Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकारी जग्गामा चौधरी ग्रुपको निजी भवन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ५ शुक्रबार |
newsabhiyan
newsabhiyan

रोशन कार्की, काठमाडौं ५ असोज । चौधरी ग्रुपका अध्यक्ष तथा नेपाली कांग्रेसका सांसद् विनोद चौधरीले एकपछि अर्को सरकारी जग्गा अतिक्रमण गरेर निजी भवन बनाएको प्रमाण प्राप्त भएको छ ।

चौधरीले तराईदेखि पहाडसम्म अवैधरुपमा सरकारी जग्गा हडप्दै आफ्नो नाममा बनाउन लाखौँ रुपैयाँ सरकारी कर्मचारीलाई खुवाएर सफल हुँदै आएको भेटिएको छ । चौधरीले शक्तिकै आडमा सरकारी तथा निजी जग्गा हडप्दै आएको पछिल्लोपटक प्राप्त प्रमाणबाट खुलेको हो ।

आफूलाई ठूलो र सफल व्यवसायी भएको प्रचार गर्दै आएका चौधरीले नवलपरासीमा धर्मको नाममा सरकारी जग्गा लुटेर मन्दिर बनाएको प्रमाणित हुँदा समेत सरकारले कारबाही गर्ने आँट देखाउनसकेको छैन ।

प्राप्त प्रमाणका अनुसार नवलपरासीको देवचुली नगरपालिका–२, मा रहेको सीजी इन्डस्ट्रियल पार्कले सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना बनाएको भेटिएको छ । तत्कालीन नेकपा एमालेको सभासद् हुँदा सो नगरपालिकाको जग्गालाई जालझेल गरी चौधरी ग्रुपले हडपेको भेटिएको छ ।

यसैगरी, पछिल्लोपटक अवैध धन्दा चलाउनकै लागि करोडौँ रुपैयाँ खर्चेर नेपाली कांग्रेसको सांसद् भएका चौधरीले आफ्नै कान्छो भाइ अरुण चौधरीको नाममा रहेको जग्गा हडपेर मापदण्डविपरीत भवन निर्माण गर्न लागेको गोप्य स्रोतले जनाएको छ ।

स्रोतले जनाएअनुसार सांसद् चौधरीले ललितपुर जिल्लाको साबिकको सैँबु गाउँ विकास समिति ४, हाल ललितपुर उपमहानगरपालिका वडा नम्बर २५ मा रहेको जग्गा हडपेका हुन् ।

२०५०/०५९ सालमा नेपाल बैंकमा धितो राखिएको जग्गालाई अरुण चौधरीको नाममा रहेको सूर्य अटोमोबाइल्स कम्पनीको नाममा लक्ष्मी आचार्य समूहबाट सकारेको सो जग्गामा विनोदले आफ्नै भाइ अरुणसँग खोसेर भवन बनाउनलागेको स्रोतको दाबी छ ।

सूर्य अटोमोबाइल्सले तत्कालीन समयमा ८३ आना मात्र सकारेकोमा सांसद् चौधरीले भाइबाट खोसेर भवन बनाउने भन्दै सो जग्गाको अगाडि रहेको सरकारी जग्गा समेत अतिक्रमण गरी घेराबार लगाएको स्थानीय बासिन्दाले बताएका छन् ।

अहिले सरकारी जग्गा समेत हडपेर १०५ आना जग्गा भएको प्रमाणपत्र लिएको समेत स्थानीयको दाबी छ । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको निवाससँगै जोडिएको सो जग्गामध्ये सरकारी जग्गालाई सांसद चौधरी र मन्त्री महासेठ दुवैले अतिक्रमण गरेको स्थानीयको दाबी रहेको छ ।

भैँसेपाटी जाने मुख्य सडकसँगै जोडिएको सो जग्गाभित्र रहेको गनाउने धारा समेत चौधरी ग्रुपबाट अतिक्रमणमा परेको छ ।

यसरी सरकारी र निजी जग्गा अतिक्रमण गर्दै आएका सांसद् चौधरीले पछिल्लो समय आफ्नै परिवारभित्र जग्गा हडपेर मापदण्डविपरीत भवन बनाउँदा समेत स्थानीय प्रशासन तथा सम्बन्धित सरकारी निकायको ध्यान जानसकेको छैन ।

स्थानीय तहको निर्वाचनका समयमा सरकारी जग्गालाई पार्क बनाउने भन्दै सोही वडाका विष्णुबहादुर कार्कीलाई अध्यक्षमा विजय गराएको आरोप समेत लागेको छ । तर कार्की अध्यक्षमा निर्वाचित भएपछि सो सरकारी जग्गामा कुनै पार्क नबनाई मन्त्री महासेठ र सांसद् चौधरीले बराबरी सरकारी जग्गा हडपेर भोगचलन गर्दै आएकै कारण उनीहरुमाथि सरकारले कारबाही गर्न सकेको छैन ।

सो ग्रुपले विभिन्न स्थानमा अधिकांश सरकारी जग्गा अतिक्रमण गरी व्यक्तिगत रुपमा दर्ता गराएको समेत प्रमाणहरु प्राप्त भएको छ । पार्कको नाममा मन्दिर प्रवेशद्वारभित्र खोलाको सार्वजनिक जग्गामा दुई तले पक्की भवन निर्माण गरेको पाइएको छ ।

उनले भवन मात्रै होइन, प्रवेशद्वार नजिकको कर्कदह खोला पूरै अतिक्रमण गरेर बुद्धको मूर्ति राखेर सरकारी जग्गा हडपेको सो नगरपालिकाले चौधरी ग्रुपलाई काटेको पत्रबाट प्रष्ट भएको छ ।

चौधरी ग्रुपले धर्मको आडमा पहिला बनाउने र पछि सो जग्गा आफ्नै नाममा रैकर बनाउने रणनीति समेत रहेको चौधरी ग्रुपका एक कर्मचारीले नाम नलेख्ने शर्तमा बताए ।

पैसा र शक्तिको आडमा देशलाई बुझाउनुपर्ने कर छली गरी नेपालबाट विदेशमा पैसा लगेर विश्वको धनीको सूचीमा परेका चौधरी ग्रुपका अध्यक्ष समेत रहेका सांसद् चौधरीको अर्को गैरकानुनी धन्दा नै बनेको छ ।

सो ग्रुपमाथि नेपालमा स्थापनाकालदेखि नै कर, आयकर, राजस्व र मूल्यअभिवृद्धि कर (भ्याट) समेत छली गरी नक्कली बिलमार्फत कारोबार गर्दै आएको आरोप लाग्दै आएको छ ।

चौधरी ग्रुपले जनताबाट करोडौं रकम मात्रै होइन सरकारी अनुदानको हिसाब समेत देखाएको छैन । राज्यबाट ११ मिलियन डलर अनुदान पनि चौधरीले लिएको र सर्वसाधारणले विना सेवा करोडौं पैसा समेत असुली गरी ठगी गरेको आरोप सांसद चौधरीमाथि लागेको छ ।

चौधरी ग्रुपले सरकारलाई समेत ठगी गर्दा कुनै छानबिन गर्न सरकारले चासो नदिनुले पनि सो अवैध कारोबारमा सरकारी कर्मचारीकै संलग्नता रहेको अर्थ मन्त्रालयका स्रोतको दाबी छ ।

यसैगरी सरकारी जग्गा अतिक्रमण गर्नेक्रममा नेपाल आयल निगमको नाममा रहेको जग्गा समेत अतिक्रमण गरिएको छ ।

ल्यूब आयल लिमिटेड खरिद गरेका चौधरीले आयल निगमको जग्गा अतिक्रमण गरेको पाइएको हो  । अमलेखगञ्जमा आयल निगमको नाममा रहेको १२ बिघाभन्दा बढी जग्गा चौधरी ग्रुपले अतिक्रमण गरेको छ । अमलेखगञ्जमा निगमको क्षेत्रीय डिपो छ । (आर्थिक दैनिकबाट)


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan