Wednesday 17th of October | २०७५ असोज ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यही वर्षभित्र संविधान संशोधन भएन भने हामी सरकारबाट बाहिरिन्छौं : यादव

संविधान संशोधन नभएसम्म कालो दिवस मनाईरहन्छौं : लक्ष्मणलाल कर्ण

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २ मंगलबार |
newsabhiyan
newsabhiyan

संविधान संशोधन नभएसम्म कालो दिवस मनाईरहन्छौं : लक्ष्मणलाल कर्ण
‘सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे दशैं, तिहारपछि निर्णय गर्छौं’
सरकारको क्रियाकलापले जनता दिनप्रतिदिन निराश बने : नेता लेखक
संविधान संशोधनको लागि सरकारले बिल ल्यायो भने संसद पारित गर्न तयार छ : तामाङ
यही वर्षभित्र संविधान संशोधन भएन भने हामी सरकारबाट बाहिरिन्छौं : यादव

 

काठमाडौं, २ असोज । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन नभएसम्म आफ्नो पार्टीले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाईरहने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले भने,‘हामीले यसअघिपनि दुई पटक कालो दिवस मनाईसकेका छौं । भोलि पनि हामी कालो दिवस नै मनाउँछौं । देशैभरि विभिन्न जिल्लामा हामी प्रर्दशन गर्छौं र बेलुका केही समय ‘ब्ल्याक–आउट’ गर्ने कार्यक्रम छ ।’

आयोजित साक्षात्कारमा बोल्दै उनले भोलि संविधान दिवसलाई कालो दिवस मनाउनको लागि आफ्नो पार्टीका सबै नेताहरु जिल्ला–जिल्ला प्रस्थान गरिसकेको पनि जानकारी दिए । उनले भने,‘केही नेताहरु बाँकी हुनुहुन्छ, उहाँहरुपनि आज बेलुकासम्म पुग्नुहुन्छ ।’

संविधान जारी हुँदासम्म सयौं जनताले सहादत प्राप्त गरेको र अहिलेपनि सयौंको संख्यामा आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरु घाईते, अपांग भएर अस्पतालमा बस्न बाध्य भएको बताउँदै उनले भने,‘अहिलेपनि सयौं जनामाथि सरकारले झुठो मुद्दा चलाएको छ । त्यसकारण हामीले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएका हौं ।’

यद्धपी उनले आफूहरु सुरुदेखि नै संविधान संशोधनको माग गरेको भएपनि संविधान पूनर्लेखन नै गर्न भनेर माग नगरेको स्पष्ट पारे । उनले थपे,‘हामीले संविधान पूनर्लेखन गर्नुपर्छ भनेर कहिल्यैपनि भनेनौं ।’
नेता कर्णले सरकारले अहिलेसम्मपनि संविधान संशोधनको लागि कुनै होमवर्क नै नगरेको गुनासो पोखे ।

उनले भने,‘तपाईहरु हेर्दै जानुहोस्, भोलि हजारौं जनता जुलुसमा उत्रिन्छन् । संविधानलाई लिएर लाखौं व्यक्तिहरु असन्तुष्ट छन् । जहिलेसम्म हाम्रो माग पूरा हुँदैन् । वा संविधान संशोधन हुँदैन, तबसम्म हामी कालो दिवस मनाईरहन्छौं ।’

उनले संविधान आवश्यकत्ता र औचित्यको आधारमामात्रै संशोधन हुन्छ भनेर भनिएकोप्रति गुनासो पोख्दै उनले भने,‘अब आवश्यकत्ता कसले महशुस गर्ने हो ? अनि औचित्यको आधारमा भनिएको छ। औचित्य कसले पुष्टि गर्ने हो ?’

उनले आफूहरुले संविधान अनुसार नै चुनाव लडेको बताउँदै निर्वाचनलाईपनि आन्दोलनको रुपमा उपयोग गरेको जिकिर गरे । उनले भने,‘कालो दिवसमात्रै होईन, संविधान संशोधनको लागि आवश्यकत्ता अनुसार आन्दोलनका कार्यक्रमपनि घोषणा गरेर अघि बढ्न सक्छौं ।’

फरक प्रसँगमा उनले आफ्नो पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे दशैं तिहारपछिमात्रै ठोस निर्णय लिने जनाए । उनले भने,‘दशैं, तिहार मनाएपछि हामी सरकारबाट समर्थन फिर्ता लिनेबारे निर्णय लिन्छौं ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले वर्तमान सरकारका क्रियाकलापहरुबाट जनता निराश बनेको दाबी गरेका छन् ।

नेता लेखकले वर्तमान सरकार शान्ति, सुरक्षा र अमनचयन कायम गर्न असफल भएको भन्दै सरकारका क्रियाकलापबाट जनता दिनप्रतिदिन निराश बन्दै गएको आरोप लगाए ।

उनले भने,‘संविधानले जनतालाई धेरै अधिकार दिएको छ, सरकारले यो पनि गर्छु, त्यो पनि गर्छु भन्ने र केही नगर्ने हो भने संविधानप्रति जनताको विश्वास घट्ने अवस्था सिर्जना हुन्छ ।

त्यसैले सरकार ज्यादात्तर सचेत हुन आवश्यक छ । श्रृङ्खलाबद्ध रुपमा बलात्कारका घट्नाहरु घटिरहेका छन्, यस्तो अवस्थामा सरकारले तदारुकता देखाउनुपर्ने हो । तर, सरकारले त्यसो गर्न सकेको छैन् ।’

नेता लेखकले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको करिब दुई महिना वितिसक्दा पनि सरकारले खास दोषीलाई पक्राउ गर्न नसकेको भन्दै उक्त घट्नाका बारेमा सरकारलाई गम्भिर हुन आग्रह गरे ।

उनले भने,‘सरकारले खास अपराधीलाई पत्ता लगाउन सक्दैन, निर्दोषलाई चरम यातना दिएर आधिकारिक दोषीलाई उन्मुक्ति दिन खोज्दैछ, जनताको जिउधनको सुरक्षा गर्ने जिम्मा सरकारको हो, अपराधीलाई जोगाउने होईन, संविधानको कार्यान्वयन र सरकारले गरिरहेका कामको बारेमा के कति बाधा परेको छ र जनता कत्तिको सन्तुष्ट छन भन्ने कुरासमेत प्रष्ट पारेको छ ।’

संविधानले राजनीतिक, समाजिक, साँस्कृतिक रुपमा परिवर्तनकारी भूमिका खेल्न सफल भएको नेता लेखकको भनाई छ । उनले भने,‘तराई–मधेशका राजनीतिक दलहरुले संविधानमा केही फरक मत राखेका छन्, संविधान आवश्यकता र मुलुकको हितमा परिवर्तन गर्न सकिने भएका कारण बिरोधलाई उग्र बनाउनुहुँदैन ।’

लोकतन्त्र, गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको सन्दर्भमा मुलुकले नौलो अभ्यास गरिरहेको बताउँदै उनले सम्पूर्ण जातजाति, धर्म समुदाय र उत्पीडित जाती, क्षेत्र, लिङ्गको बारेमापनि संविधानले अधिकारहरुको व्यवस्था गरेको सुनाए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले संविधानमा भएका त्रुटीहरु सच्याउनको लागि आफूहरु तयार रहेको स्पष्ट पारेका छन् । उनले भने,‘संविधानमा त्रुटीहरु छन् । दुनियाँमा त्रुटीरहित संविधान कहीँपनि छैन् । तर, अहिले संविधानप्रति असहमतिका ग्राफ धेरै सानो अंशमा छ।’

नेता तामाङले अहिले संविधान संशोधन गर्ने बुँदाहरु कम भएको बताए । उनले भने,‘भएका असहमतिका बुँदाहरुपनि हामी सहमतिमै हल गर्छौं । अहिले कालो दिवस हो भन्नेबाट होईन भन्नेमा साथीहरु आउनुभएको छ।’
उनले फेरी संविधान संशोधनको विषयलाई आन्दोलन बनाएर अघि बढ्न नहुने बताउँदै भने,‘फेरी यही विषयलाई आन्दोलनको विषय बनाएर अघि बढ्यौं भने संघीय लोकतान्त्रिक गणतन्त्रलाई झनै कमजोर बनाउँछ । त्यसैले सहमतिमार्फत अघि बढ्नुपर्छ ।’

संविधान अकाट्य नभएकोले केही प्रावधानहरुमा असहमति छ भने संशोधन गरेर अघि बढ्न यो सरकार सँधै तयार रहेको उनको भनाई थियो । उनले भने,‘सरकारले संशोधनको लागि बिल ल्यायो भने, अहिले त सत्तामा फोरमपनि छ, फोरमबाट सरकारमा उपप्रधानमन्त्री  हुनुहुन्छ । संशोधनको लागि विद्येयक ल्याउने दायित्व उहाँको पनि हो, यदि प्रस्ताव आयो भने हेरेर पारित गर्न संसद तयार छ ।’

फरक प्रसँगमा उनले भोलि मनाउने संविधान दिवसमा २ नम्बर प्रदेशमा मुख्यमन्त्रीले पनि मनाउने स्पष्ट पारे । उनले भने,‘अहिले म मध्यान्हमा यो कुरा बोल्दैछु । भोली उहाँले संविधान दिवस मनाउनुहुन्छ ।’

सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका नेता एवम् सांसद प्रदीप यादवले संविधानमा धेरै त्रुटी भएकोले यसलाई सच्याउनुपर्ने बताउँदै आफ्नो संविधान संशोधनको लागि नै सरकारमा गएको स्पष्ट पारे । उनले भने,‘हाम्रो पार्टी २ बुँदे सम्झौता गरेर सरकारमा गएको छ । जबसम्म संविधान संशोधन हुँदैन्, तबसम्म यो सर्वस्विकार्य हुँदैन् ।’

नेता यादवले आफ्नो पार्टीले भोलिको संविधान दिवसलाई दिवसको रुपमा पनि नमनाउने र कालो दिवसपनि नमनाउने स्पष्ट पारे । उनले भने,‘न हामी दिवस मनाउँछौं । न त कालो दिवस नै  । अहिलेपनि संविधानमा हाम्रो असन्तुष्टि छ । खास गरेर सिमांकनको कुरामा हाम्रो असन्तुष्टि छ । हामीले १० प्लस हुनुपर्छ भनेका छौं ।’

संविधानमा नागरिकतालगायत धेरै प्रावधानमा आफूहरुको असन्तुष्टि रहेको जनाउँदै उनले संविधान संशोधन भएपछिमात्रै ३ करोड नेपालीहरु खुशी हुने जनाए । उनले भने,‘हाम्रो पार्टी संविधान संशोधन गराउनकै लागि सरकारमा गएको हो । हामीसँग प्रधानमन्त्रीले लिखित सम्झौता गर्नुभएको छ ।

उहाँले हामीसँगको व्यक्तिगत भेटघाटमा हामीले टेन्शनमा संविधान संशोधन गर्यौं भन्नुभएको छ । उहाँलेपनि कमजोरी छ भनेर स्विकार गर्नुभएको छ । संविधान हडबडमा ल्याएकोले गडबड छ।’

उनले यही वर्षभित्र संविधान संशोधन नभए आफ्नो पार्टी सरकारबाट बाहिरिनेपनि चेतावनी दिए । उनले भने,‘संविधान संशोधन नभए हाम्रो पार्टी एक सेकेण्डपनि सरकारमा बस्दैन् । यो वर्षभित्र संशोधन हुन्छ भन्ने विश्वास हामीले लिएका छौं ।’

उनले २ नम्बर प्रदेशमा आफ्नो पार्टीका नेता मुख्यमन्त्री रहेकोले भोलि प्रदेश सभामा मनाउने संविधान दिवसमा सहभागी नहुने स्पष्ट पारे ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan