Saturday 18th of August | २०७५ भदौ २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बेतिनी सिमसार पर्यटकीय र वनभोजस्थल बन्दै

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ २८ आइतबार |
newsabhiyan

सुमन घिमिरे, उर्लाबारी, मोरङ, २८ माघ । उर्लाबारीस्थित बेतिनी सिमसार पछिल्लो समयमा पर्यटकीय र वन भोजस्थलका रुपमा विकास हुँदै गएको छ ।

उर्लाबारी नगरपालिका–२ मा अवस्थित बेतिनी सिमसार क्षेत्रमा अवलोकन तथा वनभोज खान आउनेको आकर्षण बढेको छ । सिमसारमा केही समयअघिदेखि जलयात्रा सेवासमेत शुरु भएपछि आन्तरिक पर्यटक बढिरहेका छन् ।

सो सिमसार क्षेत्रमा दैनिक ५०० जनाको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेको बेतिनी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भीम राईले बताउनुभयो । पूर्वपश्चिम राजमार्गदेखि तीन किमी उत्तरमा रहेको सो सिमसार क्षेत्र ५८ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

चाडपर्व सकिएलगत्तै मंसिरदेखि फागुनसम्म नै सो क्षेत्रमा घुम्न आउने र वनभोज खानेको घुइँचो नै लाग्ने गर्छ । मोरङसहित झापा र सुनसरी जिल्लाका मानिसको रोजाइमा बेतिनी सिमसार पर्ने गरेको बताउँदै बेतिनी सामुदायिक वनका अध्यक्ष राईले भन्नुभयो, “यहाँ सडक सुविधा भएकाले पनि सहजै पुग्न सकिन्छ । ”

उर्लाबारी नगरपालिकाले नगरपालिकालाई ‘सिमसारयुक्त पर्यटकीय नगर’ समेत घोषणा गरेको छ । सिमसार क्षेत्रमा तारजाली, पक्की शौचालय, चौतारा निर्माण र सडकमा रोडामाटो बिछ्याइएको छ । एक बालोद्यान निर्माणका क्रममा छ । नगरपालिकाका प्रमुख खड्ग फागोले समृद्ध नगर निर्माणका लागि बेतिनी सिमसार क्षेत्रलाई व्यवस्थित बनाउन नगर कार्यपालिकाले आवश्यक बजेट विनियोजन गर्ने जानकारी दिनुभयो ।

नगर प्रमख फागोका अनुसार बेतिनी सिमसारलाई पूर्वकै आकर्षक पर्यटकीय क्षेत्र बनाउनका लागि नगरपालिकाले रणनीतिक योजना नै निर्माण गरेको छ । सिमसार क्षेत्रको पोखरीको पश्चिम भागमा अवस्थित डाँडामा पर्यटकलाई आकर्षण गर्न तीन वटा बाघको प्रतिमा पनि राखिएको छ ।

नगरपालिकाको रु तीन लाख ५० हजार लागतमा सो प्रतिमा स्थापना गरिएको हो । सो सिमसार क्षेत्रमा बेत, सर्पगन्धा, हर्राे, अमला, लहरे, टिम्बुर, सुनाखरीजस्ता वनस्पति तथा मैना, लुइँचे, धनेश, मयूर, बट्टाइ, हाँडीफोर, बकुल्लालगायत चराचुरुंगी पाइन्छ ।

उक्त स्थान आसपासमा हरिण, चितुवा, बँदेल, दुम्सी, सालक, वन बिरालो, गोहोरो, अजिंगरलगायत जीवजन्तु पाइन्छ । सिमसार प्रवेशका लागि प्रतिव्यक्ति रु १० शुल्क तोकिएको छ । (रासस) 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan