Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महाभारत–चिन्तन : सन्न्यास ठूलो कि कर्तव्य ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष १६ सोमबार |
newsabhiyan
newsabhiyan

डा. मतिप्रसाद ढकाल, अर्जुनले जतिसुकै सम्झाए पनि युधिष्ठिरले वानप्रस्थ एवं सन्न्यासीले जस्तै जीवन व्यतीत गर्ने निश्चय गर्छन् । त्यस क्रममा उनले आपूm ग्राम्य सुखहरुलाई परित्याग गरेर साधु पुरूषहरु हिँडिरहेको मार्गमा अग्रसर हुन्छु तर तिम्रो आग्रहका कारण कदापि राज्यसुख स्वीकार गर्दिनँ भनेर अर्जुनलाई जवाफ दिन्छन् ।

सम्पूर्ण किसिमका सुखहरु परित्याग गरेर वनमा रही अत्यन्त कठोर तपस्या गर्नेछु । कन्दमूल खाएर मृगहरुका साथमा विचरण गर्नेछु । दुवै समय स्नान गरेर यथासमय अग्निहोत्र गर्नेछु । अत्यन्त थोरै आहार गरेर शरीरलाई दुर्बल बनाउनेछु । वस्त्रका रुपमा मृगचर्म र वल्कल धारण गरेर शिरमा जटा पाल्नेछु ।

सर्दी, गर्मी र हावालाई सहनेछु । भोक, प्यास र तपस्यालाई सहने अभ्यास गर्नेछु । शास्त्रोक्त तपस्याद्वारा यो शरीरलाई सुकाइराख्नेछु । वनमा प्रसन्नपूर्वक निवास गर्ने पशुपक्षीहरुका मन र कानलाई आनन्द दिने नाना प्रकारका बोलीहरु सधैँ सुनिरहनेछु । वनमा फुलेका रुख र लताहरुको मनोहर सुगन्ध सुँघ्दै अनेक किसिमका सुन्दर वनवासीहरुलाई देखिरहनेछु ।

वनमा रहँदा वानप्रस्थ महात्माहरु र ऋषिकुलमा रहेका ब्रह्मचारी ऋषिमुनिहरुको पनि दर्शन गर्नेछु । मैले ‘नाप्रियाण्याचरिष्यामि किं पुनग्र्रामवासिनाम्’ (महाभारत, १२।९।९) अर्थात् कुनै वनवासीको पनि अप्रिय गर्ने छैन र ग्रामवासीहरुको त कुरै के रह्यो र ? एकान्तमा रहेर आध्यात्मिक विचार गरिरहनेछु । काँचो वा पाकेको जस्तोसुकै फल प्राप्त हुन्छ त्यही खाएर जीवननिर्वाह गर्नेछु ।

जङ्गली कन्दमूल, मीठो बोली र जलद्वारा देवता र पितृहरुलाई तृप्त गरिरहनेछु । यसरी वनवासी मुनिहरुका लागि शास्त्रमा बताइएका कठोरभन्दा कठोर नियमहरुको पालना गर्दै यो नश्वर शरीरको आयु समाप्त हुने बाटो हेरिरहनेछु । अथवा मन मोडेर मननशील सन्न्यासी हुनेछु र एकएक दिन एकएक वृक्षसँग भिक्षा मागेर आफ्नो शरीरलाई सुकाइराख्नेछु ।

शरीरमा धूलो परेको हुनेछ र शून्य घरमा मेरो निवास हुनेछ अथवा कुनै रुखको मुनि त्यसको जरामा नै बसिरहनेछु । सम्पूर्ण प्रिय र अप्रिय विचार छाड्नेछु । कसैका लागि न शोक गर्नेछु न त हर्ष नै । निन्दा र स्तुतिलाई समान ठान्नेछु ।

आशा र ममतालाई छाडेर निद्र्वन्द्व हुनेछु र कहिल्यै कुनै वस्तुको सङ्ग्रह गर्ने छैन । आत्माको चिन्तनमा नै सुखको अनुभव गर्नेछु । मनलाई सदैव प्रसन्न राख्नेछु । कहिल्यै कसैसँग कुनै कुराकानी गर्ने छैन । लाटो, अन्धो र बहिरोजस्तै भएर कसैसँग केही भन्ने छैन, कसैलाई हेर्ने छैन र कसैका कुरा सुन्ने छैन—

न शोचन्न प्रहृष्यँश्च
तुल्यनिन्दात्मसंस्तुतिः ।
निराशीर्निर्ममो भूत्वा
निद्र्वन्द्वो निष्परिग्रहः ।।
आत्मारामः प्रसन्नात्मा
जडान्धबधिराकृतिः ।
अकुर्वाणः परैः काञ्चित्
संविदं जातु कैरपि ।।
(पूर्ववत्, १२।९।१४–१५)

चारप्रकारका समस्त चराचर प्राणीहरुमध्ये कसैको पनि हिंसा गर्ने छैन । आआफ्ना धर्ममा रहेका समस्त प्रजाहरु तथा सम्पूर्ण प्राणीहरुमा समभाव राख्नेछु । न कसैलाई हाँसेर उडाउनेछु न कसैलाई टेढा आँखाले हेर्नेछु । सदैव मेरा मुखमा प्रसन्नता छाइरहनेछ र मैले आफ्ना सम्पूर्ण इन्द्रियहरुलाई पूर्णतः संयममा राख्नेछु ।

कुनैपनि मार्गबाट हिँडिरहनेछु र कहिल्यै कसैसँग आपूm हिँड्ने बाटो सोध्ने छैन । ‘न देशं न दिशं किञ्चिद् गन्तुमिच्छन् विशेषतः’ (पूर्ववत्, १२।९।१८) अर्थात् कुनै खास ठाउँ र दिशातर्पm जाने इच्छा पनि राख्ने छैन । कहीँ पनि म जानुको कुनै विशेष उद्देश्य हुने छैन । न अगाडि जाने उत्सुकता हुनेछ न त पछाडि फर्केर नै हेर्नेछु । सरलभावले रहनेछु । मेरो दृष्टि अन्तर्मुखी हुनेछ । स्थावर–जङ्गम प्राणीहरुलाई बचाउँदै अगाडि बढिरहनेछु ।

स्वभावस्तु प्रयात्यग्रे
प्रभवन्त्यशनान्यपि ।
द्वन्द्वानि च विरूद्धानि
तानि सर्वाण्यचिन्तयन् ।।
(पूर्ववत्, १२।९।२०)

अर्थात् स्वभाव अघिअघि जान्छ, भोजन पनि आफसेआफ प्रकट हुन्छन्, सर्दी–गर्मी आदि जो परस्पर विरोधी द्वन्द्व छन् ती सबै आउनेजाने गरिरहन्छन् । त्यसैले यी सबैको चिन्ता गर्न छाडिदिनेछु । भिक्षा थोरै मिलोस् या स्वादहीन मिलोस् यसको विचार गर्ने छैन । यदि एउटा घरबाट भिक्षा प्राप्त भएन भने अर्को घरमा पनि जानेछु ।

प्राप्त भए ठीकै छ प्राप्त नभएका अवस्थामा क्रमशः सात घरमा जानेछु तर आठौं घरमा भने जाने छैन । ‘स्नेहपाशं विमुच्याहं चरिष्यामि महीमिमाम्’ (पूर्ववत्, १२।९।२३) अर्थात् सबैतिरबाट स्नेहको बन्धन तोडेर यस पृथ्वीमा घुमिरहनेछु । केही प्राप्त होस् वा नहोस् दुवै अवस्थामा मेरो दृष्टि समान हुनेछ । म महान् तपस्यामा संलग्न भएर यस्तो कुनै आचरण गर्ने छैन जसलाई जिउने या मर्ने इच्छा राख्ने व्यक्तिहरुले गर्दछन् । न त जीवनको अभिनन्दन गर्नेछु न मृत्युसँग नै द्वेष राख्नेछु—

अलाभे सति वा लाभे
समदर्शी महातपाः ।
न जिजीविषुवत्
किञ्चिन्न मुमूर्षुवदाचरन् ।।
जीवितं मरणं चैव
नाभिनन्दन्न च द्विषन् ।
(पूर्ववत्, १२।९।२४–२५)

सबै प्रकारका आसक्तिहरुबाट मुक्त भएर स्नेहका सारा बन्धनहरुलाई पार गर्नेछु । कसैको अधीनमा नरहेर वायुसमान सर्वत्र विचरण गर्नेछु । ‘वीतरागश्चरन्नेवं तुष्टिं प्राप्स्यामि शाश्वतीम्’ (पूर्ववत्, १२।९।२९) अर्थात् यसरी वीतराग भएर विचरण गर्नाले मलाई शाश्वत सन्तोष प्राप्त हुनेछ । अज्ञानवश तृष्णाका कारण मद्वारा ठूलठूला पाप भएका छन् ।

यस संसारमा जन्म, मृत्यु, जरा, व्याधि र वेदनाहरुको आक्रमण भइरहन्छ, जसका कारण सांसारिक जीवन कहिल्यै स्वस्थ रहँदैन । जसले अपारजस्तै लाग्ने यस संसारलाई त्यागिदिन्छ त्यसलाई सुख प्राप्त हुन्छ । जब देवता पनि स्वर्गबाट तल खस्छन् र महर्षि पनि आआफ्ना स्थानबाट भ्रष्ट हुन्छन् तब कारणत¤वलाई जान्नेवाला कुन व्यक्ति यस जन्ममरणरुप संसारसँग कुनै प्रयोजन राख्नेछ ?—

जन्ममृत्युजराव्याधि–
वेदनाभिरभिद्रुतम् ।
अपारमिव चास्वस्थं
संसारः त्यजतः सुखम् ।।
दिवः पतत्सु देवेषु
स्थानेभ्यश्च महर्षिषु ।
को हि नाम भवेनार्थी
भवेत् कारणतत्त्ववित् ।।
(पूर्ववत्, १२।९।३४)

यसरी लामो समयपश्चात् आपूmलाई विवेकरुपी अमृत प्राप्त भएको र यसलाई पाएर आपूmले अक्षम्य, अविकारी एवं सनातन पदलाई प्राप्त गर्न चाहन्छु भन्दै युधिष्ठिरले आपूmलाई राज्यवैभवबाट अलग राख्ने दृढता व्यक्त गर्छन् भने उनको यस्तो दृढता देखेर भीमसेनले राजाका लागि सन्न्यास उपयुक्त नभएको भन्दै आफ्नो कर्तव्यको पालना गर्न युधिष्ठिरलाई आग्रह गर्छन् ।

त्यस क्रममा भीमसेनले क्षत्रियोचित मार्गमा हिँड्ने व्यक्तिका हृदयमा आफ्ना भाइमाथि पनि क्षमा, दया, करूणा र कोमलताको भाव रहन सक्तैन भने तपाईंका हृदयमा यो सबै किन छ ? भनेर प्रश्न गर्छन् । तपाईंको यस्तो विचार पहिले नै थाहा पाएको भए हामीहरुले हतियार उठाउने थिएनौं र कसैको वध पनि गर्ने थिएनौं । हामीहरुले पनि तपाईंले जस्तै मृत्युपर्यन्त भिक्षा मागेर जीवननिर्वाह गर्ने थियौं जसका कारण राजाहरुका बीचमा यस्तो भयङ्कर युद्ध पनि हुने थिएन ।

आपत्काले हि सन्न्यासः
कर्तव्य इति शिष्यते ।
जरयाभिपरीतेन
शत्रुभिव्र्यसितेन वा ।।
(पूर्ववत्, १२।१०।१७)

अर्थात् शास्त्रको उपदेश यो छ कि आपत्तिकालमा या वृद्धावस्थाले जर्जर भएपछि अथवा शत्रुहरुले धनसम्पत्तिबाट वञ्चित गरिदिएपछि सन्न्यास ग्रहण गर्नुपर्दछ परन्तु हामीमाथि उपर्युक्त तीनै किसिमको सङ्कट नआएकाले यस्तो अवस्थामा लिइने त्याग वा सन्न्यासलाई कुनैपनि विद्वान् व्यक्तिले प्रशंसा गर्दैनन् । सूक्ष्मदर्शी व्यक्तिले त यस्तो अवस्थामा क्षत्रियका लागि सन्न्यास लिनु उल्टै धर्मको उल्लङ्घन मान्दछन् ।

धर्मको बहाना लिएर आपूmले केवल आफ्नो पेट पाल्दै मौनी बाबा बनेर बस्नाले कर्तव्यबाट भ्रष्ट हुनु सम्भव छ जीवनलाई सार्थक बनाउन सकिँदैन । जो छोरानातिहरुलाई पालनपोषण गर्न असमर्थ छन्, देवताहरु, ऋषिहरु र पितृहरुलाई तृप्त गर्न सक्तैनन् र अतिथिहरुलाई भोजन दिने सामथ्र्य पनि जससँग छैन त्यस्ता व्यक्ति नै जङ्गलमा एक्लै रहेर सुखपूर्वक जीवन बिताउन सक्छन् परन्तु तपाईंजस्ता शक्तिशाली व्यक्तिको यो काम होइन ।

सधैं वनमा रहेर पनि न त यी मृगले स्वर्गलोकमा अधिकार पाउन सक्छन् न सुँगुर र पक्षीले पनि । पुण्यको प्राप्ति त अन्य प्रकारले नै बताइएको छ । श्रेष्ठ व्यक्तिले केवल वनवासलाई नै पुण्यकारक ठान्दैनन्—

शक्यं पुनररण्येषु
सुखमेकेन जीवितुम् ।
अबिभ्रता पुत्रपौत्रान्
देवर्षीनतिथीन् पितृन् ।।
नेमे मृगाः स्वर्गजितो
न वराहा न पक्षिणः ।
अथान्येन प्रकारेण
पुण्यमाहुर्न तं जनाः ।।
(पूर्ववत्, १२।१०।२२–२३)

यदि कुनै राजाले सन्न्यासबाट सिद्धि प्राप्त गर्न सक्छ तब पर्वत र वृक्षले पनि धेरै छिटो सिद्धि पाउन सक्छन् किनकि यी नित्य सन्न्यासी, उपद्रवशून्य, परिग्रहरहित र निरन्तर ब्रह्मचर्यको पालन गर्नेवाला देखिन्छन् । ‘अथ चेदात्मभाग्येषु नान्येषां सिद्धिमश्नुते, तस्मात् कर्मैव कर्तव्यं नास्ति सिद्धिरकर्मणः’ (पूर्ववत्, १२।१०।२६) अर्थात् यदि आफ्नो भाग्यमा अर्काले गरेका कर्मद्वारा प्राप्त भएको सिद्धि आउँदैन भने सबैले कर्म नै गर्नुपर्छ । अकर्मण्य व्यक्तिलाई कहिल्यै पनि कुनै सिद्धि प्राप्त हुँदैन ।

यदि आफ्नो शरीरमात्रको भरणपोषण गर्नाले सिद्धि प्राप्त हुन्छ भने जलमा रहने जीवहरु र स्थावर प्राणीहरुलाई पनि सिद्धि प्राप्त हुन्थ्यो किनकि उनीहरुले कसैको भरणपोषणको भार उठाउँदैनन् । त्यसैले तपाईंले विचार गर्नुहोस् कि सारा संसार कसरी आआफ्ना कर्ममा प्रवृत्त छ, अतः तपाईंले पनि क्षत्रियोचित कर्मको पालना गर्नुपर्छ किनकि जसले कर्मलाई छाडेर बस्छ त्यसले कहिल्यै सफलता प्राप्त गर्न सक्तैन ।

यसरी युधिष्ठिरले सन्न्यास लिने र भीमसेनले कर्तव्यमा प्रवृत्त हुने विचारहरु प्रस्तुत गरे तापनि युधिष्ठिरका निम्ति सन्न्यास होइन कर्तव्य नै उपयुक्त देखिन्छ किनकि कर्तव्य पूरा नगरीकन सन्न्यास लिनु जोकसैका लागि पनि पलायनको पराकाष्ठा हो ।

तसर्थ अधिकार खोज्ने तर कर्तव्यबाट सन्न्यास लिँदै गएको वर्तमान परिवेशमा सबै आआफ्ना कर्तव्यको पालनामा अग्रसर हुनु अपरिहार्य छ । (सहप्राध्यापक, नेसंवि, कालिका विद्यापीठ, गैँडाकोट, नवलपुर) चितवन पोष्टका साथमा ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan