Sunday 20th of January | २०७५ माघ ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नयाँ वर्ष ई.सं. २०१९ एवं योग सम्वत ४० को वार्षिक राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष १८ बुधबार |
newsabhiyan
newsabhiyan

(ई.सं.पौष १७  र योग संवत माघ १ गतेबाट शुरु हुन्छ)
ग्रहा राज्यं प्रयच्छन्ति ग्रहा राज्यं हरन्ति च ।
ग्रहैव्र्याप्तमिदं सर्व त्रैलोक्यं स चराचरम् ।।

मेष राशि (चु.चे.चो.ला.लि.लु.ले.लो.अ.) –

मेष राशि हुनेहरूको लागि वर्ष संघर्षप्रद देखिएको छ । वर्षको अन्त्यतिर भने केही सहज अनुभव गर्न पाइने छ । जन्मकालीन ग्रह अनुकूल हुनेहरूको लागि भने आकस्मिक लाभको अवसरहरू पनि मिल्नेछ । प्रतिस्पर्धा आदिमा सफलता मिल्नेछ । मुद्धामामिला जन्य पक्षमा विजयी भइनेछ ।

जन्मकालीन ग्रहहरू प्रतिकूल हुनेहरूको हकमा अधिकांश पक्षमा उथलपुथलजन्य छ । जागिर अथवा कार्यरत क्षेत्र तथा खाइपाई आएको सेवासुविधामा अबरोध देखिएको छ। व्यवसाय उद्यम आदिको बारेमा अप्रत्यासित प्रस्तावहरू आउनसक्ने छन् तर नबुझि स्वीकार गर्नु घातक पनि हुनसक्ने छ ।

दाजुभाइ एवं नातासम्बन्धमा अप्रत्यासित कष्ट तथा असमझदारी एवं वैमनस्यता हुने लक्षण छ, सावधानी अप्नाउनु होला । मान्यजनको कष्ट–वियोगसम्म व्यहोर्न पर्नसक्ने देखिएको छ । धार्मिक–आध्यात्मिक मार्ग अथवा गुरुजनप्रतिको आस्थामा ह्रास तथा विचलन आउनसक्ने छ । पछि पर्दाफास हुनेर ईज्जतप्रतिष्ठामा आँच आउने कैफियतपूर्ण कार्यप्रति मन आकर्षित हुने तथा कुसंगत हुनजाने सम्भावना छ, निकै होशियारी अप्नाउनु होला ।

भलै संघर्षको बढी अनुभूति किन नहोस् स्वकर्मलाई प्रसय दिने कर्मयोगीको लागि भने अपगाल तथा अपयशको बाबजुत अप्रत्यासित उपलब्धि र सफलता मिल्नेछ ।

फोक्सो, हात, घाँटी, घुँडा, पाचनक्रिया एवं लिभर, स्नायु तथा नशारोगसँग सम्बन्धित समस्या लाग्न वा बढ्नसक्ने संकेत छ । दम, उच्चरक्तचाप, मधुमेहलगायतका विमारी एवं महादशामा प्रतिकूल दशा चल्नेहरूले विशेष सावधानी अपनाउनु होला ।

यो वर्ष तपाईले योगसाधना तथा आरोग्यवर्धक आहारविहारपूर्वक सकारात्मक चिन्तन एवं अहिंसाव्रतको साथमा माँ बगलामुखी, भैरवदेव र हनुमानदेवको साथै विद्यार्थीहरूले माँ सरस्वतीको वन्दना दर्शनभक्ति उपाशना गर्नु हितप्रद रहनेछ ।

वृष राशि (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो.) –
वृष राशि हुनेहरूको लागि यो वर्ष संघर्षको वाबजुत केही उपलब्धि हासिल गर्न सनिने छ । तथापि बढी ईच्छाएको काममा सफलता पाउन अल्लि कठिन छ । अपयशको पनि सामना गर्नुपर्ने देखिन्छ । व्यापारजन्य आय–आम्दानीको मात्रा केहीहद्सम्म बढ्नेछ । प्रतिकूल ग्रहको उपाय अप्नाउनाले राजनीति एवम् समाज सेवा र जागिर आदिमा साविकको भन्दा केही माथिल्लो भूमिका प्राप्त गर्नसकिने छ । केही अबरोधको बाबजुत अल्लिबढी मेहनत गर्नाले नयाँ पेशा–व्यवसाय तथा जागिर मिल्ने र पुरुषार्थ गर्न सकिने छ ।

विवाह योग्य युवायुवतीको लागि दाम्पत्यसम्बन्ध जोडिने छ । वैदेशिक यात्राको पर्खाइमा रहेकाहरूको ईच्छा पूर्ति हुने समय परेको छ ।भाद्र उपरान्त ग्रहको प्रतिकूलता बढ्नसक्ने आफ्नै र मान्यजनको स्वास्थ्यमा प्रतिकूलता आउनसक्ने छ भने आफन्तिजन टाढिनसक्ने भएकोले आवश्यक सावधानी एवं निवारणका उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ ।

अर्श (पाइल्स), पाचनक्रियाको समस्या, ग्रन्थी रोग, स्नायु तथा वातरोग, चोटपटक एवं घाऊखटिरा, ज्वरो जस्ता स्वास्थ्य समस्याको संकेत देखिएको छ । मधुमेह, उच्चरक्तचाप तथा हृदय रोग, दम आदिका दीर्घरोगीले विशेष सावधानी अप्नाउनु उचित हुनेछ । जन्मकालमा सम्बन्धित ग्रह प्रतिकूल भई सन्तानदोष व्यहोर्न परिहेकाहरूको लागि सावधानी अप्नाउन पर्ने देखिएको छ । विशेष गरी गर्भवतीहरूले बढी ध्यान पुर्याउन जरुरी हुनेछ ।

अढैया शनिलगायतका प्रतिकूल ग्रहगोचरको दुष्प्रभाव कम गर्न वर्षभरी भैरवदेव, महावीर पवनपुत्र हनुमान, माँ भगवती र वर्षान्तमा माँ बगलामुखी तथा विद्यार्थीले माँ सरस्वतीको सेवा श्रद्धाभक्ति एवं स्तुति गर्नु फापप्रद हुनेछ । योगदर्शनलाई आत्मसात गर्दै योग साधना गर्नाले ग्रहको दुस्प्रभाव कम गर्न मद्दत हुनेछ ।

मिथुन राशि (का.कि.कु.घ.ङ.छ.के.को.ह.) –
मिथुन राशिको लागि यो वर्ष अल्लि संघर्ष गर्नुपर्ने तथा सहनशक्ति बढाउनु पर्ने खालको छ । विभिन्न बाधा अड्चन एवं अपयशको बाबजुत आंशिक कार्यमा सफलता मिल्ने छ । भाद्र उपरान्त ग्रहगोचरमा केही सुधार आउने र कामकार्य एवं परिस्थितिमा सहज हुनेछ ।

बाँकी समय संघर्ष बढी र उपलब्धि कमले चित्त बुझाउनु पर्नेछ । महत्त्वाकांक्षी स्वभाव हुनेहरूलाई कम उपलब्धिले मानसिक उद्दिग्नता तथा उदासिनता बढ्न गइ आस्थाको धरोहरमा ह्रास आउने एवं किंकर्तव्य विमूढताको मनोविज्ञानले प्रसय पाउने हुनसक्ने छ । जन्मकालीन ग्रह अनुकुल हुनेहरूलाई भने आकस्मिक लाभ एवं उपलब्धि मिल्नेछ ।

जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूलाई दाम्पत्यसम्बन्धमा ह्रास आउने तथा जीवनसाथीलाई कष्ट हुने सम्भावना छ । प्रेममा धोखा हुने तथा कपटी प्रेमको फन्दामा परिनसक्ने खतरा छ । कसैकसैलाई कुसंगत एवं सरुवा तथा गुप्तरोगको भय भएकोले आत्मसंयमको निकै जरुरी देखिन्छ । परिवारमा पनि रोगव्याधिले सताउनसक्ने छ ।

शिरशूल, स्नायु तथा नशारोग, यौनरोग, गर्भाशय, मलाशय, ठूलोआन्द्रा, पौरुष ग्रन्थी, मिर्गौला, संक्रामक रोग र हार्मोनिक समस्या आदिको सम्भावनालाई नकार्न नसकिने हुनाले तत्सम्बन्धी विषयमा संयम र सजग हुनु जरुरी देखिन्छ ।।

यो वर्ष अनिष्ट फललाई न्यून गर्न हतोत्साही नभइ इष्टदेवको भक्ति तथा साधनालाई बढाउँदै हनुमान–शनिमहाकाल, महाकाली, भैरव–छिन्नमस्ता र विद्यार्थीले माँ सरस्वती तथा सर्वसाधारण सबैले माँ वगलामुखी एवम् कुलदेवताको श्रद्धाभक्ति, जपपाठ, स्तुति, काग–कुकुर सेवा र ब्रह्मज्ञानी गुरुजनको आर्शिवाद लिने जस्ता उपाय एवं व्रत अवलम्वन गर्नु हितकर हुने छ ।

योगसाधनाको साथमा आफ्नो चेतना र भौतिक हैसियतको स्थिति अनुसार कञ्जुस्याई एवं हेल्चेक्र्याई नगरी अन्तरआत्मादेखिनै श्रद्धापूर्वक ग्रहशान्तिको उपाय अवलम्बन गर्नाले धेरै हद्सम्म ग्रहको दुष्प्रभाव शान्ति भई शुभफल प्राप्त हुनेछ ।

कर्कट राशि (हि.हु.हे.हो.डा.डि.डु.डे.डो.) –
कर्कट राशि हुनेहरूको लागि यो वर्ष विगतको तुलनामा सफलता एवं उपलब्धिमूलक छ । व्यवसायिक उन्नति, अध्ययन सफल, घर–जग्गाको व्यवस्था आदि विशेष एवं महत्त्वपूर्ण कामकार्यहरू बन्ने छन् । उद्योगीको उद्योगधन्दा फस्टाउनेछ, नयाँ पेशाको थालनी हुनसक्ने छ । रोजगारीको प्रतिक्षामा बसेकाहरूको लागि वर्ष विशेष अनुकूल देखिएको छ, समयको सदुपयोग गर्नुहोला । राजनीति एवं समाज सेवामा पदीय हैसियत तथा जिम्मेवारी मिल्नेछ । जागिरमा पदोन्नति हुनेछ । खेलकुदकर्मीको लागि पनि वर्ष उपलब्धिमूलक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ ।

विवाह योग्य युवायुवतीको लागि विवाहबन्धन कसिने छ भने असमझदारी झेल्दै आएका दम्पति तथा प्रेमजोडी बीच सुधार आइ सम्बन्ध प्रगाढ बन्नेछ । सन्तान अभिलाषीलाई सन्तान प्राप्ति हुनेछ । सन्तानबाट सुख एवं सन्तोष मिल्नेछ । प्रतिस्पर्धा एवं न्यायिक क्षेत्रआदिमा सफलता र वीजय प्राप्त हुनेछ । घर परिवारमा विवाह व्रतबन्धादि धार्मिक आध्यातिमक अनुष्ठान आदि सम्पादन हुनसक्ने छ भने तीर्थाटनको पनि अवसर मिल्ने सम्भावना छ ।

जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूलाई अनावश्यक रूपमा धनको फुर्ति एवं उन्माद बढ्नसक्ने छ भने आफूबाट गएको तथा दिएको चीज नफर्कने सम्भावना छ सरसापट्टी आदिमा सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ । शिरशूल, ढाड–कम्मर, घुँडा–खुट्टा तथा हाडजोर्नी–नशा एवं ग्रन्थीसम्बन्धी समस्या हुनसक्ने गोचर परेको हुनाले स्वास्थ्य एवं आहार विहारमा ध्यान दिन जरुरी देखिएको छ ।

यो राशि हुनेहरूले यो वर्ष योगसाधनाको साथमा भैरव उपाशना र भाद्रमास उपरान्त माँ बगलामुखीको भक्तिदर्शन तथा व्रतादि एवं विद्वान गुरुजनबाट आर्शिवाद मार्गदर्शन ग्रहण आदि गर्नु शुभप्रद हुनेछ ।


सिंह राशि (म.मि.मु.मे.मो.ट.टि.टु.टे.) –
सिंह राशिका व्यक्तिलाई यो वर्ष अपेक्षित उपलब्धि तथा सफलता पाउन संघर्ष गर्नुपर्ने देखिएको छ । जुन कुरालाई बुझेर मात्रै कामकार्यको योजना तर्जुमा गर्नु उचित हुनेछ । जन्मकालीन ग्रह अनुकूल हुनेहरूलाई आकस्मिक लाभ मिल्ने छ । तरपछि ईज्जत तथा प्रतिष्ठामा आँच आउने खालको कैफियतयुक्त आर्जनतर्फ मन आकर्षित हुनसक्ने छ जसबाट बच्नु बुद्धिमानी हुनेछ ।

अध्ययन, बोलीवचन तथा जनव्यवहारमा ज्ञानोन्माद्–प्रमाद् बढ्नसक्ने भय छ । ग्रहले विषयान्तर गराउन तथा अध्ययनलाई अधुरो रखाउन खोजिरहेको छ विद्यार्थीले विशेष ध्यान पुर्याउन जरुरी देखिन्छ । सैद्धान्तिक एवं नीतिगत विचलन आउने र मान्छेहरूको मुल्याङ्कनमा तपाईको कमजोरी फेला पर्नसक्ने सम्भावना छ ।

जन्म कालीन ग्रह प्रतिकूल हुनेलाई घरजग्गा तथा अन्य किनबेच भएका कारोवार उल्टिन सक्नेछ । तान्त्रिक आदि गुप्त विद्याको अभिलाषा बढ्ने, भूमिगत एवम् जासुसि कर्ममा उद्यत हुने बुद्धि पलाउने सम्भावना देखिन्छ । जसबाट बचेकै राम्रो हुनेछ ।

पाचनक्रिया, कलेजो आदि पेटसँग सम्बन्धित र स्नायू तथा नशा रोगको सम्भावना छ । सन्तानकष्ट तथा सन्तानको पक्षबाट चिन्ता, असन्तोष, असमझदारी तथा खर्च एवं अपहेलित हुनपर्ने जस्ता विपरित प्रभावको ग्रहस्थिति देखिन्छ । प्रतिकूल ग्रहप्रभाव रहेकोले गर्भावस्थामा रहनु भएकाहरूले विशेष ख्याल पु¥याउन जरुरी छ ।

पशुपालन, कृषिकर्मजन्य व्यवसाय, प्राविधिक क्षेत्रबाट भने फाइदा उठाउन सकिने छ । यो वर्ष विद्यार्थीले सात्त्विक आहारमा रहेर योगसाधनाको साथमा हनुमान चालिसा, भगवती स्तोत्र, भैरवस्तोत्र आदि पाठ, महाकालशनि, भैरवदेव, काली, छिन्नमस्ता आदि देवदेवीको दर्शन भक्ति एवं सात्त्विक पूजापाठ, ध्यानधारणा, व्रत आदि उपाशना अवलम्वन गर्नु बुद्धिमानी हुनेछ ।

कन्या राशि  (टो.प.पी.पु.ष.ण.ठ.पे.पो.) –
कन्या राशि हुनेहरूको लागि यो वर्ष संघर्षकर देखिएको छ । सत् नछाड्नेहरूको लागि भने हिम्मत गिराउन पर्नेछैन । भलै ठूलो उपलब्धि नभएपनि सामाजिक कार्यहरूमा सक्रियता बढाउन सकिनेछ । व्यक्तिगत लाभ कम भएपनि अभियानमूलक लोकहितका कार्यमा भूमिका निभाउन सकिने छ । बढी महत्त्व दिइएको कार्यमा ढिलासुस्ति तथा बाधा अबरोध नआउला भन्न सकिन्न ।

जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूको लागि चोटपटक–घाऊखटिरा जन्य रोग, दैविक विपत्ति, व्यवहारिक एवम् घरायसी समस्याहरूले दुःख दिनसक्ने भएकोले हरप्रकारको सावधानी अप्नाउनु आवश्यक देखिन्छ । जग्गा तथा घरघडेरीको किनबेच गर्न समय त्यति अनुकूल छैन, विश्वासघात–धोका हुने, फसिने तथा पछुतो हुने समय छ । सित्तिमिति कसैको भरोसा नगरेकै राम्रो हुनेछ ।

कुलमा रोगको प्रकोप, मान्यजनकष्ट तथा वियोगसम्मको सम्भावना एवं आफन्त, साथीभाई, छरछिमेकी, सहकर्मी आदिसँग असमझदारीको सामना गर्नुपर्ने हुनसक्ने छ । मुद्धामामिला पर्नसक्ने सम्मको ग्रहगोचर छ सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ ।

व्यापार–व्यवसायमा मन्दि महसूस हुनजाला, समाजसेवा, राजनीति, जागिर आदिमा आलोचना तथा अपयश नपर्ला भन्न सकिन्न । पशुचौपाया तथा कृषि आदिबाट पनि मनग्य लाभको अपेक्षा नराखेकै राम्रो होला । घरभन्दा पर तथा विदेश यात्रा आदिको लागिभने वर्ष अनुकूल रहनेछ । घरपरिवारमा दानपूण्य, विवाहव्रतबन्ध आदि माङ्गलिक कार्य हुनजाने छ । अध्ययनमा आइरहेको अड्चन कम भएर जानेछ । ज्ञानोन्माद् नगरी समयको सदुपयोग गरेको खण्डमा शुभ परिणाम हात पार्न सकिने छ ।

योगसाधनाको साथमा हनुमान–शनिमहाकाल एवम् भैरवदेव र माँ बगलामुखीको सात्त्विक तवरबाट स्तुति आराधना गर्नाले प्रतिकूल ग्रहको दुष्प्रभावलाई कम गर्न मद्दत मिल्नेछ ।

तुला राशि (रा.री.रु.रे.रो.त.ति.तु.ते.) –
तुला राशिको लागि यो वर्ष अनुकूल देखिएको छ । थातिरहेका कामहरू पूरा गर्न सकिने छ भने नयाँ र दीर्घकालिन कार्यको थालनी हुनसक्ने छ । गुमेको मान प्रतिष्ठा तथा पुरानो साख एवं विग्रिएको सम्बन्ध र उद्यमहरू पुनस्र्थापित र सुधार गर्न सकिनेछ । न्यायिक क्षेत्र सबल रहनेछ । तर, विशेष महत्त्वपूर्ण काम अन्तिममा पूरा गर्न गाह्रो पर्नसक्छ ।

विवाहयोग्य युवायुवतीलाई वैवाहिक बन्धनमा बाँधिने सौभाग्य मिल्नेछ । विवाहितहरूको दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ । कुटुम्बिक सम्बन्ध बढ्ने छ । रोजगारको अभिलाषीहरूलाई नोकरी मिल्ने समय छ ।

कर्मचारीहरूको पदोन्नति हुनेछ । विद्वान गुरुजनको आर्शिवाद तथा शिष्यत्त्व प्राप्त गर्नसकिने छ । बोलीवचन, प्रवचन, गायन, उद्घोष्ण, वाचन, शिक्षणजन्य वाकवृति हुनेहरूको लागि वर्ष विशेष कीर्तिप्रद वर्ष रहेको छ, सदुपयोग गर्नुहोला । खेलकुद आदि प्रतिस्पर्धामा आंशिक विजय तथा सफलता मिल्नेछ ।

जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूको लागि हात खुट्टा एवं फोक्सो, घाँटी–छातिमा चोट वा रोग र दाजुभाईमा कष्ट वा वादविवादको सम्भावना छ । थायराइड, प्रोष्ट्रड, लिभज–प्याङ्क्रियाज, मिर्गौला, गर्भाशय आदि ग्रन्थी सम्बन्धित रोगको सम्भावनालाई पनि ग्रहगोचरले लक्षित गरिरहेको छ ।

योगसाधनाको साथमा भैरवदेव एवं छिन्नमस्ता देवीको उपाशना तथा दर्शनभक्ति र इष्टदेवको साधना बढाउनु शुभकर हुनेछ । असहाय गरीब दीनदुःखलाई सेवासहयोग गर्नाले सम्भावित अनिष्टलाई कम गर्न मद्दत मिल्नेछ । महत्त्वपूर्ण काम एवं प्रतिस्पर्धाजन्य खेलकुद लगायतका पौरखी काममा पूर्ण सफलताको लागि विशेषरूपमा उपाय अवलम्बन गर्नु पर्ने देखिन्छ ।

वृश्चिक राशि (तो.ना.नि.नु.ने.नो.य.यी.यु.) –
वृश्चिक राशिको लागि यो वर्ष अलमले खालको देखिएको छ । आफ्नो कामलाई भन्दा बाहिरी काममा बढी समय दिनुपर्ने छ । फजुलको यात्रा पनि अल्लि बढी नै हुने सम्भावना देखिन्छ । विद्वतता एवं आत्मप्रसंशाको मनोविज्ञानले डेरा जमाउनाले कतैकतै व्यवहारिकता निभाउन पर्ने ठाऊँमा चुकिनसक्ने छ ख्याल पुर्याउनु होला । भाद्र उपरान्त अवसरको सदुपयोग गर्न सकेको खण्डमा केही महत्त्वपूर्ण काममा सफलता प्राप्त गर्न सकिने छ । हिम्मत पनि नगिराउने र नविराउने सिद्धान्तलाई आत्मसात गरेर अघि बढ्नुपर्ला ।

जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूलाई भने वादविवाद, मुद्धामामिला, कामकार्यमा अबरोध, मानप्रतिष्ठामा आँच, सञ्चित धनको खर्च, स्वास्थ्यमा समस्या, अपखबर र परिबन्दनीय परिस्थिति जस्ता प्रतिकूलता थोरधेर पर्ने नै छ ।

ससाना कार्यले अल्मल्याउँदा विशेष काममा समय दिन नसकिने, अधिक परिश्रमले थोरै उपलब्धिमा चित्त बुझाउन पर्ने, खानपान विपरित हुनसक्ने छ । विश्वासघाती चक्रब्यूह, कुलतीकुसंगतको भय पनि देखिन्छ । पछि पश्चाताप हुने काममा मनजाने जस्तो पनि नपर्ला भन्न सकिन्न । मानसिक उद्दिग्नता र निराशालाई हटाउन यथेष्ट धैर्यताको क्षमता बढाउनु नै बुद्धिमानी हुनेछ ।

शिर, नाककान घाँटी एवं छाती र दन्तरोग, अर्श (पाइल्स), ग्रन्थी (गाँठागुँठी) बढ्ने, वातव्याधि जस्ता स्वास्थ्य समस्याको सम्भावना देखिएको छ । उच्चरक्तचाप, मधुमेह, यक्ष्मा आदि दीर्घरोगी लगायत सम्बन्धितहरूले आहार विहार एवं नियमित औषधोपचारमा विशेष ध्यान दिनु उपयुक्त हुनेछ ।

ग्रहानिष्ट एवम् तनावलाई समन गर्न सर्वसाधारण सबैले योगदर्शनको उपदेशलाई आत्मसात गरी हनुमान तथा शनि महाकाल, भैरवदेव साथै माँ वगलामुखीको र विद्यार्थीले विद्याकी देवी सरस्वतीको भक्ति–स्तुति तथा श्रद्धा आराधना गर्नु हितकर हुनेछ ।

धनु राशि (ये.यो.भ.भि.भु.ध.फ.ढ.भे.)–
धनु राशिको लागि यो वर्ष अनुकूलताको तुलनामा प्रतिकूलता तथा संघर्षजन्य परिस्थितिसँग बढी जुध्नुपर्ने छ । धेरै पक्षमा सावधानी अप्नाउनु पर्ने खालको ग्रहगोचर देखिएको छ । मिथ्याऽपवाद, दुर्घटना, दैविक विपत्ति तथा धनजनको क्षति, दाम्पत्य कष्ट देखिएको छ भने परिबन्द, चोरी, राज्यबाट भय–कष्ट, गलत संगत, स्वजनबाट विश्वासघात, फसिने–ठगिने, नहुनेकार्यमा मन जाने, पश्चाताप पर्नेजस्ता फलको सामना गराउन ग्रहगोचरले बल गरिरहेको छ ।

अप्रत्यासित परिणाम दिने गोचर भएकोले एकातर्फको ईच्छा चाहना तर अर्कोतर्फको उपलब्धि हुनसक्नेछ । विनामेहनतको आम्दानितर्फ चेष्टा बढ्नसक्ने सम्भावना समेत देखिएकोले सोबाट बचेको बुद्धिमानी हुनेछ अन्यथा पश्चाताप पर्नसक्ने छ । जन्मकालीन ग्रह अनुकूल हुनेहरूको लागि भने अपेक्षित कार्यमा अबरोध भएपनि अनपेक्षित रूपमा आकस्मिक लाभ हुनेछ । संघर्षको बाबजुत पदप्रतिष्ठा मिल्ने,राज्यलाभ एवं सफलता र विजय भइनेछ ।

मुग्लान पस्नु अथवा विदेशीनु कार्यलाई गोचरले बल दिइरहेकोले घर छाड्ने, टाढा जाने, तीर्थाटन एवं विदेश यात्रा, निस्काम समाजसेवा, हठयोग, ईश्वरप्रणिधान, पारमार्थिक साधना एवं वैराग अनुसरण, अध्यात्म चिन्तन मार्गमा समयको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ ।

वातव्याधि, स्नायू तथा नशा रोग, ढाडकम्मर, शिर मस्तिष्क, उदरब्रण (अल्सर), उरःक्षत (क्षय), चोटपटक एवं प्रोष्टेड, वृक्कदोष, यकृतशोथ तथा शोष, गर्भाशय, थायरायड, स्तन विकार आदि ग्रन्थीजनित रोगको खतरा छ । हृदयरोग, उच्चरक्तचाप, मधुमेह, दम जस्ता दीर्घरोगिहरू लगायत सम्बन्धित सबैले विशेषरूपमा ख्याल पु¥याइ नै रहनुपर्ला ।

साढेसाती शनिलगायत ग्रहको दुष्प्रभावलाई कम गर्न योगमार्गलाई आत्मसात गर्दै शनिस्तोत्र पाठ, शनिमहाकाल, हनुमान, भैरव तथा छिन्नमस्ता देवी, माँ बगलामुखी, विद्यार्थीहरूले माँ सरस्वती आदिको दर्शन भक्ति एवं उपाशनाादि व्रत गर्नु विशेष हितकर हुनेछ ।

मकर राशि (भो.ज.जी.जु.जे.जो.ख.खि.खु.खे.खो.ग.गी.) –
मकर राशिको लागि यो वर्ष केही पक्षमा अनुकूल देखिएको छ । र पनि विशेष सावधानी अप्नाउनु पर्ने अवस्थालाई पनि गोचरस्थितिले लक्षित गरिरहेको छ । व्यापार व्यवसाय, उद्यम, उत्पादन, कृषि आदिबाट लाभ गर्न सकिने छ । शिक्षा, रोजगार, देशविदेशको यात्रा आदिमा पनि सफलता प्राप्त गर्न सकिने छ । घरपरिवारमा विवाह व्रतबन्धादि माङ्गलिक कार्यको सु–अवरस मिल्नेछ । दाम्पत्य एवं प्रेम सम्बन्धमा सुधार आउने छ ।

एकातर्फ आसक्ति र अर्कोतर्फको उपलब्धि हुनसक्नेछ । विनामेहनतको आम्दानितर्फ चेष्टा बढ्नसक्ने सम्भावना समेत देखिएकोले सोबाट बचेको बुद्धिमानी हुनेछ अन्यथा पछि पश्चाताप पर्नसक्ने छ । जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूको लागि उथलपुथलजन्य स्थितिलाई गोचरले संकेत गरेको छ ।

मिथ्या अपवाद, चारित्रिक एवम् नैतिक आँच, अनपेक्षित मुद्धामामिला–वादविवाद, अन्यौलता, कपटप्रेमको फन्दा, धन–जन तथा भौतिक सम्पत्तिको क्षतिखति, चोरीहुने हराउने, दैविक विपत्ति, कूल–परिवारमा रोग, घाऊखटिरा–चोटपटक, वायु विकार–उदररोग, स्नायू आदि साध्यासाध्य स्वास्थ्य समस्याको सम्भावनालाई खगोलीय ग्रहस्थितिले संकेत गरेका छन् । भाद्र पछिका दिनमा अझै सावधानी अप्नाउनु पर्ने देखिन्छ ।

तर जन्म समयमा शनि आदि ग्रह अनुकूल अर्थात कारक रहनेको लागि भने प्रतिकूल फल कम घटित भइ आकस्मिक लाभ एवं राजमान तथा अधिकार पनि प्राप्ति हुनसक्ने छ ।

त्याग एवम् ईश्वर प्रणिधानको भावनालाई प्रसय दिएर निस्काम कर्म गर्नु बुद्धिमानी हुनेछ । योगसाधनाको साथमा हनुमानवीर, शनिमहाकाल र भैरवदेवको स्तुति आराधना उपाशना गर्नु शान्तिप्रद हुनेछ । दीनदुःखी, गरीब, अनाथ, असाय एवं श्रमिक वर्गलाई सहयोग हुने काम गर्नु जसबाट ग्रहजनित दुष्प्रभाव कम हुनेछ ।

कुम्भ राशि (गु.गे.गो.स.सी.सु.से.सो.द.) –
कुम्भ राशि हुनेहरूको लागि यो वर्षमध्यम छ । कर्मक्षेत्रमा अप्रत्यक्ष रोकावट एवं आर्थिक मन्दिको सामना गर्नुपर्ने छ । तथापि दैनिक पेशा तथा व्यवसाय एवं ठिक्कको कार्यमा सफलता प्राप्त हुनेछ । न्यायिक विजय मिल्ने रकुलभित्र प्रतिष्ठा बढ्ने जस्ता कामहरू गर्नसकिने छ । व्यक्तिगतभन्दा सामाजिक एवं अर्काको कार्यमा समय दिनपर्ने छ । केही हद्सम्म सामाजिक प्रतिष्ठा आर्जन गर्नपनि सकिने छ ।

अल्लि विशेष महत्त्व दिएका कामकार्यहरूमा भने अबरोध सृजना हुनसक्ने देखिन्छ । कतिपय कामहरू अन्तिममा पुगेर अल्झिनसक्ने छन् । व्यापार–व्यवसायी तथा फार्मिङ्ग कृषक तथा उद्यमीलाई साख बचाउन धौधौ पर्नसक्ने छ । जसको ज्योतिषीय उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ ।

जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूलाई अध्ययनमा अबरोध देखिन्छ । तसर्थ ग्रहउपचारको साथमा विद्यार्थीहरूले अध्ययनमा विशेष जोड् गर्नु पर्ला । गृहस्थीहरूलाई सन्ततिकष्ट, सन्तानसँग अमेल आदिको सम्भावना प्रतित् भइरहेको छ । गर्भवती दम्पतिले विशेष ख्याल पुर्याउनु पर्ने देखिन्छ ।

पछि पर्दाफास हुने अवैधकार्य एवं कुधनको कुचेष्टा तर्फसमेत मन आकर्षित हुनसक्ने कुरालाई नकार्न सकिन्न । चोटपटक, घाऊखटिरा, पिलो, ग्रन्थी सुजन, पेटसँग सम्बन्धित रोग आदिले सताउन सक्नेछ । भाद्र उपरान्त ग्रहको स्थितिमा केही सुधार आउने र परेका समस्यामा कमि आउने तथा केही कामकार्यमा सफलता प्राप्त गर्न सकिने छ ।

स्वास्थ्य लगायत सम्भावित अनिष्ट एवं ग्रहजनित दुष्प्रभाव तथा रोकावटलाई निवाराण गर्नको लागि योगदर्शनलाई आत्मसात गर्दै भैरवदेव र माँ बगलामुखीको साथै विद्यार्थीले माँ सरस्वतीको स्तुतिध्यान एवम् श्रद्धाभक्ति व्रत आदि गर्नु हितकर हुने छ ।

मीन राशि (दी.दु.थ.झ.ञ.दे.दो.च.ची.) –
यो वर्ष मीन राशिको लागि संघर्षकर छ भने खासै उपलब्धिमूलक हुन कठिन देखिन्छ । बढी महत्त्व दिएको काममा हलो अड्कन सक्नेछ । आशा–अपेक्षा एवं आश्वासन प्रसस्त हुने तर पूरा हुन नदिने ग्रहगोचर रहेकोले कम भरोसा गरेको राम्रो होला ।

श्रमिक वर्गसँगको सहकार्य, झट्ट हेर्दा सफासुग्घर नदेखिने र खासै ईज्जतिलो नमानिएको तर लोक सेवा हुने एवम् सदाचारी कार्यमा भने संघर्षको वाबजुत पनि केही सफलता मिल्ने छ । भलै कठिनाइको बढी अनुभूति किन नहोस स्वकर्मलाई प्रसय दिने कर्मयोगीको लागि भने अपगाल तथा अपयशको बाबजुत अप्रत्यासित उपलब्धि र सफलता मिल्ने छ ।

जन्मकालीन ग्रह अनुकूल हुनेलाई आकस्मिक रूपमा नसोंचेको सफलता एवं लाभ मिल्नसक्ने छ । तर राज्य एवं सामाजिक र व्यवसायिक काममा अनपेक्षित लाभ भयो भन्दैमा मख्ख भने नपर्नु होला । अप्रत्यासित रूपमा विभिन्न खालका प्रस्तावहरू आउने छन् तर नबुझि स्वीकार गर्नु घातक पनि हुन सक्नेछ । अल्लि सावधानी पनि अप्नाउनु होला कुनियतको चक्रब्यूहमा पनि फसिनसक्ने सम्भावना छ ।

जन्मकालीन ग्रह प्रतिकूल पर्नेहरूलाई दैनिक कामकार्य तथा व्यवहार चलाउन पनि धौधौ पर्नसक्ने छ ।  पापकर्म एवम् कुधन आर्जनको चेष्टा नआउला भन्न सकिन्न । विशेष होसविचार तथा संयम नपनाए ईज्जत प्रतिष्ठामै धक्का लाग्नसक्ने छ ख्याल पुर्याउनु पर्ला ।

खाईपाई आएको सेवासुविधा तथा पदप्रतिष्ठा अर्थात भोगाधिकारबाट हात झिक्न पर्नसक्ने छ । घरपरिवार, दाम्पत्यसम्बन्ध, यात्रा, मित्रसम्बन्ध आदिमा असमझदारी बढ्ने,  कष्ट पर्ने, टाढिनुपर्ने आदिलाई नकार्न सकिन्न । मान्यजन कष्ट, परिवारमा रोगव्याधि, शत्रुवृद्धि, पशुचौपाया तथा वाहनादिबाट खतिक्षति जस्ता विपरित फलको पनि लक्षण देखिन्छ ।

यो वर्ष तपाईले योगसाधनाको साथमा भैरवर हनुमानदेवको दर्शनभक्ति आराधना उपाशना गर्नु हितप्रद हुनेछ ।

गौ–सेवासबै प्रकारका अनिष्ट ग्रहको शान्तिको उपाय होः
जुन गाईको जुरो हुन्छ, गलामा माला हुन्छ, खुर दुईवटा हुन्छन्, सिङ् पिरामिड आकारको हुन्छ, यस्ता गुण सम्पन्न गाईलाई मात्रै वैदिक धर्मले गाईको संज्ञा दिएको छ । यी गाईनै वैदिक गाई हुन् । यिनै गाईलाई वैदिक सनातन धर्मले पूजनीय बताएको छ । यिनै गाईमा तेत्तिसकोटी देवीदेवताको बास हुन्छ । दुध तथा दुग्धजन्य पदार्थ यिनै गाईको मात्रै अमृतसमान हुन्छ नकि जर्सी, होलिस्टेन लगायतका गाईको ।

स्मरण रहोस बाहिरबाट भित्र्याइएका जर्सी, होलिस्टेन लगायतका गाई वैदिक गाईमा पर्दैनन् र यी गाईको दुध तथा दुग्धजन्य पदार्थ स्वास्थ्यको लागि हानिकारक भएको वैज्ञानिक रूपमै मेडिकल साइन्स आदिले प्रमाणित गरिसकेका छन् । जर्सी तथा होलिस्टेनिक लगायतका बाहिरबाट भित्र्याइएका र गाईमा हुनपर्ने जुरो, दुई खुर, माला, पिरामिड आकारको सिङ् नभएका गाईमा पूजनीय गुण पाइदैन ।

तेत्तिसकोटी देवीदेवताको बास हुने हाम्रो स्थानीय जातिका वैदिक गाईको सेवा गर्दा ग्रह बिग्रदा गरिनेसबै देवीदेवता एवं ऋषिगणको सेवा हुन्छ, पूजा हुन्छ । त्यसैले नै सबैभन्दा ठूलो ग्रहशान्ति, जान अन्जानमा भएका पापकर्मको प्रायश्चित आदिको उपाय गौ सेवा हो । अतः यी गाईको संरक्षणको लागि विभिन्न तवरबाट यथाशक्य सहयोग आदि भूमिका निर्वाह गरेर पनि यहाँले आफ्नो अनिष्ट ग्रह शान्ति गर्नसक्नु हुन्छ ।

नेपालमा स्थानीय जातिका (लोकल) गाईको पालन पोषणको लागि सामाजिक संस्थाहरूबाट गौशालाहरू सञ्चालनमा आएका छन् ति गौशालाहरूलाई सहयोग गरेर पनि यसमा सहभागिता जनाउन सकिन्छ । अन्य व्रत अनुष्ठान आदि गर्न नभ्याउनेहरूको लागि यो सजिलो उपाय हो । 

सम्पर्क बिवरण:-

ज्यो.पं.वैद्यराज दीपक सुवेदी (डबल गोल्डमेडलिष्ट)

ॐ आयुर्वेद आरोग्यशाला तथा, ज्योतिष परामर्श सेवा

कमलमार्ग १७२ केसीटोल कमलपोखरी, काठमाडौं,  नेपाल ।

सम्पर्ण नम्बर : ९८४१२२३१२६, ९८०३८७९९७८, ४४३१७४७

काठमाडौं बाहिरः कोहलपुर न.पा. ५ शान्तिनगर, बाँके ०८१–५४०५३४

Email: astrodeepakguru@gmail.com, aaarogyashala@gmil.com , aumayurved@yahoo.com

फेसबुक :  http://www.facebook.com/jyotishdeepakguru   


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan