Monday 19th of February | २०७४ फाल्गुण ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इँटा उद्योगबाट सयौँलाई रोजगारी

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १ मंगलबार
newsabhiyan

सुशीला रेग्मी, रामपुर, पाल्पा, १ फागुन । रामपुरमा इँटा उद्योग सञ्चालनमा आएपछि सयौँ बेरोजगार युवालाई रोजगार मिलेको छ ।

रामपुरका स्थानीय युवा सीताराम देवकोटा र सुन्दर देवकोटाले सञ्चालन गर्नुभएको इँटा उद्योगमा हाल १०० भन्दा बढी मजदुरलाई रोजीरोटी गर्ने अवसर मिलेको छ । इँटा उद्योगमा मजदुरी गरेर परिवारको लालनपालनसँगै छोराछोरीको पढाइ खर्चका लागि सहज भएको कामदार किशोरी बैठ्ठा बताउनुहुन्छ । रौतहटबाट रोजगारका निम्ति यहाँ आउनुभएको उहाँले इँटा उद्योगमा मजदुरी गरेर मासिक रु ३० हजारभन्दा बढी कमाइ गर्नुहुन्छ ।

यहाँ काम गर्ने सबैजसो कामदार तराई क्षेत्रका छन् । रौतहटकै अर्का मजदुर दिनेश रावत कुर्मीले इँटा उद्योगमा मजदुरी गरेर मासिक रु ४० हजारसम्म आम्दानी गर्नुहुन्छ । इँटा उद्योगमा मजदुरी गरेर उहाँले ११ जनाको परिवारको गुजारा चलाउँदै आउनुभएको छ ।

उहाँ भन्नुहुन्छ, “विदेश गएर कमाउने पैसा नेपालमै कमाउन सकिन्छ, दाम कमाउनकै निम्ति विदेश जानुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो ।

पूर्वी पाल्पामै एकमात्र आधिकारिक रुपमा सञ्चालित उक्त इँटा उद्योगबाट बेरोजगार युवालाई पर्याप्त आम्दानी गर्ने अवसर मिलेको छ । पाँच वर्षअघिदेखि सञ्चालनमा आएको सो उद्योगमा रु डेढ करोडभन्दा बढी लगानी गरेको सञ्चालक सुन्दर देवकोटा बताउनुुहुन्छ । यहाँ दैनिक ४० हजारको हाराहारीमा इँटा उत्पादन हुने गरेको छ । प्रतिइँटाको मूल्य १४ रुपैयाँ ५० पैसा पर्छ ।

काम र परिश्रमअनुसार मजदुरलाई सेवा सुविधा उपलब्ध गराउँदै आइरहेको बताउनुुहुन्छ अर्का सञ्चालक सीताराम देवकोटा । यहाँ उत्पादित इँटा गुणस्तर र टिकाउ रहेकाले माग दिनानुदिन बढ्दो रहेको उहाँले बताउनुभयो । उद्योगमा काम गर्ने सबैजसो मजदुरले घरायसी खर्च र छोराछोरीको पढाइ खर्च राम्रोसँग चलाउँदै आएका छन् । सो उद्योगमा उत्पादित इँटा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासीलगायत जिल्लामा खपत हुन्छ ।

स्थानीय तहमा बैंक नहुँदा समस्या

स्थानीय तहमा बैंक नपुग्दा सेवाग्राहीलाई समस्या भएको छ । सरकारी सेवा सुविधा स्थानीय तहमै सञ्चालन भइरहे पनि बैंक नहुँदा झण्झट व्यहोर्नु परेको हो । सरकारले सिंहदरबारको अधिकार गाउँ गाउँमा भने पनि अहिलेसम्म कार्यान्वयन हुन नसक्दा जनताले सास्ती खेप्नुपरेको छ ।

स्थानीय तहमा बैंक नहुँदा कार्यालय सञ्चालनमा समस्या देखिएको छ । सानादेखि ठूला योजना सञ्चालन गर्दा बैंक खाता खोल्नुपर्ने बाध्यता छ । सरकारले स्थानीय तहको निर्वाचनलगत्तै सबै गाउँपालिकाको केन्द्रमा वित्तीय पहुँच पु¥याउने घोषणा गरे पनि निर्वाचन सम्पन्न भएको सात महिना बितिसक्दा पनि स्थानीय तहमा बैंक पुग्न सकेका छैनन् ।

जिल्लामा आठवटा गाउँपालिका रहे पनि रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको केन्द्रमा मात्र निजी क्षेत्रको वाणिज्य बैंकको शाखा खुलेको छ । अहिलेसम्म अन्य गाउँपालिकाका केन्द्रमा बंैकिङ सुविधा नपुगेका कारण सर्वसाधारणदेखि साना योजनाका उपभोक्ता समितिका पदाधिकारी बंैकिङ कारोबारका लागि सदरमुकाम तानसेन धाउनुपर्ने बाध्यता छ ।

योजना सम्झौता गर्दा गाउँपालिकामा जानुपर्ने र सम्झौतापश्चात् बैंक खाता खोल्न फेरि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता रहेको माथागढी गाउँपालिकाका शिशिर भट्टराईले बताउनुभयो । गाउँमा बैंक नहँुदा सदरमुकाम तानसेन आवतजावत गर्न समस्या हुन्छ भने अर्कोतर्फ समय खेर जानुका साथै खर्च हुने गरेको उहाँले बताउनुभयो ।

सेवाग्राहीमात्र होइन सरकारी कर्मचारीसमेत बैंक नहुँदा समस्यामा परेका छन् । बंैक नहुँदा वडा सचिवलाई सामाजिक सुरक्षा भत्ताका लागि छुट्याइएको लाखौँं रकम सदरमुकामबाट बोकेर लैजानुपर्ने बाध्यता छ । माथागढी, रम्भ, पूर्वखोला, बगनासकाली, निस्दी र तिनाउ गाउँपालिकाका स्थानीयवासीे अहिलेसम्म बंैकिङ सुविधा प्राप्त गर्नबाट वञ्चित भएको सम्बन्धित गाउँपालिकाका अध्यक्षले बताएका छन् ।

गाउँपालिकाभित्र रु एक लाखदेखि रु डेढ करोडसम्मका योजना सञ्चालनमा छन् । उपभोक्ता समितिलाई रकम भुक्तानी दिँदा सदरमुकाममा रहेको वाणिज्य बैंकको चेक काटिदिनुपरेको छ । उपभोक्ता समितिलाई मात्र नभई सर्वसाधारणलाई समेत अप्ठ्यारो भएको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताउनुभयो ।

गाउँपालिकाको केन्द्रमा बंैकिङ सुविधा पुग्ने भए पनि सुरक्षा र इन्टरनेटको समस्या तथा भौगोलिक विकटताका कारण गाउँ पुग्न नसकिएको बैंक सञ्चालक बताउँछन् । सरकारले सबै गाउँपालिकाका केन्द्रमा बंैकिङ पहुँच पु¥याउने भन्ने तर त्यसका पूर्वधार निर्माणका लागि पहल नगर्दा समस्या उत्पन्न भएको हो ।

लोप हुँदै कोदो खेती

पाल्पामा कोदो खेती लोप हुँदै गएको छ । कोदो खेतीप्रति कृषकको आकर्षण घट्दै जाँदा कोदो खेती लोप हुँदै गएको हो । कोदो फल्ने ठाउँमा नै कृषकले खेती गर्न छाडेपछि अहिले बीउसम्म पाउन मुस्किल हुन थालेको छ ।

पाँच वर्षअघिसम्म बगनासकाली गाउँपालिका खानीगाउँका डोलराज बस्यालको बारीमा प्रशस्तै कोदो फल्थ्यो । अहिले गाउँमा यसको बीउसम्म पनि पाउन मुस्किल भएको छ । बस्याललगायतका गाउँका धेरै कृषकले पाखोबारीमा कोदो लगाएर पर्याप्त कमाइ गर्दथे । अहिले धेरैले कोदो लगाउन छाडिसकेका छन् ।

परम्परागत रुपमा गरिँदै आएको कोदो औषधिका रुपमा प्रयोग हुने गरेको छ । पहिला बर्खे खेतीका रुपमा लगाइने कोदो अहिले देख्नै मुस्किल पर्न थालेको छ । कृषकले विस्तारै कोदो खेती गर्न छाड्दै गएपछि जिल्लामा कोदो अभाव हुँदै गएको हो ।

कोदो अन्य बालीभन्दा स्वस्थकर भए पनि यसतर्फको आकर्षण घट्दै गएको छ । बढ्दो शहरीकरणको प्रभावले गाउँमा कोदो फल्ने जमिन बाँझिन थालेका छन् । ग्रामीण भेगका बासिन्दा शहर पस्न थालेपछि कोदोले भरिभराउ हुने जमिन अहिले बाँझिदै गएका हुन् ।

कम मेहनतमा उत्पादन बढी हुने प्रयोग तथा उपयोगका क्रममा पोषणयुक्त खाद्यान्न बालीभित्र पर्ने भए पनि पोषिलो कोदोको पछिल्लो समयमा खाद्यान्नमा भन्दा अन्यत्र प्रयोग बढी हुन लागेकाले खेती लोप हुने अवस्थामा पुगेको रामपुर नगरपालिकाका कृषक सरस्वती सोमै बताउनुहुन्छ ।

“धेरै दुःख गर्न नपर्ने कोदो पाकेपछि घरमै खरिद गर्न व्यापारी आउँथे, दुईचार पैसा आम्दानी हुन्थ्यो, अहिले कोदो लगाउने जमिन वनमारा झारले भरिन थालेको छ”, उहाँले भन्नुभयो ।

परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकैमा घुसुवा बालीका रुपमा लगाइने कोदो प्रायःजसो जिल्लाका सबै गाउँबस्तीमा हुन्थ्यो । आजभोलि सबै हराएको छ । खाद्यान्नको रुपमा प्रयोग गरिने कोदो आजभोलि मदिरा बनाउन प्रयोग गरेका कारण बीउ नै हराउने अवस्थामा पुगेको कृषक बताउँछन् ।

गाउँघरमा हेपिएको कोदो अहिले शहर बजारतिर खोजीखोजी खाना थालिएको छ । सडक सञ्जाल विस्तारसँगै तराईबाट पहाडमा चामल, गहुँलगायत अन्न भित्रिन थालेपछि पोषिलो कोदो, फापर, जौजस्ता स्थानीय अन्नप्रतिको आकर्षण घट्दै गएको हो ।

स्वास्थ्यका लागि लाभदायक अन्न फलाउन छाडेर बजारमा पाइने प्याकेटका तयारी खाना खान थालेपछि एकातिर स्थानीय अन्न लोप हुँदैछन् भने अर्कोतिर मानिसमा अनेक किसिमका रोगको संक्रमण बढ्न थालेको छ ।

धान, गहुँ र मकै जस्तै महत्व नदिएका कारण कोदो लोप हुँदै गएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठ बताउनुहुन्छ । निस्दी गाउँपालिकाको मित्याल क्षेत्रलाई कोदो खेतीको पकेट क्षेत्रका रुपमा लिएकाले कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बीउबिजन र मेसिनरी औजार उपलब्ध गराउँदै आएको श्रेष्ठले बताउनुभयो ।

जिल्लामा दुई हजार ५३७ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिन्छ । कम सिचाँइ, मल र मेहनतको प्रयोगले उत्पादन बढी लिन सकिने भए पनि कोदो खेतीको संरक्षण र जगेर्ना गर्नेतर्फ अब सम्बन्धित निकायले पहल गर्नुपर्ने देखिन्छ । रासस


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan