Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नोट अफ डिसेन्टको कुनै अर्थ छैन, सर्वसम्मत नभए बहुमत प्रयोग हुन्छ : नेता विश्वकर्मा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ८ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाण्डौ, ८ कात्तिक । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक कहिले बस्ने भन्नेमा अन्योल देखिएको छ । दशैँलगत्तै बैठक बस्ने भनिएपनि आजसम्म बैठक बस्ने मिति तय हुन नसकेको हो ।

असोज २१ मा बसेको केन्द्रीय कार्यसमिति बैठकले बहुमतका आधारमा नेविसंघमा ३२ बर्से उमेरहद तोकेपछि शीर्ष नेतृत्वबीच मनमुटाव बढ्दै गएको छ । फलस्वरूप असोज २५ मा बोलाइएको बैठकसमेत स्थगत भएको थियो ।

नेविसंघको उमेरहदका कारण बैठक प्रभावित भएको भनिए पनि यसबीचमा नेता चक्र बास्तोलाको निधन भएकाले बैठक अन्योलमा परेको कतिपय नेताको जिकिर छ ।

बास्तोलाको आज १३ औँ पुण्य तीथि हो । नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले बास्तोलाको निधनका कारण कांग्रेस शोकमा परेकाले बैठक प्रभावित भएको बताएका हुन् ।

तर बैठक भइहाले पनि सभापति शेरबहादुर देउवा इतरका नेताले बहिष्कार गर्ने चेतावनी दिएका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले असोज २१ को बैठकमा नोट अफ डिसेन्ट लेखेर विरोध जनाएका थिए ।

विश्वकर्माले भने नोट अफ डिसेन्ट लेख्नुको तात्विक अर्थ नरहने तर्क गरे । यद्यपी पार्टीमा सकेसम्म सर्वसम्मतिको पहल हुने उनले बताए । सर्वसम्मत हुन नसके बहुमतकै प्रयोग गरिने विश्वकर्माले स्पष्ट पारेका छन् ।

उनीहरू नेविसंघले सर्वसम्मत तरिकाले पार्टीमा पेस गरेको विधान लागू हुनुपर्ने पक्षमा छन् । तर सहमहामन्त्री डा. प्रकाशशरण महतको प्रस्तावलाई सभापति देउवाले बहुमतबाट पास गराएपछि वरिष्ठ नेता पौडेल, नेता सिटौला, सिंह र केसीले पछि बस्ने बैठकमै उपस्थित नहुने चेतावनी दिएका थिए ।

कांग्रेसले नेविसंघको विधान पारित नगर्दा कात्तिक १६ देखि हुने भनिएको महाधिवेशन प्रभावित हुने देखिएको छ ।

अर्कोतिर दशैँअघि नै तीर्थयात्राका लागि भारत गएका वरिष्ठ नेता पौडेल काठमाडौं फर्किएपछि पार्टीको बैठक गर्ने तयारी भइरहेको बताइएको छ ।

नेविसंघले कात्तिक १६ मा महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । असोज ९ देखि नै महाधिवेशनका अन्य कार्यतालिकासमेत सार्वजनिक गरेको नेविसंघले त्यसलाई समेत पूरा गर्न सकेको छैन । मंसिर पहिलो साताभित्र नेविसंघको महाधिवेशन गर्नुपर्ने बाध्यता छ ।

नेता विश्वकर्माले सभापति शेरबहादुर देउवाले विधानअनुसार नै काम गरिरहेको दावी गरेका छन् ।

नेविसंघको उमेरहद विवाद पनि अनावश्यक भएको नेता विश्वकर्माको दावी छ । “नेविसंघको उमेरहद ३२ वर्ष बनाउने निर्णय २ वर्ष तीन महिना अगाडि भएको हो । १२ औँ महाधिवेशनदेखि ३२ वर्षे हद लगाउने निर्णय भएको थियो । अहिले त कार्यान्वयन गर्न लागिएको मात्रै हो ।” विश्वकर्माले भने ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै विश्वकर्माले पार्टीभित्र सकेसम्म सर्वसम्मत र त्यो नभएको खण्डमा विधानअनुसार बहुमतका आधारमा निर्णय हुने गरेको जिकिर गरे ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan