Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फोर्ड गाडीको इन्जिनमा खराबी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २ बुधबार |
newsabhiyan
newsabhiyan

रोशन कार्की, काठमाण्डौं,२ वैशाख  ।
तेस्रो मुलुकबाट सस्तोमा गाडी आयात गरेर नेपालमा अत्यधिक शुल्क तोकी बिक्री गरिँदै आएको जीओ अटोमोबाइल्सले बिक्री गरेको फोर्ड नामको गाडीमा गम्भीर फल्स (खराबी) भेटिएको छ । फोर्डको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले उपभोक्तालाई विभिन्न नयाँ प्रविधिसहित उत्पादन गरेको भन्दै झुटो प्रचार गरी चर्को मूल्यमा बिक्री गरिएका अधिकांश गाडीहरुमा खराबी भेटिएको सम्बन्धित गाडी खरिदकर्ताहरुले बताएका छन् ।

जीओ अटोमोबाइल्सले बजारमा ल्याएका फोर्डका नयाँ ब्राण्डको गाडीमा खराबी भेटिएको हो । फोर्डको फ्रि इस्टाइल टिटानियम गाडीमा खराबी भेटिएको जनाइएको छ । सो गाडीको इन्जिन सफ्टवेयरमा खराबी भएको पीडितहरुले बताएका छन् । सो गाडीको इन्जिनमा प्रदूषण कम देखाउने गलत सफ्टवेयर प्रयोग गरेको बताइएको छ ।

यसरी सस्तोमा अर्डर गरेर नेपाल भित्राइएका अधिकांश हलुका सवारीसाधनहरुमा विभिन्न प्रकारका कमजोरी र खराबी भेटिँदै आएको छ । नेपालमा सवारीसाधनलाई विलासी वस्तुको वर्गमा राखिएको र बजारमा सार्वजनिक गरिएका नयाँ मोडलका गाडी चलाउने सोख भएका उपभोक्ताहरु पछिल्लो समयमा अत्यधिक महंगो शुल्क र प्राविधिक कमजोरी भएका सवारीसाधनको खरिद गर्दै आएका छन् ।

देखासिकीकै कारण अप्रत्याशित रुपमा सवारीसधानको खरिदमा वृद्धिसँगै बढेको मागलाई धान्नकै लागि गाडी बिक्रेताहरुले मौकाको फाइदा उठाउँदै उपभोक्तामाथि ठगी धन्दा चलाउन सफल भएको पाइएको छ । विलासी जिन्दगी बिताउनेहरुको संख्यामा भएको वृद्धि र मागलाई धान्नकै लागि गाडी बिक्रेता कम्पनीले आफूअनुकूल मूल्य निर्धारण गरी उपभोक्ता ठगी गरी राज्यको ढुकुटीमा जाने कर समेत छली गर्दा सम्बन्धित निकाय मौन रहेको छ । प्राप्त विवरणअनुसार चार लाख १७ हजार आठ सय ७२ भारतीय रुपैयाँ पर्ने फोर्ड नामको गाडी नेपालमा ३२ लाख ४९ हजार रुपैयाँ बिक्री गरेको प्रमाणित हुँदा समेत सरकारले कारबाही गर्नसकेको छैन ।

भारतस्थित फोर्डसँग चार लाख १७ हजार आठ सय ७२ भारतीय रुपैयाँमा किनेको गाडीको नेपाली रुपैैयाँ छ लाख ६८ हजार रुपैयाँ हुन्छ । आईडी, ईसीएस र भ्याटबापत दुई गाडीको जम्मा ३० लाख ८३ हजार नौ सय ७७ रुपैयाँ तिरेको बिलबाट स्पष्ट भएको छ । यसकारण यो दुई गाडीको वास्तविक मूल्य ४४ लाख ७७ हजार चार सय ९७ हुनुपर्नेमा जीओ अटोमोबाइल्सले दुई गाडीको मूल्य ६४ लाख ९८ हजार रुपैयाँमा बिक्री गर्दै आएको छ  ।

प्रतिगाडी २२ लाख ३८ हजार सात सय ४८ रुपैयाँ वीरगञ्ज भन्सारसम्म आइपुग्दा हुनेमा सो कम्पनीले प्रतिगाडी १० लाख रुपैयाँभन्दा बढी नाफा खाएर बिक्री गरेको अनुगमनमा भेटिएको छ  । गाडी बिक्रेता कम्पनीले ढुवानी, उत्पादक करदेखि लाग्ने अन्य विभिन्न कर र मूल्य अभिवृद्धि कर (भ्याट)सहित सबै जोडेर उसले २९ प्रतिशतभन्दा बढी रकम नाफा खाएको भेटिएको हो । सो ठगीविरुद्ध मुद्दा चलाउन पाउने र छानबिन समेत गर्ने अधिकार भएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले सो ठगीका विययमा पटक—पटक गुनासो आउँदा समेत गम्भीर भएर छानबिन नगर्दा सो कम्पनीको ठगी धन्दामा मलजल पुगेको छ ।

विभागले चर्को दबाबपछि औपचारिक रुपमा अनुगमन गर्दा जीओ अटोमोबाइल्स कम्पनीले विद्यमान ऐन कानुनविपरीत गाडी बिक्री गरेको ठहर गरेको छ । सार्वजनिक रुपमा आएको दबाबलाई थेग्न नसकेपछि औपचारिकता दिनकै लागि छानबिन गरेको भए पनि देखावटी रुपमा सो कम्पनीमाथि कारबाहीका लागि सिफारिस गरेको भए पनि अहिलेसम्ममा ठोस कारबाही गर्न सरकारले सकेको छैन । बढ्दो मात्रामा ठगीका बारेमा मन्त्रालयमा उजुरीका चाङ लाग्नथालेपछि देखावटी छानबिन गरेको भए पनि मन्त्रालयले व्यवसायीलाई कारबाहीको सट्टा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहाललाई नै सरुवा गराएर व्यापारीसँग कमिसन संकलन गर्दै आएको आरोप रहेको छ ।
जीओ अटोमोबाइल्स कम्पनीले प्रशासनिक खर्च शीर्षकबाट कर्मचारीको तलब, उनीहरूको भत्ता र सुविधा, कार्यालय सञ्चालन खर्च, शोरुम शुल्क, गोदाम भाडा, विज्ञापन खर्च तथा बिक्री प्रवद्र्धनमार्फतको शुल्क जोडेर २९ प्रतिशत नाफा खाँदा समेत नियमनकारी निकाय मौन रहनुलाई आमजनताले रहस्यमय ढंगबाट हेरेका छन् ।

सो सम्बन्धमा कम्पनीका प्रबन्धक तेजकरण जैनलाई विभागले पटक–पटक स्पष्टीकरण सोधेको थियो । सो स्पष्टीकरणमा अत्यधिकमात्रामा शुल्क असुली गर्नुपर्ने कारण भने उनले बुझाउनसकेका छैनन् । जैनले सो स्पष्टीकरणमा मूल्यवृद्धिको मात्र कारण देखाएको छ । अहिले आएको नयाँ ब्राण्डको फ्रि इस्टाइल टिटानियम गाडीमा समेत उसले लुटको धन्दा मच्चाइरहेको छ । सरकारले छानबिन गरेको खण्डमा सो कम्पनी कालोबजारी तथा अन्य केही अपराध तथा सजायअन्तर्गत कारबाही हुने निश्चित छ ।

सो ऐन २०३२ अनुसार अतिरिक्त २० प्रतिशतसम्म रकम जोडेर वस्तु बिक्री गर्दा कालोबजारी गरेको ठह¥याइने उल्लेख गरेको छ । तर, सो कम्पनीले भने विज्ञापन खर्च, प्रशासनिक खर्चलगायत फरक–फरक शीर्षकमा शुल्क लिएको पाइएको विभागले जानकारी दिएको छ । ऐनअनुसार माल वस्तुको उत्पादक, आयातक वा मुख्य वितरकले निर्धारित गरेको मोलभन्दा बढी मोल लिई कसैले कुनै मालवस्तु बिक्री गरेमा सो माल सामान लिएको मोल फिर्ता गराई सो मालवस्तु जफत गरी निजलाई १० वर्षसम्म कैद छ र जरिवानासमेत हुन सक्ने कानुनी व्यवस्था छ ।

सो कम्पनीका सञ्चालकले उपभोक्तासँग परलभन्दा चर्को मूल्य असुलेर विवादमा आएको फोर्ड मोटर्सको बिक्रेतासँग सरकारले बयान लिएको भए पनि भित्रभित्रै सो मुद्दालाई निष्क्रिय समेत बनाएर राखिएको छ । जीओ अटोमोबाइल्सका वित्त प्रबन्धक तेजकरण जैनले आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आधा घण्टा बयान लिए पनि विभागले अन्त्यमा भने चित्तबुझ्दो नभएपछि पुनः तीन दिनभित्र सक्कली कागजातसहित जवाफ पेस गर्न निर्देशन दिएको जनाएको थियो ।

राजधानीको थापाथलीस्थित फोर्डको आधिकारित बिक्रेता जीओ अटोमोबाइल्स प्राइभेट लिमिटेडका वित्त प्रबन्धक जैनलाई विभागमै बोलाएर बयान लिइएको थियो । आर्थिक दैनिकका साथमा । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan