Wednesday 23rd of May | २०७५ जेठ ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आठ स्थानीय तह पूर्ण खोपयुक्त घोषणा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २ बुधबार | RSS
newsabhiyan

बागलुङ, २ जेठ (रासस)ः जिल्लाका दशमध्ये आठ स्थानीय तह पूर्ण खोपयुक्त घोषणा भएका छन् ।

बागलुङ नगरपालिका र बडीगाड गाउँपालिका घोषणाको तयारीमा छन् । गत पुसमा ढोरपाटन नगरपालिका पहिलो खोपयुक्त नगर बनेको थियो । त्यसयता, गलकोट नगरपालिका, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिका, बरेङ गाउँपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका पूर्ण खोपयुक्त घोषणा भएका हुन् ।

आगामी असारभित्र जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गरिने जिल्ला खोप समन्वय समितिले जनाएको छ । समितिका सदस्य सचिव एवं जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक तिवारीका अनुसार बडीगाड गाउँपालिका घोषणा हुन मात्र बाँकी छ । बागलुङ नगरपालिकालाई पनि पूर्ण खोपयुक्त बनाउन तयारी तीव्र पारिएको उहाँले बताउनुभयो ।

“असारभित्रै जिल्ला पूर्ण खोपयुक्त हुन्छ,” उहाँले भन्नुभयो – “अब कुनै पनि बालबालिका खोपबाट बञ्चित हुने छैनन् ।” जनस्वास्थ्यका क्षेत्रमा पूर्ण खोपयुक्त घोषणा सबैभन्दा प्रभावकारी कार्यक्रम भएको उहाँको भनाइ छ । नगर र गाउँपालिकाका सबै बालबालिका खोपको पहुँचमा पुगेको सुनिश्चितता भएपछि पूर्ण खोपयुक्त घोषणा गर्ने गरिएको छ । बालबालिकाले खोप पाए÷नपाएको सुनिश्चित गर्न जिल्ला खोप समन्वय समितिसँगै नगर र गाउँस्तरीय समन्वय समितिले विभिन्न चरणमा सर्वेक्षण गर्ने गरेका छन् ।

घरधुरी सर्वेक्षण र नियमित अनुगमनबाट बालबालिका खोपबाट वञ्चित नभएको सुनिश्चित भएपछि मात्र पूर्ण खोपयुक्त नगर, गाउँ घोषणा भएका हुन् । सम्बन्धित पक्षले आउँदा दिनमा पनि सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन प्रतिबद्धता गरेका छन् । जनप्रतिनिधि, स्वास्थ्य क्षेत्रका पदाधिकारी, सामाजिक अगुवालगायतले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले अबदेखि कुनै पनि बालबालिका खोप पाउनबाट बञ्चित हुनु नपर्ने उल्लेख गर्नुभयो ।

“अहिले पनि खोप पाउने उमेरका सबै बालबालिकाले खोप पाएका छन्, आगामी दिनमा पनि खोपको सुनिश्चितता हुन्छ,” उहाँले भन्नुभयो । नगरपालिकास्तरमा नगर प्रमुख र गाउँपालिकामा अध्यक्षको नेतृत्वमा खोप समन्वय समिति क्रियाशील छन् । पूर्ण खोपयुक्त घोषणा भएका स्थानीय तहमा पोलियो, बिसिजी, हेप बी, डिपिटी, दादुला, रुबेला, टिटी, जेइलगायत ११ प्रकारका खोप सबै बालबालिकाले पाएको सुनिश्चिता गरिएको छ ।

घोषणा हुनुभन्दा आउँदा दिनमा पनि खोपको सुनिश्चितता हुनु घोषणा कार्यक्रमको मुख्य लक्ष्य हो । खोप नियमितरुपमा पाएको खण्डमा शिशु तथा बालबालिकालाई विभिन्न १० प्रकारका रोगबाट बचाउन सकिने स्वास्थ्यकर्मी बताउँछन् । जनस्वास्थ्य प्रशासक तिवारीकाअनुसार नियमित खोपका कारण नेपालमा बाल मृत्युदर २५ प्रतिशतले घटेको छ । कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नपरोस् र नियमित पाउनुपर्ने खोपको सुनिश्चितता होस् भनेर पूर्ण खोपयुक्त क्षेत्र घोषणा गर्ने गरिएको छ । बागलुङ पूर्ण साक्षर र खुला दिसामुक्त जिल्ला यसअघि नै घोषणा भइसकेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan