Wednesday 23rd of May | २०७५ जेठ ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

३३ किलो सुन प्रकरण: लहरो तान्दा पहरो गर्जंदै,पूर्वआईजीपीलगायत दर्जनमाथि अनुसन्धान

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ११ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं,११ बैशाख । विमानस्थलबाट काठमाडौ भित्रिएको ३३ किलो सुन हराएपछि उत्पन्न परिस्थितिले लहरो तान्दा पहरो खस्ने सम्भावना बढेको छ । गत माघको पहिलो साता दुबई हँुदै काठमाडौं आएको ३३ किलो सुन गायब भएसँगै तीनजनाको ज्यान गएको छ भने सो काण्डमा निवर्तमान प्रहरी महानिरीक्षक प्रकाश अर्यालदेखि केही नेता व्यापारीहरूसमेत तानिने सम्भावना बढ्दै गएको छ ।

सुनकाण्डको विस्तृत अनुसन्धानका लागि सरकारले गठन गरेको अनुसन्धान समितिले पूर्वडीआईजीलगायतका प्रहरी अधिकारीहरूलाई उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेसँगै निवर्तमान प्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल र डीएसपी सञ्जय राउत अनुसन्धानको दायरामा तानिएका छन् । त्यसैगरी, सुन व्यापारी पवन अग्रवाल, राजेन्द्र शाक्य, बाजेको सेकुवा सञ्चालक चेतन भण्डारी पनि मुछिएका छन् ।

वर्तमान सत्ताधारी नेताका आफन्तहरू पनि तानिएको स्रोतले जनाएको छ । विगतमा सुन कारोबारमा संलग्न शाक्य यस प्रकरणमा भने संलग्न थिएनन् कि भन्ने प्रहरी अनुसन्धानमा देखिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर गत २१ पुस र ९ माघमा दुबैपटक भित्रिएको साढे ३३ किलो सुन तथा घटनामा जोडिएका तीनजनाको मृत्यु प्रकरणपछि प्रहरी, व्यापारी, राजनीतिज्ञहरू मुछिएका छन् । यीमध्ये डीआईजी निरौलाले २९ चैतमै अवकाश पाइसकेका छन् भने एसएसपी खत्री प्रहरी प्रधान कार्यालय र खनाल मकवानपुर प्रहरी प्रमुखका रूपमा कार्यरत छन् । 

प्रहरी रेकर्डमा २०७२–७३ मा विमानस्थल प्रमुख रहेका डीआईजी निरौला निरन्तर सुन तस्कर गिरोहसँग सम्पर्कमा रहेको बताइएको छ । उनकै कार्यकालमा गत वर्ष २१ पुसमा साढे ३३ किलो सुन केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको थियो । सो समय विमानस्थलमा रहेका एसएसपी श्यामबहादुर खत्रीलाई कारबाही भए पनि उनी अदालतबाट सफाइ पाई मुख्यालयमा कार्यरत छन् । त्यही समयमा विमानस्थलमा रहेका एसपी खनाल र डीएसपी राउतसमेत अनुसन्धानमा तानिएका छन् । समितिले अनुसन्धानका लागि बोलाएका अधिकारीहरूको सुन तस्करीका नाइके गोरे भनिने चुडामणि उप्रेतीलगायतका तस्कर समूहसँग सम्पर्क देखिएको स्रोतले जनाएको छ ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित नौ सदस्यीय समितिले सुन तस्करीमा प्रत्यक्ष संलग्न रहेका प्रहरी, भन्सार अधिकारी, विमान कम्पनीमा कार्यरत उच्च तहका अधिकारी र व्यवसायीको सूची बनाएरै गरेर पक्राउ गर्न थालेको हो ।
फ्लाई दुबईको विमानबाट आएको ३३ किलो सुन विमानस्थल कटाएर अर्को व्यक्तिलाई ह्यान्डओभर गर्ने जिम्मा लिने व्यक्ति एलबी मगर भए पनि उनको संलग्नताबारे कहीँकतै उल्लेख गरिएको पाइँदैन ।

२०७४ माघ ९ गते विमानस्थलमा सुन आइपुग्यो, तर एलबी आएनन् । यसपछि सुन तस्करका नाइके चुडामणि उप्रेतीले सो सुन पुरानो बानेश्वरसम्म लगेर छाड्ने जिम्मा सानु बनलाई दिए । सानु तिनै हुन्, जसले गएको माघ २२ गते विमानस्थलमा गुड्दै गरेको ट्यांकरको चक्कामा ठोक्किएर आत्महत्या गरेका थिए ।  स्रोतका अनुसार ५५ वर्षीय सानु बन थाई एयरवेजका इन्जिनियर हुन् । सानु बन स्कुटरको पछाडि थिए, स्कुटर चलाउने व्यक्ति अर्कै थिए । सुन बोकेको स्कुटर काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुलमा पुगेको मात्र के थियो, त्यहीँबाट बनले उप्रेतीलाई फोन गरेर सुन लुटिएको जानकारी गराएका थिए ।

उप्रेतीले सुन लुटिएको कुरा पत्याएनन्, अनि बनलाई रातदिन टर्चर दिन थाले । ‘संगठित रूपमा भएको सुन तस्करी र सनम शाक्य हत्या प्रकरण’ छानबिन गर्न बनेको समितिका एक सदस्यका अनुसार समितिले सानु बनलाई टर्चर दिएको भिडियो फेला परेको छ । सो भिडियोमा उप्रेतीले बनलाई ‘सुन लुकाएको ठाउँ देखाइस् भने तलाईं जीवनदान दिने’ बताए थिए । हरेक दिनको टर्चर अनि उप्रेतीले जीवन नै सिध्याउने धम्की दिन थालेपछि बनले आत्महत्याको बाटो रोजेको हुनसक्ने प्रहरीको अनुमान छ ।

माघ २२ गते थाई एयरवेजको ग्राउन्ड ह्यान्डेलिङ इक्विपमेन्ट राख्ने स्थान नजिकै गुडिरहेको इन्धन बोक्ने एआर–२७ नम्बरको ट्यांकरमा दौडिएर उनी चक्कामुनि पसेको सिसिटिभी फुटेजमा देखिन्छ ।

सानु बनका छोराले आफ्नो बुबाले आत्महत्या नै गरेको समितिका सदस्यहरूलाई बताएका छन् । समितिका एक सदस्यका अनुसार उनको छोरालाई बोलाएर सोधपुछ गरेको र आत्महत्या नै गरेको भनेर घटना स्थापित गर्ने सर्तमा मात्रै उनले बयान दिएका थिए ।

छानबिनका क्रममा शंकास्पद भूमिका देखिएको र प्रहरी प्रधान कार्यालयको लिखित आदेशबिना कार्यक्षेत्र ख्यालै नगरीकन धरान पुगेको भन्दै महाशाखाका एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई प्रधान कार्यालयले महाशाखाको जिम्मेवारीबाट हटाइसकेको छ ।

फागुन १८ गते धरानमा यातना दिने क्रममा मारिएका मोरङ उर्लाबारी–७ का सनम शाक्य सुन तस्कर उप्रेतीका एकाउन्टेन्ट थिए । समितिको छानबिनका क्रममा शाक्यसमेतको मिलेमतोमा सुन गायब गराइएको भन्दै उप्रेतीले उनलाई यातना दिएका थिए ।  यातना दिने क्रममा शाक्यको मृत्यु भएसँगै उप्रेती र महानगरीय अपराध महाशाखामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण सञ्जेलको बीचमा शव व्वस्थापनकै लागी पाँच करोडबाट सुरु भएको बार्गेनिङ दुई करोडमा टुंगिएको थियो । 

समितिसमक्ष बयान दिने क्रममा सञ्जेलले हत्यारा पक्राउ गर्न र शव बरामद गर्न आफूले राम्रो उद्देश्य राखेर (गुड फेथमा) त्यस्तो बार्गेनिङ गरेको बताएका छन् । यद्यपि छानबिनको क्रममा शंकास्पद भूमिका देखिएको र प्रहरी प्रधान कार्यालयको लिखित आदेशबिना कार्यक्षेत्र ख्यालै नगरीकन धरान पुगेको भन्दै महाशाखाका एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई प्रधान कार्यालयले महाशाखाको जिम्मेवारीबाट हटाइसकेको छ ।

धरानको जंगलमा सनम शाक्य मारिनुअघि उनले बोलेको र यातना दिएको भिडियो समितिले फेला पारेको छ । सो भिडियोमा सनमले ‘डीआईजी गोविन्द मामा’ भनेर सम्बोधन गरेका थिए । चैत २९ गते अवकाश पाएका डीआईजी निरौलामाथि पनि अनुसन्धान भइरहेको समितिका एक सदस्यले बताएका छन् । पछिल्लो पटक प्रहरी प्रधान कार्यालय सरुवा हुनुअघि निरौला त्रिभुवन विमानस्थलमा कार्यरत थिए । काठमाडौं उपत्यका मात्रै कार्यक्षेत्र भएको अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनीले तत्कालीन प्रहरी महानिरीक्षक प्रकाश अर्यालको आदेशले पूर्वमा गएको बयान दिएका छन् । ‘पूर्वमा त्यहीँ स्थानीय प्रहरी हुँदाहुँदै लिखित आदेशबिना किन महाशाखाबाट प्रहरी पठाइयो भन्नेबारे प्रश्न उठेको छ ।

अर्यालकै आदेशमा गएका कारण उनलाई पनि बयानका लागि समितिले बोलाउने भएको छ । चुडामणि उप्रेतीले धेरैजसो फ्लाई दुबई र थाई एयरवेजबाट सुन ल्याउँथे । छानबिन समितिका एक सदस्यका अनुसार उनले प्रतिमहिना १० पटकसम्म सुन ल्याउने गरेको खुल्न आएको छ । तरुणका साथमा ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan