Tuesday 13th of November | २०७५ कार्तिक २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पर्यटक भित्र्याउन राजदूतावास सक्रिय

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

चितवन । भूकम्पपछि अस्तव्यस्त बनेको नेपालको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न नयाँ कार्यक्रमका साथ रुसका लागि नेपाली राजदूतावास लागि परेको छ । तीन वर्षअघि राजदूत नियुक्त भएसँगै डा रविमोहन सापकोटाले रुसी नागरिकलाई नेपाल पर्यटकीय गन्तव्य भएको चिनाउँदै आउनुभएको छ । दुई दिनअघि नेपाल आई पुग्नुभएका राजदूत सापकोटाले भूकम्पपछि अरु नयाँ कार्यक्रमका साथ पर्यटन प्रवद्र्धनका लागि आफू लागि परेको बताउनुभयो ।

रुसका नौ करोड जनता बर्सेनि विभिन्न ठाउँको भ्रमण गर्ने गरेको बताउँदै उहाँले आफू राजदूत हुँदा नेपाल भित्रिनेको सङ्ख्या पाँच हजार रहेकामा हालसम्म आइपुग्दा यो सङ्ख्या बढेर १३ हजार नाघेको बताउनुभयो । जुन, जुलाई र अगस्त रुसमा घुमफिरको महिनाको रुपमा चिनिन्छ । यो समय बिदा हुने हुँदा उद्योगी, व्यवसायी, कर्मचारी, पेसाकर्मी घुम्न रुचाउने गर्दछन् । राजदूत सापकोटाका अनुसार रुसले आफ्ना नागरिकलाई बिदामा भ्रमण गर्न उत्प्रेरित गर्दछ ।

भ्रमण गर्नेलाई बैंकमार्फत सहजरुपमा ऋणसमेत दिने गरेको उहाँले बताउनुभयो । ठूलो सङ्ख्यालाई नेपालप्रति आकर्षित बनाउन एलेक्स सान्दर तेरेन्तीयालाई अवैतनिक राजदूत नियुक्तिको तयारी भइरहेको राजदूत सापकोटाले जानकारी दिनुभयो । पाँच पटकसम्म नेपालको भ्रमण गरेका तेरेन्तीया अवैतनिक राजदूत बनेपछि सेन्टपिटस्वर्गमा कार्यालय खुल्नेछ । जसबाट नेपालमा पर्यटक भित्र्याउन थप सहज हुने सापकोटाको भनाइ छ ।

सगरमाथा आरोहण गरेका १३ जना रुसी आरोहीलाई दूतावासमै बोलाएर सम्मान गर्नुका साथै नेपाल घुम्न प्रेरित गरिदिन आफूले आग्रह गरेको पनि उहाँले बताउनुभयो । रुस नेपाल मैत्री समाजमार्फत वरिष्ठ रुसीहरुलाई नेपाल ल्याएर यहाँका पर्यटकीय सुन्दरताको बारेमा रुसमा प्रचारप्रसारसमेत गराइरहेको राजदूत सापकोटाले बताउनुभयो ।

पछिल्लो समय भूकम्पका कारण फैलिएको नकारात्मक धारणाको अन्त्य गर्न यही असार ३० गते रुसमा नै त्यहाँका पर्यटन व्यवसायी, गाइड, अपरेटरलगायतको बृहत् छलफल कार्यक्रम राखिएको पनि उहाँले बताउनुभयो । छलफल पछि १५ जना विभिन्न क्षेत्रका प्रतिनिधिलाई नेपालको पर्यटन बोर्ड र यहाँका होटलको सहयोगमा यहाँका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमणको कार्यक्रमसमेत राजदूतावासले राखेको छ ।

त्यसैगरी आउँदो सेप्टेम्बरमा रुसका पत्रकारसहितको टोली नेपाल ल्याउने तयारीमा दूतावास जुटेको छ । यसबाट भूकम्पका कारण जुन त्रास रुसमा फैलिएको छ, त्यो अन्त्य हुने र थप पर्यटक नेपाल भित्रिने सापकोटाको भनाइ छ । मुख्यरुपमा रुसीहरु नेपालको संस्कृति, बुद्धिजम र प्रकृतिसँग रमाउने गर्दछन् । हिमाल, पहाड उक्लने उनीहरुको बढी इच्छा हुन्छ ।

आफ्नो देशमा सधैँ हुने नाकाबन्दी र आक्रमणबाट दिक्क भएका रुसीहरु बन्द हडताल र द्वन्द्व भएका ठाउँमा घुमफिर गर्न रुचाउँदैनन् । रुसबाट हतियारसहितका उत्पादन बाहिरिने गरेकाले यहाँ अमेरिका र युरोपको सधैँ नाकाबन्दी हुने गरेको छ । रुसको १३ करोड जनसङ्ख्या छ । उचित वातावरणको अभावमा नेपाली भने रुसमा ५०० को हाराहारीमा मात्र रहेका छन् ।

रुसमा रहेका स्थापित व्यवसायी उपेन्द्र महतो, जीवा लामिछाने, सानिमा ग्रुप जस्ताले समेत रुस छाडिसकेका छन् भने भाषा र उत्पादनको क्षेत्र कमी भएका कारण रुसमा नेपाली टिक्न नसकेको बताइन्छ । रोजगार गन्तव्य नबने पनि वातावरण बनाउन सकेमा नेपालको भूमि रुसी जनताका लागि प्रमुख पर्यटकीय गन्तव्य बनाउन सकिने राजदूत सापकोटाको विश्वास छ । रासस


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan