Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सम्बन्धविच्छेदमा पुरुष सक्रियता ! कता जाँदै छ समाज ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १९ बुधबार |
newsabhiyan
newsabhiyan

बबिता बस्नेत, मुलुकी देवानी संहिता कानुनले पुरुषलाई पनि सम्बन्धविच्छेदको अधिकार दिएपछि अहिले सम्बन्धविच्छेदका लागि पहल गर्ने पुरुषको सङ्ख्या सोचेभन्दा बढी पाइएको छ ।

स्थानीय निकायदेखि सुरक्षा निकायका लैङ्गिक शाखाहरू हुँदै अदालतसम्म पुरुषले पत्नीसँग सम्बन्धविच्छेदका लागि निवेदन हाल्ने क्रम बढिरहेको छ । यसअघि महिलाले चाहेमा मात्र सम्बन्धविच्छेद गर्न सक्ने प्रावधान थियो ।

अहिले कानुन लागू हुनासाथ जसरी पुरुषको तर्फबाट मुद्दाहरू दायर हुन थालेका छन् त्यसले नेपाली समाजमा पति–पत्नीका सम्बन्धहरू कति देखावटी रूपमा बाँचिरहेका रहेछन् भनी अनुमान गर्न सकिन्छ ।

नेपाली पुरुषहरू आफ्ना पत्नीबाट छुटकारा पाउन यति धेरै व्यग्रताका साथ प्रतीक्षामा थिए भन्ने ठानिएको थिएन । केही मुद्दा परे भन्दैमा सबैलाई सामान्यीकरण गर्न त मिल्दैन, तर यसबाट परिस्थितिको आकलन भने गर्न सकिन्छ । पति–पत्नी दुवैले चाहेमा कुनै पनि समय सम्बन्धविच्छेद हुन सक्छ ।

पतिले चाहेमा पत्नीको मञ्जुरी नभए पनि सम्बन्धविच्छेद गर्न सक्ने व्यवस्था पहिलोपल्ट भएको हो । कानुनअनुसार अंश लिई भिन्न बसेको अवस्थामा, पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष अलग बसेमा, पत्नीले पतिलाई खान–लाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको चाल वा प्रपञ्च गरेमा, पत्नीले अन्य पुरुषसँग यौनसम्बन्ध राखेको ठहरेमा पतिले सम्बन्धविच्छेद गर्न पाउँछ ।

पत्नीले सम्बन्धविच्छेद गर्न पाउनेमा उल्लिखित सबैलगायत पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा भन्ने थप बुँदा उल्लेख छ ।

महिला र पुरुष जसको तर्फबाट गरिएको भए पनि सम्बन्धविच्छेदको मूल्यचाहिँ अन्ततः महिलाले चुकाउनुपरेका देखिन्छ । पति–पत्नीको सम्बन्ध टुटेपछि धेरैजसो पुरुषले अर्को विवाह गर्ने र महिलाले बच्चा सम्हाल्ने गरेको पाइएको छ ।

हाम्रो समाजको दृष्टिकोण र मान्यता पनि पुरुषलाई एक्लै बस्न गाह्रो हुन्छ भन्ने नै छ । बच्चा भएका धेरैजसो महिला आफ्नो सन्तानप्रतिको उत्तरदायित्व र लगावका कारण बाध्यात्मक अवस्था नआएसम्म अर्को विवाहमा जान सक्दैनन् । यसप्रकारको परिस्थितिमा बाध्यात्मक अवस्थाको अर्थ आर्थिक र सामाजिक सुरक्षा नै हो ।

यहाँ सबैलाई स्वतन्त्र भएर बाँच्न मन छ, तर अरूको स्वतन्त्रतामाथि हस्तक्षेप गर्नुहुन्न भन्नेचाहिँ छैन । म कहाँ गएको थिएँ या कोसँग थिएँ भनेर अरूले चासो नराखिदिउन् भन्ने लाग्छ, तर ऊ कहाँ गएको थियो या कोसँग, के गर्दै थियो या गर्दै थिई त्यसको विवरण भने तत्काल चाहिएको छ ।

अपवादलाई छोडेर सम्बन्धविच्छेदपछि प्रायः बाबुहरूले पैसालाई आफ्नो उत्तरदायित्व ठान्दै आएको देखिन्छ भने आमाहरूले हेरचाह, स्वास्थ्य, शिक्षा, भावनात्मकदेखि मनोवैज्ञानिक समस्याहरूलाई समेत आत्मसात् गर्ने गरेका छन् । त्यसो त, कतिपय आमाबाबु दुवैले बच्चालाई नितान्त एक्लो छोडेका उदाहरण पनि छन् ।

कतिपयचाहिँ आमाकै कारण बिचल्लीमा पर्ने सन्तान पनि छन् । मानिसलाई एउटै परिभाषामा समेट्न नसकिने हुँदा यस्तै नै हुन्छ भनेर सुनिश्चित त गर्न सकिँदैन, तथापि आमप्रवृत्तिलाई केलाउँदा आफ्ना सन्तानप्रति महिला बढी उत्तरदायी देखिएका छन् ।

‘लेभल अफ अन्डरस्ट्यान्डिङ’ मिल्यो भने विवाह सुन्दर संस्था हो । सम्झौताले भरिभराउ यो संस्थामा हेर्दा दुईजना जस्तो देखिए पनि हाम्रोजस्तो समाजमा धेरैजनाको उपस्थिति रहने गरेको छ ।

सदियौँदेखि एक–अर्कामा जिनको रूपान्तरण भएर अघि बढेका दाजुभाइ तथा दिदीबहिनीबीच त सम्बन्ध सधैँ एकनासको हुँदैन भने नितान्त भिन्न पृष्ठभूमिका व्यक्तिहरूबीचको सम्बन्धमा उतारचढावहरू आउनु स्वाभाविक हो । स्वाभाविक घटनाक्रमहरू बढ्दै गएर जब अस्वाभाविक बन्न पुग्छन् तब सम्बन्ध जोगाइराख्नुपर्ने अवस्था हुँदैन ।

नेपालको सन्दर्भमा हेर्ने हो भने केहीअघिसम्म सम्बन्धविच्छेदलाई पश्चिमा संस्कृति भन्ने गरिन्थ्यो, तर अब यो घर–घर की कहानी बनिसकेको छ । यहाँ सबैलाई स्वतन्त्र भएर बाँच्न मन छ, तर अरूको स्वतन्त्रतामाथि हस्तक्षेप गर्नुहुन्न भन्नेचाहिँ छैन ।

म कहाँ गएको थिएँ या कोसँग थिएँ भनेर अरूले चासो नराखिदिउन् भन्ने लाग्छ, तर ऊ कहाँ गएको थियो या कोसँग, के गर्दै थियो या गर्दै थिई त्यसको विवरण भने तत्काल चाहिएको छ । पति–पत्नीबीच सम्बन्धमा दरार आउनुमा प्रायः एक–अर्काबीच विश्वासको सङ्कट प्रमुख कारण देखिन्छ । अहिले आउने सम्बन्धविच्छेदका धेरैजसो मुद्दाहरू शङ्का–उपशङ्कासँग सम्बन्धित हुने गरेका छन् ।

विवाहलाई कतिले व्यवस्थित यौनसम्बन्धसँग जोडेर हेरेका छन् भने कतिले सन्तान उत्पादनसँग गाँसेर । स्वभाव, पृष्ठभूमिलगायत समग्रमा फरक मान्छे एकै ठाउँ मिलेर बस्न सक्नु आफैंमा ठूलो कुरा हो । आफ्नो जीवनसाथी मजस्तै हुनुपर्छ भन्ने चाहना धेरैको हुन्छ, जुन सम्भव नै छैन ।

पारस्परिक आदरभावको अभावमा सम्बन्ध टिकाइराख्न गाह्रो हुन्छ । पति–पत्नीबीच खड्किने सबैभन्दा ठूलो कुरा पनि त्यही ‘म्युचियल रेस्पेक्ट’ नै हो । विवाह जसरी भएको भए पनि विच्छेदसम्म पुग्नका लागि अनेक उतारचढावबाट गुज्रनुपर्ने हुन्छ ।

धेरैजसो प्रेमविवाहहरू चाँडै टुट्ने गरेका छन् । कतिचाहिँ समयक्रममा प्रेम हराएर विवाहमा मात्रै सीमित भई देखावटी जीवन बाँचिरहेका भेटिन्छन् । जब एक–अर्काप्रतिको भ्रम टुटेर जुट्नै नसक्ने अवस्था आउँछ तब मानिसहरू कानुनी प्रक्रियामा जान्छन् ।

धेरैजसो प्रेमविवाहहरू चाँडै टुट्ने गरेका छन् । कतिचाहिँ समयक्रममा प्रेम हराएर विवाहमा मात्रै सीमित भई देखावटी जीवन बाँचिरहेका भेटिन्छन् ।

यद्यपि भ्रम टुट्नुको अर्थ जीवनको यथार्थ बुझ्नु हो, वास्तविक धरातलमा पुग्नु हो । जीवनको यस्तो वास्तविकता जो आफूबाट शुरु भएर आफू मात्रैमा अन्त्य हुन्छ । जतिसुकै माया गर्ने या साथ दिने वाचा गरेका भए पनि जीवनसाथीले मृत्युका बेला म पनि तिमीसँगै जान्छु नि भनेको सुनिएको छैन । अपवाद त जहाँ पनि हुन्छ । बाँच्न जान्यो र जिउन सक्यो भने जीवन आफैँमा पूर्ण छ । अधुरा त हाम्रा चाहना मात्रै हुन् ।

विवाह र पतिलाई लिएर त्यसै पनि हाम्रो समाजमा महिला असुरक्षित महसुस गर्थे, गर्छन् । ज्योतिषीकहाँ चिना बोकेर लाइनमा बसेका महिलामध्ये धेरैको जिज्ञासा आफ्नो पतिलाई लिएर हुन्छ । उसको कसैसँग सम्बन्ध छ कि, मलाई पछिसम्म राम्रो गर्छ कि गर्दैन आदि । महिलाको यस्तो असुरक्षित भावनाको फाइदा उठाउने ज्योतिषीको सङ्ख्या गाउँदेखि सहरसम्म ठूलै छ । हाम्रो मुलुक मात्र होइन, हाम्रा सम्बन्धहरू पनि सङ्क्रमणकालबाट गुज्रिरहेका छन् ।

महिलाको ‘लेभल अफ अन्डरस्ट्यान्डिङ’ फरक भइसक्यो, अधिकांश पुरुषको दृष्टिकोणमा सुधार आएको छैन । महिला र पुरुषबीच विषयलाई हेर्ने दृष्टिकोण र बुझाइमा असमानताको दूरी बढ्दै जाँदा यसले समाजलाई केही वर्ष अस्तव्यस्त बनाउने देखिन्छ । कम्युनिस्टको भाषामा भन्ने हो भने पुनर्निर्माणका लागि ध्वंश जरुरी छ ।

मुलुकको संरचनामा मात्र होइन, सम्बन्धको संरचनामा पनि यो लागू हुँदै छ, हुनेवाला छ । अमेरिकामा सन् २००० मा सम्बन्धविच्छेदको मात्रा ४० प्रतिशत थियो अहिले ३२ प्रतिशतमा झरेको छ । कति मुलुकमा चाहिँ विवाहमै कमी आउन थालेको छ । जापान, नर्वेलगायतका मुलुकमा महिला विवाहका लागि उत्साहित हुन छोडेका छन् ।

सम्बन्धविच्छेदको कानुन नै नभएको देश विश्वमा एउटै छ, फिलिपिन्स । त्यहाँ छुट्टिने कानुन नभएका कारण मानिस विवाह गर्न डराउँछन् रे । कहीँ छुट्टिनुपऱ्यो भन्ने पिर, कतै छुट्टिन पाइँदैन भन्ने चिन्ता । कानुन नहुँदाको समयमा कतिपय पुरुषले एक–अर्कामा मन नमिल्दानमिल्दै पनि जबर्जस्ती सँगै बस्नुपर्ने बाध्यता थियो । अहिले हट्यो, राम्रै भयो ।

मन नमिलिनमिली रातदिन झगडा गर्दै एउटै छानोमुनि बस्नुभन्दा अलग भएर आफ्नै तरिकाले जीवन बिताउनु ठीक हो । महिला पुरुष दुवैले यो रोजाइ प्राप्त गर्नुपर्छ ।

तर, हाम्रोजस्तो समाजमा पुरुषलाई अहिले जुन कानुनी अधिकार मिलेको छ त्यसको दुरुपयोग हुने सम्भावना धेरै देखिएको छ ।

कानुनको दुरुपयोग हिजो कतिपय महिलाबाट पनि भयो होला, तर हाम्रो समाजको संरचना, महिलाको आत्मनिर्भरताको अवस्थादेखि धेरै पक्षबाट हेर्दा अहिले पुरुषको तर्फबाट जसरी सम्बन्धविच्छेदका मुद्दाहरू दायर भइरहेका छन् त्यसको असर महिलालाई मात्र नभएर अन्ततः समाज र मुलुकलाई नै पर्ने देखिन्छ । घटना र विचारका साथमा । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan