Thursday 14th of December | २०७४ मङ्सिर २८ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाेखराकाे विकासमा निर्मम भएर निर्णय गर्छाैंः मेयर मानबहादुर जिसी

न्यूजअभियान | प्रकाशित मिति : २०७४ जेठ १६ मंगलबार
newsabhiyan
newsabhiyan

अपेक्षा गर्नुभएको थियो, यो खालको जित हुन्छ भनेर ?

गाविसको र केन्द्रको गरेर यो मेरो चौथो चुनाव हो । गाविसको चुनाव लड्दा एकल ढंगको हुँदो रैछ । आफू जति दौड्यो त्यति हुने । संविधान सभाको दोस्रोपटकको चुनावको पनि अनुभव थियो । त्यो बेलाका कमी कमजोरीबाट सिकेको थिएँ । पार्टी हुने भइहाल्यो, साथीभाइ र आफन्त पनि सहयोगी भए । कास्की जिल्लामा बसेर ५० सालदेखि पार्टीको कहिले प्रमुख भएर, कहिले इन्चार्ज भएर काम गरें । सामाजिक रुपमा पनि काम गरें । साथीहरुलाई मैले भनेको थिएँ—१० हजारको मतान्तरले जित्छौं । तर साथीहरुले त्यत्रो होइन, ३-४ हजार मतान्तरले जित्नुहुन्छ भन्नुहुन्थ्यो । अहिले तपाईंले भनेको ठिक रहेछ भन्नुभएको छ साथीहरुले ।

यो सहज ढंगले पहुँच पुर्‍याउन सकिने मान्छे हो भनेर मतदाताले विश्वास गर्नुभएको हो । यसले अवसर पाएको छैन र पाउँदा पनि बेइमान गर्दैन भन्ने मतदाताको विश्वास हो । मेयर भइसकेपछि त्यो विश्वासलाई मैले जतन गर्नेछु ।

अझै इमान्दारीपूर्वक भन्दिनोस् न किन यति धेरै मत आयो होला ?
म राजनीतिक रुपमा, सामाजिक रुपमा कास्कीमा घुलमिल भइराखेको र सबैले सकारात्मक भएर सहयोग गरिदिनुभएकाले पनि हो ।

कांग्रेस र माओवादी गठबन्धन किन असफल भयो ?
उहाँहरुको सम्बन्ध उत्तर र दक्षिणको सम्बन्ध असम्भव थियो । जबरजस्ती सम्बन्ध कायम गर्न खोज्दा मतदाताले सहज रुपमा लिएनन् । स्थानीय चुनाव नभएको २० वर्ष भएकाले अरु पार्टीहरुले आफ्नो धरातल थाहा पाएनन् । हाम्रो पार्टी एमालेले जितेर जानुपर्छ भनेर लागेका थियौं । पार्टी सरकारमा हुँदा हाम्रो अध्यक्ष केपी ओलीले प्रधानमन्त्री भएर भारतीय नाकाबन्दीका विरुद्ध जुन खालको अडान लिनुभयो, राष्ट्र र राष्ट्रियताका बारेमा जुन खालको प्रष्ट धारणा आयो त्यसबाट पनि मतदाताहरु आकर्षित भएको हाम्रो ठम्याइ हो ।

अलिअलि अन्तर्घात पनि भयो होला नि तपाईंहरुलाई ?
अन्तर्घात त म भन्दिनँ । हामीले संस्थागत रुपमा गरेका कमजोरीले केही केही भोट तलमाथि भए होलान् । उम्मेदवार छनोट गर्दा भएका समस्याले केही केही तलमाथि भयो होला तर अन्तर्घातै भयो भन्ने पक्षमा छैन । ती समस्या पार्टीलाई चुस्तदुरुस्त बनाएपछि ठिक हुन्छन् ।

मेयरको पदबहाली गरेपछि केबाट कामको सुरुआत गर्नुहुन्छ ?
महानगर ठूलो छ । काम पनि धेरै गर्नुछ । तर हामी मसिना कामबाट सुरु गर्छाैं । सेवाग्राहीले बिना झन्झट सेवा पाउनुपर्छ । पहिलो काम त्यो हुन्छ । सुन्दर नगरी पोखरी भनेका छौं, तर सडकमा तारैतारको जालो छन्, फोहोर छन् । नाला छ पानी बग्दैन । सडकमा बग्छ । त्यस्ता साना काम पनि जनताले प्रत्यक्ष महसुस गर्ने गरी गर्छाैं । पार्टीभित्र र बाहिरका विज्ञ साथीहरुको सिप क्षमतालाई महानगरको विकासका लागि सदुपयोग गर्छाैं ।

अहिलेसम्म नगरपालिका कर्मचारीबाट चल्यो । त्यहाँ एकखाले जालो लागिसकेको छ । त्यो जालो च्यातेर काम गर्न सक्नुहुन्छ ?
सकिन्छ । तर एकैचोटि छु मन्तर कि बाचा नहोला । कर्मचारी साथीहरुको पनि क्षमता बढाएर काम गर्नुपर्छ । जनताले तिरेको करबाट तलबभत्ता खाएको हुँदा जनताको सेवक बन्नुपर्छ । हामीले पनि त्यही गर्नुपर्छ । जनताको हितका निम्ति कुनै पनि मोलाहिजा नगरी काम गर्छाैं ।

अहिलेको महानगरका त धेरै काम कर्तव्य र अधिकार छन् नि ?
महानगरको विकासका लागि यहाँ काम गर्न सुरु गर्‍यो भने माथिबाट रोकिदिने, यहाँ काम गर्नुप¥यो भने माथि सोध्नुपर्ने अवस्था अब रहन्न । संविधानसँग नबाझ्ने गरी आफूलाई चाहिने नियम कानुन पनि हामी बनाउन सक्छौं । सय वर्षपछिको पोखरा कस्तो बनाउने भनेर अहिले हामीले काम गर्न सक्छौं । त्यो दुरगामी दृष्टि र योजना बनाएर हामी काम गर्न सक्छौं । पोखरामा स्रोतको अभाव छैन, साधनको अभाव छैन । अभाव छ त केवल दृढइच्छा शक्तिको । दृढइच्छा शक्ति लिएर काम गर्न सक्छौं हामी ।

अब पोखरा यस्तो बन्छ भनेर कहिले भन्न सकिएला ?
विज्ञहरुको सहयोगमा पोखराको गुरुयोजना नै बनाएर काम गर्ने हो । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर हामी अगाडि बढ्छौं । पोखरालाई उपयुक्त हुने नीति बनाएर कार्यान्वयन गर्छाैं । हामी विज्ञ होइनौं । विज्ञहरुको सहयोग लिने हो । साँच्चै पोखरा बनाउन हामी आँखा चिम्लिएर निर्मम भएर निर्णय गर्छाैं । बरु निर्णय गर्नुभन्दा अघि १७ चोटि सोच्छौं । हामीले अर्काे पुस्तालाई कस्तो पोखरा दिने भन्ने चुनौती छ । यो पोखराको सरकार हो । यसले कस्तो संस्कार बसाल्छ भन्ने महत्वपूर्ण हुन्छ ।

महानगरको नामबाट लेखनाथ हटाउनुपर्छ भन्ने माग पनि सुनिन्छ । के गर्नुहुन्छ ?
भावनात्मक रुपमा जोडिएको नाम हो लेखनाथ । पोखरा अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त नाम हो । पहिचान र भावनासँग जोडिएको लेखनाथ कुनै उत्तेजना र आवेशमा आएर हटाउँदा मान्छेहरुको मनमा चोट पर्छ । सबैको साझा सहमति भए हामी समात्दैनौं । मान्छेहरुको भावनामा ठेस पुर्‍याएर अर्काे विद्रोह जन्माउने हाम्रो उद्देश्य हुँदैन ।

तपाईंसँग मेयरमा प्रतिस्पर्धामा उभिएर निकटतम् प्रतिस्पर्धी बन्नुभएका कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई के भन्नुहुन्छ ?
मलाई एमालेले टिकट दियो । तर भोट धेरैले दिनुभयो । क्रस मतहरु आए । कुँवरजी र म फरक पार्टीबाट प्रतिस्पर्धा गर्‍यौं । स्वच्छ प्रतिस्पर्धा भयो । वैरभाव राख्नुपर्ने केही छैन । हामी उहाँलाई पनि साथ लिएर पोखराको विकास गर्छाैं । न्यूज अभियानका लागि समाधान दैनिकबाट ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan