Wednesday 24th of October | २०७५ कार्तिक ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सम्पर्क विहिन भएका नुरप्रसादले सरकारद्धारा १ करोड क्षतिपूर्ति दिएपछि आफैले प्रहरीलाई फोन गरे, जाजरकोटको पहिरोले जिल्लानै शोकमग्न

भारतिय पक्षद्धारा नेपाली भूभागमा बाटो निर्माया स्थानिय सरकार मौन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २१ सोमबार | Patrapatrika
newsabhiyan
newsabhiyan

साउन २१, काठमाडौं ।

४५ लाख क्षतिपूर्ति तिरेर स्वदेश फर्किएपछि राईको परिवारमा खुसी

साउदी अरबको अदालतमा क्षतिपूर्तिबापत एक लाख ५० हजार रियाल ९झन्डै ४५ लाख रुपैयाँ० बुझाएपछि इलामका प्रेमबहादुर राई जेलमुक्त भएका छन् । उनी जेट एयरमार्फत आइतबार दिउँसो स्वदेश फर्किए ।


साउदीमा जेलबाट छुटेर त्रिभुवन विमानस्थलमा आइपुगेका प्रेमबहादुर राई आफ्ना पत्नी सरिता र छोरीसँग ।

राईले चलाएको मालवाहक गाडी चोरी भएपछि साउदी अदालतले उनलाई दुई महिना जेल र ५० कोर्राको फैसला सुनाएको थियो । उनी कार्यरत कम्पनीले निजी कानुनअनुसार ८ लाख रियाल क्षतिपूर्ति माग गरेपछि अदालतले राईले ३ लाख १० हजार रियाल दिनुपर्ने फैसला सुनाएको थियो ।

नेपाली दूतावासको अनुरोधमा राईका मालिक मोहम्मद सल्वाईले आधा पैसा मिनाहा गरेका थिए । त्यसपछि राई बचाउ अभियान समितिले संकलन गरेको ४३ लाख रुपैया साउदी पठाएको थियो ।

राईले आफू परिबन्दमा परेको भन्दै उद्धार गर्न आग्रह गरेपछि प्रेम राई बचाउ अभियान सञ्चालन गरी रकम संकलन गरिएको थियो । अभियानले रकम उठाएर परराष्ट्र मन्त्रालय हुँदै नेपाली दूतावासमार्फत बुझाएको थियो ।

‘मलाई जेलबाट निकाली नेपाल ल्याउन नेपाली दाजुभाइहरूले एकरएक पैसा दिनुभएको छ । त्यो सहयोगले मैले आफ्नो परिवार भेट्न पाएँ,’ त्रिभुवन विमानस्थलमा उनले भने, ‘ममाथि अन्याय भएको थियो । त्यसविरुद्ध नेपाली दाजुभाइ लडेर मलाई नेपाल ल्याइदिनुभयो ।’
माई नगरपालिका–४, इलामका राई २०१६ मार्च ३१ देखि जेलमा थिए । उनी सन् २०१२ देखि साउदीस्थित अल सल्वावी इन्टरनेसनल होल्डिङ कन्ट्रस्क्टिङ कम्पनीमा चालकको काम गर्दै आएका थिए । बिदाबाट फर्केको साढे दुई महिनापछि तामाको तार लोड भएको गाडी राजधानी रियादको जनद्रियाबाट हराएको थियो । ‘सामान पुर्‍याउने कम्पनी बन्द भइसकेको थियो । सडक छेउमा गाडी राखेर साथीको कोठामा खाना खाएर फर्किंदा गाडी देखिनँ । नदेख्नेबित्तिकै कम्पनीको म्यानेजर र प्रहरीलाई खबर गरेको थिएँ,’ प्रेमले अदालतसमक्ष बयानमा भनेका थिए, ‘म पूर्ण रूपमा निर्दोष छु ।’

गाडी हराएको दुई दिनपछि अगाडिको सिसा फोरिएको अवस्थामा रित्तो ट्रक जनद्रियाबाट १० किमि टाढा भेटिएको अवस्थामा फेला परेको प्रहरी रिपोर्टमा उल्लेख छ । कम्पनीले आफूहरूले निर्देशन दिएको बाटो बदलेको र १३ घण्टा रोडमा बिताएको भन्दै चालक दोषी रहेको दाबी गरी अदालतमा क्षतिपूर्ति दाबी गरेको थियो ।

सार्वजनिक अदालतका न्यायाधीश इब्राहिम विन सिड विन अली अल–अस्करको इजलासले चालकले सामानको मूल्य तिर्नुपर्ने फैसला गरेको हो । सार्वजनिक कानुनअनुसार घटना शंकास्पद रहेको भन्दै बिमा कम्पनीले सामानको क्षतिपूर्ति दिन इन्कार गरेको छ । कम्पनीले ८ लाख रियाल बराबरको बिमा गरेको थियो ।

प्रेमलाई छुटाउन रकम संकलन गर्ने प्रेम बचाउ अभियान समितिकी सदस्य अनिता ताम्बुसाहले एउटा निर्दोष नेपालीलाई ल्याउन सफल भएको बताइन् । ‘अनाहकमा फस्न पुगेका प्रेमलाई परिवारसँग पुनर्मिलन गराउन सफल भएका छौं, यसले नेपाली दाजुभाइबीचको एकता देखियो,’ उनले भनिन्, ‘साउदीमा फसेका प्रेमहरूलाई उद्धार अझै गर्नुछ ।’ समाचार कान्तिपुरमा छ ।

जाजरकोटको पहिरोले जिल्लानै शोकमग्न


सधैं झै प्रेम परियारकी श्रीमतीले चिया पकाइन्। घरका सबैले चिया खाए। छोरालाई ‘राम्रोसँग पढेस् बाबु’ भनेर श्रीमान(श्रीमती कपडा सिलाउन बजार निस्किए।

बजार पुगेर कपडा सिलाउन थालेको १५ मिनेट भएको थियो। पहिरो गएको हल्लीखल्ली भयो। दौडिएर कोठामा पुगे। तर छोरा भेटेनन्। छोरा बसेको घर नै पहिरोले पुरेपछि उनीहरु आत्तिए। उनीहरु जति आत्तिए पनि प्राकृति विपत्तिलाई जित्न सकेनन्। छोराको प्राण पहिरोले लिएरै छाड्यो।

सेना, नेपाल र सशस्त्र प्रहरीसँगै स्थानीयले करिब पाँच घण्टा लगाएर पहिरो पन्छाए। छोरा नरेन्द्र परियार मृत अवस्थामा भेटिए। ‘आफू पढ्न नसके पनि छोरालाई धेरै पढाएर ठूलो मान्छे बनाउने सपना थियो तर दैवले चुडेर लग्यो’, प्रेमले भावविह्ल हुँदै भने, ‘छोराले पेन्सिल ल्याइदिनु बुबा भनेको थियो। अब कहिलै नफर्कने गरी गयो।’ छोराको शोकमा प्रेमकी श्रीमती पटक–पटक मुर्छा पर्दै होसमा फर्किएकी छिन्।

स्थानीय एक निजी विद्यालयको चार कक्षामा पढ्ने १३ वर्षीय नरेन्द्र परियार नजिकै रहेको साथीको घरमा होमवर्क गर्न भनेर गएका थिए। नरेन्द्रको मामाको छोरा ११ बर्षको नविन परियार पनि उनीसँगै साथीको डेरामा थिए।

उनीहरुसँगै १२ वर्षीय गोविन्द नेपाली र ८ वर्षीय दशरथ नेपालीसहित चारजना एउटै कोठामा बसेर होमवर्क गरिरहेका थिए। आइतबार बिहान ८ बजेतिर करिब एक सय मिटर माथिबाट आएको पहिरोले उनीहरु बसेको घर छोपेको हो।

नगलगाड ३ करुवाका गोविन्द र दशरथ दुवै आमाबाबु गुमाइसकेका बालक हुन्। उनीहरु दिदीसँग भेरी ३ ठाँटीमा डेरामा बस्दै थिए। गोविन्द अझै भेटिएका छैनन्।

त्यस्तै नेपाल पत्रकार महासंघ जाजरकोट शाखाका सदस्य तथा क्रान्तिकारी पत्रकार संगठनका जिल्ला अध्यक्ष तीर्थराज बोहरा र उनकी श्रीमती खान पकाउँदै थिए। छोरी नग्मा बाहिर खेल्दै थिइन्।

‘एक्कासी ठूलो आवाज आएपछि हामी बाहिर निस्कियौं। तर छोरी खेलिरहेको ठाँउबाटै पहिरो गएछ’, तीर्थराजले भने, ‘क्षणभरमै पहिरोले छोरीलाई माटोमा मिलायो। गुहार–गुहार गर्यौ। तर हाम्रो आवाजले छोरीलाई बचाउन सकेन।’

पहिरोमा पुरिएकामध्ये जीवितै उद्धार गरिएका भेरी नगरपालिका ६ गंगटियाका खड्गबहादुर लुहार पछिसम्म कराउँदै थिए। ‘केही समयमा स्थानीय आए, घटना भएको १५ मिनेटपछि प्रहरी सेना र सशस्त्र आइपुग्यो। उनको जीवितै उद्धार भयो’, उनले भने।

खड्गबहादुरलाई जीवितै उद्धार गरे पनि उनकी श्रीमती २५ वर्षीया शितला लुहार, छोरी ९ वर्षीया भावना परियार, ६ वर्षीया रञ्जना परियार र ३ वर्षीया मनिसा परियारलाई भने बचाउन सकेनन्।

खड्गबहादुर अहिले अस्पतालको शैयामा श्रीमती र छोरीको मृत्यु पीडाले छटपटाइरहेका छन्। ‘सबै परिवारका सदस्य मरेर म बाँचेको के काम’, उनले भने।

बोहराको घरमा डेरा बसेका उनी छोरी पढाउने र आफू मिस्त्री काम गर्थे। छोरीको उज्ज्वल भविष्यको लागि सदरमुकाममै राखेर पढाउने उद्देश्यले केही महिना अघि मात्र उनी सदरमुकाम झरेका थिए।

जीवितै उद्धार गरिएका लुहारको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ। उनको छाती, टाउँको र खुट्टामा चोट लागेको छ। अवस्था गम्भीर रहेको छ।

अहिले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन्। पुरिएको घर पन्छाएर पुरिएका गोविन्दको खोजी भइरहेको निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिए।

उक्त क्षेत्रमा अहिले पनि पानी परिरहेको छ।  अप्ठेरो भूभाग भएकाले उद्धार कार्यमा कठिनाई भएको उनको भनाइ छ।

बिहान साढे सात बजे लगत्तै उद्धारमा खटिएको सुरक्षा फौज लगातार पहिरो पन्छाउने कार्यमा जुटिरहेको छ।  तीन साताअघि पश्चिम जाजरकोटको गर्खाकोटमा गएको पहिरोमा दुईजनाको ज्यान गएको थियो।  समाचार अन्नपूर्ण पोष्टमा छ ।

भारतिय पक्षद्धारा नेपाली भूभागमा बाटो निर्माया स्थानिय सरकार मौन


माथिल्लो तहको सहमति भन्दै भारतीय पक्षले नेपाली भूभागसम्मै सडक निर्माणको काम सुरु गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रह्मदेव बजार नजिक टनकपुर बाँधको छेउमा उक्त सडक निर्माण भइरहेको हो ।

भारतीय पक्षले ब्रह्मदेव बजारसम्मै सडक निर्माणको काम थालेको छ। साउन दोस्रो सातादेखि उक्त क्षेत्रमा डोजर लगाएर सडक सम्याउने काम सुरु गरिएको हो। टनकपुर ब्यारेजदेखि ब्रह्मदेव बजारसम्म १ हजार २५८ मिटर सडक निर्माणका लागि भारतको लोक निर्माण विभागले काम थालेको हो।

निर्माण कम्पनीका इन्जिनियर सिपि शर्माको टोलीले सडक सम्याउने र सर्भेको काम गरिरहेको छ। उनका अनुसार टनकपुर बाँधको माथिल्लो र फेदीको सडक दुवै कालोपत्रे हुनेछ। टोलीले करिब डेढ सय मिटर नेपाली भूभागसम्मै सडक निर्माणको काम गरिरहेको छ। ‘यो हाइ लेभलको सहमति हो’ शर्माले भने, ‘त्यही अनुसार हामीले काम गरिरहेका हौं।’

उक्त सडक निर्माणका लागि लोक निर्माण विभागले ५ करोड ८४ लाखमा ठेक्का दिएको भारतिय अखबार अमर उजालाले लेखेको छ। गत सातामात्रै भारत उत्तराखण्डको चम्पावत जिल्लाका डिएम सत्यनारायण पाण्डेयसहितको टोलीले निर्माणाधीन सडकको निरीक्षण गरेका थिए। ब्रह्मदेवका स्थानीयसमेत माथिल्लो सहमति भन्नेवित्तिक्कै अलमलमा परेका छन्। उनीहरु भारतीय सीमा सुरक्षा बल ९एसएसबी०को गस्ती गर्ने बाटो बनाउने काम भइरहेको हुन सक्ने आशंकामा छन्।

नेपाली भूभागमै निर्माण भइरहेको सडकका विषयमा भने यहाँको स्थानीय प्रशासन र सुरक्षा निकायलाई भने कुनै जानकारी नै छैन। कुन सहमतिअनुसार कसले निर्माण गरिरहेको हो भन्ने विषयमा समेत जानकारी नभएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडाले बताए। उनले भारतीय पक्षले कुनै किसिमका समन्वय वा जानकारीबिना नै काम गरिरहेका बताए।

‘हामीले तत्काल उक्त क्षेत्रमा भइरहेको काम रोक्न भनेका छौं’ प्रजिअ खडाले भने, ‘कुन सहमति हो कसले काम गरिरहेको हो यस विषयमा जानकारी आएपछि मात्रै काम गर्न भनेका छौं।’ तर भारतीय पक्षले भने नियमित काम गरिरहेको स्थानीयले जनाएका छन्।

भीमदत्त नगरपालिका वडा नं। ९ का अध्यक्ष राम नाथका अनुसार भारतीय पक्षले पुरानो सहमति भन्दै धमाधम काम गरिरहेको छ। यस विषयमा नगर कार्यपालिकाको बैठकमा समेत आफूले कुरा राखेको उनले जानकारी दिए। ‘यो भारतको हेपाहा प्रवृत्ति हो’ उनले भने, ‘माथिल्लो तहमा सहमति भएको हो भने पनि स्थानीयस्तरमा समन्वय गरेर मात्रै काम सुरु गरिनुपर्थ्यो, तर कुन सहमति हो कहिले भएको हो त्यसको कुनै पनि जानकारी छैन।’

उक्त क्षेत्रमा भारतीय भूभागमा पर्ने टनकपुर लिंक रोड र महाकाली सिँचाई आयोजना तेस्रो चरणको नहर भारतीय पक्षले निर्माण गर्नुपर्ने महाकाली सन्धिमा उल्लेख छ। तर, अहिले निर्माण भइरहेको सडक भने लिंक रोडतर्फ नभई ब्रह्मदेव बजारतर्फ जोडिन्छ। उक्त क्षेत्रमा वर्षौं‌देखिको सीमा विवादसमेत यथावत छ। ३ नम्बर सीमा स्तम्भ महाकाली नदीको बीच भागमा रहेको नेपाली पक्षको दाबी छ। भारतीय पक्षले ब्रह्मदेव बजारको आधा भाग सीमामा पर्ने दाबी गर्दै आएको छ।

‘यो विषय अव संयुक्त सर्भे टोलीले टुंग्याउने छ’ सशस्त्र प्रहरी बल ३५ नं। गण मझगाउँका गणपति एसपी विनोदराज श्रेष्ठले भने, ‘अहिले वर्षातको सिजन भएकाले सीमा सर्भेको काम रोकिएको छ, असोजरकार्तिकदेखि फेरि सुरु हुनेछ।’ ब्रह्मदेवमा निर्माण भइरहेको सडकका विषयमा सशस्त्र प्रहरीसँग पनि कुनै समन्वय र जानकारी नभएको एसपी श्रेष्ठले बताए। समाचार कान्तिपुरमा छ ।

सम्पर्क विहिन भएका नुरप्रसादले सरकारद्धारा १ करोड क्षेतिपूर्ति दिएपछि आफैले प्रहरीलाई फोन गरे


गोरखा फुजेल निवासी नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीलाई अनशनमा राखेर सम्पर्कविहीन भएका नुरप्रसाद अधिकारीलाई प्रहरीले आइतवार नियन्त्रणमा लिएको छ।

लामो समयदेखि सम्पर्कविहीन अधिकारी आफैँले ललितपुरको हरिहरभवनबाट फोन गरेर प्रहरी खबर गरेपछि नियन्त्रणमा लिइएको हो । महानगरीय प्रहरी अपराध महाशाखाका डिएसपी रुगम कुवँरले पक्राउ गरेको नभइ उनी आफैँले खबर गरेपछि नियन्त्रणमा लिइएको जानकारी दिए ।

कान्छो छोरो कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न माओवादी कार्यकर्ताहरुमाथि कारवाहीको माग राख्दै तीन सय ३२ दिनदेखि आमरण अनसशन बसेका नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते निधन भएको थियो ।

पतिको निधनपछि पनि कान्छो छोराका दोषीलाई कारबाही माग गर्दै आमा गंगा माया अनशन बसेकी थिइन् । उनको अनशन पनि यही असार ३० गते तोडिएको थियो ।

सरकारले दुई बुँदे सहमति गरेपछि गत जेठ १५ गतेदेखिको आमरण अनशन उनले तोडेकी थिइन् । सम्झौतापत्रमा गंगामायाले आफ्नो छोरालाई खोजिदिनु पर्ने पनि माग थियो । त्यही अनुसार सरकारले नुरप्रसादको खोजी थालेको थियो । कृष्णप्रसाद हत्याको अभियोग लागेका छविलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि उनलाई डिल्लीबजारस्थित कारागारमा लगिएको थियो ।

२०७२ सालमा भएको पाँच बुँदे सहमतिमा कृष्णप्रसादको हत्यामा संलग्न रुद्र आचार्यलाई पनि कारवाहीको दायरामा ल्याउने भनिएको थियो । रुद्र त्यही समयदेखि बेलायतमा रहेको बताइन्छ । प्रहरीले त्यो बेला बेलायतसँग सुपुर्दगी सन्धि नभएको जनाउँदै इन्टरपोलमा खबर गरे पनि पक्राउ पर्न नसकेको उल्लेख गरेको थियो ।

अनशनमै निधन भएका नन्दप्रसादको शव चार वर्षदेखि महाराजगन्जस्थित शिक्षण अस्पतालको पोष्टमार्टम ‘रुम’मा दुर्गन्धित अवस्थामा रहेको छ । जेठा छोरा नुरप्रसाद बाबुको शव बुझ्न पनि आएका थिएनन् ।

नुरुप्रसादमाथि पिताको शवलाई लिएर राज्यसँग पैसाको बार्गेनिङ गरेको समेत आरोप लागेको थियो । उनी काठमाडौँमै रहेर पनि अनशनमा रहेकी आमाको सम्पर्कमा पनि आएका थिएनन् ।  समाचार अन्नपूर्ण पोष्टमा छ ।

पहिलो एसियाड खेल नेपालले जापानसंग खेल्ने


आसन्न जाकार्ता एशियाडमा नेपाली पुरुष फुटबल टोलीले पहिलो खेल जापानसँग खेल्ने भएको छ ।

एशियाली फुटबल महासंघले आज सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले आगामी अगष्ट १४ मा बलियो प्रतिद्वन्दी जापानसँग भिड्नेछ ।

दोस्रो खेल भियतनामसँग १८ तारिकमा हुनेछ । समूह चरणको अन्तिम खेलमा अगष्ट १९ मा नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । समूह डी मा रहेको नेपाली टोली किरण चेम्जोङको कप्तानीमा मैदान उत्रनेछ । गत शुक्रबार थाईल्याण्ड गएको टोली हाल प्रशिक्षणमा व्यस्त छ । समाचार कान्तिपुरमा छ ।

 

for more news click here

 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan