Wednesday 24th of October | २०७५ कार्तिक ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ओली र प्रचण्ड जी यत्ति बुझ्नुस्, तपाईहरुले कांग्रेसका एजेण्डा सकिए भन्न सुहाउदैन : एनपी साउद, पूर्वमन्त्री एवं केन्द्रीय सदस्य

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण १७ बिहिबार |
newsabhiyan
newsabhiyan

केहि दिन अगाडि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससंग अव राजनीति गर्ने कुनै पनि एजेण्डा नभएको बताए । त्यसपछि चर्चा परिचर्चा भयो के कांग्रेससंग अव राजनीति गर्ने एजेण्डा नै नभएको हो त ? यसलाई  कांग्रेसका नेताहरुले ठाडै अस्वीकार गर्छन । उनीहरुको भनाईलाई कांग्रेस नेताले दुईतिहाइको दम्भमा परेर जिम्मेवार नेताहरूबाटै प्रतिपक्षीको उपहास गर्ने रणनीतिको रुपमा अथ्याएका छन् । पूर्व मन्त्री तथा कांग्रेस केन्दिंय सदस्य एनपी साउदले प्रतिपक्षीमाथि अनर्गल आरोप लगाएर ऊसितको दूरी बढाउने रणनीति स्वरुप नेकपाका अध्यक्षद्वय ओली र दाहालको यस्तो भनाई आएको बताउँछन् । अब कांग्रेससंग ओली र दाहालले भनेजस्तै राजनीति गर्ने एजेण्डा सकिएकै हो त भनेर सोधेका थियौ । प्रस्तुत छ एनपी साउदसँग गरेको कुराकानीको सारसंक्षेप :—

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले त कांग्रेससंग राजनीति गर्ने एजेण्डा नै सकिएको बताएका छन, कांग्रेससंग राजनीति गर्ने एजेण्डा सकिएकै हो त ?

प्रधानमन्त्री समेत रहनुभएका नेकपाका अध्यक्ष ओली र दाहालले कांग्रेसविरुद्ध दिएका अभिव्यक्ति मैले सुने र पत्र पत्रिकामा समाचार पढ्ने अवसर पाए । अभिव्यक्तिमा उहाँहरूले प्रतिपक्षी दलविरुद्ध सत्तोसराप गर्दै प्रतिपक्षलाई निषेध गरेर लोकतन्त्रको परिकल्पना गर्नुभएको देखिन्छ ।

उहाँहरूले बुझ्नैपर्ने विषय के हो भने कांग्रेस प्रचलित राजनीतिका ज्वलन्त मुद्दालाई व्यवस्थापिका संसद् र सडकमार्फत अगाडि सार्न चाहन्छ । सरकारलाई अधिनायकवादको बाटोमा जानबाट रोक्न कांग्रेसले चाहिरहेको छ । अहिलेको मुलुकको चुनौती भनेको संविधान लागू भइसकेपछिको अवस्थामा प्रजातन्त्र र त्यसअन्तर्गतका संस्थालाई संस्थागत गर्नु हो ।

प्रमुख सत्तारुढ दलका अध्यक्षद्वयको यो भनाईलाई के भनेर अथ्याउने छ ?

मुलुकले लामो समयदेखि शासन पद्धतिका नाममा भएका आन्दोलन र अस्थिरतालाई व्यहोरेको छ । अबको लक्ष्य भनेको संसदीय प्रणालीको उपयोग गरेर आर्थिक समृद्धि हासिल गर्ने बाटोमा मुलुकलाई अगाडि बढाउनु हो । यी सबै कुरालाई छाडेर सरकार र स्वयं प्रधानमन्त्री उखानटुक्का र अधिनायकवाद ल्याउने विषयमा व्यस्त बनिरहेको अवस्था छ ।

यो सरकार प्रशासनलाई धम्क्याउने, प्रहरी प्रशासनमा हस्तक्षेप गर्ने बाटोमा लागिरहेको छ । आर्थिक रूपमा अस्थिर नीतिहरूका कारण स्टक एक्सचेन्जसहित आर्थिक सूचकांक ओरालो लागिरहेका छन् । दैनिक उपभोग्य वस्तुमा दिन—प्रतिदिन महँगी बढ्दै गइरहेको छ । यसले सरकार जनताका इच्छा र चाहनालाई पुरा गर्ने बाटोमा होइन, आफ्नो स्वार्थ परिपूर्ति गर्न लागेको देखाउँछ ।

प्रमुख प्रतिपक्षी पार्टीलाई यस्तो आरोप लगाएपछि कांग्रेसबाट त्यसको बैचारीक प्रतिकारका धारणा बाहिर आउनु पर्ने होइन र ?

कांग्रेसले अहिलेको यस्तो अवस्थामा रचनात्मक प्रतिपक्षको भूमिका खेल्न खोजिरहेको छ । शान्तिपूर्ण आन्दोलनमा उत्रिएका, अनशनमा बसेर सत्याग्रह गरिरहेका निहत्था मानिसमाथिको बल प्रयोग लोकतान्त्रिक शासन व्यवस्थामा स्वीकार्य हुनै सक्दैन ।

यसै विषयलाई दृष्टिगत गर्दै अहिलेको सरकारसँग कांग्रेसले गर्ने न्यूनतम अपेक्षा भनेको संविधानको परिपालना नै हो । मुलुकको मूल कानुन संविधान स्वयं सरकारले पालना गर्दैन भने जनतामा पनि यसप्रतिको विश्वासमा संकट उत्पन्न हुन सक्छ ।

यसको जिम्मेवारी सत्तासीनहरूले नै लिनुपर्ने हुन्छ । सरकार त्यो बाटोमा नजाओस् भन्दै हामी समयमै सचेत गराउन चाहन्छौँ । हामी प्रतिकारको राजनीतिमा होइन, राज्यलाई विवेकी बनाउने प्रयासमा लागिरहन्छौ ।

खासका कांग्रेसका विरुद्धमा यस्ता अभिव्यक्ति पटक—पटक आइरहन्छन, कारण के हो ?

नेपालमा प्रजातान्त्रिक आन्दोलनको सुरुवात र कांग्रेसको जन्म सँगसँगै भएको हो । मुलुकमा प्रजातन्त्र स्थापना गर्ने आन्दोलनसँगै कांग्रेसको जन्म भएको हो । नेपालको सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक पार्टी पनि कांग्रेस नै हो । कांग्रेसले आफ्नो स्थापनाको सात दशक पार गरिसकेको छ ।

विभिन्न कालखण्डमा मुलुकमा प्रजातन्त्र स्थापनार्थ भएका सबै आन्दोलनको नेतृत्व कांग्रेसले नै गर्दै आएको छ । समकालीन राजनीतिको नेतृत्वसँगै समयानुकूल आफूलाई परिवर्तन गर्दै लैजाने पार्टी पनि कांग्रेस नै हो ।

लोकतन्त्र र प्रजातन्त्रको पक्षमा बुलन्द आवाज उठाएकैले पटक—पटक कांग्रेसलाई निमिट्यान्न पार्ने उद्देश्यले विभिन्न क्षेत्र र शक्तिबाट आक्रमण हुँदै आएका छन् । तर, जनताको साथ र सहयोगबाट कांग्रेसले त्यस्ता शक्तिलाई परास्त गर्दै आएको छ । अहिलेपनि कांग्रेस समाप्त पार्ने खेल भइरहेको छ, त्यसलाई जनताको बलमा हामीले परास्त पार्छौ ।

कांग्रेसलाई निमिटयान्न पार्न अहिलेसम्म कस्ता कस्ता प्रयास भए ?

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले मुलुकमा पहिलोपटक सम्पन्न निर्वाचनमा दुईतिहाइ मत ल्याएर सरकार चलाइरहेको कांग्रेसलाई समाप्त गर्न प्रजातान्त्रिक व्यवस्था नै खारेज गरे । प्रजातन्त्रको जरा उखेलेर ०१७ सालमा राजा महेन्द्रले सूत्रपात गरेको पञ्चायती अधिनायकवादी व्यवस्था मुलुकमा ३० वर्षसम्म कायम रह्यो ।

०४८ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी मालेको नेतृत्वमा झापा आन्दोलनका नाममा कांग्रेसमा आबद्ध नेता—कार्यकर्तालाई सफाया गर्ने अभियान चल्यो । १ फागुन ०५१ देखि सुरु भएको माओवादीको सशस्त्र आन्दोलन पनि कांग्रेसविरुद्ध केन्द्रित रह्यो ।

कांग्रेसका हजारौँ निहत्था नेता—कार्यकतालाई हिंसा र आतंकको माध्यमबाट माओवादीले कथित जनयुद्धका नाममा सिध्याउन खोज्यो । तत्कालीन राजा ज्ञानेन्द्रले अस्तित्वमा रहेका सबै राजनीतिक दल र बहुदलीय व्यवस्थाको सान्दर्भिकता र औचित्यमाथि प्रश्न उठाए ।

र, दलहरूलाई पाखा लगाएर शासन आफैँ सञ्चालन गर्न खोजे । फलस्वरूप, राजा ज्ञानेन्द्रको बालहठले नेपालमा दुई सय ३८ वर्षको राजसंस्था अन्त्य भयो । युगान्तकारी ०६२÷६३ को दोस्रो जनआन्दोलनको सफल नेतृत्व पनि कांग्रेसले नै गरेको थियो ।

अहिलेको ओली सरकार र नेकपा पार्टीको रणनीति के हो त ?

नेपालको निकट अतीतको इतिहासका केही प्रवृत्ति र पात्रले आफूलाई पुनः दोह¥याउने कोसिस गरिरहेका छन् । उनीहरूको प्रवृत्ति पुरानै छ । पात्रहरू मात्रै परिवर्तन भइरहेका छन् ।

सत्तामा बसेर महेन्द्र र ज्ञानेन्द्रहरूले जसरी कांग्रेसलाई समाप्त पार्ने कोसिस गरेका थिए, राणाहरूले जसरी कांग्रेसविरुद्ध अनेकन षड्यन्त्र रचेका थिए, अहिले आएर प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पनि त्यही भाषा बोल्दै हिँडिरहेका छन् ।

‘कांग्रेस समाप्त भयो ।कांग्रेससँग समायानुकूल आन्दोलन उठाउन सक्ने एजेन्डा छैनन् ।अहिलेको राजनीतिमा कांग्रेसको सान्दर्भिकता देखिँदैन । आफ्नै बुतामा आन्दोलन गर्ने ताकत कांग्रेससँग छैन’ भन्ने आरोप प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालले लगाइरहेका छन् ।

उनीहरूका ती धारणा लगातार रूपमा सञ्चार माध्यममार्फत सार्वजनिक भइरहेका छन् । ओली र दाहालले हेक्का राख्नुपर्ने, बुझ्नुपर्ने र इतिहासबाट पाठ सिक्नुपर्ने विषय के हो भने कांग्रेसको जीवनतत्व र यसले अँगाल्दै आएको विचारतत्वसँग रहँदै आएको छ ।

प्रजातान्त्रिक मूल्य र मान्यतामा कांग्रेसको अस्तित्व आधारित छ । बहुलवादी विचार पद्धतिले कांग्रेसलाई मुलुक र विश्वको राजनीतिमा जहिल्यै सान्दर्भिक बनाउँदै आएको छ । साथै, यसले भविष्यमा पनि यस्तो विश्वसनीय बनाइरहनेछ ।

त्यस्ता प्रवृत्ति विरुद्ध अव कांग्रेसको रणनीति के हो ?
जब विविधतामाथि आक्रमण हुन्छ, फरक विचारमाथि आक्रमण हुन्छ, सत्तालाई शक्तिका आधारमा मात्रै सञ्चालन गर्न खोजिन्छ, त्यसभित्रको नैतिक शक्ति क्षीण हुँदै जान्छ । र, सत्तामा शासनमा भएका मानिस जनतालाई आफूविरोधी देख्न सुरु गर्छन् । विचारको पक्ष समाजका विविध चिन्तन र सोचलाई निषेध गर्न खोजिन्छ । यस्तो वेलामा कांग्रेसले निरन्तर संघर्ष गर्दै आएको छ । उसले यस्ता पात्र र प्रवृत्तिविरुद्ध लड्दै आएको छ ।

ओली र दाहाललाई कांग्रेस विरुद्ध दिएको अभिव्यक्तिबारे तपाईको केहि भन्नु छ कि ?

प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष दाहालले यत्ति कुरा बुझ्न आवस्यक छ कि कांग्रेस कुनै व्यक्तिको वैशाखी चढेर होइन, राजनीतिक पद्धति र समाजमा राज्यको दायित्व बुझेर अगाडि बढ्न खोज्दै छ । अहिले सरकारमा पुगेकाहरूले व्यापक रूपमा भ्रष्टाचार गरिरहेका छन् । मन्त्रीहरू बेलगाम भएका छन् ।

मिहिनेत गरेर, पठनपाठन गरेर, आमाबाबुको खर्चमा विदेशमा पढेर ल्याएको डिग्रीको सर्टिफिकेटलाई अस्मिता बेचेर ल्याएको भनेर मन्त्रीहरू नै खुलमखुला भनिरहेका छन् । अदालतले प्रमाणका आधारमा गरेका निर्णय उल्ट्याउन दबाब दिन दुईतिहाइ बहुमत र महाअभियोगका नाममा न्यायाधीशलाई धम्क्याउने काम भइरहेको छ ।

त्यही दुईतिहाइको दम्भमा परेर जिम्मेवार नेताहरूबाटै प्रतिपक्षीको उपहास गरिँदै छ । प्रतिपक्षीमाथि अनर्गल आरोप लगाएर ऊसितको दूरी बढाइँदै छ । यस्तो अवस्थामा सरकार मैमत्त भएर मुलुकको कानुन, सामाजिक नैतिकता र जनताको चासोबाट आफूलाई टाढा राख्दै आएको छ ।

यी सबै विषय सर्वसत्तावादका लक्षण हुन् । कतिपय देशमा सर्वसत्तावाद बन्दुक पड्काएर आएको छ भने कतिपय स्थानमा ब्यालेटमा चढेर बन्दुक समात्न पुगेको छ । कम्युनिस्टहरूको लामो रणनीति नै लोकतान्त्रिक पद्धतिलाई उपयोग गरेर सत्ता कब्जा गर्नु हो । अहिले उहाँहरूले दुईतिहाइ बहुमत प्राप्त गर्नका लागि गरेको प्रपञ्च त्यसैको एउटा उदाहरण हो । अभियान टाइम्सका साथमा । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan