Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ओली सरकारले दुई तिहाई बहुमतको दम्भको ताण्डब नृत्य देखाईरहेको छ : बस्नेत

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ३ शनिबार |
newsabhiyan
newsabhiyan

ओली सरकारले दुई तिहाई बहुमतको दम्भको ताण्डब नृत्य देखाईरहेको छ ः बस्नेत
सरकाले दुई तिहाईको दम्भ देखाएको छैन, राष्ट्र निर्माणमा सबै मिलेर अघि बढ्नुपर्छ ः शर्मा
‘सरकार बहुमतको हिसाबले सफल छ, काम र परिणामको हिसाबले पूर्ण असफल देखिरहेको छ’ ः चौधरी

‘छठसम्मपनि संविधान संशोधन भएन भने सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं’

काठमाडौं, ३ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री मोहन बहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएर लोकतान्त्रिक मुल्य र मान्यतामाथि नै प्रहार गरिरहेको गम्भिर आरोप लगाएका छन् । उनले भने,‘सरकारले दुई तिहाई बहुमतको दम्भसमेत देखाएर जुन किसिमले लोकतान्त्रिक मुल्य र मान्यतामाथि प्रहार गर्नेमात्रै होईन, राज्यको चौथो अंगको रुपमा रहेको मिडियाको क्षेत्रलाई समेत आक्रमण गर्न थालेको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले वर्तमान सरकार दुई तिहाई बहुमतको दम्भको आधारमा समाजमा ताण्डब नृत्य देखाईरहेको गम्भिर आरोप लगाए । उनले भने,‘सरकार पूर्ण रुपमा असफल भएको छ भन्ने कुरा जसले यो सरकारलाई समर्थन गर्नुभएको छ, उहाँहरुले पनि यो कुरा भनिसक्नुभएको छ । देशमा अहिले शान्ति, सुरक्षाको अवस्था दयनीय छ । दशैंजस्तो चाडको बीचमा महँगी अत्यधिक बढेको छ । बलात्कारको घट्ना सबैभन्दा बढि यो अवधिमा भएको छ ।’

आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘बलात्कारीहरुलाई पत्ता लगाउनुको साटो सरकारले प्रमाणहरु लुकाउने काम गर्यो  जतिवटा छानबिन आयोग गठन भएपनि अहिलेसम्म गहिराई त परै जाओस् सतहीमा पनि पुग्न सकेको छैन् । किनभने जसले छानबिन गर्नुपर्ने हो, उनीहरुले घट्नामा मुछिएका छन् भन्ने कुरा बाहिर आएका छन् ।’

जनताले बलात्कारीलाई पत्ता लगाएर कारबाही गर्नुपर्छ, महँगी नियन्त्रण गर्नुपर्छ, बाटोघाटो बनाउनुपर्यो भनेर गुनासो पोख्न थालेपछि प्रधानमन्त्रीजस्तो व्यक्तिले भन्नै नहुने कुरा बोलेको पनि उनले गुनासो पोखे ।
उनले भने,‘उहाँजस्तो व्यक्तिले भन्नै नहुने कुरा अरिंगाल भएर हाम्रा कार्यकर्ताहरु प्रस्तुत हुनुपर्छ भन्नुभयो । सरकारमा गएर नेतृत्व गरेको व्यक्तिले मौरी भएर जनतालाई मह पो देउ भनेर भन्नुपर्यो । जोकरशैलीमा मात्रै सरकार चल्न सक्दैन् । प्रधानमन्त्रीले गम्भिर विषयहरुलाई सामान्य रुपमा लिएको अवस्था छ ।’

प्रमुख प्रतिपक्षीको तर्फबाट कांग्रेसले आफ्ना कुराहरु राखिरहेको पनि उनले सुनाए । उनले भने,‘कांग्रेसले आफ्ना कुराहरु राखिरहेको छ । चाहे महँगीको विषयमा होस् । चाहे संविधान कार्यान्वयन गर्ने कुरा होस् । चाहे लोकतन्त्रका बारेमा होस् । चाहे प्रेसमाथिको हस्तक्षेपका बारेमा होस् । हामीले सिंहदरबारको अधिकार गाउँ गाउँमा लैजाने भन्यौं । बजेट विनियोजनमा ११–१२ प्रतिशतभन्दा बढि स्थानीय तहमा पुगेको छैन् । हामीले भन्नुपर्दैन् । सत्तारुढ पार्टीका सांसदहरुको डेलिगेशन आएर, त्यतिमात्रै होईन मुख्यमन्त्रीहरुको डेलिगेशन आएर भनेका छन् । सांसदहरुले त अहिलेका अर्थमन्त्री फेर्न पर्यो भन्नुभएको छ ।’
सही ढंगबाट आफुहरुलाई अधिकार प्रत्यायोजन गरिएन भनेर मुख्यमन्त्रीहरुले गुनासो पोखेको पनि उनले बताए । उनले भने,‘केन्द्रले हामीलाई कुण्ठित गर्यो । संविधान अनुसारको अधिकारको अधिकार पाईएन भनेर उहाँहरुबाट गुनासाहरु आएका छन् ।’

मुलुकलाई संघीय ढाँचामा लैजानुपर्छ भने मधेशकेन्द्रित राजनीतिक दलहरुले धेरै ठूलो आवाज उठाएको पनि उनले बताए । उनले थपे,‘उनीहरुले आवाजमात्रै उठाएनन्, धेरै व्यक्तिहरु सहिदपनि भए । अन्तत्वगत्व मुलुक संघीय संरचनामा गयो । हामी सबै लाग्यौं । मधेश केन्द्रित दलहरुले डबल स्ट्याण्ड देखाएकोजस्तो पनि भैरहेको छ । उहाँहरुले यो सरकारलाई दुई तिहाई बहुमतपनि दिलाउनुभयो ।अनि संविधान संशोधन भएनपनि भनिदिने । संविधान संशोधनको लागि वजनदार कार्यक्रमहरु पनि नल्याउने । त्यसले गर्दा अहिले अन्यौलतापनि भैरहेको छ। तर, सरकारले अहिले राजपालाई जुन ढंगले झुक्याईरहेको अवस्था छ, यसले गर्दा राजनीतिक माहोल एकतावद्ध हुन सकेको छैन् । नेपाली कांग्रेसले जहिलेपनि तपाईहरुको पक्षमा छ । हामी तपाईहरुको समर्थनमा छौं ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको क्रममा जनकपुर र मुक्तिनाथ जाँदा भारतीय मिडियालाई लाईभ रिपोर्टिङ गर्न दिईएको तर नेपाली मिडियाकर्मीहरुलाई प्रवेश निषेध गरिएको भन्दै आपत्ति जनाए । उनले भने,‘हाम्रा नेपाली मिडियाकर्मीहरु हेरेरमात्रै बस्नुपर्यो । सेना प्रवेश भएको छ । त्यतिमात्रै होईन, संयुक्त सैन्य अभ्याससमेतको कुरा उठ्यो । नेकपाभित्रकै हैसियत राख्ने नेताहरुले विरोध गर्नुभयो । हुन त नेपालले भाग लिएन् । तर, त्यहीभित्रको विरोधका कारण हुन सकेन् । कहाँ पुग्यो राष्ट्रवाद ? यही हो राष्ट्रवादको परिचय ? आज नेपालको नक्शा साँघुरिएको छ । अहिले भर्खरै आईरहेको नक्शा सानो नक्शा आईरहेको छ। यो कुरा व्यापक चर्चाको विषय भैरहेको छ । सत्तारुढ दलकै देशभक्त नेताहरुले यो कुरा बुझिरहनुभएको छ । तर, हिजो राष्ट्रवाद बोक्नेहरु आज सरकारमा बसिरहनुभएको छ। उहाँहरु आज के हेरिरहनुभएको छ?’

उनले सिमाका खम्बाहरु ठाउँ–ठाउँमा मिचिँदा विरोध र आन्दोलन हुँदापनि सरकारले आधिकारिक भाषा कहिले बोलेको छ भन्दै प्रश्न गरे । उनले भने,‘मेरो यो सरकारलाई प्रश्न छ । आज देशमा सिमा क्षेत्रमा त्यत्रो बबाल भैरहेको छ । मलाई याद छ, सत्तामा नहुँदा चाहे तत्कालिन् नेकपा माओवादी होस् चाहे एमाले होस्, कहिले कालापानीमा मार्चपास भनेको छ, त कहिले लिपियाधुरीमा मार्चपास भनेको छ । तर सत्तामा गएपछि त्यो उत्रियो । मुलुक रहे त हामी रहन्छौं । मुलुक रहे त हामी सबै राजनीतिक दल रहन्छौं ।’

बुढीगण्डकीजस्तो ठूलो राष्ट्रिय योजना चिनीयाँ कम्पनी गेजुवालाई दिएकोमा उनले आपत्ति जनाए । उनले भने,‘सारा विज्ञहरुले यो राष्ट्रघाती कदम भनिरहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यो निर्णय उल्टाएको थियो । नेपाली जनताले त्यो आवश्कत्ता औंल्याएका थिए । नेपालका मिडियाहरुले त्यो आवश्कत्ता औंल्याएका थिए । नेपालका विज्ञहरुले पनि त्यो औंल्याएका थिए । हामीले जनताको भनाई सही हो भनेर नै निर्णय उल्टाएका थियौं । फेरी अहिले बिना टेण्डर यस्ता यस्ता खर्बौ, खर्बौं रुपैयाको हाम्रो राष्ट्रिय सम्पत्तिहरु कसैलाई जिम्मा लगाईन्छ । के सँग साटिएको छ यी परियोजनाहरु ?’’

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने क्रममा कोष्टारिका किन गएको भन्दै प्रश्न गरे । उनले भने,‘कोष्टारिका जानुपर्ने के काम थियो ? खर्च कटौतीको कुरा धेरै भएको थियो । विदेश भ्रमण रोक्ने भनिएको थियो । अहिले चीनमा विदेश भ्रमण त्यो बाटोमै दर्घट्ना होलाजस्तो छ (आवातजावत) हेर्दाखेरि, दर्जनौं टोलीले नेतृत्व गरेर भैरहेको छ।’
हिंसा, बलात्कार, भ्रष्टाचार, महँगी र अराष्ट्रिय क्रियाकलाप एकातिर भैरहेको सुनाउँदै उनले भने,‘यो विषयमा मैले भन्नैपर्ने भएर यहाँ भनें । तर, नेकपाकै बरिष्ठ नेता माधव कुमार नेपालले संसदमा देश डुब्नै लाग्यो, माझी कोही छ भने बचाईदेउ भनेर भाषण गर्नुभएको छ । एकातिर नेताहरुले यसरी भाषण गर्नुभएको छ, अर्कोतिर हारेकाहरुलाई फेरी चुनाव जित्नुपरिरहेको छ ।

राजिनामाको प्रकरण केही समयसम्म बबाल चल्यो ।अहिलेको सरकारको नेतृत्व गर्नेहरुलाई आफ्नो दायित्व के हो ? के हुनुपर्ने भन्दापनि प्रधानमन्त्री बन्ने, सरकारको नेतृत्वमा जाने, आफ्नो ढंगले शासन सञ्चालन गर्ने र चाहे त्यो गुटको नाममा होस्।’
देशलाई यी सबै अवस्थाबाट मुक्ति दिलाउनको लागि आफ्नो पार्टीले संसदमा आफ्ना कुरा राखेरमात्रै नहुने उनको भनाई छ । उनले भने,‘अब संसदमामात्रै कुरा राखेर हुँदैन्, नेताहरुलाई भेटेर यसो नगर्नुहोस् भनेर मात्रै नहुने स्थिति देखा परेको छ । त्यसकारणले केही समयपछि हाम्रो कार्य समितिको पनि बैठक बस्दैछ । त्यो बैठक बसिसकेपछि एउटा रणनीति निस्किन्छ । अब जनता नै उठ्नुपर्ने बेला आएको छ भन्ने हामीले महशुस गरेका छौं ।’

अहिलेका घट्ना तथा परिघट्नाहरु यस्तैगरि कायम रही रहे आफ्नो पार्टी चुप लागेर नबस्ने पनि उनले चेतावनी दिए । उनले अत्यधिक कर लगाईएको, सिण्डिकेट कायमै रहेको भन्दै सरकारको आलोचना गरे ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता दिनानाथ शर्माले सरकारलाई खबरदारी गर्ने प्रतिपक्षी दलको धर्म भएकोले राष्ट्रिय विकास निर्माणको काममा सँगसँगै मिलेर अघि बढ्नुपर्ने धारणा राखे ।
उनले भने,‘वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएको छैन्। सरकार गठन भएको भर्खरै ७ महिना भएको छ । हिजो विगतमा दुई तिहाईको दम्भ देखाएर विपीको सरकार पनि ढलेको होईन् । पार्टीभित्रकै अलोकतान्त्रिक गतिविधिका कारण विपीको सरकार ढलेको हो ।’

नेपालको लोकतान्त्रिक आन्दोलनमा आफूहरुले सँगै लडेको सुनाउँदै शर्माले आगामी दिनमा पनि मिलेर अघि बढ्नुपर्ने धारणा राखे । कालाबजारी र सामाजिक असुरक्षाका विषयमा सबै दलहरु एकजुट भएर अघि बढ्नुपर्ने पनि उनले धारणा राखे । उनले भने,‘सरकार परिवर्तन भयो भने कालाबजारीहरु हामी राजनीतिक दलकै संरक्षणमा टाउको उठाउँछन् । हिजो ०४७ सालमा भएको पनि त्यही हो । हामी सबै कालाबजारी, सामाजिक असुरक्षा र भ्रष्टाचारीको विरुद्धमा लड्नुपर्छ । जसले भ्रष्टाचार गरेका छन्, कर्मचारी पनि पक्राउ परेका छन् । अरु पनि पक्राउ परेका छन् । ती कसको झण्डामुनि पक्रिएका छन् ? भनेर हामी सम्पूर्ण राजनीतिक दलहरुले आत्मसमिक्षा गर्नुपर्छ । भ्रष्टाचारका विरुद्ध सत्तापक्ष र प्रतिपक्ष सबै एक ढिक्का भएर लड्नुपर्छ ।’
भ्रष्टाचारीहरुप्रति अब सबै दल अनुदार बन्नुपर्ने उनको धारणा छ । उनले राष्ट्रिय गौरवको आयोजना निर्माण गर्ने विषयमा कसैले विरोध गर्न नहुने उनले बताए । उनले भने,‘यो ७० वर्षको अवधिमा उर्जामा हामीले कति विकास गर्यौं ? अब समिक्षा गरौं । लायक भनेपनि हामी नैं हौं । नालायक भनेपनि हामी नै हौं ।’ सरकारको बारेमा आलोचना र विरोध गरेरमात्रै विकार र समृद्धि नहुने उनले जिकिर गरे ।

फरक प्रसँगमा उनले मधेशको मुद्दा सम्बोधन गर्न आफूहरु तयार रहेको विश्वास दिलाए । उनले भने,‘संविधान संशोधन गर्नैपर्छ । राष्ट्रिय सहमति कायम गरेर संशोधन गर्नुपर्छ । यसमा एकरुपता कायम गर्नुपर्छ ।’
राष्ट्रिय जनता पार्टी नेपालकी महामन्त्री एवम् सांसद चन्दा चौधरीले छठसम्म पनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीले निर्णय गर्ने स्पष्ट पारिन् । उनले भनिन्,‘छठपछि पार्टीको केही न केही निर्णय हुन्छ । पार्टीको निर्णयपछि हामी सरकारलाई समर्थन दिईराख्ने नै हो भन्ने छैन । समर्थन फिर्ता लिनपनि सकिन्छ । हाम्रा मागहरुपनि छन्, यदि ती पूरा भएनन् भने हामी छठपछि हामी निर्णय लिन्छौं ।’

संविधानलाई लिएर एउटै देशमा कतै दिपावली र कतै कालो दिवस मनाउँदा मुलुक समृद्ध हुन नसक्ने उनको ठोकुवा छ । उनले भनिन्,‘संविधानमा अहिलेपनि हाम्रो असहमति छ । संविधान संशोधनको लागि मधेशमा विद्रोह भयो । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र हुनुपर्छ । एउटै देशमा संविधान दिवसको दिनमा कतै दिपावली मनाउने र कतै कालो दिवस मनाईएको छ । यसले प्रधानमन्त्रीको समृद्ध नेपाल र सुखी नेपाली भन्ने उद्देश्य पनि पूरा हुँदैन् । मुलुकको विकासको लागि सबैलाई समेट्नुपर्छ ।’

मधेश आन्दोलनका क्रममा सहिद भएका, घाईते, अपांग भएकाहरुलाई अहिलेसम्मपनि सरकारले केही नगरेको उनले गुनासो पोख्नि। उनले भनिन्,‘आन्दोलनको क्रममा सयौं हाम्रा नेता तथा कार्यकर्ताहरुलाई झुठा मुद्दा लगाईएको छ । अहिलेसम्म खारेजी गरिएको छैन् । सरकारसँग हामीले बारम्बार यही कुरा उठाउँदै आएका छौं । संविधान संशोधन गर्न र झुठा मुद्दा फिर्तालगायत अन्य मागहरु पूरा गराउनको लागि सरकारलाई समर्थन दिएका हौं । र, जुन अहिलेपनि जारी छ ।’

उनले बहुमत प्राप्त सरकार भएकोले उसले गरेका निर्णयहरु आफूहरुलाई मान्य भएको सुनाईन् । यद्धपी उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हैकमीवादी रुपमा अगाडि बढेको पनि आरोप लगाईन् । उनले भनिन्,‘विद्येयक ल्याउँदापनि नामको लागि छलफल गरियो, तर बहुमतको दम्भका आधारमा पारित गरियो ।’
२ नम्बर प्रदेश अहिलेपनि गरिबीको रेखामुनी रहेको सुनाउँदै उनले भनिन्,‘२ नम्बर प्रदेश अहिलेपनि गरिबीको रेखामुनी छ । जनसंख्याको आधारमा बजेटको वर्गीकरण गरियोस भन्यौं तर त्यो पनि भएन । विगतमा जे हुन्थ्यो त्यही भयो ।’

त्यस्तै उनले मुलुकमा पछिल्लो समय दिनहुँ महिला हिंसा, हत्या र बलात्कारजस्तो सामाजिक अपराधका घट्नाहरु बढिरहेको भन्दै चिन्ता व्यक्त गरिन् । उनले भनिन्,‘सरकारले अहिलेसम्म बलात्कारीजस्ता अपराधीहरुलाई पत्ता लगाउन सकेको छैन् । ठूलाबडाको मान्छेहरु बचाउने, संरक्षण गर्ने काम भएकोे अहिलेसम्म हिंसामा संलग्न व्यक्तिहरु सार्वजनिक हुन सकेका छैनन् । यसमा गृह मन्त्रालयको असफलता छ । प्रधानमन्त्रीजस्तो मान्छे संयुक्त राष्ट्रसंघमा गएर बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई पत्ता लगाउन १२ वर्षपनि लाग्न सक्छ भन्नुभयो । १२ वर्ष किन लाग्छ  ? हामी १२ दिनमा खोजौं न । यसरी हेर्दा सरकारले यसमा विशेष ध्यान दिएको छैनजस्तो मलाई लागेको छ ।’

सरकार कुनैपनि हालतमा सफल नभएको उनको दाबी छ । उनले भनिन्,‘अहिले कुनै चिजको निश्कर्ष सकारात्मक आएको छैन् । सरकार अहिले बहुमतले सफल छ । तर, काम र परिणामको हिसाबले पूर्ण असफल देखिरहेको छ । सरकारको गतिवधि र कामहरु हेर्दा असफलताको दिशातर्फ उन्मुख छ ।’

देशमा अहिले मधेशको मुद्दामात्रै नभएर आम जनतापनि सुरक्षित नरहेको उनले गुनासो पोखिन् । उनले भनिन्,‘आम जनतापनि अहिले सुरक्षित छैनन् । सुरक्षा निकाय कमजोर भैरहेको छ। म्हिला तथा युवतीहरु सुरक्षित छैनन् । मुलुकमा रोजगारी छैन । अहिलेसम्म बृद्धबृद्धाहरुलाई केही राहत भएन् । भक्ता पनि बढाईएन् । सहायतापनि दिईएन् । एसिड प्रहार गरेर महिलाहरु मारिएका छन, त्यहाँ क्षतिपूर्ति पुगेको छैन् ।’

बलात्कारीहरुलाई संविधान संशोधन गरेर भएपनि फाँसी दिनुपर्ने उनले माग गरिन् । उनले भनिन्,‘बलात्कारीलाई फाँसीको सजाय दिनेगरि कानून बनाउनुपर्छ । आजिबन कारागारलेमात्रै हुँदैन् । पछि आममाफी भैहाल्छ । पछि गएर ठूलाबडाको छोरा होला । कोही एसपी नै होला । कोही डिएसपी नै होला । कोही आईजीपी नै होला। कोही मन्त्री नै होला । त्यो छुट्छ । त्यही भएर म भन्छु बलात्कारीलाई फाँसीकै सजाय हुनुपर्छ । मृत्युदण्डको सजाय नै दिनुपर्छ । बलात्कारीलाई फाँसी दिईयो भने यस्ता घट्नाहरु कम हुन्छन् ।’


 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan