Sunday 23rd of September | २०७५ असोज ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सन्की मातृकाको यो रूप !, श्रेष्ठलाई छिर्के हान्दा फोरम सरकारबाहिर

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत २८ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ चैत । वनमन्त्री हुँदा ललितपुरका स्थानीय विकास अधिकारी डन्डुराज घिमिरेलाई नै शौचालयमा थुनेर चर्चामा आएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव पुनः चर्चामा आएका छन् ।

यतिबेला उनले जनताको पक्षमा राम्रो काम गरिरहेको एक महानिर्देशकलाई सरुवा गरेका कारण चर्चा बटुलेका हुन् ।

रक्तचन्दन विरुद्धको कारबाही चलाएर चर्चा बटुलेका र पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग मतभेद पछिपछि मन्त्री पद नै त्याग्न तयार भएका उनी अहिले भने अवधि नै नपुगी राम्रो काम गरिहेका महानिर्देशकको सरुवा गरेर बदनाम भएका छन् ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहाललाई केही माफियाको उक्साहटमा सरुवा गरेपछि मन्त्री यादवको असली रूप देखिएको हो ।

धेरै क्रान्तिकारी कुरा गरेर कुनै समय प्रचण्डको पनि साथ छाडेका उनी अहिले आपूर्तिमन्त्री भएपछि विवादास्पद बन्न थालेको बताइन्छ । अहिले उनको क्रान्तिकारी छवि नाफाखोर व्यापारीको पाउमा लम्पसार परेको बताइन्छ ।

उपभोक्ता ठगी गर्ने ठूला अस्पताल, गाडी कम्पनी, बोर्डिङ स्कुलहरूको अनुगमन गरी चर्चामा आएका महानिर्देशक दाहाललाई मन्त्री यादवले लहड र सनकका भरमा सरुवा गरेको बुझिएको छ ।

महानिर्देशक दाहाललाई मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ । आवरणमा हेर्दा भ्रष्टाचार विरोधी छवि बनाएका मन्त्री यादवले उपभोक्ता ठगी गर्ने ठूला उद्योगलाई ठगीमा कारबाही गर्न खोज्ने महानिर्देशक दाहालको सरुवा गरेका छन् ।

१ करोड मूल्यमा बिक्री गर्नुपर्ने गाडी १ करोड ५२ लाखमा बिक्री गर्ने गाडी कम्पनीविरुद्ध उनले अनुगमन गरी ठगीमा मुद्दा चलाउन प्रहरी कार्यालयमा फाइल पठाएका थिए । बिरामी लुट्ने अस्पतालले ठगी गरेका प्रमाणसहित उनले ठगीमा कारबाही अगाडि बढाउनू भने पनि प्रहरीले मुद्दा नचलाई उनलाई सफल हुन दिएको थिएन ।

नर्भिक अस्पतालले बिरामीसँग सर्भिस चार्ज भनेर लिइसकेपछि पुनः बेड सर्भिस चार्ज भनेर पैसा लिएको भन्दै उनले कारबाहीका लागि प्रहरीमा पठाएका थिए । लक्ष्मी हुन्डाई गाडी, चौधरी ग्रुपको अरुण इन्टरकन्टिनेन्टल सर्भिसले बिक्री गर्ने सुजुकीलगायतका गाडी कम्पनीविरुद्ध पनि उनले ठगीमा मुद्दा चलाउन सिफारिस गरेका थिए ।

बोर्डिङ स्कुलहरू युलेन्स, जेम्स, रातो बंगला, प्रिमियर, पाठशालाजस्ता स्कुलले करोडौं धरौटी फिर्ता नगरी पचाएपछि त्यो फिर्ता गराउन पहल गरेका थिए । र, त्यो धरौटी फिर्ता नगर्ने स्कुलमाथि कारबाही गर्ने अडान लिएका थिए ।

बोर्डिङ स्कुलहरूले भर्ना फर्मबाट मात्र वार्षिक दुई करोड रूपैयाँ गैरकानुनी रूपमा लिएको अनुगमनका क्रममा पाएपछि उनी कडा कारबाही गर्नुपर्ने पक्षमा थिए । र, जेम्स स्कुलले भर्ना गर्दा लिएको धरौटी फिर्ता नगरेको तीन करोड रकम भेटिएको थियो । उक्त रकम तत्काल विद्यार्थी वा अभिभावकलाई फिर्ता गर्न उनले निर्देशन दिएका थिए ।

जेम्सले फिर्ता कहाँ र कसलाई गर्ने भनेर विवाद गरेपछि उनले प्रत्येक विद्यार्थीको खातामा हाल्न निर्देशन दिएका थिए । यसरी ठगीविरुद्ध कडा रूपमा उत्रिएका महानिर्देशक दाहालविरुद्ध सबै माफिया एक ढिक्का भएर उत्रिएर उनको सरुवा गराएको बताइन्छ ।

श्रेष्ठलाई छिर्के हान्दा फोरम सरकारबाहिर
पछिल्लो निर्वाचनपछि राष्ट्रिय पार्टीको छवि बनाइसकेको संघीय समाजवादी फोरमभित्र पुनः पहाड र मधेसको एजेन्डा उछाल्न खोजिएपछि सरकारमा सहभागिता अनिश्चित बनेको छ ।

तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेर प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने अध्यक्ष उपेन्द्र यादवले अन्तिम तयारी गरिरहकै बेला पहाड र मधेसको नाममा बबन्डर मच्चाउन खोजियो ।

यो कामको नेतृत्व महासचिव रामसहाय यादवले गरेपछि अघिल्लो पटक विस्तार हुँदा सरकारमा सहभागी हुने फोरमको तयारी अन्तिममा रोकिएको थियो ।

तर, प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किएपछि पनि फोरम अध्यक्ष यादव सरकारमा सहभागी हुने कि नहुने विषयमा अनिर्णीत देखिएका छन् ।

उहाँहरुले गरेको सहमति अहिले पनि कोटको खल्तीमै छ, फोरमसँगको छलफलमा अन्तिमसम्म सक्रिय एमालेका एक नेताले भने, उहाँहरुले आफ्नै पार्टी मिलाउन नसकेपछि त अनेक कारण देखाउनुहोला, तर त्यस्तो कुनै दिन आयो भने सरकारमा सहभागी हुने हस्ताक्षरसहितको त्यो पत्र सार्वजनिक गर्नुपर्ने पनि हुन सक्छ ।

विकासे मन्त्रालय लिने अध्यक्ष यादवको प्रस्तावअनुसार प्रधानमन्त्री ओलीले सहरी विकास र स्वास्थ्य मन्त्रालय फोरमका लागि छुट्याएका छन् ।

अघिल्लो विस्तारमा अन्तिममा फोरमले नाम नपठाएका कारण ती मन्त्रालयमध्ये सहरी विकास प्रधानमत्री स्वयंले सम्हालिरहेका छन् भने स्वास्थय मन्त्रालयको जिम्मेवारी राज्यमन्त्री पदमा अर्यालले सम्हालिरहेकी छन् ।

अध्यक्ष यादवले सरकारमा एक जना मधेस र अर्को पहाडबाट सन्तुलन मिलाएर सहअध्यक्ष राजेन्द्र श्रेष्ठलाई पठाउने तयारीमा थिए । तर, श्रेष्ठले काठमाडौं उपत्यकाबाट पार्टीको पक्षमा दुई हजार मत पनि खसाउन नसकेको भन्दै महासचिव यादवले विरोधमा लविङ तीब्र पारेपछि उपेन्द्र रोकिएका हुन् ।

मधेस र पहाडको आन्तरिक लडाइँ चर्किएपछि श्रेष्ठ पनि दिक्दार बनेका छन् । फोरमबाट रेणु यादव, इस्तियाक राई, प्रदीप यादव र उमाशंकर अरगरिया मन्त्री बन्ने चर्चामा छन् ।

महासचिव यादवले नेतृत्व गरेको समूहले पहाडबाट मन्त्री पठाए ठिक नहुने भन्दै उपेन्द्रमाथि विद्रोहको धम्की दिएर दबाब बढाएको छ, बुधबारमा उल्लेख छ ।

यस्तो धम्कीका कारण अनिर्णीत देखिएका उपेन्द्रले सरकारसँग अझै संविधान संशोधनमा ठोस सहमति नभएकाले सरकारमा सहभागी हुन नसकिएको भन्दै टार्दै आएका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan