Saturday 22nd of September | २०७५ असोज ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रपति ताक्ने यी चारजना हिस्स, वामदेवको बेग्लै दाउ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २ फागुन । राष्ट्रपति पदमा धेरै नेताले आँखा लगाएको भए पनि सो पदमा वर्तमान राष्ट्रपति विद्या भण्डारी नै दोहोरिने भएकी छिन् ।

वाम गठबन्धनका नेताहरु झलनाथ खनाल, रामबहादुर थापा बादल, अमिक शेरचन र सुवास नेम्वाङलगायतले राष्ट्रपति पदमा आँखा लगाउँदै आएका भए पनि अन्ततः भण्डारी नै राष्ट्रपति हुने स्थिति बनेको छ ।

०७२ मा संविधान जारी भएपछि विद्या भण्डारी राष्ट्रपति बनेको दुई वर्ष मात्र पूरा भएको छ र यस अवधिमा उनको भूमिकाको उच्च मूल्यांकन पनि हुँदै आएको छ ।

भण्डारीलाई पुनः राष्ट्रपति बनाउन केपी शर्मा ओली र प्रचण्ड दुवै नेता एकमत भएका छन् । नारायणकाजी श्रेष्ठलगायतका नेताले पनि विद्या भण्डारीलाई नै राष्ट्रपति बनाइनुपर्छ भनी लबिङ गरेपछि परिस्थिति भण्डारीको पक्षमा अनुकूल हुँदै गएको बताइन्छ ।

राष्ट्रपतिमा विद्या भण्डारीको चयन हुने स्थिति देखा परेकोले सुवास नेम्वाङ सकसमा परेका छन् । नेपाललाई धर्मनिरपेक्ष बनाइएपछि राष्ट्रपतिको व्यवहार पनि धर्मनिरपेक्ष तुल्याउन केही अदृश्य शक्ति केन्द्रले सुवास नेम्वाङलाई राष्ट्रपति बनाउने चाल चलेको महमसुस स्वयमू केपी ओलीले समेत गरेको बताइन्छ ।

सभामुख पदमा समेत माओवादीको दाबी रहेपनि नेम्वाङका निम्ति उपयुक्त जिम्मेवारीको खोजी भइरहेको बुझिएको छ । विद्या भण्डारी राष्ट्रपतिमा दोहोरिने देखिएपछि झलनाथ खनाल पनि निराश हुन पुगेका छन् ।

राष्ट्रपतिका दाबेदार रामबहादुर थापा बादललाई राष्ट्रिय सभाको अध्यक्ष बनाइने भएको छ भने राष्ट्रपतिकै अर्का दाबेदार अमकि शेरचनलाई उपराष्ट्रपति बनाउन एकथरीले सक्रियता दर्शाएका छन् ।

तर, उपराष्ट्रपतिमा नन्दकिशोर पुन पनि दोहोरिन चाहेका छन् । नन्दकिशोरलाई उपराष्ट्रपति दोहोर्याइएमा शेरचनलाई के कस्तो जिम्मेवारी उपलब्ध गराइने हो सो स्पष्ट हुन सकेको छैन ।

वामदेवको बेग्लै दाउ
प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएपछि नराम्रोसँग छटपटिनु भएका एमाले नेता वामदेव गौतम राज्य सञ्चालनमा आफ्नो भूमिका स्थापित गर्न प्रयत्नशील रहनु भएको छ ।

उहाँले वाम गठबन्धनका नेताहरू समक्ष विकास केन्द्रित एक विशेष संयन्त्र निर्माण गर्ने प्रस्ताव राख्दै आउनु भएको छ ।

विकास प्राधिकरण या त्यस्तै कुनै नाममा संयन्त्र गठन गरी त्यसको प्रमुख आफैँ बन्ने चाहना वामदेवले प्रकट गर्नुभएको छ ।

केही समयअघि देश कसरी बनाउन सकिन्छ भन्ने विषयमा एक पुस्तक लेखेर भव्य समारोहबीच विमोचनसमेत गराउनु भएका गौतममा पछिल्लो समय औधी विकास प्रेम झल्किएको महसुस उहाँका निकटवर्तीहरूले गरेका छन् ।

एमालेमा अहिले देश विकासको सबैभन्दा धेरै कुरा गर्ने नेता भनेर वामदेवलाई लिन थालिएको छ । यसैक्रममा उहाँले त्यस्तो एउटा निकायको परिकल्पना गर्नु भएको छ जसले विकासको विभिन्न मोडल तयार गर्ने, विकास आयोजनाहरूको निर्माण र सुपरीवेक्षण गर्ने तथा विकासका कार्यक्रमहरू अनुगमन गर्दा मापदण्ड अनुरूप गुणस्तरीय भएको नपाइएमा आवश्यक कारबाहीको सिफारिस गर्नेसम्मको अधिकार राख्नेछ ।

गौतमले आफ्नो अवधारणा प्रचण्ड र केपी ओलीलगायतका नेताहरू समक्ष प्रस्तुत गर्नुहुँदा सबैले ‘अति राम्रो’ भनी प्रशंसा गरेका छन् । तर, त्यस्तो निकाय गठन गर्ने पक्षमा कोही पनि रहेका छैनन्, घटना र विचारमा उल्लेख छ ।

वामदेवको अवधारणा अनुरूप कुनै निकाय खडा गर्ने हो भने मन्त्रिमण्डल र राष्ट्रिय योजना आयोगको काम के हुने हो, त्यसको जवाफ भने वामदेव स्वयम्सँग पनि नरहेको बताइन्छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan