Sunday 20th of January | २०७५ माघ ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बास बस्न पाइँदैन देवघाटमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २६ बिहिबार |
newsabhiyan

–सुरेन कुँवर

रत्ननगर, २६ पुस (रासस) । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा आउने भक्तजन स्नान गरेर मात्रै फर्कनु गर्नुपर्ने बाध्यता छ । देवघाटमा लाग्ने मेला तथा महोत्सवमा भक्तजनको चाप वृद्धि हुँदै गए पनि उचित बासस्थानको व्यवस्था नहुँदा स्वदेशी तथा विदेशी पर्यटक स्नान गरेर मात्रै फर्किने गरेका हुन् । नयाँ वर्ष, बोलबम मेला, जनैपूर्णिमा, ठूलो एकादशी, बाला चतुर्दशी, शिवरात्रिलगायतमा यहाँ मेला लाग्छ । माघे सङ्क्रान्तिका दिन सारा देवीदेवता देवघाट क्षेत्रमा आउने विश्वास गरिन्छ । सो दिन त्यहाँ स्नान गरेमा मोक्ष प्राप्ति हुने धार्मिक विश्वास छ । यहाँ भारतीय पर्यटकहरु धेरै आउने बताइन्छ ।


विसं २०५० मा स्थापित देवघाट क्षेत्र विकास समितिले यसको पूर्वाधार विकासका निम्ति गुरुयोजना निर्माण गरे पनि बजेट अभावमा कारण यस क्षेत्रलाई व्यवस्थित गर्न सकिएको छैन । त्यहाँ खासै होटेल, रेष्टुरेण्ट, घरबास आदि छैनन् । यसले गर्दा आन्तरिक तथा बाह्य पर्यटकलाई बास बस्न नारायणघाट नै पुग्नुपर्ने बाध्यता छ ।


चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा प्रत्येक वर्ष माघे सङ्क्रान्ति मेला भर्न मात्रै पाँच लाख बढी धार्मिक पर्यटक आउँछन् । मेलामा आउने १० प्रतिशत पर्यटक आफन्तका घर, आश्रम, धर्मशाला र कल्पबास क्षेत्रमा बस्ने गरेका छन् भने ९० प्रतिशत हिँडेर आउने र बाटाबाटै हिँडेर फर्किने गरेका छन् ।


समितिका अध्यक्ष शिवराज पौडेलले भक्तजन बस्ने भवन निर्माणका विषयमा समिति गम्भीर भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भक्तजनको बसोबासको निम्ति अतिथि गृह, होमस्टे र शाकाहारी भोजनालय निर्माण गर्न निजी क्षेत्रलाई आह्वान गर्नुपर्छ । धेरै भक्तजन अट्ने धर्मशाला बनाउन दाताहरुलाई आग्रह पनि गरेका छाँै ।”


सुगम तीर्थस्थल देवघाटको भौतिक पूर्वधार विकास वर्षाैँदेखि नहुँदा यो समस्या जहाँको त्यहीँ छ । सरकारले ल्याउने नीति तथा कार्यक्रममा देवघाटलाई समावेश गर्न नसकेको स्थानीयवासीको गुनासो छ ।

एक लेनको सडक
देवघाटधाम सहजै पुग्न सकिँदैन । नारायगढ–मुग्लिन सडकखण्डअन्तर्गत आँपटारीदेखि देवघाटसम्म करीब ४ किलोमिटरको एक लेनको बाटामा दोहोरो रुपमा सवारी साधन गुड्न कठिन छ । गत वर्ष यो बाटो केही फराकिलो बनाइए पनि देवघाटसम्म पुग्न सवारी साधनलाई समस्या हुने गरेको छ । मेला महोत्सवका बेलामा देवघाट पुग्न एक किलोमिटर वरदेखि नै सवारी साधन जाममा पर्ने गरेका छन् ।


समितिका अध्यक्ष पौडेलका अनुसार सरकारको प्राथमिकतामा देवघाट नपरेकाले यस क्षेत्रको विकासले फड्को मार्न सकेको छैन । मेलाका समयमा ठिमुराबाट प्रवेश गर्ने र आँपटारीबाट निस्कने व्यवस्था मिलाइएको भए पनि बाटो साँघुरो भएकै कारण भक्तजनलाई घण्टौँ लाइनमा बस्नुपर्ने समस्या रहेको पौडेलले बताउनुभयो ।

जोखिममा झोलुङ्गे पुल


भरतपुर महानगरपालिका र देवघाट–वेणी सङ्गम जोड्ने मुख्य झोलुङ्गे पुलमा भक्तजनको चापका कारण जोखिम बढेको छ । विसं २०३७ मा निर्माण भएको पुलमा क्षमताभन्दा बढी भक्तजनको आवतजावत हुने भएकाले यसको जोखिम बढेको हो । “दश वर्षदेखि पुलको जोखिम बढेको शङ्का गरेका छाँै”, समितिका अध्यक्ष पौडेलले भन्नुभयो, “एक पटकमा ७०० जना धान्न सक्ने क्षमता पुलको भए पनि १२०० जना हिँड्नुपर्ने बाध्यता छ । माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै पुलको मर्मत गरिरहेका छाँै ।”


दुई सय ३५ मिटर लामो यस पुल देशकै सबैभन्दा मानिसहरु आवतजावत गर्ने झोलुङ्गे पुल भएको समितिको जिकिर छ । झोलुङ्गे पुलको एक मिटर लम्बाइ बराबर तीन मानिस धान्न सक्ने क्षमता हुन्छ । समितिले यस वर्ष माघे सङ्क्रान्ति मेलाका समयमा जोखिम न्यूनीकरण कम गर्न धेरैभन्दा धेरै डुङ्गा र ¥याफ्टिङ बोट सञ्चालन गर्ने व्यवस्थापन मिलाएको छ ।


विकल्पमा पक्की पुल
समितिले देवघाट – वेणी सङ्गम जोड्न केवलकार, त्रिकोणात्मक पुल र पक्की पुल निर्माणलाई गुरुयोजनामा समावेश गरेको छ ।
अहिले सञ्चालनमा रहेको झोलुङ्गे पुलको ९० मिटर पूर्वपट्टि पक्की पुल बनाउने कामलाई अघि बढाइएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । त्यसका लागि सडक विभागले माटो परीक्षण र सर्भे गर्ने काम भइसकेको छ भन्दै उहाँले रु ३० करोडको लागतमा पुल निर्माण हुने बताउनुभयो । पुल निर्माण गर्न स्थानीय, प्रदेश र केन्द्रीय सरकारसँग बजेटका लागि पहल थालिएको उहाँले जानकारी दिनुभयो ।

भक्तजन बढ्ने
यस वर्ष माघे सङ्क्रान्ति मेला भर्न आउने भक्तजनको सङ्ख्यामा वृद्धि हुने समितिले जनाएको छ । गत वर्ष ५ लाख भक्तजन देवघाट आएकामा यस वर्ष साढे ५ लाख झक्तजन मेलामा आउने समितिका अध्यक्ष पौडेलेले जानकारी दिनुभयो । हरेक दुई दुई वर्षमा आयोजना हुने चितवन महोत्सव अवलोकन गर्न आउनेहरु मेलामा स्नान पनि गर्न आउने भएकाले भक्तजनको सङ्ख्यामा वृद्धि हुने आयोजकले अनुमान गरेको छ । मेला व्यवस्थापन गर्न समितिको संयोजकत्वमा २०५ सदस्यीय समिति गठन गरिएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan