Thursday 17th of January | २०७५ माघ ३ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पर्यटकीय गन्तब्य बन्दै ‘सत्खलुवा होमस्टे’

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष १७ मंगलबार | काशीराम शर्मा (रासस)
newsabhiyan

बाँके, १७ पुस । बारबर्दिया नगरपालिका–९ खैरेनीमा रहेको सत्खलुवा ताल जैविक विविधताले भरिपूर्ण छ । कुनै समय माछापालन र सिँचाइका लागि उपयोग गरिएको ताललाई संरक्षण गर्न थालिएसँगै त्यहाँ पुग्ने पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ ।

पर्यटक आवागमन बढ्न थालेसँगै खैरेनीका स्थानीयवासीले ‘सत्खलुवा होमस्टे’ सञ्चालनमा ल्याएका छन् । पर्यटकको गाँस, बाँस व्यवस्थित र सहज बनाउन होमस्टे सञ्चालनमा ल्याइएको सत्खलुवा ताल संरक्षण उपभोक्ता समितिका अध्यक्ष सुनिल चापागाई बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “खुला चरिचरनको रुपमा रहेको ताल संरक्षण गरेसँगै पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । उहाँहरुको बसाईलाई व्यवस्थित गर्न होमस्टे सञ्चालनमा ल्याएका हौँ ।” पूर्वपश्चिम राजमार्गको बैदी चोकदेखि चार किलोमिटर उत्तरपूर्वमा पर्ने उक्त ताल बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा छ ।

ताल संरक्षणमा स्थानीयको सक्रियतासँगै अहिले त्यहाँ घुम्न जाने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । “अझ हिउँदे मौसममा पिकनिक टोलीको निकै भीड छ, ताल घुम्न र पिकनिकका लागि दैनिक पाँच÷छ वटा टोली आइरहेका छन्, कुनै टोली त बाँस बस्ने गरी आउन थालेकाले हामीले होमस्टेमै बास बसाल्ने गरेका छौँ’, अध्यक्ष चापागाईले भन्नुभयो ।

मानव बस्तीबाट मुस्किलले ३०० मिटर टाढाको तालमा सजिलैसँग विभिन्न प्रजातिका चराचुरुङ्गी देख्न सकिन्छ । दैनिक मेलापातमै बिताउने स्थानीय आजभोलि पाहुनाको स्वागत र सत्कारमा बिताउँदै आएका छन् ।

ताल र चराको अवलोकन गर्न आउने पर्यटकको व्यवस्थापनका लागि स्थानीयले दुई वर्षदेखि होमस्टे सञ्चालन गरेपछि उनीहरुको दैनिकी बदलिएको छ भने स्वरोजगारसमेत बढेको छ । खैरेनीमा अहिले १० होमस्टे सञ्चालनमा छन् ।

लोपोन्मुख दुर्लभ वन्यजन्तुको अवलोकन गर्न आउने पर्यटकलाई उनीहरुले हार्दिकतापूर्वक स्वागत गर्दै आफ्नै होमस्टेमा खानपिन र बसोबाससँगै विविध सांस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन दिँदै आएका छन् । होमस्टेले स्थानीयको जीविकोपार्जनमा टेवा पु¥याउनुका साथै पर्यटकलाई घुमफिरपछि सहजरुपमा बाँस बस्ने व्यवस्था गरिएको होमस्टे सञ्चालक सुरेश आचार्यले बताउनुभयो ।

थारू बाहुल्य क्षेत्र भए पनि सबै जातजातिको बसोबास रहेको खैरेनीमा आ–आफ्नो मौलिक वेषभूषामा सजिएर पाहुनालाई सत्कार गर्ने र मौलिक थारू नृत्यु, खैजडीमा भजनदेखि देउडासम्ममा गीत गाएर मनोरञ्जन दिने गरिन्छ ।

अध्यक्ष आचार्य भन्नुहुन्छ, “ताल संरक्षणसँग जोडिएका कामले तालमात्रै होइन, थारूलगायत अन्य समुदायका संस्कृतिको संरक्षणसमेत भइरहेको छ ।” जिल्लाकै दोस्रो ठूलो जैविक विविधतापूर्ण खैरेनीमा थारु समुदायका ४ र बाहुन क्षेत्री समुदायका ६ होमस्टे सञ्चालनमा रहेका छन् । होमस्टेमा शौचालय, स्नानघर र आरामदायी सुत्ने कोठाको ब्यवस्था छ । होमस्टे उपसमितिका अनुसार एक वर्षमा करिब १ हजार ५०० आन्तरिक पर्यटक ताल घुम्न पुगे । होमस्टेमा एकरातको रु ८०० तिरेर बस्न सकिन्छ ।

ताल घुम्न आउने कतिपय पर्यटक होटलमा बस्नुभन्दा गाउँकै सफा र रमणीय पारिवारिक वातावरणमा खान र बस्न रुचाउँछन् ।

त्यस्ता पर्यटकलाई होमस्टे सेवाले आकर्षित गरेको होमस्टे सञ्चालक आचार्यले बताउनुभयो । “विगतमा तालबाट माछा मारेर सीमित व्यक्तिले आन्दानी गर्दै आए पनि ताल संरक्षणपछि भने गाउँकै आम्दानीको स्रोत बनेको छ”, आचार्यले भन्नुभयो ।

तालमा चैत–वैशाखमा जङ्गली जनावर तिर्खा मेट्न आउँछन् । कूल ६० बिघा क्षेत्रफलमा फैलिएको तालमा संसारबाट लोप हुन लागेको रातो कमलको फूलसमेत पाइन्छ । ताललाई सरकारी क्षेत्रबाट संरक्षित क्षेत्रको रुपमा घोषणा गनुपर्ने स्थानीयको माग छ ।

खाद्य उत्पादनको भण्डारमै खाद्यान्न अपुग

खाद्य उत्पादनको भण्डारका रूपमा हेरिएको बाँके जिल्लामा यतिबेला खाद्यान्नकै अभाव देखिएको छ । बाँकेमा अहिले एक हजार ७६७ मेट्रिक टन खाद्यान्नको अभाव देखिएको छ । कूल ४६ हजार ६६३ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ तर, बाँकेमा यस वर्ष ४४ हजार ८९६ मेट्रिक टनमात्रै खाद्यान्न उत्पादन भएको छ ।

गत वर्षसम्म ९८ हजार ९९९ मेट्रिक टन खाद्यान्न उत्पादन हुँदै आएकोमा यस वर्ष उत्पादन आधा घटेको तथ्याङ्कले देखाएको छ । बाँकेले अहिले आफ्नै जिल्लामा रहेका नागरिकलाई समेत खाद्यान्न उत्पादन गर्न सकेको छैन ।

यसले पनि बाँकेका नागरिक खाद्यान्नमा आत्मनिर्भर बन्न नसकेको उक्त तथ्याङ्कले देखाएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको योजना तथा अनुगमन महाशाखाका वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले जानकारी दिनुभयो ।

बाँकेसँगै जोडिएको बर्दियामा खाद्यान्न उत्पादनमा राम्रो देखिएको छ जसमा कूल चार लाख ५० हजार ४७० जनसङ्ख्या छ । जसमा कूल एक लाख ४३ हजार २२८ मेट्रिक टन खाद्यान्न उत्पादन हुँदै आएको छ । बर्दियाले आफूलाई चाहिने खाद्यान्न परिपूर्ति गरी अन्य जिल्लामा पनि निर्यात गर्दै आएको छ ।

कूल ६१ हजार ६९३ मेट्रिक टन खाद्यान्न अन्य जिल्लामा निर्यात गर्ने गरेको मन्त्रालयको तथ्याङ्क छ । खाद्यान्न उत्पादनमा कमजोर देखिएको बाँके जिल्लालाई योजना छनोटमा प्राथमिकता राखेर मन्त्रालयले कार्य अघि बढाउने तयारी गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार प्रदेश नं ५ मा प्यूठान, बाँके, रोल्पा र नवलपरासी खाद्यान्न उत्पादनमा कमजोर देखिएका छन् । बाँकेमा कृषि ज्ञान केन्द्रसमेत स्थापना गरिएको छ । जसले उक्त क्षेत्रको थप उत्पादकत्व वृद्धिको लागि कार्य गर्ने मन्त्रालयको योजना रहेको उहाँ बताउनुहुन्छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan