Saturday 21st of July | २०७५ श्रावण ५ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विप्रेषण आय : ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ३ आइतबार | रमेश लम्साल (रासस)
newsabhiyan

काठमाडौँ, ३ असार । विप्रेषण आयमध्ये ठूलो परिमाणको रकम दैनिक प्रयोजन तथा ऋण तिर्नका लागि खर्च हुने गरेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको एक अध्ययनअनुसार विप्रेषण आयको २५.३ प्रतिशत अंश ऋण तिर्नका लागि प्रयोग हुने गरेको पाइएको छ भने २३.९ प्रतिशत खाद्यान्न तथा लत्ताकपडालगायतका दैनिक उपभोग्य वस्तुमा खर्च हुने गरेको हो ।

यस्तै ९.७ प्रतिशत शिक्षा तथा स्वास्थ्यमा, ३.५ प्रतिशत विवाह, व्रतबन्धलगायतका सामाजिक कार्यमा र ३.० प्रतिशत घरायसी सम्पत्तिको खरिदमा प्रयोग भएको देखाएको छ ।

विप्रेषण रकमको २८.० प्रतिशत भने बचत र १.१ प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी भएको देखिएको छ । उत्पादनमूलक क्षेत्रमा रकम खर्च नहुँदा विदेशमा कमाएको रकम जताबाट आयो उतै जाने अवस्था देखिएको हो ।

वैदेशिक रोजगारीमा गएका कामदारमध्ये ९०.९ प्रतिशतले बैंक तथा वित्तीय संस्थाबाट विप्रेषण पठाउने गरेका छन् । अध्ययनअनुसार ५.९ प्रतिशतले हुण्डीमार्फत र एक प्रतिशतले साथीभाइ,आफन्त तथा परिवारमार्फत विप्रेषण पठाउने गरेका छन् । यसबाहेक २.२ प्रतिशतले भने औपचारिक तथा अनौपचारिक दुवै माध्यमको उपयोग गर्ने गरेको पाइएको छ ।

विप्रेषणबाट प्राप्त भएको रकममध्ये १८.८ प्रतिशतको घरखर्चको स्रोत विप्रेषण आयमात्र रहेको छ । यस्तै ८१.२ प्रतिशतले घरायसी खर्चका लागि विप्रेषण आयको अतिरिक्त अन्य घरायसी स्रोतसमेत उपयोग गरेको पाइएको छ ।

विप्रेषणबाट प्राप्त रकम बचत गर्ने घरपरिवारमध्ये ४८.८ प्रतिशतले बचत गर्नुको मुख्य उद्देश्य घरजग्गा खरिद गर्नु रहेको पाइएको छ ।

यस्तै ३६.६ प्रतिशतले बचत गर्नुको उद्देश्य घर मर्मत गर्नु देखिएको छ । यसबाहेक ३४.३ प्रतिशतले बालबालिकाको शिक्षा तथा स्वास्थ्यमा खर्च गरेका छन् । उक्त रकममध्ये १२.२ प्रतिशतले दैनिक उपभोग र सामाजिक कार्यमा खर्च गरेका छन् ।

यसैगरी १५ प्रतिशतले ऋण लगानी गरेका छन् भने व्यापार व्यवसाय सञ्चालन गर्नेहरु ८.४ प्रतिशत रहेका छन् ।

वैदेशिक रोजगारीमा गएका कामदारले वार्षिक औसतमा छपटक विप्रेषण पठाउने गरेका छन् । अध्ययनअनुसार वार्षिक औसत रु पाँच लाख ३२ हजार रकम घरपरिवारमा पठाउने गरेको पाइएको छ ।

विप्रेषण पठाउँदाको लागत कूल विप्रेषण आप्रवाहको १.७ प्रतिशतको हाराहारीमा रहेको पाइएको छ ।

गत वैशाख मसान्तसम्म विप्रेषण आप्रवाह सात प्रतिशतले वृद्धि भएको छ । बैंकका अनुसार सो अवधिसम्म रु छ खर्ब छ अर्ब ६८ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.२ प्रतिशतले बढेको थियो । खुद ट्रान्सफर आप्रवाहमा भने ०.१ प्रतिशतले कमी आई रु छ खर्ब ९२ अर्ब २३ करोडमा सीमित भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १०.३ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या छ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.९ प्रतिशतले घटेको थियो ।

सन् १९८० को दशकपछि आर्थिक उदारीकरण तथा विश्वव्यापीकरणको प्रभावले गर्दा विकासोन्मुख मुलुकबाट विकसित मुलुकहरूमा रोजगारीका लागि जाने श्रमशक्तिमा उच्च वृद्धि हुँदै गएको हो ।

कामदार निर्यात गर्ने मुलुकमा विप्रेषण आप्रवाह पनि उल्लेख्य वृद्धि हुँदै आएको छ । नेपालमा विगत दुई दशकयता वैदेशिक रोजगारीमा जानेको संख्या बढेको हो ।

वैदेशिक रोजगारीमा गएका कामदारले पठाउने विप्रेषण आयमा वृद्धि भई हाल विप्रेषण रकम नेपाली घरपरिवारको आम्दानीको एक प्रमुख स्रोतका रूपमा स्थापित भएको छ ।

त्यस्तो रकम उपभोगमा खर्च हुने तर आन्तरिक उत्पादन नबढ्ने अवस्थामा आयात बढ्न गई व्यापार घाटामा समेत चाप परेको छ । त्यस्तो आय लगानीमा परिणत भएमात्रै उत्पादन र रोजगारीमा सकारात्मक प्रभाव पर्ने देखिन्छ तर विप्रेषणबाट प्राप्त हुने रकम अनुत्पादक क्षेत्रमा बढी खर्च हुने गरेको छ ।

वैदेशिक रोजगारीमा ७३.१ प्रतिशत कामदार मेनपावर कम्पनीको माध्यमबाट गएका छन् भने १६.६ प्रतिशत आफन्त तथा साथीभाइका माध्यमबाट विदेश पुगेका छन् ।

यस्तै १०.३ प्रतिशत कामदार अन्य माध्यमबाट जाने गरेको देखिन्छ । यसरी रोजगारीमा गएकामध्ये ३३.५ प्रतिशत कामदार अदक्ष रहेका छन्, १३.६ प्रतिशत सुरक्षा गार्ड, २.३ प्रतिशत कृषि मजदूर, १.५ प्रतिशत घरेलु कामदारका रूपमा र बाँकी अन्य पेसा तथा क्षेत्रमा कार्यरत रहेको पाइएको छ । वैदेशिक रोजगारीमा गएकामध्ये ४४.१ प्रतिशतको शैक्षिक योग्यता प्रवेशिका परीक्षासमेत उत्तीर्ण नगरेको र २.८ प्रतिशत निरक्षर रहेको पाइएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan