Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

देउवा बोल्न नसकेका होलान् ...? कांग्रेसको दुर्गति बनाउने चिन्नुस् !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १८ मंगलबार |
newsabhiyan
newsabhiyan

नेपाली कांग्रेस विचित्र मनोदशामा छ । यो प्रमुख प्रतिपक्षी हो तर यसको न कुनै शाख देखियो, न कुनै हैसियत देखियो । सभापति छन् शेरबहादुर देउवा । समाजमा उनको प्रभाव पहिल्यैदेखि थिएन, अहिले झन देखिएन । नेपाली राजनीतिमा शेरबहादुर देउवा छन् र ? यस्तो प्रश्न गरे हुने अवस्था छ । देउवाको चर्चा हुन्छ सिर्फ कांग्रेसको आन्तरिक झगडामा । यो बाहेक उनको कुनै हैसियत र उपादेयता देखिएन ।

 


सरकारले हालै सामाजिक सुरक्षा कार्यक्रम ल्यायो । नयाँ युग आयो भन्दै निक्कै हल्लाखल्ला गरेर ल्याइएको कार्यक्रम बारे देउवाको कुनै टिप्पणी आएन । सामाजिक सुरक्षा कार्यक्रममा विरोध गर्ने ठाउँ खासै छैन, कांग्रेसका कतिपय नेताहरूले कार्यक्रम राम्रो हो ‘तर...’ भन्दै विरोध गरेको देखियो तर देउवाको आवाज सुनिएन ।

काठमाडौंमा यूनिभर्सल पीस फेडेरेशनले विदेशी नेताहरू ल्याएर ठूलो कार्यक्रम ग¥यो, नेपाली कांग्रेसले कार्यक्रममा सहभागी नहुने निर्णय ग¥यो तर देउवा आफै अगाडि सरेर बोलेनन् । मिडियाहरूमा आए अनुसार कार्यक्रम आयोजकका विभिन्न संस्थामध्ये एउटामा देउवा पत्नी आरजू पनि संलग्न छिन् । त्यही भएकाले देउवा बोल्न नसकेका होलान् । देउवा बोल्दैनन् । उनी घुसघुसे राजनीति गर्छन् । नबोल्ने भनिएका सुशिल कोइराला पार्टी सभापति बनेपछि बोलक्कड बनेका थिए ।

प्रायजसो राष्टिय घटनामा उनी बोल्थे । शेरबहादुर केही बोल्दैनन्, उनी आफ्नो निवास बुढानीलकण्ठको बैठक कोठामा मात्र बोल्छन् भन्ने गरेका छन् कांग्रेसकै कार्यकर्ताहरूले । शेरबहादुर मानिस हुन् । एकदिन उनको चोला उठ्ने नै छ । ठूला नेताको चोला उठेपछि ती नेताका भाषण र विचारहरू चर्चाको विषय बन्छ । उनका सपना यस्ता थिए भनी चर्चा गरिन्छ । तर, शेरबहादुर देउवा राष्ट्रिय राजनीतिका यस्ता मुख्य नेता हुन् जसको शेषपछि उनका विचार यस्ता थिए भनी चर्चा गर्ने मौका खासै पाइने छैन ।

शेरबहादुरको सभापतित्वकालमा नेपाली कांग्रेस पाताल पुगेको छ । प्रमुख प्रतिपक्षी छ कांग्रेस तर यसको उपस्थिति कहिँकतै देखिँदैन । सडकमा अरु नै तत्वले कब्जा जमाएका छन् । नागरिकका स्वस्फूर्त भनिएका कथित सरकार विरोधी कार्यक्रमहरूमा कांग्रेसको झण्डा निषेधित झैं छ । संसदमा कांग्रेसका एकदुईजना वक्ता सांसद छन् ।

 

उनीहरू दमदार भाषण गरेर आफ्नो व्यक्तिगत विज्ञापन गरेर बाटो लाग्छन् । संसदमा कांग्रेसको नभएर कांग्रेसका एकदुईजना सांसदको उपस्थिति देखिन्छ । कांग्रेस न संसदमा प्रभावकारी देखियो न सडकमा । यसको जिम्मेवारी सभापति देउवाले नै लिनुपर्छ भन्नेहरूको जमात ठूलो छ तर देउवा सबै चिज लिन्छन् सिर्फ एक चिज लिँदैनन् । त्यो हो जिम्मेवारी । चुनाव हारेको जिम्मेवारी देउवाले लिएनन् । जबकि विगतमा संविधानसभा चुनावमा पराजित हुँदा त्यसबेलाका कार्यवाहक सभापति सुशील कोइरालाले जिम्मेवारी लिँदै राजीनामा दिएका थिए ।

देउवा यतिबेला पार्टीको आन्तरिक कलहमा व्यस्त देखिन्छन् । उनको गुट यतिखेर खतरामा देखिएको छ । पार्टीभित्र गुट समाप्त पार्ने जिम्मेवारी सभापति देउवाको हो तर उनी आफै गुट बलियो बनाउन व्यस्त देखिन्छन् । उनको निवास आफ्नो गुटको भेला हुने थलो भएको छ । केन्द्रीय समितिको बैठकका बेला मात्र पार्टी कार्यालय पुग्ने देउवाले अहिले विधानमा चलखेल गरिरहेको देखिंदैछ । विधानमा मनोनीत प्रथालाई अविच्छिन्न कायम राख्ने चक्करमा देउवा देखिन्छन् ।

जबकि उनले अधिनायकवादी भनी आरोप लगाएको नेकपामा भने मनोनीत प्रथा छैन । नेतृत्वका सबै पदहरूमा निर्वाचन हुन्छ । अरुलाई अधिनायकवादी भन्ने देउवा पार्टीभित्र आफू चाहिं अधिनायकवादी बन्दै गइरहेका छन् । उनलाई सहकर्मीहरूले अधिनाकयकवादीको आरोप लगाइरहेका छन् । देउवाले अरुलाई अधिनायकवादी भन्ने, देउवा स्वयंलाई चाहिँ पार्टीभित्रबाट अधिनायकवादीको आरोप लाग्ने † देउवाको सेरोफेरोमा रमाइलो राजनीति भइरहेको छ ।

नेकपाका कतिपय नेताहरू ठट्टा गर्दै कांग्रेसको आउँदो महाधिवेशनमा पनि देउवा नै सभापति निर्वाचित भइदिए हुने भन्छन् । कारण प्रष्ट छ, देउवाको नेतृत्व रहेसम्म कांग्रेस उँभो लाग्दैन । कांग्रेसको ओरालो गतिको मुख्य कारण देउवा हुन् भनी पार्टी भित्रबाट पनि भनिँदैछ र पार्टी बाहिरबाट पनि त्यस्तै देखिँदैछ । रमाइलो के छ भने पार्टीलाई यो बेहाल अवस्थामा पु¥याइसकेपछि पनि देउवा पुनः पार्टी सभापति बन्न कस्सिएका छन् ।

देशमा क्रियाशील राजनीतिक दलको आन्तरिक गतिविधि, दलको नेतृत्व चयन सो दलमा आबद्धहरूको मात्र सरोकारको विषय हुन सक्दैन । सारा मतदाता र सम्पूर्ण देशवासीको सरोकार र चासोको विषय हो । लोकतन्त्रको इन्जिन चलाउने दलहरूले नै हो र दल चलाउने नेतृत्वले हो । कांग्रेसले कस्तो नेतृत्व चयन गर्छ भन्ने सबैको सरोकारको विषय हो ।

यतिखेर कांग्रेस महाधिवेशनको दौडमा छ । दौडको पहिलो ढोका महासमिति बैठक हो तर सो बैठक नै नगर्ने र सार्ने कसरतमा देउवा लागेका छन् । हुन त कांग्रेस विधान अनुसार हरेक वर्ष महासमिति बैठक बस्नुपर्छ । विगतका सभापतिहरूको पालामा बसेन नै, देउवाको पालामा पनि बसेको थिएन । महासमितिले विधान संशोधन गर्ने भनिएको छ । विधानलाई मनोनीत प्रथाको अलोकतान्त्रिक बनाउने देउवाको कसरत बहुमतको बलमा सफल हुन पनि सक्छ ।


लोकतन्त्रका लागि ठूलो योगदान गरेको नेपाली कांग्रेस जस्तो पार्टीमा लोकतान्त्रिक विधिबाट लोकतान्त्रिक नेता निर्वाचित होउन् भनी कामना गर्नैपर्छ । तर, बुढो गोरुले के ओगटेको भनेजस्तै देउवाले पार्टीको सभापति पद ओगटेका छन् । आगामी दिनमा पनि ओगट्ने र कांग्रेस जस्तो इतिहास भएको पार्टीलाई समाप्त पार्छन् भन्ने चिन्ता कांग्रेसभित्रै पनि बढेको छ ।

विधिविधानमा नचल्ने पार्टीका रुपमा कांग्रेस पहिलेदेखि नै बदनाम छ । देउवाको कार्यकालमा थप बदनाम बनिरहेको छ । नेपालमा कम्युनिष्ट पार्टीको समानान्तरमा कुनै पार्टी छ भने नेपाली कांग्रेस नै हो । यति ऐतिहासिक पार्टीले हाल भोगिरहेको दुर्गति सो पार्टीभित्रको मात्र आन्तरिक विषय बन्नु हुँदैन । कांग्रेसको आगामी गति र दुर्गति बारे सो पार्टीभित्र चलिरहेको बहस सार्वजनिक विषय बन्नुपर्छ । शेरबहादुर प्रवृत्तिलाई नेपाली राजनीतिको मूल प्रवृत्ति बन्न नदिने तर्फ सबै सचेत हुनुपर्छ । साँघुबाट । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan