Monday 22nd of October | २०७५ कार्तिक ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पवित्रादेवीका घरमा चाडपर्व आउनु हुँदैन रुवाबासी शुरु

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २६ शुक्रबार | (रासस)
newsabhiyan

–नरबहादुर रिजाल

दैलेख, २६ असोज : नारायण नगरपालिका–७ बस्ने पवित्रादेवी शर्माका घरमा चाडपर्व आउनु हुँदैन रुवाबासी शुरु हुन्छ । चाडपर्वमा घरमा बाँकी सदस्य शहीदका फोटा हेर्दै रुँदै गर्छन् ।

“दशैँ आयो भने हाम्रा लागि घरमा दशा आएजस्तो हुन्छ । बाउन्न वर्षीय श्रीमान् कविराज शर्मा सुत्नुभएको थियो, उठाएर लगियो, खुला चउरमा गोली हानेर हत्या गरियो, दुई छोरा नारायण र शशिरामलाई माओवादीको आरोपमा मारियो । दुई जना ज्वाइँ लक्ष्मी अधिकारी र ऋषि गौतमलाई माओवादीकै आरोप लगाएर मारियो”, शर्मा बताउनुहुन्छ । जनयुद्धमा राज्यपक्षबाट उहाँको परिवार र आफन्त गरी पाँच जना शहीद भएका छन् ।

“चाडपर्व कहिल्यै मान्दैनौँ, आउँछ जान्छ, परिवार र आफन्त जम्मा भएर शहीदका तस्वीरमा माला लगाउन खोज्छन्, अनि रुवाबासी हुन्छ । मनमा शान्ति छैन केको रमाउने ? सम्झिँदा रातमा निद्रा छैन, दिनमा भोक छैन । चाडपर्व आउँछन्, रुँदैरुँदै बित्छन् । मेरा लागि घर सधैँ मसानघाट जस्तो लाग्छ । पार्टीका मान्छे भेट्न पनि आउँदैनन् । हामीसँग उनीहरुलाई राम्रोसँग कुरा गर्ने फुर्सद पनि छैन ।” हामीहरु पीडित भएको भनेर माओवादीले सहानुभूतिसम्म देखाउन नसकेको शर्मा बताउनुहुन्छ ।

नारायण नगरपालिका– ३ खुर्सानीबारीका लक्ष्मीप्रसाद अधिकारी तत्कालीन १० वर्षे जनयुद्धका बेला सरकारी पक्षबाट बेपत्ता पारिएका हुन् । विसं २०५८ फागुन २३ गते नेपाल र भारतको सिमाना रुपडियाबाट हार्डवयर पसलको सामान ल्याएर फर्कँदै गर्दा नेपालगञ्जको जमुनाचौकीले उहाँलाई कब्जामा लिएको थियो । हामीलाई मार्ने गोलीगठ्ठा ल्याएको भन्दै सोही स्थानमा रहेको सेनाको काली भूमिगढ गुल्मले उनलाई बेपत्ता पारेको हो । छोरा प्रकाशले बुबा पसलको सामान ल्याउन बजार जानुभएको छ, मिठाइ ल्याउनुहुन्छ, अनि मजाले खानुपर्छ भनेर बुबा आउने बाटो हेरेर दुई दशक बिताएका छन् । छोरा दुई वर्षको हुँदा उसले भनेको कुरा अहिले पनि सम्झना आउँदा मनमा भक्कानो छुटेर आएको अधिकारीकी श्रीमती भविसरा बताउनुहुन्छ ।

“शुरुशुरुमा त बुबा आउने बाटो हेरिरहन्थ्यौँ”, १७ वर्षीय छोरा प्रकाश भन्छन्, “ कहिले बुबा झुलुक्क झल्किहाल्नुहुन्छ कि झिनो आशा लाग्छ ।” बेपत्ता परिवारका नाममा उनको परिवारलाई सरकारले राहत दिएको छ तर उनी राहतभन्दा पनि बुबाको लाश कि सास भेटिएको भए चित्त बुझ्ने बताउँछन् । “न्यायको नाउँमा सरकारले राहत त दिलायो”, उनी भन्छन्, “ बुबा भएको भए आज हामी राम्रोसँग पढ्न लेख्न पाउँने थियौँ । त्यो राहतको पैसा हाम्रो पीडाको अगाडि केही पनि होइन ।”

नारायण नगरपालिकाकी रत्नाकुमारी रेग्मीको पीडा पनि कम छैन । श्रीमान् माओवादी भएकै आरोपमा तत्कालीन शाही नेपाली सेनाले उहाँलाई दिएको दुःख सम्झेर अहिले पनि उहाँको आँखाबाट आँशु झर्छ । विसं २०६२ भदौ २० गते तीज थियो । काँडाचौरमा महिलाहरु आफ्ना पतिको लामो आयुका लागि व्रत बसेझैँ रेग्मी पनि व्रत बस्नुभएको थियो ।
माओवादीले भदौ १७ गते युद्धविराम गरिसकेको थियो । तत्कालीन नेपाली सेनाले परिचालन गरेको समूहबाट रेग्मीका श्रीमान् उदयरामसहित अन्य दुई जनालाई कालीमाटी भन्ने स्थानमा गोली हानी हत्या गरियो । उता श्रीमान्को हत्या भयो, यता रेग्मीलाई अनाहकमै घरबाट बोलाएर चरम यातना दिइयो जसका कारण उहाँ तीन वर्षसम्म उपचारका लागि काठमाडौँमा रहेको यातना पीडित कार्यालयमा बस्नुप¥यो । अहिले पनि त्यो घटना सम्झँदा र चाडबाडको कुरा सम्झँदा उहाँको आँखाबाट आँशु आउँछ । रेग्मी अहिले दैलेखमा रहेको मानवअधिकारका लागि द्वन्द्वपीडित एकल महिला समूहको जिल्ला अध्यक्ष भएर काम गरिरहनुभएको छ । आफ्ना पतिलाई अनाहकमा मार्नेलाई अहिलेसम्म कारवाही नभएको उहाँको गुनासो छ ।

तत्कालीन समयमा शाही नेपाली सेनाले भैरवी गाउँपालिका वडा नं ५ का डिल्लीप्रसाद रिजाललाई काशीकाँधको टाकुरी गाउँमा गएको समयमा सेनाले चलाएको टाइगर ग्रुपले पछाडिबाट गोली हानी अनाहकमै हत्या गरिदियो । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका यी शहीदको परिवारसँग आफ्नो आम्दानी स्रोत केही छैन । जीवन निर्वाह गर्न धौधौ भएको छ । उहाँकी धर्मपत्नी पूर्णकला जैसीसँग अहिले पाँच छोराछोरी छन् । तिनको पठनपाठनमा समस्या उत्पन्न भएको छ । सरकारले आफ्ना छोराछोरीको सुनिश्चितता लिनुपर्ने उहाँ बताउनुहुन्छ ।

नारायण नगरपालिका वडा नं १ घर भएका वीरबहादुर सिंहलाई विसं २०५८ फागुन १५ गते कोठामा खाना खाइरहेका समयमा माओवादीले गोली हानी हत्या गरेका थिए । चाडपर्व आयो भने उहाँको घर परिवारमा सधँै सन्नाटा छाउँछ । “दशैँमा त झन् रमाइलो हुने कुुरै भएन”, सिंहकी धर्मपत्नी मनोधराले बताउनुभयो ।
कहिलेकाहीँ त चाडबाडमा खाना बनाउँदा समेत अभिभावक आउनुहुन्छ कि भनेर उनीहरुले एकमुठ्ठी चामल बढी हाल्ने गरेका छन् ।

त्यस्तै दुल्लु नगरपालिका वडा नं ५ घर भएका पूर्णबहादुर थापा माओवादीले निर्मम कुटपिटपछि म¥यो भनेर फालेको अवस्थामा भेटिए । कुटपिटले उहाँका दुवै खुट्टा अहिले चल्दैनन् । वैशाखी टेकेर हिँड्डुल गर्ने गरेको उहाँकी श्रीमती उमादेवी बताउनुहुन्छ । उमा दैलेखको कुइकाना माइती घरमा बस्दै आउनुभएको छ । यस्ता घाइते र अपाङ्गता भएका परिवारलाई राज्यले उचित चासो नदिएको पीडितको गुनासो छ ।

तत्कालीन जनयुद्धका बेला राज्य र माओवादीका तर्फबाट ज्यान गुमाउने र बेपत्ताका परिवारका आँशु अझै रोकिएका छैनन् । सशस्त्र द्वन्द्वका समयमा दैलेखमा राज्य र विद्रोही दुवै पक्षबाट ३४० शहीद भएका छन् । सोह्र बेपत्ता, १३८ घाइते, ६३८ विस्थापित र ६३० जनाको सम्पत्ति लुटिएको विवरण स्थानीय शान्ति समितिमा भएको कार्यालय सचिव सन्तोषी प्याकुरेल बताउनुहुन्छ ।

अहिले पनि अधिकांश पीडितले समितिले मागेको प्रमाणपत्र पेश गर्न नसकेर र कतिपयले पहुँच नपुगेरै राहत पाउन सकेका छैनन् । घाइते र अपाङ्गता भएकाहरु समेत राम्रोसँग उपचार गर्न नसकेर चिन्तामै छन् । दैलेख सबैभन्दा बढी द्वन्द्व प्रभावित जिल्ला भए पनि सरकार पीडितका लागि संवेदनशील नदेखिएको द्वन्द्वपीडित परिवारको गुनासो छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan