Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बमजन काण्ड : कारबाही कहिले सरकार ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष १८ बुधबार |
newsabhiyan
newsabhiyan

बबिता बस्नेत, भगवान् गौतम बुद्धले लामो समयसम्म महिलालाई दीक्षा दिनुभएन । उहाँका चेलाहरू पुरुष मात्रै थिएनन्, तर दीक्षा दिएर सँगै राख्ने मामिलामा उहाँ धेरै नै चुजी हुनुभयो । एक दिन आनन्द (बुद्धका नातेदारसमेत रहेका निकटवर्ती जो सधैँ बुद्धका साथ रहन्थे) ले सोधे– पुरुष मात्र होइन केही महिला पनि हजुरका भक्त छन् ।

हामी जहाँ–जहाँ गयौँ त्यहीँ गएका छन्, लामो साथ र समय बिताएका छन्, तर तिनले चेला हुने अवसर किन पाइरहेका छैनन् ? उनीहरूलाई दीक्षा दिन किन नहुने ? गौतम बुद्धले जवाफमा भन्नुभयो–महिलालाई सकेसम्म चेला बनाउनुहुँदैन, दीक्षा दिनुहुँदैन ।

दिइहाले पनि ती जतिसुकै पाको उमेरका हुन् तिनले पुरुष चेलालाई गुरुलाई झैँ मान्नुपर्छ । पुरुष चेलाका अगाडि महिला चेलाहरूले शिर झुकाएर अभिभादन गर्नुपर्छ । आनन्द छक्क परेको उक्त अभिव्यक्तिलाई लिएर कतिले बुद्धको आलोचना पनि गरे । तर, ओशो रजनिशले यसलाई फरक तरिकाले व्याख्या गर्नुभएको छ ।

उहाँका अनुसार सामान्यतया जसलाई धेरै आदर गरिन्छ उसले कुदृष्टि लाउन सक्दैन । भगवान् गौतम बुद्ध चाहनुहुन्थ्यो, सकेसम्म आश्रममा महिलाको उपस्थिति नै नहोस्, भइहाले कसैले पनि कुदृष्टि नलगाओस्, सइज्जत बाँच्ने वातावरण बनाओस् । त्यसैले आश्रममा बस्ने महिलाले पुरुषलाई आदरभाव राखुन्, उनीहरूले आदर गरेपछि आफूलाई आदर गर्नेमाथि कुदृष्टि पर्दैन भनेर बुद्धले त्यसो भन्नुभएको हो ।

भगवान् बुद्ध महिलाको सम्मान र आत्मसम्मानमाथि त्यति धेरै सचेत हुनुहुन्थ्यो । यता बुद्धको नाममा आफूले आफैँलाई लिटल बुद्ध घोषणा गरेका रामबहादुर बमजनले युवतीहरूको बलात्कार गरेको कुरा बाहिर आएको छ ।

वनजङ्गलमा आश्रम बनाएर बस्दै आएका बमजनको एक ठाउँ मात्रै नभएर विभिन्न स्थानमा बस्ने ठाउँहरू देखिन्छन् । सेतोपाटी अनलाइनले बमजनबारे शृङ्खलाबद्ध खोजी समाचारहरू प्रकाशित गरेपछि पीडितहरूले धमाधम आफ्नी छोरी, दिदी, बहिनी या घरपरिवारका सदस्यहरू बमजन आश्रमबाट हराएकाले खोजी गरिदिन प्रहरीसमक्ष निवेदनहरू दिएका छन् ।

बमजनबारे धेरै कुरा बाहिर आए पनि प्रहरी प्रशासनबाट उनको खोजी कसरी भइरहेको छ ? भइरहेको छ कि छैन ? भन्ने बाहिर आएको छैन । अनुसन्धानका लागि पक्राउ गर्नुपर्ने हुन्छ, तर अहिलेसम्म उनी पक्राउ परेको सुनिएको छैन । बोधी श्रवण धर्म सङ्घका नामबाट बमजनका विरुद्ध भ्रम सिर्जना गरिएको भन्ने खण्डन आएको छ । रोचक पक्ष त के छ भने यसरी खण्डन गर्नेमा राजनीतिक दलका प्रतिनिधिहरूसमेत सामेल छन् ।

धर्मका नाममा महिलाको शोषण नयाँ कुरा होइन । छिमेकी मुलुक भारतमा आशारामदेखि राम रहिमसम्मले धर्म र आश्रमका नाममा महिलामाथि गरेका यौनशोषणका घटनाबाट बेखबर नभए पनि हामीकहाँ यस्ता आश्रममा के हुन्छ ? भनेर खोजी गर्ने गरिएको छैन ।

राम बमजनलाई जसरी प्रचार गरिएको छ उनी त्यो होइनन् भनेर केही वर्षअघि नै एक विदेशी महिलाले सार्वजनिक गरेकी थिइन्, तर उनले आफ्नो भोगाइको वास्तविकता बाहिर ल्याउँदासमेत प्रशासनले बमजनमाथि कुनै प्रकारको छानबिन गरेन । जसको परिणाम जिन्दगीमा शान्ति खोज्न आश्रम पुगेका महिलाले बलात्कृतसम्म हुनुपर्यो । त्यतिबेलै छानबिन गरी कारबाही अघि बढाइएको भए पछिल्ला घटनाहरू हुन पाउने थिएनन् ।

जब मानिस दुःखी हुन्छ उसलाई सहाराको जरुरी हुन्छ । कसले राम्रो कुरा भनिदेला, यसो गर्दा पो हुन्छ कि उसो गर्दा पो हुन्छ कि भनेर ऊ भौँतारिन थाल्छ । आफ्ना कामहरू बनुन्जेल, जिन्दगी ठीकठाक चलुन्जेल चिना बोकेर ज्योतिषी खोज्दै को हिँड्छ र ?

श्रम शोषणदेखि यौनशोषणसम्मको फेहरिस्त बाहिर आउँदा र पीडित स्वयमले ममाथि बलात्कार भएको छ भनी मानिसको नामै किटेर भन्दासमेत छानबिन गरिएको छैन । पीडितहरूले उजुरी दिएपछि तत्काल हुनुपर्ने अनुसन्धान अहिलेसम्म किन हुन सकेन ?

उनलाई पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई केले रोकेको छ, बुझ्न सकिएको छैन । भारतमा राम रहिमहरूका विरुद्ध उजुरी पर्नासाथ प्रहरीले पक्राउ गरी अनुसन्धान गर्यो र उनीहरू जेल परे । उस्तै घटना हामीकहाँ हुँदा सरकारका तर्फबाट चासो नदेखाइनु आश्चर्यजनक छ ।

धार्मिक आस्थाका नाममा महिला किन शोषणमा पर्छन् त ? भन्नेबारेमा पनि अब समाजमा खुलेर चर्चा–परिचर्चा गर्नु आवश्यक छ । धर्म भनेपछि महिला लल्याकलुलुकै हुन्छन् । तन्त्रमन्त्रजस्ता अन्धविश्वासलाई आत्मसात् गर्नेहरूमा पनि महिला नै अगाडि छन् ।

जब मानिस दुःखी हुन्छ उसलाई सहाराको जरुरी हुन्छ । कसले राम्रो कुरा भनिदेला, यसो गर्दा पो हुन्छ कि उसो गर्दा पो हुन्छ कि भनेर ऊ भौँतारिन थाल्छ । आफ्ना कामहरू बनुन्जेल, जिन्दगी ठीकठाक चलुन्जेल चिना बोकेर ज्योतिषी खोज्दै को हिँड्छ र ? जिन्दगीमा आउने हतास क्षणमा महिलाको मात्र होइन पुरुषहरूको अवस्था पनि त्यस्तै हुन्छ ।

आफूवरिपरिको परिवेशले महिलालाई असुरक्षित बनाइदिँदा उनीहरू आश्रमसम्म पुग्ने गरेका छन । कतिले भन्छन्– गुरु भनेपछि हुरुक्कै भएर महिलालाई अघिपछि किन गर्नुपर्यो ? किनभने गुरुलाई उनीहरूले आदर्श ठानेका हुन्छन् । आफूले आदर्श ठानेको मान्छेले आफूलाई जोखिममा पार्दैन भन्ने विश्वास हुन्छ । विश्वास टुट्दासम्म उनीहरू ठूलो जोखिममा परिसकेका हुन्छन् ।

महिलालाई आश्रमसम्म पुर्याउन उनीहरू बाँचिरहेको वातावरण जिम्मेवार छ भनेर हामीले बुझ्नुपर्ने हुन्छ । सुखी, खुसी, आत्मनिर्भर महिला कसैको पछि लागेर आश्रम खोज्दै हिँड्दैनन् । अध्यात्म र दर्शन बुझेर आफैं आश्रमसम्म पुग्नेहरूलाई शोषणको सम्भावना कम हुन्छ ।

राम बमजनको सन्दर्भमा गाउँका सोझा महिला शान्तिको कामना गर्दै बौद्धधर्मप्रति आस्थावान भएर आश्रमसम्म पुगेको देखिन्छ । आफ्नो सम्पूर्ण जीवन ध्यान–तपस्या गरेर बिताउन गएका अबोध ग्रामीण महिलामाथि भएको जघन्य अपराधबारे अहिले पनि खोजी गरिएन भने धर्मका नाममा कलङ्कहरू बढ्दै जानेछन् ।

हामीकहाँ आश्रमका नाममा कहाँ के भइरहेको छ, खोजि गर्ने गरिएको छैन । यसप्रकारका आश्रमहरूभित्र के हुन्छ ? ती कति पारदर्शी छन् ? तिनले के गर्छन् ? के गर्न हुने के नहुने ? आश्रम सञ्चालनका लागि आचारसंहिता बनाउन आवश्यक छ ।

साथै आश्रममा जानेले पनि आफू जहाँ जाँदै छु त्यहाँको वातावरण कस्तो छ ? जसलाई आफूले गुरु मान्दै छु ऊ को हो ? के म त्यहाँ सुरक्षित हुन्छु ? भन्नेबारेमा स्पष्ट भएपछि मात्र जानुपर्छ । अहिलेलाई चाहिँ बमजन घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही नै प्रमुख कुरा हो । यसप्रकारका सबै आश्रममा सरकारले कडा निगरानी राख्नु पनि त्यत्तिकै जरुरी छ । घटना र विचारका साथमा । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan