Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सेतो चिनीका काला व्यापारीको अगाडि सरकार निरीह

चिनी उत्पादनमा आत्मनिर्भर हुन नदिन उद्योगीको खुला सक्रियता

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २९ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २९ पुस । दुई वर्षमा चिनी उत्पादनमा आत्मनिर्भर हुने सरकारी योजनालाई असफल बनाउन चिनी उद्योगीहरु नै सक्रिय भएका छन् । चिनी उद्योगी र चिनीको आयातकर्ता एकै व्यक्ति हुँदा सरकारी योजनालाई असफल बनाउने प्रयास भएको हो ।

सरकारले उखुको मूल्य निर्धारण गरेपछि चिनी उद्योगीहरुले उखु खरिद बन्द गरेका छन् । उद्योगीले नै उखु खरिद नगरेपछि दुई वर्षमा चिनीमा आत्मनिर्भर हुने सरकारी योजना अलपत्र पर्न गएको हो ।

केही दिनअगाडि बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७५/०७६ का लागि उखुको न्यूनतम मूल्य प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको थियो ।

उखु उत्पादक कृषकले सिधै भुक्तानी पाउने गरी उखु कृषकलाई अनुदान दिनेसम्बन्धी कार्यविधि, २०७५ बमोजिम प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान उपलब्ध गराउन अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई रकम निकासा दिन निर्णय गरेको थियो ।

सरकारको उक्त निर्णयको कारण चिनी मिलहरुले सम्बन्धित उखु कृषकहरुलाई प्रतिक्विन्टल ४७ रुपैयाँ २८ पैसा नघटाई समयमै रकम भुक्तानी दिनुपर्नेछ ।

सरकारले किसानको हितका लागि निर्णय गरे पनि चिनी उद्योगीहरुले भने सरकारले तोकेको दरमा उखु खरिद गरेका छैनन् । चिनी उद्योगीहरुले उखु खरिद नगर्दा किसानका उखु बारीमै सुक्न थालेको छ ।

सरकारले उखुको मूल्य तोके पनि चिनीको मूल्य नतोकेको भरेर चिनी उद्योगीहरुले उखु खरिद नगरेका हुन् । सरकारले तोकेको मूल्यमा उखु खरिद गर्ने हो भने चिनीको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ पु¥याउनुपर्ने माग चिनी उद्योगीहरुले गरेका छन् ।

नेपालको उखु खरिद नगरे पनि चिनी उद्योगीहरुले चोर बाटो प्रयोग गरी भारतबाट उखु र चिनी ल्याएर नेपालका चिनी उद्योगको छाप लगाएर बिक्री गर्दै आएका छन् ।

दशैँअगाडि चिनी उद्योगीहरुको मागअनुसार सरकारले चिनी आयातमा पूर्ण प्रतिबन्ध लगाएर उनीहरुकै मागअनुसार न्यूनतम मूल्य प्रतिकिलो ७० रुपैयाँ तोके पनि संसद्को सार्वजनिक लेखा समितिले प्रतिकिलो ६३ रुपैयाँ तोक्न निर्देशन दिएको थियो ।

दशैंअगाडि व्यापारीहरुले भारतबाट चोरबाटो प्रयोग गरी चिनी आयात गरेर नेपाली उत्पादन भन्दै बिक्री गरेको सार्वजनिक भएको थियो । तर, सरकारले आफैंले स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन दिने भन्दै आयातमा बन्देज लगाएपछि चिनी उद्योगी र व्यापारी एउटै भएको खुलेपछि सरकार चुप लागेको छ ।

चिनी उद्योगीको षड्यन्त्रमा सरकार फस्दा समस्या परेको सरकारकै एक मन्त्रीले शनिबार विराटनगरमा आयोजित एक कार्यक्रममा स्वीकार गरेका छन् ।

नेपाली उद्योगीलाई प्रोत्साहन गर्ने निर्णय गर्दा उद्योगीहरुबाट धोका पाएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बदमास उद्योगीहरुलाई सरकारले सिस्नुपानी लगाएर कारबाही गर्ने बताएका छन् ।

मन्त्री पण्डितले बदमासी गर्ने उद्योगीहरुलाई सरकारले सिस्नुपानी लगाउने भने पनि सरकारले तोकेको मूल्यमा उखु खरिद नगर्ने चिनी उद्योगीलाई केही कारबाही गर्नसकेको छैन ।

एउटै व्यक्ति उद्योगी र व्यापारी भएको कारण सरकारले धोका पाएको मात्र होइन, किसानहरु पनि चिन्तित छन् । अहिले किसानहरुबाट उखु खरिद नगर्ने उद्योगी भेषका सेतो चिनीका काला व्यापारीहरुले अहिले पनि आफ्नो व्यवसाय भने गरिरहेका छन् ।

सेतो चिनीको कालो व्यापारको कारण अहिले विश्वमै नेपालको चिनी महंगोमा पर्छ । खुला र प्रतिस्पर्धात्मक बजार नीतिविपरीत चिनी उद्योगहरुले असोजमा लगाइएको परिमाणात्मक बन्देजलाई कायम नै राख्न लगाई आफ्नो उत्पादनको मूल्य बढाउने कोसिस पुनः गर्न लागेको कारण किसानको बारीबाट उखु खरिद नभएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार लेखेको पत्रमा उल्लेख छ ।

नेपालमा स्थापित १३ वटा चिनी उद्योगहरु सरकार र सरकारी संयन्त्रलाई अनुचित दबाब दिई आफ्नो स्वार्थअनुकूल चिनीको बजारलाई आफ्नो कब्जामा लिई सञ्चालन गर्दै आएको छ । यी चिनी उद्योगीहरुमा राजनीतिक दलका नेताहरु पनि छन् ।  (आर्थिक दैनिकबाट)


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan