Thursday 14th of December | २०७४ मङ्सिर २८ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निजामतीमा दोहोरिँदै आईजी काण्ड : प्रहरी संगठनमा अर्को संकट !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ जेठ ३० मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ३० जेठ । अबको एक महिनापछि मुख्यसचिवको पद रिक्त हुँदैछ । एडिबीको १८ लाख तलबको लोभमा फसेर मुख्यसचिव डा.सोमलाल सुवेदी एडिबी जाने भएपछि उक्त पद रिक्त हुन लागेको हो । नयाँ मुख्यसचिव नियुक्तिका लागि यसपटक निजामती प्रशासनमा ठूलै भाँडभैलो हुने संकेत देखिएको छ ।

त्यसमाथि प्रधानमन्त्री पदमा शेरबहादुर देउवा छन् । पैसाका लागि जे पनि गर्न तयार देउवाले नेपाल प्रहरीमा त्यत्रो काण्ड मच्चाए । तेस्रो वरियताका डिआईजीलाई आईजी बनाए । अदालतले सरकारको निर्णय खारेज गरिदियो र वरिष्ठबाटै आईजी नियुक्त गर्न आदेश दियो ।

त्यसबापत प्रधानन्यायाधीश सुशीला कार्कीमाथि नै महाअभियोग लगाएर कानुनी राजकै धज्जी उडाए । यो सबै काममा गृहसचिव लोकदर्शन रेग्मीले देउवालाई साथ दिएका थिए । देउवा अहिले तिनै रेग्मीलाई मुख्यसचिव बनाएर निजामती प्रशासन ध्वस्त बनाउन हिंडेका छन् ।

सामान्यतया निजामती प्रशासनमा वरिष्ठता र कार्यक्षमताकै आधारमा बढुवा हुन्छ । यसपटक नेपाल प्रहरीमा जस्तै जुनियर सचिव रेग्मीलाई मुख्यसचिव बनाउन लागिएको छ ।

जुन पार्टी आए त्यही पार्टीसँग नाता गाँस्ने गृहसचिव रेग्मी मुख्यसचिव हुने कुरामा ढुक्क छन् । मुख्यसचिव बन्नका लागि आफू जति पनि खर्च गर्न तयार रहेको भन्दै उनी प्रचण्डपुत्र प्रकाश र शेरबहादुर देउवापत्नी आरजुमार्फत् लबिङ गर्दै आएको स्रोत बताउँछ ।

हाल प्रशासनमा धनबहादुर तामाङ, राजेन्द्र क्षत्री र नारायणगोपाल मलेगोको बरिष्ठ सचिवहरु हुन् । तामाङ प्राविधिक तथा कानुन पृष्ठभूमिका भएकाले उनीहरुको मुख्यसचिव बन्ने सम्भावना छैन । त्यस्तै मलेगोको जागिर २ महिना मात्र बाँकी छ । मलेगो छोटो अवधि बाँकी भएकाले उनी मुख्यसचिवको दावेदार भए पनि दौडधुपमा लागेका छैनन् ।

उनीहरुपछि शान्तराज सुवेदी र शान्तबहादुर श्रेष्ठ मुख्यसचिवका दाबेदार हुन् । दुवै सचिव निजामती प्रशासनमा निकै शक्तिशाली  र क्षमतावान कर्मचारीका रुपमा चिनिन्छन् । दुवैको सबै पार्टीका ठूला नेताहरुसँग राम्रो सम्बन्ध छ । त्यसकारण उनीहरुमध्ये नै एक मुख्यसचिव बन्ने धेरै कर्मचारीको आँकलन छ ।

तर भित्री खेल भने फरक छ । शान्तराज र शान्तबहादुर भन्दा जुनियर सचिव रेग्मी जसरी पनि मुख्यसचिव बन्ने दौडमा लागेका छन् । आफू कांग्रेस पृष्ठभूमिको मान्छे भएको भन्दै उनी मुख्यसचिव बन्ने लबिङमा लागेका हुन् ।

रेग्मी नेताहरुलाई रिझाउन खप्पिस सचिवका रुपमा चिनिन्छन् । एमालेका दलबहादुर राना भूमिसुधारमन्त्री हुँदा रेग्मीले आफू पनि एमाले भएको भन्दै भूमिसुधार मन्त्रालयमा मस्ती गरे । त्यसपछि स्याङजाली नाता जोडेर गृहमा ल्याउन बिष्णु पौडेल अर्थमन्त्री हुँदा अर्थमन्त्रालयमा बसे ।

एमालेका अर्थमन्त्रीसँग काम गरेलगत्तै उनको नयाँ सरकार गठनपछि कांग्रेसका गृहमन्त्री बिलमेन्द्र निधिको विश्वासपात्र बनेर सबैलाई चकित बनाए । वास्तवमा निधिले रेग्मीलाई चाहेका थिएनन् । आरजु देउवाको दबाबमा रेग्मीलाई गृहसचिव बनाइयो र बुढानिलकण्ठबाट गृह प्रशासन चलाइयो ।

निधिले गृहमन्त्रीबाट राजीनामा दिनु पछाडिको एउटा कारण आरजु र रेग्मीबीचको साँठगाँठ थियो । यसरी देउवाले ब्याच नै मिचेर मुख्यसचिव बढुवा गरे भने नेपाल प्रहरीमा जस्तै निजामती प्रशासनमा ठुलै विवाद आउने निश्चित छ ।

प्रहरी संगठनमा अर्को संकट
काठमाडौं, ३० जेठ । गृहमन्त्री भएको भोलिपल्टै जनार्दन शर्मा हतार–हतार नेपाल प्रहरी र सशस्त्र प्रहरी मुख्यालयको निरीक्षणमा गए । दुवै प्रहरीको प्रशंसा गर्दै उनले मिठा भाषण गरे । लामो समयदेखि गृहमन्त्रीबाट पीडित बन्दै आएका प्रहरी अधिकारीहरुलाई लाग्यो– अब केही हुन्छ कि रु नियमित वृत्तिविकास रोकिएर निराश प्रहरीलाई उनले तत्काल आफूले बढुवाको प्रक्रिया सुरु गर्ने आश्वासन दिए ।

त्यहीअनुसार प्रहरी अधिकारीहरु पनि खुशी भए । तर, शर्माको भाषण पनि विगतका मन्त्रीहरुको भन्दा केही फरक नभएको बुझेपछि प्रहरीहरु यतिबेला निराश  भएका छन् ।  तत्काल बढुवा प्रक्रिया सुरु गर्ने भनेर भाषण गरेको ५ दिन हुँदासमेत गृह मन्त्रालयले बढुवाको प्रक्रिया सुरु गरेको छैन ।

तत्काल बढुवा सुरु नगर्दा समस्या के छ भने असारमसान्तभित्र प्रहरीका सबै बढुवा सकिएनन् भने बढुवा प्रक्रिया थप ६ महिना लम्बिने छ । यो अवधिमा धेरैले पदावधिका कारण अन्यायपूर्ण रुपमा अनिवार्य अवकाश पाउन सक्छन् ।  नेपाल प्रहरीमा बढुवा प्रक्रिया निकै झन्झटिलो छ । उजुरी परेको खण्डमा एउटा पदको बढुवामै तीन हप्ता लाग्न सक्छ । यो आर्थिक वर्ष सकिन चार हप्ता मात्र बाँकी छ ।

सिपाहीदेखि एआईजीसम्मका पदहरु रिक्त छन् । विगत चार महिनादेखि प्रशासनतर्फ प्रहरीका सबै दरबन्दी रिक्त छन् । सबै विभाग निमित्तका भरमा चलेका छन् । डिआईजी जयबहादुर चन्द त गृहमन्त्रालयमा हाजिर गर्दै घर जाँदै गरेका छन् । अब उनीहरुको जागिर अवधि करिब ९ महिना मात्र बाँकी छ । 

डिआईजीको दरबन्दी ६ महिनादेखि रिक्त छन् । माथिल्लो पद रिक्त हुँदा पनि पदावधिका कारण अवकाश पाउनुपरेपछि एसएसपीद्वय यादवराज खनाल र मिलन बस्नेत प्रहरी नेतृत्वलाई गाली गर्दै अवकाश पाए । अरु धेरै प्रहरी अधिकृतले प्रहरी नेतृत्व र गृह नेतृत्वलाई गाली गर्न थालिसकेका छन् ।  नयाँ आर्थिक वर्ष सुरु भएपछि नयाँ कार्यसम्पादन मूल्याङकन नम्बरका आधारमा बढुवा गर्नुपर्ने हुन्छ,  खबर दृष्टिमा उल्लेख छ ।

आफ्नो कार्यसम्पादन मूल्याङकन बुझाउने समय कात्तिकसम्म हुने प्रहरी नियमावलीमा उल्लेख छ । जसअनुसार मंसिरपछि मात्र बढुवा प्रक्रिया सुरु हुन्छ । त्यसकारण गृहले तत्काल बढुवा प्रक्रिया सुरु नगरे सयौं प्रहरीको करिअर चौपट हुने निश्चित छ । यही कारण चुनावमा समेत प्रहरीले राम्रोसँग काम गर्न नसक्ने अवस्था सिर्जना भएको छ  ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan