Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पुनःनिर्माणलाई तीव्रता दिन ऐक्यबद्ध प्रयास आवश्यक ः भुसाल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २२ मंगलबार | रासस
newsabhiyan

धुलिखेल, २२ फागुन, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत युवराज भुसालले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माण छिटो गर्न ऐक्यबद्ध प्रयास आवश्यक रहेको बताउनुभएको छ ।

आज काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१ देवीटारमा रहेको देवीस्थान माध्यमिक विद्यालयको नवनिर्मित आठ कोठे भवनको उद्घाटन गर्दै उहाँले भूकम्प अतिप्रभावित १४ जिल्ला र कम प्रभावित १८ जिल्ला गरी ३२ जिल्लामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास, सांस्कृतिक सम्पदा, शैक्षिक संस्था, स्वास्थ्य संस्था, सडक, सिँचाइ, खानेपानी तथा राष्ट्रिय धरोहरका पुनःनिर्माण गरिरहेको र त्यसका लागि सबैको साथ सहयोग र ऐक्यबद्धता जरुरी भएको बताउनुभयो ।

उहाँले देशभरमा साढे सात हजार विद्यालय क्षति भएकामा करिब तीन हजार बनिसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “अब एक हजार ५०० बन्दैछन् । बाँकी तीन हजार शैक्षिक संस्था पनि यसै आर्थिक वर्ष भित्र बनाइसक्नेछौँ ।”

उहाँका अनुसार बाँकी संरचना निर्माण गर्न ४०÷५० अर्ब रकम आवश्यक हुन्छ । धुलिखेल नगरपालिकाका उपप्रमुख विमला शर्माले शिक्षा क्षेत्रमा धुलिखेल नगरभित्र शिक्षक दरबन्दी समायोजन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

जिल्ला शिक्षा अधिकारी डा दीपेन्द्र गुरुङले जिल्लाको ग्रामीण भेगमा विद्यार्थी संख्या धेरै र शिक्षक दरबन्दी थोरै रहेको र शहरी क्षेत्रमा शिक्षक धेरै तथा विद्यार्थी संख्या थोरै रहेकाले त्यसलाई आवश्यकताका आधारमा समायोजन नगरेसम्म शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान नहुने बताउनुभयो ।

सेभ द चिल्ड्रेनको नेपालका लागि निर्माण प्रबन्धक यादव मैनालीले नेपालमा भूकम्प अति प्रभावित १४ जिल्लामा २३ वटा विद्यालय भवन निर्माण गरिरहेको र काभ्रेपलाञ्चोकमा तीन वटा निर्माण गरिएकामा दुई वटा उद्घाटन भइसकेको बताउनुभयो । नाङसाल एशोसिएशन नेपालका अध्यक्ष दिने लामाले भूकम्प गएलगत्तै तत्कालीन अवस्थामा राहतस्वरुप अस्थायी सिकाइ केन्द्र बनाइदिएको र त्यसपछि पक्की भवन निर्माणका लागि सहयोगीदातासँग साझेदारी गरेर विद्यालय भवन निर्माण गरेको बताउनुभयो ।

सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोग र नाङसाल एशोसिएशन नेपालको साझेदारी निर्मित आठ कोठे विद्यालय भवन अपांगमैत्री र बालमैत्री रहेको छ । कूल एक करोड ४० लाख २८ हजार ४६९ को लागतमा भवनको निर्माण सम्पन्न गरिएको हो । विद्यालयमा २२० जना विद्यार्थी अध्ययनरत छन् । काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पले क्षति पु¥याएका ४९६ विद्यालयका पाँच हजार २२० वटा कक्षाकोठा क्षति भएकामा ९५४ वटा कोठा पूर्ण क्षति र ९१४ वटा कक्षा कोठा आंशिक क्षति भएको थियो ।
सो अवसरमा विद्यालयका पूर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मबहादुर लामा, झलु तामाङ र ज्ञानबहादुर लामाका साथै भवन निर्माणका लागि जग्गादान गर्ने माइली लामालाई सम्मान गरिएको थियो । लामाले विद्यालयका भवन निर्माणका लागि दुई रोपनी तीन आना जग्गादान गर्नुभएको हो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan