Friday 21st of September | २०७५ असोज ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

२०७८ सम्म उद्योग क्षेत्रमा मात्रै साढे छ अर्ब स्वदेशी लगानी गरिने, तीन वर्षमै सैनिक सामग्री उत्पादनमा सक्षम

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार १७ आइतबार |
newsabhiyan

काठमाडौं, १७ असार ।  देशको कुल ग्रार्हस्थ्य उत्पादनमा औद्योगिक उत्पादनको योगदान न्यून रहेको बेला सरकारले आगामी तीन वर्षभित्रै उद्योग क्षेत्रमा थप दुई अर्ब स्वदेशी लगानी वृद्धि गर्ने लक्ष्य लिएको छ ।

राष्ट्रिय योजना आयोगले जारी गरेको आगामी तीन आर्थिक वर्षको मध्यमकालीन खर्च संरचनाअनुसार आगामी आर्थिक वर्ष २०७५/०७६ मा उद्योग क्षेत्रमा चार अर्ब ७६ करोड ७८ लाख रुपैयाँ स्वदेशी लगानी गर्ने घोषणा गरेको सरकारले आर्थिक वर्ष ०७७/०७८ सम्ममा छ अर्ब ६३ करोड २२ लाख रुपैयाँ पु-याउनेछ ।

सरकारले आर्थिक वर्ष ०७५/०७६ मा उद्योगको पुँजीगततर्फ तीन अर्ब ३७ करोड ५४ लाख, आव ०७६/०७७ मा चार अर्ब १४ करोड एक लाख र आव ०७७/०७८ मा पाँच अर्ब आठ करोड ७९ लाख रुपैयाँ खर्च गर्नेछ । यसको अतिरिक्त सरकारले विदेशी लगानी पनि औद्योगिक क्षेत्रमा गर्ने लक्ष्य लिएको छ ।

अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदानमा वृद्धि गरी आर्थिक रुपान्तरण र सुदृढ अर्थतन्त्रको निर्माण गर्ने सोचका साथ लगानी वृद्धि गर्न लागिएको आयोगले जनाएको छ । तीन आर्थिक वर्षभित्रै उद्योग क्षेत्रको उत्पादन वृद्धि गरी कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदानमा वृद्धि हुने, रोजगारीको वृद्धि हुने तथा व्यापारघाटामा कमी ल्याउन उक्त कदम चाल्न लागिएको आयोगले जनाएको छ ।

तीन वर्षभित्रमै पेट्रोलियम स्रोत भण्डारण, अन्वेषण तथा प्रवद्र्धन गर्ने लक्ष्य सरकारले लिएको छ । यो लक्ष्य पूरा भएमा देशमा पेट्रोलियम पदार्थको अभाव न्यूनीकरण हुनेछ । लघु, घरेलु, साना, मझौला तथा ठूला उद्योगको स्थापना र सञ्चालनमार्फत रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको सरकारले आगामी तीन आर्थिक वर्षमा क्रमशः एक लाख ७४ हजार, एक लाख ८२ हजार र एक लाख ८३ हजार थप रोजगारी सिर्जना गर्ने दाबी गरेको छ ।

ठूला, मझौला र लघु उद्योग दर्तालाई कानुनी रुपमा सहज बनाउने योजना बनाएको सरकारले सिमेन्ट उद्योगको पहुँचमार्ग निर्माणमा कुनै कसर बाँकी राख्नेछैन । खानीजन्य उद्योगहरुका लागि पहुँचमार्ग निर्माण गर्ने क्रममा तीन वर्षभित्रै थप एक सय आठ किलोमिटर सडक निर्माण गर्ने सरकारले जनाएको छ ।

सरकारले सिमरामा गार्मेन्ट प्रोसेसिङ्ग जोन निर्माण पनि आर्थिक वर्ष ०७७/०७८ भित्रै पूरा हुने दाबी गरेको छ । सरकारले काभ्रेको पाँचखालमा पनि विशेष आर्थिक क्षेत्रको पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पु-याउने जनाएको छ ।

यस्तै, मकवानपुरको मयुरधाप, चितवनको शक्तिखोर, रुपन्देहीको मोतीपुर, बाँकेको नौबस्ता, कञ्चनपुरको दैजी र झापाको दमकमा औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण पूरा गर्ने जनाएको छ । साथै स्थानीय तहहरुमा पनि उद्योगग्राम स्थापना भइसक्नेछ । यसले थप उत्पादन र रोजगारी सिर्जना गरी वस्तु आयात र वैदेशिक रोजगारीको चापलाई न्यूनीकरण गर्नेछ ।

यस्तै, सरकारले आगामी तीन वर्षभित्रै नेपाली सेना सैनिक सामग्री उत्पादनमा सक्षम हुने दाबी गरेको छ । राष्ट्रिय योजना आयोगले जारी गरेको आगामी तीन आर्थिक वर्षको मध्यमकालीन खर्च संरचनाका अनुसार आर्थिक वर्ष २०७७/०७८ को अन्तिमसम्म नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालय सैनिक सामग्री उत्पादन गर्न सक्षम हुनेछ ।

त्यसरी उत्पादन भएको सामग्रीले देशका तीनवटै सुरक्षा अंगको माग पूरा हुनेछ । नेपालमा अहिले विदेशबाट खासगरी भारतबाट कच्चा पदार्थ ल्याएर सैनिक सामग्री उत्पादन भइरहेको छ । विदेशाट सामग्री खरिद गर्दा भ्रष्टाचार हुने गरेको आरोप लाग्ने गरेको छ भने सधैं विदेशबाट ल्याउँदा समस्याहरु उत्पन्न हुने भएकाले सरकारले स्वदेशमै त्यस्ता सामग्री उत्पादनमा आत्मनिर्भर हुने योजना बनाएको हो ।

सुरक्षा निकायको नियमित अभ्यास, विकास निर्माण र लडाइँमा आवश्यक पर्ने गोलीगठ्ठा तथा विस्फोटक पदार्थ उत्पादन हुँदा स्वदेशी रकम विदेश जानबाट रोकिनेछ । अहिलेसम्म ठूला हतियारका लागि आवश्यक पर्ने गोलीगठ्ठा सेनाले विदेशबाट खरिद गर्दै आएको छ ।

सेनाले आवश्यक सैनिक सामग्रीहरु काठमाडौंको सुन्दरीजल, स्वयम्भू, मकवानपुरको सुनाचरी र भीमफेदीबाट उत्पादन गर्दै आएको छ । अब स्वयम्भुको बारुद पाउडर उत्पादन भने तनहुँबाट उत्पादन गर्नेछ ।

प्रबुद्ध समूहले साझा प्रतिवेदन तयार पा-यो :- नेपाल भारत प्रबुद्ध समूह (ईपीजी) ले साझा प्रतिवेदन तयार पारेको छ । काठमाडौंमा शनिबार सकिएको समूहको बैठकले साझा प्रतिवेदन तयार पारेको हो । सन् १९५० को नेपाल–भारत सन्धिको पुनरवलोकनलगायतका विषयमा सहमति जुटाइएको छ । सहमतिका बुँदा भने सार्वजनिक गरिएको छैन । आर्थिक दैनिकका साथमा । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan