Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मैथिली भाषा र संस्कृतिको अनादर

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १९ बुधबार |
newsabhiyan
newsabhiyan

निमिष झा, प्रदेशको नाम र राजधानीबारे सुझाव दिन आयोग बनेपछि प्रदेश २ मा अहिले भाषाको बहस सुरू भएको छ । प्रदेशको नामसँगै भाषा पनि जोडिएकोले प्रदेशको आधिकारिक भाषा के राख्ने भन्ने बहस प्रारम्भ भएको हो ।

प्रदेशसभा सांसद र दलका नेता मात्र होइन, जनस्तरमा पनि प्रदेशको भाषालाई लिएर बहस सुरू भएको छ । प्रदेशको नाम, स्थायी राजधानी र भाषाबारे सुझाव दिन प्रदेश सरकारले कात्तिक ११ गते डा. हरिवंश झाको सयोजकत्वमा तीन सदस्यीय आयोग गठन गरेको हो ।

प्रदेशको नाम र राजधानीबारे प्रदेशसभाको दुई तिहाईले निर्णय गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश २ को सत्तारूढ संघीय समाजवादी फोरम र राजपा प्रदेशको नाम मधेश राख्ने र भाषा हिन्दी राख्ने पक्षमा देखिएका छन् भने प्रतिपक्षी नेकपा र कांग्रेस ‘मधेश’ नाम कुनै हालतमा स्वीकार नगर्ने अडानमा छन् । उनीहरू प्रदेशको नाम मिथिला र भाषा मैथिली हुनुपर्ने बताउँदै आएका छन् ।

भारतीय उपद्वीपमा नेपाल र भारत कुनै देश निर्माण नभएकै समयदेखि मिथिला रहेको थियो । प्रदेश २ पनि मिथिला क्षेत्रभित्रै रहेकाले यसको नाम मिथिला प्रदेश हुनुपर्छ । दक्षिणमा शिवगंगा, उत्तरमा मानसरोबर (कैलाश), पूर्वमा कोशी र पश्चिममा गण्डक भएको मिथिलाको सगौरव इतिहास अहिले पनि कामय छ । पूर्वी सभ्यता र दर्शनमा मिथिलाको महत्व छ ।

प्रदेश २ मा मैथिली भाषा पहिलो स्थानमा रहेको छ । त्यहाँ मैथिली भाषालाई सरकारी कामकाजको भाषा प्रयोग गर्न कठिनाइ देखिँदैन । मैथिली भाषामा अध्ययन–अनुसन्धानको लामो परम्परा रहेको छ ।

यो भाषा विश्वविद्यालय तहमा समेत पठनपाठन हुने गर्दछ । त्यसकारण पनि आवश्यक कानुनी व्यवस्था मिलाएर यसलाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न सकिन्छ । मैथिली भाषामा संरचनागत विकास पनि भएकाले यसको मानकीकरणमा त्यति जटिलता छैन ।

मैथिली भारोपेली भाषा हो जुन मुख्य रूपमा भारतको उत्तरी बिहार र नेपालको पूर्वी मधेशका क्षेत्रहरूमा बोलिन्छ । यो प्राचीन भाषा समूह भारोपेली भाषा परिवार अन्तर्गत पर्दछ र भाषाशास्त्रको हिसावले बङ्गाली, आसामी, उडिया र नेपालीसँग यसको धेरै निकट सम्बन्ध छ ।

यो भाषाको आफ्नै तिरहुता लिपि रहेता पनि यसको प्रयोग हाल न्यून रहेको छ । हाल मैथिली भाषा देवनागरीमा लेख्ने गरिन्छ । सन् २००२ मा मैथिली भाषालाई भारतको संविधानको आठौँ धारामा समावेश गरिएको हो ।

जसले गर्दा यस भाषालाई शिक्षा, सरकारी निकाय र अन्य आधिकारिक प्रयोजनमा प्रयोग गर्न सकिन्छ । सन् २०१५ मा मैथिलीलाई नेपालको संविधान २०७२ को भाग १, धारा ५ मा आधिकारिक भाषाको रूपमा पनि राखिएको छ ।

भारतको यो एक सबैभन्दा ठूलो भाषा अन्तर्गत पर्दछ भने नेपालको यो दोश्रो ठूलो भाषा हो । सन् २०११ सम्म यो भाषा लगभग ४ करोड ४७ लाख मानिसद्वारा बोल्ने गरिन्छ । जसमध्ये नेपालमा मात्रै २८ लाख र भारतमा ३ करोड ४७ लाख मानिसले मातृभाषाको रूपमा बोल्ने गरेका छन् ।

मैथिली भाषा यति धेरै व्यापक रहे पनि मधेशमा हिन्दीलाई सम्पर्क भाषाको रूपमा प्रयोग गर्न पाउनुपर्ने आवाज उठ्नु बिडम्बना नै हो । प्रदेश २ मा हिन्दी भाषाको स्थितिका बारेमा कुरा गर्दा नेपालको जनगणना २०६८ मा उल्लेख भएअनुसार यो भाषा मातृभाषाका रूपमा बोल्ने वक्ताहरूको संख्या भने न्यून छ ।

जनगणनाको तथ्यांकअनुसार यो नेपालको बीसौं ठूलो भाषा हो जबकी मैथिली दोस्रो ठूलो भाषा हो । हो, मधेशमा हिन्दी आम सम्पर्कको रूपमा प्रयोग भएपनि यो त्यहाँको भाषा होइन, हुन पनि सक्दैन ।
राष्ट्रिय जनगणनाको प्रतिवेदनअनुसार यस प्रदेशमा हिन्दीलाई मातृभाषाको रूपमा बोल्नेहरूको संख्या ८६२५ मात्रै छ ।

यसर्थ मातृभाषीहरूको संख्यालाई मात्र आधार लिँदा हिन्दी भाषा सजिलै सरकारी कामकाजको रूपमा प्रयोग गर्न सकिने समान भाषावैज्ञानिक आधार देखिँदैन । नेपालमा हिन्दी भाषाको विश्वविद्यालय तहमा विषयका रूपमा समेत पठनपाठन हुने गरेको छ । तर कुन भाषा कुन प्रयोजनको लागि प्रयोग गर्न सकिन्छ भन्ने कुरा एउटा मात्रै कारणले निर्धारण गर्दैन । यसका अन्य आधारहरूसमेत विचारणीय हुन्छन् ।

हिन्दीलाई कामकाजको भाषा बनाउँदा मैथिली, भोजपुरी र अवधीजस्ता मधेशमा बोलिने अन्य भाषा अन्ततः ओझेलमा पर्नेछन् । भाषिक समृद्धिका आधारमा पनि मैथिली हिन्दीभन्दा कमजोर इतिहास भएको भाषा होइन । तर हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउँदा मैथिली भाषा र संस्कृतिको अनादर हुन्छ ।

साथै हिन्दीको प्रयोग बढ्न थालेपछि बिस्तारै स्थानीय भाषाहरू विशेषगरी मैथिली, भोजपुरी र अवधीको अस्तित्व लोप हुनेछ । यसैले हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउँदा कसैको हित हुँदैन । (मधेश दर्पण फिचर सेवा)


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan