Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मालेमावादी दृष्टिकोण 'जरा नभएको रुख' जस्तै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २५ बिहिबार |
newsabhiyan
newsabhiyan

– हस्तबहादुर के.सी.

माक्र्सवादीहरु भनेका को हुन् ? माक्र्सवादीहरुलाई अन्य मान्छेहरु भन्दा कसरी फरक ढंगले हेर्ने ? माक्र्सवादीहरुको कर्तव्य के हो ? अर्थात माक्र्सवादीहरु अन्य साधारण मान्छेहरु भन्दा किन फरक हुन्छन् ? माक्र्सवादीहरु स्वभावैले अरु मान्छेभन्दा बढी अध्ययन गर्दछन् नै । तर, उनीहरुले किन माक्र्सवादलाई नै जीवनमा बढी महत्व दिएर पढ्छन् त ? आदि बारेमा जान्न जरुरी हुन्छ । यस लेखमा यी विषयहरुमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।

माक्र्सवादीहरु भित्र कम्युनिष्टहरु पर्दछन् । माक्र्सवादीहरु भित्र वामपन्थीहरु पनि पर्दछन् । वामपन्थीहरुलाई पूर्ण रुपमा कम्युनिष्ट भन्न मिल्दैन । कम्युनिष्ट भनेका सर्वहारावर्गका, श्रमजीवीवर्गका अगुवा भन्ने बुझिन्छ । कम्युनिष्टहरुले माक्र्सवादलाई आफ्नो पथप्रदर्शक सिद्धान्त मान्दछन् । अहिले माक्र्सवाद एक्लो छैन । माक्र्सवादले पहिलो चरणमा माक्र्सवादको विकास, दोस्रो तथा गुणात्मक विकासको चरणमा माक्र्सवादले लेनिनवादमा विकास गरिसकेको छ ।

र माक्र्सवाद–लेनिनवादले गुणात्मक विकासको तेस्रो र नयाँ चरणमा माओवादमा विकास गरिसकेको छ । त्यसैले आज, विश्वसर्वहारावर्गको, कम्युनिष्टहरुको पथप्रदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद–माओवाद बन्न पुगेको छ ।

अतः माक्र्सवाद भन्ने बित्तिकै मालेमावाद भन्ने बुझ्नु पर्दछ । कम्युनिष्टहरुको नेतृत्वदायी संगठन कम्युनिष्ट पार्टी हो । कम्युनिष्ट पार्टी भनेको सर्वहारावर्गको उच्चस्तरको संगठित राजनीतिक अग्रदस्ता हो । कम्युनिष्ट पार्टी लेनिनवादी संगठनात्मक सिद्धान्तअन्तर्गत जवादी केन्द्रीयताको सिद्धान्तद्वारा संचालित हुन्छ । कम्युनिष्ट पार्टीले जनताको मुक्ति आन्दोलनको नेतृत्व प्रदान गर्दछ ।

देश, जनता, क्रान्ति बाहेक कम्युनिष्टहरुको अर्को लक्ष्य–उद्देश्य हुँदैन ।
सर्वप्रथम त हामीले माक्र्सवाद के हो भन्ने बारेमा बुझ्न र जान्न जरुरी हुन्छ । माक्र्सवाद भनेको प्रकृति, समाज, राज्यव्यवस्थाा आदिबारेमा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले महान् खोज र प्रयोगद्वारा निकाल्नु भएको वैज्ञानिक क्रान्तिकारी विचार सिद्धान्त र व्यवहारलाई माक्र्सवाद भनिन्छ ।

माक्र्सवाद सर्वहारावर्गको क्रान्तिको विज्ञान हो । यसको सिद्धान्त भौतिकवाद हो । माक्र्सवादको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । त्यसैले गर्दा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता भित्र पर्ने तथ्यलाई समेटेको छ ।

दोस्रो सन्दर्भमा माक्र्सवादको लेनिनवादमा र माक्र्सवाद–लेनिनवादको माओवादमा कसरी विकसित हुन पुग्यो र माक्र्सवाद–लेनिनवाद–माओवाद विश्वसर्वहारावर्गको मुक्तिको सैद्धान्तिक तथा दार्शनिक पथप्रदर्शक सिद्धान्त बन्यो भन्ने कुरा बुझ्न र जान्न जरुरी हुन्छ । माथि केही हदसम्म उल्लेख गरिएकोले यहाँ दोहोरिएको जस्तो देखिए पनि यहाँ मालेमावादको बारेमा उल्लेख गर्न जरुरी हुन्छ, जो यहाँ यसरी उल्लेख गरौँ !
माक्र्सवादी चरण
आज माक्र्सवाद एक्लो छैन । यो गतिशील तथा वैज्ञानिक सिद्धान्त हो । माक्र्सवादको अहिले माक्र्सवाद–लेनिनवाद–माओवादमा गरी तीन गुणात्मक चरणमा विकसित भइसकेको छ । माक्र्सवादका बारेमा मोहन वैध किरण अगाडि लेख्नुहुन्छ, “माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । यो पुँजीवादीको प्रारम्भिक अवस्थामा विकसित भएको हो ।

द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवादा यसका आधारभूत मान्यता हुन् ।”– मोहन वैद्य किरण, माक्र्सवादी दर्शन, प्रगतिशील अध्ययन केन्द्र काठमाडौँ पृष्ठ – ५६ । माक्र्सवादको बारेमा माथि नै बताइएको छ । लेनिनको भनाइअनुसार “माक्र्सवाद भनेको माक्र्सका विचार उनका शिक्षाको व्यवस्थित शृङ्खला हो ।”

माक्र्सवादको निर्माण दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद गरी तीन सङ्घटक तत्वहरूको संश्लेषणबाट भएको छ । माक्र्सवादको दर्शन द्वन्द्वात्मक तथा भौतिकवादी दर्शन हो । यसले पदार्थ, प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्छ । यसले चेतनालाई वस्तुजगत्को आत्मिक प्रतिबिम्बन मान्दछ र विश्वलाई बोधगम्य बताउँछ । माक्र्सवादी दर्शनको पद्धति द्वन्द्वात्मक हो ।

माक्र्सको राजनीतिक अर्थशास्त्र श्रमको मूल्य सिद्धान्त र अतिरिक्त मूल्यको सिद्धान्तमा आधारित रहेको छ । माक्र्सको वैज्ञानिक समाजवाद वर्गसङ्घर्ष, इतिहासमा बल प्रयोगको भूमिका, सर्वहारावर्गको अधिनायकत्व र साम्यवादका आधारभूत मान्यताद्वारा निर्मित भएको हो ।
लेनिनवादी चरण
लेनिनवादका बारेमा स्टालिन भन्नु हुन्छ– “लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहाराक्रान्तिको युगको माक्र्सवाद हो । वास्तवमा लेनिनवाद भनेको सामान्यतः सर्वहाराक्रान्तिको सिद्धान्त तथा कार्यनीति र विशेषतः सर्वहारावर्गको अधिनायकत्वाको सिद्धान्त र कार्यनीति हो ।” (लेनिनवादका आधारहरु पृष्ठ ९० पैरवी प्रकाशन काठमाडौँ २०६४)

त्यस्तै लेनिनवादको बारेमा क. मोहन वैद्य किरण अगाडि लेख्नु हुन्छ,– “माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो । पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु, उत्पादक शक्ति, सर्वहारा आन्दोलन तथा ज्ञान–विज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्रकारको नयाँ परिस्थिति अनुरूप माक्र्सवादलाई नयाँ उचाइमा विकसित गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बिचबाट लेनिनवादा जन्मियो”– मोहन वैध किरण । पेरिस कम्युनको पराजय र अन्तर्राष्ट्रिय अवसरवादीहरुको षड्यन्त्रका पृष्ठभूमिमा पहिलो अन्तर्राष्ट्रियको विघटन गरियो ।

कार्ल माक्र्सको मृत्युपछि र नयाँ परिस्थितिको आवश्यकताअनुसार एंगेल्सको नेतृत्वमा सन् १८८९ मा दोस्रो अन्तर्राष्ट्रियको गठन भयो । यसले आफ्नो प्रारम्भिक कालमा माक्र्सवादको प्रचारमा महत्वपूर्ण भूमिका पनि खेल्यो । तर, फ्रेडरिख एंगेल्सको मृत्यु पश्चात दोस्रो अन्तर्राष्ट्रियका नेताहरु मुख्यतः कार्ल काउत्स्की बुर्जुवा संसदवादका अगाडि घँुडा टेक्दै माक्र्सवादका क्रान्तिकारी सिद्धान्तहरुप्रति विश्वासघात गर्न पुगे ।

दोस्रो अन्तर्राष्ट्रियको यही सुधारवाद, संसदवादका विरुद्ध कठोर संघर्षका बीचबाट कमरेड लेनिनको नेतृत्वमा नयाँ ढंगको बोल्सेभिक पार्टीले क्रान्तिकारी संघर्षको विकास गर्दै सन् १९१७ मा सशस्त्र विद्रोहद्वारा रुसमा समाजवादी क्रान्ति सम्पन्न ग¥यो । माक्र्सवादका आधारभूत वैज्ञानिक एवं क्रान्तिकारी शिक्षाहरुको रक्षाका निम्ति संशोधनवादका विरुद्ध जीवन–मरणको संघर्षकै क्रममा माक्र्सवादको विकास माक्र्सवाद–लेनिनवादमा भयो ।

अराजकतावादको विरुद्धको संघर्षसँग नजोडी प्रतिक्रियावादका विरुद्ध संघर्ष हुनै नसक्ने यथार्थतालाई लेनिनले अत्यन्तै जोड दिनु भयो । विज्ञानका नयाँ आविष्कारहरु समेतलाई पचाएर उहाँले द्वन्द्वात्मक भौतिकवादको दर्शनलाई नयाँ उचाइमा खडा गर्नु भयो । विपरीतहरुको एकता र संघर्ष नै द्वन्द्ववादको एक मात्र आधारभूत नियम भएको तथ्य पनि स्पष्ट पार्नु भयो ।

साम्राज्यवादको चरित्र र विशेषता बारेको विश्लेषणात्मक खोजद्वारा राजनीतिक अर्थशास्त्रको क्षेत्रमा गुणात्मक योगदान पु¥याइ लेनिनले नयाँ युगलाई साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगका रुपमा परिभाषित गर्नु भयो जसले क्रान्तिका रणनीति र कार्यनीति निर्धारणमा ठोस सहयोग पु¥यायो । लेनिनका जुन विश्लेषणलाई पछिका घटना क्रमहरुले शानदार ढंगले प्रमाणित गरे, ती आज पनि उत्तिकै सही रहेका छन् ।

साम्राज्यवाद र संशोधनवादको चिरफार गर्दै क्रान्तिका कामहरूलाई अगाडि बढाउनुपर्ने आवश्यकताको परिपूर्ति लेनिनवादबाट भयो । लेनिनले सुरूमा सन् १९१७ मा महान्् अक्टुबर समाजवादी क्रान्ति सम्पन्न गरेर माक्र्सवादको सफल प्रयोग गर्नुभयो । यसैक्रममा लेनिनले सन् १९१९ मा तेस्रो अन्तर्राष्ट्रियको गठन गर्नुभयो । लेनिनवादका बारेमा स्टालिन भन्नुहुन्छ– ‘लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो ।

खसोखास भन्ने हो भने लेनिनवाद भनेको सामान्यतः सर्वहारा क्रान्तिको सिद्धान्त तथा कार्यनीति विशेषतः सर्वहारावर्गको अधिनायकत्वको सिद्धान्त र कार्यनीति हो ।

लेनिनवादका शिक्षाका बारेमा माओले भन्नुहुन्छ– लेनिनवादको सिद्धान्तले माक्र्सवादको विकास गरेको छ । यो कुन कुराको सन्दर्भमा भएको छ भने प्रथम विश्वदृष्टिकोणमा, भौतिकवाद र द्वन्द्ववादमा द्वन्द्वात्मक क्रान्तिकारी सिद्धान्त र कार्यनीतिमा विशेषतः वर्गसङ्घर्ष सर्वहारावर्गको अधिनायकत्व र सर्वहारावर्गको राजनीतिक पार्टीका प्रश्नहरूमा र यसका साथै समाजवादी निर्माणमा लेनिनका शिक्षाहरू रहेका छन् ।  

अन्ततः माक्र्सवादी–लेनिनवादी विश्वदृष्टिकोणलाई क्रान्तिको कार्यदिशासँग गाँस्ने वर्गदुश्मन तथा संशोधनवादका विरूद्ध वर्गसङ्घर्ष र दुईलाइन सङ्घर्षका समस्याहरूको समाधान गर्दै समाजवादको स्थापना तथा निर्माण गर्नेक्रममा लेनिनको भूमिका अद्वितीय रहेको छ ।
माओवादी चरण माओवाद कमरेड माओत्सेतुङ (१८९३–१९७६) द्वारा प्रतिपादित सिद्धान्त हो ।

माओवादका बारेमा क. मोहन वैध किरण अगाडि लेख्नुहुन्छ – “माक्र्सवाद लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो । सामन्तवादी–साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त, अविकसित देशहरूमा क्रान्तिका समस्याहरूको समाधान गरिनुपर्ने, स्टालिनको मृत्यु पश्चात रूस एवम्् पूर्वी यूरोपका कैयौँ देशहरूमा पुँजीवादको पुनस्र्थापनाका कारणहरूको खोज गरी त्यसबाट शिक्षा लिनुपर्ने तथा त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तर्विरोधहरूको समाधान गर्नुपर्ने र आधुनिक संशोधनवादका विरूद्धको लडाइँँ लड्नुपर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा माओद्वारा माक्र्सवाद–लेनिनवादको थप परिमार्जन तथा विकास गरी त्यसलाई माक्र्सवाद–लेनिनवादको तेस्रो, नयाँ र गुणात्मक उचाइमा पु¥याउने काम भयो ।” मोहन वैध ‘किरण’ माक्र्सवादी दर्शन, प्रगतिशील अध्ययनकेन्द्र काठमाडौँ, पृष्ठ ५९ ।

यो जटिल परिस्थितिमा उभिएर कमरेड माओत्सेतुङले समाजवादमा वर्गसंघर्षको स्थितिबारे गम्भीर अध्ययन र चिन्तन गर्नुभयो । देश बाहिर खु्रश्चोभको आधुनिक संशोधनवादका विरुद्ध र पार्टीभित्र दक्षिणपन्थी अवसरवादका विरुद्ध संघर्षको झण्डा उठाउनु भयो । यो भीषण एवं जीवन–मरणको संघर्षका बीचबाट माओले समाजवादमा वर्गसंघर्षको स्थितिको वैज्ञानिक व्याख्या सहित त्यसलाई रोक्ने सिद्धान्तका रुपमा सर्वहारावर्गको अभिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको धारणा प्रस्तुत गर्नु भयो ।

यही वैज्ञानिक धारणाका आधारमा मानव जातिकै इतिहासमा अभूतपूर्व जनक्रान्तिका रुपमा महान् सर्वहारा साँस्कृतिक क्रान्तिको नेतृत्व गर्नु भयो । सिङ्गो भूमण्डल थर्काउने यो क्रान्ति मार्फत माओले समाजवादी समाजमा पुँजीवादको पुनस्र्थापना रोक्ने नयाँ हतियारद्वारा सर्वहारावर्गलाई सुसज्जित पार्नु भयो । यो महान् योगदानले कमरेड माओलाई माक्र्सवादको तेस्रो नयाँ र उच्च चरण माक्र्सवाद–लेनिनवाद–माओवादका प्रवर्तकका रुपमा स्थापित गरायो ।

द्वन्द्वात्मक भौतिकवादको सारतत्वको रूपमा अन्तर्विरोधको नियम, विपरीतहरूको एकताको नियमको उद्घाटन र व्याख्या एकको दुईमा विभाजन हुन्छ भन्ने कुराको समृद्ध व्याख्या र प्रयोग ज्ञान–सिद्धान्तको क्षेत्रमा पदार्थको चेतना र चेतनाको पदार्थमा रूपान्तरणको दुई छलाङ्को सिद्धान्तको विकास र व्याख्या, आधार र उपरीसंरचना, उत्पादक शक्ति र उत्पादन सम्बन्ध, सिद्धान्त र व्यवहारबीचको द्वन्द्वात्मक सम्बन्धको व्याख्या, विवेचना र परिमार्जन, नयाँ जनवाद, दीर्घकालीन जनयुद्ध, नोकरशाही पुँजीवाद, सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिको निरन्तरताको सिद्धान्त तथा महान्् सर्वहारा सांस्कृतिक क्रान्तिको सिद्धान्तको प्रतिपादन तथा प्रयोग, वर्ग सङ्घर्षलाई मुख्य कडी मान्ने, दर्शनलाई जनसमुदायमा पु¥याउनुपर्ने कुरामा जोड, विश्वदृष्टिकोण र कार्यदिशा बिचको अन्तर्सम्बन्धको प्रस्तुति, वर्गसङ्घर्ष तथा दुईलाइन सङ्घर्षको समस्याहरूको समाधानका लागि रणनीति तथा तथा कार्यनीतिको विकास र संशोधनवादका विरूद्ध निर्मम सङ्घर्ष आदिमा माओको योगदान अद्वितीय रहेको छ ।

अतः माक्र्सवाद–लेनिनवाद–माओवाद आज विश्वसर्वहारावर्गको मुक्तिको सैद्धान्तिक अस्त्र र पथप्रदर्शक सिद्धान्त बन्न पुगेको छ । सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत निरन्तर संघर्षको सिद्धान्त नै माओवाद हो । माक्र्सवाद–लेनिनवाद–माओवादलाई आफ्नो पथप्रर्दशक सिद्धान्त स्वीकार नगर्नेहरू सच्चा क्रान्तिकारी कम्युनिस्ट नै बन्न सक्दैनन् । माक्र्सवाद–लेनिनवाद–माओवादलाई आफ्नो पार्टीको मार्गदर्शक सिद्धान्त र पथप्रर्दशक सिद्धान्त नबनाउने पार्टीहरू क्रान्तिकारी पार्टी बन्नै सक्दैनन् ।

माक्र्सवादी दर्शन सर्वहारावर्गको विश्वदृष्टिकोण हो । जस्तो कि यसलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनिन्छ । यस दर्शनको जन्म दर्शनशास्त्रको लामो विकास प्रक्रियाका बीचबाट भएको हो । माक्र्सवाद अर्थात माक्र्सवादी दर्शनलाई स्टालिनले “माक्र्सवादी–लेनिनवादी पार्टीको विश्वदृष्टिकोण हो” भन्नु भएको छ ।

दर्शनका बारेमा सामान्य चर्चा गर्न जरुरी हुन्छ । दर्शनको अर्थ र काम बारे पनि विचार विमर्स गर्न जरुरी हुन्छ । दर्शनको खास अर्थ के हो ? दर्शन भन्नाले कस्तो शास्त्रलाई जनाउँछ ? यी विषयहरुका बारेमा छोटो र सारभूत रुपमा उक्त जवाफ दिन जरुरी हुन्छ । दर्शन भनेको एउटा विश्वदृष्टिकोण हो । अर्थात विश्वलाई हेर्ने दृष्टिकोण हो । दर्शन भनेको विज्ञानको यस्तो शाखा हो, जसले प्रकृति, समाज र मानवीय चिन्तनको विकासका नियमहरुको अध्ययन गर्दछ ।

हामीले सरल भाषामा बुझ्ने कुरा के हो भने माक्र्सवादी परिभाषाअनुसार, दर्शन भनेको सैद्धान्तिक ज्ञानको त्यस्तो रुप हो, जसले विश्वदृष्टिकोणसित, प्रकृति र समाजलाई हेर्ने विश्वदृष्टिकोणसित सम्बन्धित सामान्य नियमहरुको विश्लेषण र व्याख्या प्रस्तुत गर्दछ । प्रकृति र समाजको विकास कुन ढंगबाट हुने गर्दछ, ऐतिहासिक विकासका मूल कारण र प्रेरक शक्तिहरु के हुन्, हाम्रो यस संसारलाई कुन रुपमा बुझ्ने र फेर्न सकिन्छ र फेरिएको वस्तुको संरक्षण कसरी गर्न सकिन्छ– यी र यस प्रकारका प्रश्नहरुको जवाफ दर्शनले दिने गर्दछ ।

जहाँसम्म दर्शनको काम तथा कार्यभारको सवाल छ, सामान्य र सारमा भन्नु पर्दा यसको मुख्य काम हो जुन विद्यमान छ, जुन यथार्थ छ, त्यसलाई जस्ताको तस्तै जान्नु, बुझ्नु र त्यसको व्याख्या प्रस्तुत गर्नु हो । अतितको व्याख्या, वर्तमानको विश्लेषण तथा विकासको दिशा र भविष्यको पूर्वानुमानको सूचना प्रदान गर्ने प्रयत्न दर्शनले गर्दछ । विश्व यथार्थताको विशुद्ध व्याख्या प्रस्तुत गरी त्यसको वास्तविक सारलाई खुलस्त पार्ने कार्यभार दर्शनको हो । अतः एक साँच्चिकै वैज्ञानिक दर्शनले सो काम गर्नु पर्छ र गर्न सक्छ ।

वर्गीय समाजमा दर्शनको पनि वर्गीय पक्षधरता रहन्छ । वर्गहरुमा विभाजित समाजमा माक्र्सवादी दर्शनले सर्वहारावर्गको पक्षधरता लिन्छ भने आदर्शवादी दर्शनले शोषकवर्गको, प्रतिक्रियावादी वर्गको पक्षधरता लिन्छ । जुनसमाज वर्गहरुमा विभाजित रहेको हुन्छ, त्यसमा पाइने विभिन्न दार्शनिक सिद्धान्तहरुले विभिन्न वर्गहरुको हित र दृष्टिकोणहरुलाई व्यक्त गरिरहेका हुन्छन् । दर्शनको अध्ययन किन गर्नु पर्ने ? त्यसबाट हामीलाई के फाइदा हुन्छ ?

अथवा दर्शनले हामीलाई कुन कुरा प्रदान गर्दछ ? माक्र्सवादीहरु सामान्यतः किन दर्शनको अध्ययनमा महत्व दिने गर्दछन् ? त्यसो गर्नमा एउटा मुख्य कारण के हो भने दर्शन यस्तो चीज हो जसले हामीलाई सैद्धान्तिक ढंगले कसरी सोच्ने, सैद्धान्तिक धरातलमा उभिएर परिघटनाहरुलाई कसरी हेर्ने भन्ने कुरा सिकाउछ । जस्तो कि कलाले हामीलाई नयाँ–नयाँ कुराहरुको सिर्जन गर्ने क्षमता अर्थात् सिर्जना–शक्ति प्रदान गर्दछ र विचारमा खिया लाग्नबाट जोगाउँछ भने दर्शनले हामीलाई चीजहरुको बोध गर्ने शक्ति र युक्तिसंगत ढंगले सोच्ने सामथ्र्य प्रदान गर्दछ ।

अतः क्रान्तिकारी कम्युनिष्टहरुले विश्व ब्रम्हाण्डका हरेक वस्तुहरुका बारेमा जान्न, बुझ्न र ती वस्तुहरुलाई बदल्ने नियमहरुका बारेमा जानकारी लिनका निम्ति माक्र्सवादका बारेमा पढ्न आवश्यक हुन्छ । अर्थात् संसारलाई बुझ्ने, जान्ने र बदल्ने तथा बदलिएको चीजलाई संरक्षण गर्ने नियमलाई माक्र्सवादले प्रदान गर्ने भएकाले माक्र्सवादीहरुले माक्र्सवादको अध्ययन गर्न जरुरी छ । किनभने माक्र्सवादले विश्वदृष्टिकोण पैदा गर्दछ । नेपाली समाजमा एउटा भनाई छ, – “दृष्टिकोण नभएको मानिस जरा नभएको रुख जस्तै हो ।” त्यसैले क्रान्तिकारी दृष्टिकोण नभइकन सच्चा क्रान्तिकारी बन्न सकिदैन । दुनियाँ र समाजमा आमूल परिवर्तन ल्याउने संघर्षमा, क्रान्तिकारी उभार ल्याउने संघर्षमा योग्य र समर्थवान् जोधाइ बन्ने हो भने प्रत्यक क्रान्तिकारी कम्युनिष्ट क्रान्तिकारी कार्यकर्ताहरु (मालेमावादीहरु) ले आफ्नो दिमागलाई क्रान्तिकारीकरण गर्नै पर्छ, अर्थात् उसले क्रान्तिकारी दृष्टिकोण ग्रहण गर्न सक्नु पर्दछ ।

तसर्थ यस्तो दृष्टिकोणले मात्र उसको निम्ति प्रस्ट दिशा र दूर्दशिता प्रदान गर्न सक्छ । यहाँ क्रान्तिकारी दृष्टिकोणको तात्पर्य माक्र्सवादी–लेनिनवादी–माओवादी विश्वदृष्टिकोण हो । यस दृष्टिकोणलाई ग्रहण नगरिकन कोही पनि क्रान्तिकारी हुन सक्तैन । त्यसैले माक्र्सवादीहरुले माक्र्सवादलाई पढ्नै पर्ने हुन्छ । विस्तृत रुपमा भन्नु पर्दा माक्र्सवाद–लेनिनवाद–माओवाद पढ्नै पर्दछ । किनकि मालेमावादी दृष्टिकोण नभएको मानिस “जरा नभएको रुख” जस्तै हुनेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan