Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नापीमा काजसरुवा गर्दै पैसा असुल्दै, गलत सूचना दिने कर्मचारीको सरुवा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २ जेठ । नापी विभागका डीजी गणेश भट्टको अहिले प्रशासन शाखाका अधिकृतसँग मिलेर तीन महिने काज भन्ने, फेरि तीन महिना थप्ने र तीन महिनाको तलब बापतको रकम लिने गरेको स्रोतले बतायो ।

अहिले सरुवाको समय होइन, तर महानिर्देशक भट्टले कर्मचारीबाट पैसा असुल्दै उपत्यका र उपत्यकाबाहिरका कमाउ हुने विराटनगर, पोखरालगायतका स्थानमा धमाधम काज सरुवा गर्ने गरेको बताइन्छ ।

अहिले नापीमा काज विवरण हेर्ने हो भने दुई तीन वर्षदेखि आकर्षक कमाउ कार्यालयमा काज बसेका सयौं कर्मचारी छन् । त्यति मात्र होइन, महिला भनेपछि हुरुक्क हुने स्वभावका महानिर्देशक भट्ट र अमिन महिलाहरुको सम्बन्धलाई लिएर कार्यालयका उपसचिवहरु नै आश्चर्यचकित हुने गरेका छन् ।

सबैभन्दा तल्लो तह अमिनका महिला कर्मचारीसँग सम्बन्धकै कारण महानिर्देशक भट्टराई केही दिन अघि एक महिला अमिनले कार्यकक्षमै थर्काएको स्रोतले बतायो । उपसचिवहरुको छेउमै कार्यकक्षमा डीजीलाई तल्लो तहकी एक महिलाले थर्काउँदा उनी ङिच्च हाँसेर बसेका थिए भने उपसचिवहरु नै लाजले पानीपानी भएको एक प्रत्यक्षदर्शीले बताए ।

कर्मचारी काजमा पठाउँदा पनि उनले प्रायः महिलालाई नै छनोट गर्ने बताइन्छ । अहिले संघीयतामा नापीको संरचना बनाउँदा पनि उनीप्रति सहसचिवहरु रुष्ट बनेका छन् । नापीमा कित्ता नापी महाशाखा, स्थलरुप नापी महाशाखालगायत चारवटा महाशाखा छन् ।

ती महाशाखामा पनि सहसचिवको दरबन्दी हुन्छ । ती महाशाखाले आफैं बजेट खर्च गर्न पाउँथे । अहिले तीनले बजेट खर्च गर्न नपाउने सबै महानिर्देशकले गर्ने गरी संरचना निर्माण गर्न लागिएको छ । भूमिसुधारको आकर्षक कमाइ हुने राष्ट्रिय भूउपयोग आयोजना हो ।

यसले देशभरिको जमिनको डिजिटल नक्सा बनाउने काम गर्छ । वार्षिक ३० अर्बको बजेट छ यो कार्यलयसँग । यो अहिले नापीअन्तर्गत छैन तर अहिले महानिर्देशक भट्ट त्यसलाई पनि नापी विभागअन्तर्गत राख्ने गरी संरचना निर्माण गर्न लागेका छन् । उनको यो कदमबाट पनि सहसचिवहरु रुष्ट बनेका छन् ।

मालपोत र नापीका कर्मचारीको भागाभाग
यसैबीच, भूमिसुधार मन्त्रालयले ६ महिनाअगाडिदेखिको काठमाडौं उपत्यकाका कित्ताकाट गरिएका जग्गाको विवरण मागेपछि अहिले मालपोत र नापीका कर्मचारीको भागाभाग भएको छ । सरकारले २०७३ साउन महिनाबाट कृषि योग्य जमिनमा कत्तिाकाटमा रोक लगाएको थियो ।

त्यसविरुद्ध भूमाफियाहरुले अदालतमा मुद्दा पनि हाले । तर, अदालतले पनि मन्त्रालयको निर्णयलाई सदर गरेको थियो । तर, सरकारको निर्णय र अदालतको आदेशसमेतको विपरीत काठमाडौंका मालपोत र नापी कार्यालय प्रमुखले प्रतिआना मोटो रकम लिएर सयौं रोपनी जग्गा कित्ताकाट गरेका थिए ।

अहिले मन्त्रालयले कित्ताकाट गरिएका जग्गाको विवरण मागेपछि नापी र मालपोतका कर्मचारीको भागाभाग भएको हो ।

ललितपुर मालपोत कार्यालयका तत्कालीन प्रमुख घनश्याम उपाध्याय र नयाँ आएका प्रमुख भीमकान्त गौतम, नापीका तत्कालीन प्रमुख बुद्धिमान रेग्मी र अहिलेका सुरेश श्रेष्ठ, डिल्लीबजारका मालपोत तत्कालीन प्रमुख पद्मनिधि सोती, नयाँ मालपोत प्रमुख केशव न्यौपाने र नापी प्रमुख मग्नु दत्त, चाबहिल नापी प्रमुख मणि रेग्मी र मालपोत प्रमुख बद्री कार्की, कलंकी नापीका प्रमुख दीपक सापकोटा र मालपोत प्रमुख नवीन अधिकारी, मनमैजु नापीका ध्रुव थापा, टोखा नापीका प्रमुख बेचन यादवका साथै टोखा मनमैजु र साँखुका मालपोत प्रमुखहरु समेत मिलेर सयौं रोपनी जग्गा कित्ताकाट गरेका छन् ।

यसरी गैरकानुनी रुपमा जग्गा कित्ताकाट गर्दा मोटो रकमको कारोबार भएको बताइन्छ । तर, अहिले मन्त्रालयले त्यसको विवरण मागेपछि ती कार्यालयहरुमा खैलाबैला मच्चिएको बताइन्छ । यो रकमको भागबन्डा नापीका महानिर्देशक भट्टसम्म पनि पुगेको स्रोतले बतायो ।

गलत सूचना दिने कर्मचारीको सरुवा
सरकार विरुद्ध गलत सूचना दिने अर्थ मन्त्रालयका एक कर्मचारीलाई सरुवा गरेर निजामती किताबखानामा थन्काइएको छ । ती कर्मचारी हुन् वैदेशिक सहायता महाशाखाका प्रमुख सहसचिव केवलप्रसाद भण्डारी ।

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि सरकारले भारतलाई पाँच करोडसम्मका साना परियोजनामा सिधै खर्च गर्न पाउने निर्णय गरिएको भन्दै सहसचिव भण्डारीले सञ्चारमाध्यमलाई सूचना दिएका थिए ।

जबकि, त्यो सूचना नै गलत थियो । त्यो निर्णय शेरबहादुर देउवाको सरकारका पालामा २०७४ मंसिर १४ गतेको मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

त्यो निर्णय भएको झन्डै तीन महिनापछि फागुन ३ मा ओली प्रधानमन्त्री भएका हुन् । सरकारका विरुद्ध यसरी गलत सूचना दिएका कारण प्रधानमन्त्री ओलीले नै तुरुन्त कारबाही गर्न निर्देशन दिएको बताइन्छ, बुधबारमा उल्लेख छ ।

प्रधानमन्त्रीको निर्देशनपछि उनलाई त्यहाँबाट निजामती किताबखानाको महानिर्देशक बनाएर पठाएको छ । यसअघि निजामती किताबखानाकी महानिर्देशक मनमाया भट्टराईलाई अर्थ मन्त्रालयमा ल्याइएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan