Friday 14th of December | २०७५ मङ्सिर २८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उडान थालेको २१ दिनमै निगमको वाइडबडी विमान 'ग्राउन्डेड'

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ ३० शनिबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ, ३० भदौ ।  नेपाल वायुसेवा निगमको एयरबस ३३० वाइडबडी विमानमा डेन्ट (कुच्चिएको) भेटिएपछि ग्राउन्डेड भएको छ । व्यवसायिक उडान सुरु गरेको २१ औं दिनमै विमान ग्राउन्डेड भएको हो । वाइडबडी ग्राउन्डेड भएको यो पहिलो घटना हो । नेपाली नाम मकालु दिइएको यस विमानको कार्गो राखिने ढोकामा डेन्ट भेटिएपछि जहाज ग्राउन्डेड भएको निगमका एक उच्च अधिकारीले कान्तिपुरलाई बताए ।

बिहीबार बिहान दिल्लीबाट काठमाडौं आइपुगेको विमानमा इन्जिनियरहरुले निरीक्षण (पोष्ट ल्याण्डिङ चेकअप) गर्दा कार्गोको ढोकामा डेन्ट देखेका थिए। ‘कार्गोको ढोका कुच्चिएको छ,’ स्रोतले भन्यो, ‘काठमाडौंमा भएको हो वा दिल्लीमा छानविन हुँदै छ। पत्ता लागेको छैन।’ यो निगमसँग भएका वाइडबडी मध्येको दोस्रो विमान हो। निगमको कमर्सियल विभागका एक अधिकारीका अनुसार यस्तो अवस्थामा निगमले विमान मर्मत गरेर उडाउन मिल्दैन। ‘एयरबससँग इमेलमार्फत संवाद भइरहेको छ,' ती अधिकारीले भने, ‘मर्मत निर्देशिकाको नियमले निर्देश गरे अनुसार कार्गोको ढोकामा कुच्चिएको भाग मर्मत गरेर मात्रै उडाउने छौं।’

शुक्रबार निगमले दिल्लीका लागि आइतबार र बुधबारमा जस्तै बिहान र बेलुकी गरी दुईटा उडान गर्दै आएको छ। यस वाइडबडीको विमानको शुक्रबार बिहान काठमाडौंबाट दिल्लीकालागि आरए २०५ नम्बरको उडान थियो। तर, निगमले यो विमान ग्राउन्डेड भएकाले बोइङ ७५७ मा एयरबसका यात्रु राखेर उडायो। त्यसैगरी बेलुकीको आरए २१७ नम्बरको उडान पनि यसले गर्न नसक्ने भएपछि निगमले बैंककबाट फर्किँदै गरेको अर्को वाइडबडी विमानबाट गराउने तालिका राखिएको छ।

‘अर्को जहाज बैंककबाट ६ बजे हाराहारी काठमाडौं अवतरण गर्ने समयतालिका छ। यता अवतरण भएको दुई घन्टापछि दिल्लीका लागि चेक–इन गरिएका यात्रुलाई पठाउदै छौं,’ विमानस्थलस्थित निगम स्रोतले भन्यो। शुक्रबार बेलुकी ५ बजे दिल्लीका लागि हुनुपर्ने उडानमा जहाज अभाव भएपछि निगमले आफ्ना यात्रुहरुलाई रेष्टुरेन्टमा राखेको छ। ‘दुई घन्टाभन्दा बढी समय डिले हुने भएपछि यात्रुहरुलाई खाजा खुवाउनुपर्ने नियम भएकाले रेष्टुरेन्टमा पठाउदै छौं,’स्रोतले भन्यो।

पहिलो कमर्सियल उडान भदौं ८ गते काठमाडौंबाट बैंकक गरेको यो विमान निगमले फ्रान्सको टुलुजबाट साउन १० गते काठमाडौं ल्याइएको थियो। बिहीबार दिल्लीको उडानमा पाइलटहरू यार कमल, महेश्वरमान डंगोल र अमूल्यरत्न शाक्य थिए। निगमको पहिलो वाइडबडी एयरबस अन्नपूर्ण असार १४ गते काठमाडौंमा आइपुगेको थियो। निगमसँग एयरबसका दुईटा न्यरोबडी ३२० जहाज पनि छन्। तर, यीमध्ये सगरमाथा नाम दिइएको जहाजमा चरा ठोक्किएपछि ८ दिनदेखि ग्राउन्डेड छ।

दुईटा जेट विमान ग्राउन्डेड भएपछि तीनवटा विमानमार्फत निगमले उडान गर्दै आएका ८ वटा गन्तव्यको उडान मिलाउन व्यवस्थापनलाई चुनौती भएको छ। ‘जहाज नभएपछि शुक्रबार रातिको दुबई उडान शनिबार दिउँसोका लागि डिले गरेका छौं,’ सम्बद्ध स्रोतले कान्तिपुरलाई भन्यो। दुबईको उडान डिले हुने भएपछि कतिपय यात्रुहरुलाई खबर गरिएको तर, विमानस्थलमा चेक–इन हुने यात्रुलाई निगमले काठमाडौं र दुबईमा शनिबारसम्म होटलमा राख्नुपर्ने छ।  कान्तिपुर दैनिकबाट 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan