Friday 21st of September | २०७५ असोज ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सञ्जय दत्त भारतकै सबैभन्दा विवादास्पद अभिनेता , के सञ्जुले सफाइ दिएको हो ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २४ आइतबार |
newsabhiyan
newsabhiyan

बलिउड  अभिनेता सञ्जय दत्त भारतकै सबैभन्दा विवादास्पद चलचित्र अभिनेता हुन्।

रक्सी र लागुऔषधको उनको कुलत, उनका प्रेम सम्बन्धहरू र आतंकवादसम्बन्धी सबैभन्दा नराम्रो मुद्दामा उनले पाएको सजाय पर्याप्त रुपमा अभिलेखीकरण भएका छन्। तर हालै उनको जीवनीमाथि केन्द्रित रहेर सार्वजनिक भएको एउटा चलचित्रले उनको अँध्यारो विगतलाई ढाकछोप गर्न खोजेको आरोप खेपिरहेको छ भन्छिन्, अर्पणा अल्लुरी।

सार्वजनिक भएको एक हप्तामै चलचित्र सञ्जुले बलिवूडको हालसम्मकै सर्वाधिक सफलमध्येको एक चलचित्रका रूपमा आफूलाई उभ्याइरहेको छ।

तर चलचित्र समीक्षकहरूले यसलाई 'झूटो' र 'भ्रामक' भनेका छन्।

चलचित्र हेरेका कतिपयले यसलाई 'देवत्वकरण' भनिरहेका छन् भने कतिपयले सामाजिक सञ्जाल ट्विटरमा 'जनसम्पर्क अभियान' पनि भनेका छन्।

यथार्थपरक अभिनय

चलचित्रमा सञ्जय दत्तको भूमिका निर्वाह गरेका रणवीर कपुरले यथार्थपरक उत्कृष्ट अभिनयका लागि राम्रो प्रतिक्रिया पाइरहेका छन्।

यो चलचित्रमा देखाइएको सञ्जय दत्त र उनका दृढ संकल्पित पिताबीचको सम्बन्धलाई प्रशंसा गरिएको छ।

नभए सञ्जुमा अरू केही यथार्थ नरहेको एकजना समीक्षकले लेखेका छन्।

अर्काले भनेका छन्, यो एकजना सफल नायकको एकदमै सकारात्मक चित्रण गरिएको चलचित्र हो र एकजना चलचित्र निर्माताले आफ्ना साथीलाई दिएको एउटा महँगो र मनपर्ने उपहार हो।

अर्का समीक्षकले दत्तको व्यक्तित्व गहिरो रुपमा हेर्ने एउटा अवसर गुमेको भन्दै 'चलचित्र सकिँदा वास्तविक सञ्जु कस्ता छन् भन्ने प्रश्नवाचक चिह्न कायमै रहेको' टिप्पणी गरेका छन्।

सञ्जु अभिनेता सञ्जय दत्तको नामको संक्षिप्त रुप हो र उनको उपनामबाट चलचित्रको नाम जुराइएको हो।

यसमा सञ्जय दत्तको कथा प्रेम र सहानुभूतिले देखाइएको छ।

५८ वर्षीय दत्त गलत रोजाइका कारण पीडित भएका हुन् भन्ने प्रमाणित गर्न खोजिएको छ।

भारतीय सिनेमाका सबैभन्दा चर्चित र मनपराइएका जोडी नर्गिस र सुनिल दत्तका तीन सन्तानमध्ये जेठो सन्तानका रुपमा उनको जन्म भएको थियो।

सन् १९८१ मा सिनेमा जगत्‌मा प्रवेश गरेयता उनले १०० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन्।

अपेक्षाको भारी
त्यसमा प्रेमकथादेखि, खलपात्रसँग भिड्ने बलियो नायक र पेट मिचीमिची हँसाउने कथाहरू समावेश छन्।

चलचित्र हेर्दा दत्तको तर्फबाट कथा भनिएजस्तो देखिन्छ।

चलचित्रमा मुख्य 'खलपात्र' बनाइएका सञ्चारमाध्यमले आफूलाई गलत रुपमा प्रस्तुत गरिरहेको ठान्ने सञ्जयले आफ्नो कथालाई न्याय गर्न सक्ने जीवनी लेखकको उनले खोजी गरिरहेको देखाइएको छ।

यो चलचित्र दत्तको पहिलो फिल्म सार्वजनिक भएको समयबाट शुरू हुन्छ।

त्यो बेला २२ वर्षका यी अभिनेताले ओजपूर्ण व्यक्तित्वका आफ्ना पिताको अपेक्षाको भारीसँग गरिरहेको संघर्ष र आफ्नी आमालाई पाचनप्रणालीमा क्यान्सर भएको खबरसँग गरिरहेको संघर्ष समेटिएको छ।

उनकी आमाको निधन हुँदा दत्त लागुपदार्थ दुर्व्यसनी बनिसकेका थिए।

सन् २०१७ मा एउटा सार्वजनिक मन्तव्य दिने क्रममा उनले भनेका थिए, "मैले सेवन नगरेको लागुपदार्थ विश्वमा छैन।"

क्षमाशील
पहिलो घण्टा चलचित्र क्षमाशील छैन।

त्यसमा नशामा लट्ठ र मति बिग्रेका दत्त, उनले आफ्ना पिता र प्रेमिकाको मन दुखाएको कथा समेटिएका छन्।

आफ्नी आमालाई भर्ना गरिएको अस्पतालको कोठामा उनको निधन हुनुभन्दा केही क्षणअघि उनले लागुऔषध सेवन गरिरहेको दृश्य चलचित्रमा छ।

त्यसपछि चलचित्रको बाँकी कथा दत्तविरुद्ध लगाइएको फौजदारी आरोपसँग सम्बन्धित एउटा घटनामा केन्द्रित छ।

सन् १९९३ मा २५७ जना मारिने गरी र ७१३ जना घाइते हुने गरी मुम्बईमा भएको विस्फोटसँग जोडिएको हतियार तथा खरखजनासम्बन्धी कसुरमा सन् २००६ मा उनले सजाय पाएका थिए।

दत्तविरुद्ध तीनवटा एके-फीफ्टी सिक्स राइफल र त्यसका गोलीहरू राखेको र ९ एमएम पिस्तोल र त्यसका गोलीहरू र हात्ते ग्रिनेडहरू राखेको आरोप लगाइएको थियो।

हैसियत
उनले ती हतियार तथा गोलीगट्ठा बम हमलकारीबाट खरिद गरेका थिए।

तर उनले सन् १९९३ मा भएका हिन्दू-मुस्लिम दङ्गाका क्रममा आफ्नो परिवारको रक्षा गर्न त्यसको आवश्यकता परेको भनेका छन्।

आरोप लगाइए अनुसार ती हतियारहरू विस्फोट गराउन ल्याइएका सामग्रीहरूकै एउटा हिस्सा थियो। तर दत्तलाई षड्यन्त्र गरेकोसँग सम्बन्धित सबै आरोपबाट सफाइ दिइएको थियो।

तीन वर्ष जेलमा काटेपछि सन् २०१६ मा उनलाई रिहा गरिएको थियो। तर लोकप्रिय अभिनेताको हैसियतका कारण चाँडै रिहा गरिएको भन्दै आलोचना गरिएको थियो।

चलचित्रले यी बृहत् तथ्यहरूबारे चर्चा गरेपनि दत्तको जीवनका कतिपय पाटोबारे यसले उल्लेखसम्म गरेको छैन।

उदाहरणका लागि अन्डरवर्ल्ड भनिने अपराधसँग सम्बन्धित विश्वसँग रहेको उनको र बलिवूडको सम्बन्ध।

सन् २००१ मा बाहिर आएको एउटा श्रव्य रिकर्डिङ्गमा पाकिस्तानमा बस्ने गरेको भनिएका छोटा सकिलसँगको फोन सम्पर्कबारे चर्चा गरिएको छैन।

आरोप
बलिवूडका लोकप्रिय अभिनेता तथा चलचित्र निर्देशकहरूले लामो समयदेखि अन्डरवर्ल्डसँग नजिकको सम्बन्ध राखेको आरोप खेप्दै आएका छन् र कतिपयलाई त ती सम्बन्ध प्रयोग गरेर चलचित्रमा भूमिका पाएको समेत आरोप लाग्ने गरेको छ। बीबीसीका साथमा ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan