Wednesday 21st of February | २०७४ फाल्गुण ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्रीको सिफारिशलाई राष्ट्रपतिले अस्विकार गर्नै मिल्दैन् : मन्त्री बस्नेत

केपी ओली अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्नुहुन्छ : नेता राई

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १ फागुन । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय सभाको लागि सरकारले मनोनित गरेका तीन जनाको नाम राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गर्ने विश्वास दिलाएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री बस्नेतले सरकारले मनोनित गरेका राष्ट्रिय व्यक्तिहरु क्रमशः गोपाल बस्नेत, कृष्ण पौडेल र चाँदनी जोशीको नाम राष्ट्रपतिसमक्ष पठाईसकेकोले उक्त नाम अनुमोदित हुने स्पष्ट पारे ।

उनले वर्तमान सरकार हिजो गठन हुँदा जुन अवस्थामा थियो अहिले पनि त्यही हैसियतमा रहेको जिकिर गरे । उनले भने,‘राजिनामा नदिएसम्म कामचलाउ हुँदैन, प्रधानमन्त्रीले राजिनामा दिएपछिमात्रै कामचलाउ हुन्छ।’

बस्नेतले प्रधानमन्त्रीले गरेका सिफारिशहरुलाई राष्ट्रपतिले अस्विकार गर्नै नमिल्ने जिकिर गरे । उनले थपे,‘यदि प्रधानमन्त्रीले संविधानसम्म्त रुपमा गरेका सिफारिशहरुलाई राष्ट्रपतिले अस्विकार गर्नुभयो भने यो त क्याविनेट प्रणालीमाथिको प्रश्न हो नि, मलाई विश्वास छ, राष्ट्रपतिले नाम अनुमोदन गर्नुहुन्छ।’

मन्त्री बस्नेतले एमाले अध्यक्ष ओलीसहित कतिपय शीर्ष नेताहरुले आफूहरुले गरेका निर्णयहरु अब बन्ने सरकारले नमान्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएकोप्रति कडा आक्रोश पोखे ।

उनले भने,‘एमाले अध्यक्ष केपी शर्मा ओलीले हामीले गरेको मनोनित मान्दैनौं भनेको सुनियो, पार्टीको बैठकले वा मुखले आफू अनुकुल भनेर हुँदैन् नि, लहडमा बोल्ने काम हिजो पनि भएको थियो, हामीले त संविधान अनुसार काम गरिरहेका छौं।’

‘क्याविनेटले संविधानसम्म्त गरेका निर्णयहरु मान्दैनौं भन्ने कुरा पनि शोभनीय हुन्छ र ?’ उनले थपे,‘यस्तै गर्ने हो भने संविधानको विपरित हुन्छ, हामीले त संविधानले निर्दिष्ट गरे अनुसार नै आफ्नो कामहरु गरिरहेका छौं।’

प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै राजिनामा दिने पनि उनले विश्वास दिलाए । बस्नेतले भने,‘हामी चाँडोभन्दा चाँडो नै सत्ताबाट बाहिरिन चाहन्छौं, प्रधानमन्त्रीको राजिनामाको लागि अब धेरै दिन कुर्नुपर्ने छैन्।’

यद्धपी उनले आफूहरु मुलुकमा संवैधानिक भ्याकुम नआओस् भन्नेतर्फ पूर्ण रुपमा सचेत रहेको सुनाए ।
मन्त्री बस्नेतले थपे,‘राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भयो, हामीले संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पारेका छौं, अब मुलुक समृद्धितर्फ अघि बढेको छ।’ कांग्रेसले मुलुकलाई सही दिशातर्फ डोर्याउन जहिल्यैपनि नेतृत्वदायी भूमिका निर्वाह गरेको उनको भनाई थियो ।

उनले आफूहरु अब जिम्मेवार प्रतिपक्षको भूमिकामा खरो उत्रने पनि स्पष्ट पारे । यद्धपी उनले सरकारले देश र जनताको पक्षमा गर्ने सबै खाले निर्णयहरुलाई कार्यान्वयन गराउन रचनात्मक र सकारात्मक भूमिका निर्वाह गर्न कांग्रेसले जहिल्यैपनि तयारी अवस्थामा रहेको सुनाए । मुलुकमा ठूला ठूला परिवर्तनहरु कांग्रेसकै नेतृत्वमा सम्पन्न भएकोले कांग्रेसबाहेक अरुले केही गर्न नसक्ने उनको ठोकुवा थियो ।

फरक प्रसँगमा मन्त्री बस्नेतले चलचित्रसम्बन्धी कारोवारलाई व्यवस्थित र पारदर्शी बनाउन लागू भएको विद्युतीय टिकेटिङ प्रणाली (बक्स अफिस)ले चलचित्र उद्योगलाई थप व्यावसायिक बनाउने विश्वास दिलाए ।
नेकपा एमालेका नेता एवम् प्रदेश नम्बर १ का संसदीय दलका नेता शेरधन राईले एमाले अध्यक्ष केपी शर्मा ओली अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् ।

राईले एमाले र माओवादी केन्द्रवीचको एकता पनि चाँडै घोषणा हुने विश्वास दिलाए । उनले भने,‘दुई पार्टीवीचको एकताबारे अब शंका तथा उपशंका गर्ने कुनै ठाउँ छैन, एकता छिट्टै घोषणा हुन्छ, हाम्रो अध्यक्ष केपी शर्मा ओलीज्यू अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्नुहुन्छ।’

उनले आफूले यसअघि पनि पटक पटक ओली अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्ने भनेर सार्वजनिक रुपमै बोलिसकेकोले अब पनि त्यही हुने जिकिर गरे ।

उनले आफूले फागुन ३ गते दिउँसो ३ बजे प्रदेश नम्बर १ को मुख्यमन्त्रीको सपथग्रहण लिनेपनि जानकारी दिए । त्यस्तै उनले सोही दिन आफूले सानो र छरितो क्याविनेट विस्तार गर्ने जानकारी दिए ।

राईले आफूले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि कामका प्राथमिकताहरु सार्वजनिक गर्ने जनाए । उनका अनुसार आफ्नो पहिलो प्राथमिकतामा प्रदेश नम्बर १ लाई भ्रष्टाचारमुक्त बनाउने रहेको छ । उनले भने,‘हामी भ्रष्टाचारको विरुद्धमा कठोर कदम चाल्छौं, भ्रष्टाचारलाई हामी शुन्यमा झार्छौं।’

त्यस्तै उनले उक्त प्रदेशलाई सुशासन र समृद्ध बनाउने पनि जनाए । उनले भने,‘भ्रष्टाचारमुक्त पछि हाम्रो अर्को योजना विकास र समृद्धि नै हो, त्यसको लागि गुरुयोजना अघि बढाउँछौं।’ राईले प्रदेश नम्बर एकलाई समृद्ध र देशकै नमूना प्रदेश बनाउनको लागि आफूहरुसँग गुरुयोजना रहेको बताउँदै उक्त गुरुयोजनाअनुसार नै काम गर्ने विश्वास दिलाए ।

उनले एक नम्बर प्रदेश कृषि, पर्यटन, जलविद्युत सबै हिसावले सम्भावना बोकेको प्रदेश भएकोले सोही अनुसार आफूले काम गर्ने जनाए । उनले थपे,‘हाम्रो प्रदेशमा लाखौं लाख पर्यटकहरु आउनुहुन्छ, पर्यटकीयस्थलको विकास गर्न हामी केन्द्रित हुन्छौं, त्यस्तै जलस्रोतको विकासमा पनि हामी पूर्ण रुपमा केन्द्रित हुन्छौं।’ राईले देशको कुल जलविद्युत क्षमताको एक तिहाई क्षमता एक नम्बर प्रदेशमा भएकोले सोही अनुसार आफूले काम अघि बढाउने योजना सुनाए ।

राईले औद्योगिक विकास र आईटीको पनि विकासमा विशेष ध्यान दिईने बताए । उनले भने,‘हामी यो प्रदेशलाई समृद्ध र देशकै नमूना प्रदेश बनाउँछौं, हामी सक्छौं।’ उनले एक नम्बर प्रदेशको नामांकन र प्रदेशको स्थायी राजधानी कहाँ राख्ने भन्ने कुरा प्रदेश सभाको अधिकारको विषय भएकोले सोही अनुसार निर्णय लिईने पनि जानकारी दिए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan