन्ने दौडमा रहनुहुनेछ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan