Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्री ओलीले माग्लान् तीन मन्त्रीको राजीनामा ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ ३ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र तीन मन्त्रीको राजीनामा प्रसंगले बबण्डर मच्चिएको छ ।

आफूनै सांसदहरुले एकपछि अर्को गर्दै सरकारमा शक्तिशाी मन्त्रीका रुपमा चिनिएका मन्त्रीहरुको राजीनामा माग्न थालेपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहितको सचिवालयका केही सदस्यहरु समेत समस्यामा परेका छन् ।

यसअघि प्रधानमन्त्रीका विश्वासपात्रका रुपमा चिनिएका अर्थमन्त्री डा.युवराज खतिवडाको राजीनामा मागेका नेकपाका सदस्य तथा सांसदहरुले अहिले प्रधानमन्त्री ओलीका अर्का विश्वासपात्र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको राजीनामा माग गरिरहेका छन् ।

नेकपाका सांसदहरुले प्रधानमन्त्रीका दुई विश्वासपात्र महासेठ र खतिवडासाग अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्रका रुपमा रहेका गृहमन्त्री रामबहादुर थापाको पनि राजीनामाको प्रसंग उठेको छ ।

अर्थमन्त्री खतिवडाले जिम्मेवारी पाएदेखि नै लगातार सरकारको नीतिविपरीत गएर अलोकप्रिय निर्णय गर्न थालेपछि पार्टीभित्र उनीप्रति चर्को असन्तुष्टि बढिरहेको छ ।  नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसमेत खतिवडाको विपक्षमा देखिएका छन् ।

खतिवडाका कारण अहिलेको सरकारसँग निजी क्षेत्र रुष्ट बन्दै आएको छ । वैदेशिक लगानी र सहायताबिना नेपालको विकास सम्भव नरहेको अवस्थामा अर्थमन्त्री भएका खतिवडाले स्वदेशी र विदेशी लगानीमा समेत प्रत्यक्ष प्रभाव पार्ने गरी बजेट बनाएको आरोप उनीमाथि लागेको छ ।

उनले बजेटमा करको दर र दायरा बढाउँदा सरकारको चौतर्फी आलोचना भइरहेकाले पनि सांसदहरुले उनको राजीनामा मागिरहेका छन् । ओली निकट मानिएका प्रदश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले त खुलेरै खतिवडाको राजीनामा मागेका थिए ।

यता, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई राजीनामा गराउन नेतृत्व तहमा दबाब परेको छ । नेकपाका नेताहरुले विभिन्न ठाउँमा बिग्रिएका सडक र अलपत्र भएका निर्माणकार्य अघि बढाउन नसकेको आरोप उनीमाथि लागेको छ ।

टेन्डरलगायतका विषय कमिसन लिएर काम गरेको, विकास निर्माणका कामले गति नलिँदा जिल्ला जान सकिएको र यो सरकारप्रति जनता निराश हुँदै गएको भन्दै महासेठको राजीनामा माग गरिएको छ । महासेठप्रति संसदमै पनि नेकपाका सांसदहरुले राजीनामा माग गरेका छन् ।

उनीहरुले आगामी भदौ १४ र १५ गते काठमाडौंमा हुन गइरहेको बिमस्टेक सम्मेलनमा नेपालको बेइज्जत हुने महासेठले काम गरिरहेको र पाहुना आवतजावत गर्ने मुख्य मार्ग जोरपार्टी सडकखण्ड अलपत्र अवस्थामा रहँदासमेत कुनै काम गर्न नसकेको बताएका छन् ।

महासेठले ठेकेदारहरुसँग मिलेमतो गरी सरकारी कारबाही सुरु गरेको ठेकेदारलाई कारबाही गर्न पनि निस्तेज बनाएको भन्दै महासेठलाई हटाएर अर्को मन्त्री नियुक्त गर्न नेतृत्वमा दबाब दिएका छन् ।

तर, उनका पछिल्लो कदमले जनतामात्र नभएर जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीसमेत असुरक्षित रहेको आभास हुन थालेको छ । पछिल्ला घटनाक्रमलाई हेर्दा मात्रै पनि गृहमन्त्री थापा सुरक्षा कायम गराउन पूर्ण रुपले असफल देखिएका छन् । उनका कारण प्रहरी प्रशासनसमेत आलोचनाको पात्र हुन थालेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमेत गृहमन्त्री थापाको छायाँमा परेका छन् । खनाल अहिले विगतका महानिरीक्षकभन्दा निरीह र गुमनाम हुन थालेका छन् । खनालको पछिल्लो व्यवहारलाई लिएर प्रहरी संगठनभित्रै उनको आलोचना बढ्न थालेको छ ।

प्रहरी अधिकारीको सरुवादेखि सुरक्षा कायम गराउने कुरामा खनाल असक्षम भएको चर्चा प्रहरी संगठनभित्र सुरु भएको छ । उनी महानिरीक्षक बन्नु अघिसम्म सक्षम र अब्बल प्रहरी अधिकृतका रुपमा परिचित थिए । तर, अहिले उनको त्यो परिचय हराएको छ ।

प्रधानमन्त्री केपी ओलीका अगाडि आफैं निरीह बनेका गृहमन्त्री थापाको कमाण्डमा अहिले प्रहरी प्रशासन चलिरहेको छ । थापाले व्यक्तिगत रुपमा गृह मन्त्रालयको संरचनामा सुधार गर्न सकेका छैनन् भने सिंगो प्रहरी संगठनको सुधार उनीबाट असम्भव देखिएको छ ।

व्यावहारिक रुपमा उनी असफल भए पनि अझै प्रहरी संगठनलाई अपराध नियन्त्रणको निर्देशन दिन भने छाडेका छैनन् । ३३ किलो सुन प्रकरणमा ठूलो माछा समाउने आश्वासन बाँडेर सञ्चार माध्यममा लोकप्रिय बन्न खोज्ने गृहमन्त्री थापाकै कारण अन्ततः सुन प्रकरण नै सेलाएको छ ।

राजनीतिक आवरणमा भएको सुन घोटाला प्रकरणलाई उनले नियन्त्रण गर्नु त के छुनसमेत सकेनन् । अहिले उनको निर्देशनमा सर्वसाधारण हत्या भएका विवरणहरु बाहिर आउन थालेको छ । अहिलेका शक्तिशाली मन्त्रीका रुपमा चिनिएका गृहमन्त्री रामबहादुर थापाको पनि पार्टीभित्र राजनीतिको प्रसंग उठ्न थालेको छ ।

सरकारले लिएको शान्ति सुरक्षाको उद्देश्यअनुसार भन्दा पनि गृहमन्त्री थापाले अपराध बढाउने गतिविधिमा बढी संलग्न हुन थालेको भन्दै नेकपाको सचिवालयमै गृहमन्त्री थापाको राजीनामाको प्रसंग उठेको बताइएको छ ।

३३ किलो सुन प्रकरणमा मुख्य अपराधीसम्म पुग्न नसकेको र अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुलाई  नै प्रभावित पार्ने काम गरेको आरोप थापामाथि लगाइएको छ ।

गृहमन्त्री थापामाथि भक्तपुरका निशान खड्काको हत्या प्रकरणमा प्रहरीले खेलेको भूमिकामा गृहमन्त्री संदवेदनशील हुन नसकेको भन्दै पार्टीमा थापाको चर्को आलोचना भइरहेको छ ।

पार्टीमा सांसदहरुले यस्ता घटना हुँदा भारत र चीनलगायत अन्य देशमा गृहमन्त्रीले राजीनामा दिएर नैतिकता प्रस्तुत गर्ने चलन रहे पनि नेपालमा गृहमन्त्री थापाले अझै आफ्नो बचाउ गरिरहेका छन् । गृहमन्त्री थापाका कारण प्रहरी महानिरीक्षक खनालमाथि समेत प्रश्न उठिरहेका छन् ।

काँडाघारीका बालक निशान खड्काको हत्या बारे गृहमन्त्रीले चित्तबुझ्दो काम नगरेको भन्दै प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा समेत थापाको विरोध हुँदै आएको छ । थापाले संसद्मा दिएको जवाफ र घटनाका प्रत्यक्षदर्शीका अनुसार समय पनि गृहमन्त्री थापा असक्षम देखिएका छन्, देशान्तरमा उल्लेख छ ।

उनको यस्ता अन्य कयौं कमजोरीलाई आधार बनाएर अहिले नेकपाका सांसदहरुलाई आधार बनाएर अहिले नेकपाका सांसदहरुले राजीनामा प्रसंग उठाइरहेका छन् । यसरी नै तीन मन्त्री माथि सांसदहरुको दबाब बढ्दै गए ओली सरकार नै संकटमा पर्ने देखिएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan