Sunday 20th of January | २०७५ माघ ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुनकाण्डमा ‘ठूला माछा’ जोगिए !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २७ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २७ पुस । ३३ किलो सुन तस्करी प्रकरणमा ठूलो माछा खोजिरहेको केपी ओली नेतृत्वको सरकार ‘ह्वेल’ नै अगाडि आएपछि तर्सिएको छ । तस्करीका बादशाह मानिने दीपक मलहोत्रा ‘ह्वेल’ बनेर अगाडि आएपछि उक्त प्रकरण अनुसन्धानमा सरकार पछाडि हटेको हो ।

महानगरीय अपराध महाशाखाका तत्कालीन एसएसपी दीवेश लोहनीको टोलीले साढे ३३ केजी सुन तस्करीमा दीपक मलहोत्रा मुख्य अभियुक्त भएको पहिचान गर्यो । मलहोत्राले विगत ३० वर्षदेखि नेपाल हुँदै भारतसम्म सुन तस्करी गर्दै आएको टोलीको निष्कर्ष छ ।

लोहनी नेतृत्वको अनुसन्धान टोलीले एक हप्तामै सुन तस्करको पहिचान गरेको थियो । टोली तस्करीको साढे ३३ किलो सुनसहित लामो समयदेखि नेपालमा भइरहेको सुन तस्करी बाहिर ल्याउने अन्तिम तयारीमा थियो । उच्च दबाबका कारण टोलीले त्यसलाई बाहिर ल्याउन पाएन ।

तर, सत्तासीन दलका शीर्ष नेता र मन्त्रीहरुसम्म सीधै पहुँच रहेका मलहोत्रालाई कारबाही गर्न सरकार पछि हट्यो । मलहोत्राले नै प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्ड, गृहमन्त्री रामबहादर थापा र वामदेव गौतमलाई महाशाखाबाट अनुसन्धान रोक्न दबाब दिएको थियो ।

गत माघ ९ गते त्रिभुवन विमानस्थलबाट भित्रिएको साढे ३३ केजी सुन बाटोबाटै गायब भयो । केही समयपछि सुन तस्करीमा संलग्न भरिया सनम शाक्यको हत्या भयो ।

सनमको हत्यापछि विगत तीन दशकदेखि नेपालबाट ठूलो परिणाममा सुन लगायत महत्वपूर्ण सामान तस्करी भइरहेको घटना बाहिर आयो ।

सरकारले टोलीको जिम्मेवारी खोस्दै गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौड्यालको संयोजकत्वमा ०७४ चैत ३० गते नौ सदस्यीय छानबिन समिति गठन गर्यो ।

प्रधानमन्त्री ओलीको हस्तक्षेपमा गृहमन्त्री थापाले गठन गरेको छानबिन समितिले एसएसपी लोहनीलाई नै सुन तस्करीमा दोषी रहेको भन्दै कारबाहीका लागि सिफारिस गर्यो ।

२०७५ वैशाख १९ गते गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले लोहनीसहित उक्त प्रकरण अनुसन्धान गरिहेका प्रहरी अधिकारीलाई सुन तस्करी र सनम हत्यामा दोषी देखायो ।

सहसचिव पौड्याल संयोजकत्वको छानबिन समितिले केही तस्करीका भरिया गरी करिब ७० जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गर्यो । समितिको म्याद असार ३२ गते सकियो ।

तीन महिना लगाएर गरिएको अनुसन्धानमा केही भरिया पक्राउ परे । समितिले मलहोत्रा नै तस्करीको नाइके भएको पत्ता लगाए पनि मलहोत्रामाथि छानबिन त परैको कुरा सोधपुछ गर्न हिम्मतसम्म गरेन ।

कारण थियो, मुख्य अभियुक्त मलहोत्राको प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष प्रचण्ड, गृहमन्त्री थापासँग हिमचिम हुनु, त्यसपछि छानबिन समितिलाई प्रलोभनमा पारी अनुसन्धान सामसुम पार्न लगाईयो । छानबिन समिति त्यहीबाट पछाडि हटेर सरकारलाई प्रतिवेदन बुझायो ।

मुख्य अभियुक्त जोगाएबापत छानबिन समितिका संयोजक पौड्याल अध्यागमन विभागमा सरुवा भए । महानगरीय प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेललाई पाँच महिनामै हटाएर एसएसपी बसन्त लामालाई परिसर प्रमुख बनाइयो ।

छानबिन समितिका अन्य सात जनालाई विभिन्न आकर्षक स्थानमा सरुवा गरिएको छ । समितिले तीन महिनासम्म अनुसन्धान गर्दा केही भरिया मात्र पहिचान गर्यो तर मुख्य अभियुक्त मलहोत्रा र उनका सहयोगी मोहन अग्रवाललाई उम्कायो ।

उच्च स्रोतका अनुसार तस्करीमा संलग्न मोहन अग्रवाल र विमल पोद्दार मलहोत्राका निकट सहयोगी हुन् । अग्रवाल अझै फरार छन् भने पोद्दार पक्राउ परे पनि छानबिन समितिसमक्ष खुलेका छैनन् ।

यत्तिकैमा छानबिन समितिको म्याद सकियो । अहिले सुनकाण्डको छानबिन कसले गरिरहेको छ ? सरकारसँग जबाफ छैन ।

व्यवसायी मलहोत्राले तस्करीबाट कमाएको पैसा गत चुनावमा तत्कालीन एमाले र माओवादी केन्द्रलाई आर्थिक सहयोग गरेको खुलेको छ, खबर आलोचनामा उल्लेख छ ।

मलहोत्राले आफूमाथि कुनै पनि किसिमको अनुसन्धान वा कारबाही गरे आर्थिक सहयोग र तस्करीको समेत पर्दाफास गर्ने धम्कीपछि सरकार पछाडि हटेको छानबिन समिति स्रोतको दाबी छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan