Friday 22nd of September | २०७४ असोज ६ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'प्रहरी सङ्गठनमा भाँडभैलोको खतरा देख्दा चित्त दुख्छ'-वसन्तराज कुँवर

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार १६ शुक्रबार
newsabhiyan
newsabhiyan


अन्तर्राष्ट्रिय लागूऔषध दिवसको परिवेशमा नेपालका एक मात्र अन्तर्राष्ट्रिय फ्रिडम मेडल विजेता नार्काेनन् दक्षिण एसियाका प्रमुख पूर्वएसएसपी वसन्तराज कुँवरलाई अन्तर्राष्ट्रिय नार्काेनन प्रधान कार्यालयले एसिया, अस्टे«लिया र न्युजिल्यान्डको प्रमुख बनाई अस्ट्रेलियाको सिड्नीमा काम गर्ने गरी खटाएको छ । नेपालमा लागूऔषध प्रयोगको अवस्थाका साथै सान्दर्भिक विविध विषयमा पूर्वप्रहरी सङ्गठनको अध्यक्षसमेत रहनुभएका कुँवरसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।
० तपाईंलाई नार्कोनन्ले पूरै एसिया तथा अस्टे«लिया र न्युजिल्यान्ड हेर्ने गरी अन्तर्राष्ट्रिय नार्काेनन् अस्टे«लियाको सिड्नी खटाएको चर्चा छ, यथार्थ के हो ?
– हो । एसियामा नार्काेनन् पद्धति अरू मुलुकले भित्र्याउन सकेका थिएनन् किनकि यसका लागि ठूलो संरचना, अन्दाजी ५० जनाको दक्ष तालिमप्राप्त कर्मचारी तथा अन्तर्राष्ट्रिय मापदण्डको सुविधा चाहिन्छ । मेरो र विशेषतः मेरी श्रीमती पूजा कुँवरको कठिन प्रयासबाट नेपालमा यो विधि भित्र्यायौँ र हामीलाई यो विधि दिएको केही वर्षमै हाम्रो नेपालको केन्द्र अन्तराष्ट्रका युरोप, अमेरिका, दक्षिण अमेरिका तथा अस्टे«लियाको नार्काेनन् उपचार केन्द्रभन्दा पनि राम्रोमा गनिन थाल्यो । त्यसैले हाम्रो कामबाट सन्तुष्ट भई अन्तर्राष्ट्रिय नार्काेनन्ले दक्षिण एसियामा पनि नार्काेनन् विस्तार गर्न ककनीमा भवनसमेत बनाई मलाई दक्षिण एसियाको संयोजक बनायो । हामी सीधै अमेरिकाको प्रधान कार्यालयको मुनि रहेर काम गथ्र्याैँ, तर हालै एसिया–अस्ट्रेलिया तथा न्युजिल्यान्ड हेर्ने गरी एक विशाल तालिम केन्द्र र प्रधान कार्यालय सिड्नीमा बन्यो र मलाई त्यहाँको प्रमुखमा छनोट गरिएको छ । दुव्र्यसनविरुद्ध हामीले गर्दै आएको कामको कदर भएकोमा खुसी छौँ ।
० तपार्इं अब अस्ट्रेलिया रहने गरी जानुहुन्छ त ?
– जानैपर्छ, किनकि एसिया तथा अष्ट्रेलिया अनि न्युजिल्यान्डमा ड्रग्स घटाउन, दुव्र्यसनमा परेकालाई बचाउन र पीडित परिवारलाई राहत दिलाउनका साथै त्यहाँका सरकारलाई पनि केही मद्दत गर्न सक्ने क्षमता ममा देखेर नै मलाई छानिएको हो । म मेरो प्रधान कार्यालयको त्यो अपेक्षा पनि पूरा गर्न सक्छु, तर उमेर, घरवार, नेपाली रहनसहन, रोगव्याध, नेपालमा हामीले स्थापना गरेको नार्काेनन् केन्द्र र नेपालीको अपेक्षा, परिवारसँग छुट्टिनुपर्ने कुरा विचार गरी मैले आफूले दक्षिण र दक्षिण–पूर्वी एसियाको जिम्मा लिएर नेपालबाटै हेर्न पाऊँ भनी माथिल्लो कार्यालयमा अनुरोध पठाएको छु । यदि अनुरोध नमानिएमा म कुनै पनि समय देश छोडी अस्टे«लियामै काम गर्ने गरी जान सक्छु ।
० तपाईं र तपाईंको परिवारले नेपालमा ड्रग्सको व्यवस्थापनमा अविस्मरणीय योगदान दिनुभयो । अब त नार्काेनन् थाहा नपाउने कोही छैनन् होला होकि ?
– म पैंतालीस वर्षको पनि थिइनँ, तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला र आईजीपी ओमविक्रम राणाले षड्यन्त्रमूलक ढङ्गले कायरताका साथ मलाई अवकाश दिलाए, त्यो पनि डीआईजी पद खाली राखेर । तर मेरा साथी अर्जुनजंग शाही र कृष्णबहादुर थापालाई चाहिँ म्याद थपेर प्रहरीमा राखिरहे । यो घटनाले मलाई मनमा लाग्यो– जसलाई हामी सरकार र अभिभावक भन्छाँै ती मन्त्री, ती आईजीपी, प्रधानमन्त्री र गृहसचिव भन्नेहरू नै पापी हुन सक्दा रहेछन् । मलाई उनीहरूप्रति तीव्र घृणा र आक्रोश जाग्यो । अर्काे मलाई के लाग्यो भने के म मेरै लागि मात्र जागिर खाइरहेको छु ? के मेरो तालिम, क्षमता, अनुभव, विशेषज्ञताको सरकार र देशलाई कुनै महत्व छैन ? यी र यस्ता कुराले मलाई जागिर गएकोमा चित्त दुखेन वल्की जागिरमा रहेर गर्ने रहरका कामहरू बाहिरैबाट गर्ने प्रेरणा जाग्यो । मैले चेलिबेटी बेचबिखन र ड्रग्सविरुद्ध प्रहरीमा रहँदा नै अन्तराष्ट्रमै नाम कमाइसकेको थिएँ । जब म अवकाश भएर बाहिर आएँ तब देखेँ ड्रग्सले स्कुल, कलेज, समाज ध्वस्त पार्दै रहेछ । त्यसपछि म र मेरी श्रीमती पूजा कुँवरले नार्काेनन्मार्फत केही योगदान दिने प्रण ग¥र्याैँ र केही वर्षभित्रै राष्ट्र र अन्तराष्ट्रमा ठूलो विश्वास कमायौँ । म सरकारमा हँुदा तलब र पदोन्नति पाउन काम गर्थेँ भने अहिले पीडितहरूको जीवनरक्षा गर्न । जब मानिसले अरूको भलाइका लागि यसो गर्छु भनेर प्रण गर्दो रहेछ तब नाम र माया पनि आफँै आउँदो रहेछ ।
० यदि तपार्इं त्यस समय डीआईजी भएको भए सायद आईजीपी पनि हुनुहुन्थ्यो होला ? आईजीपी नै भएको भए के गर्नुहुन्थ्यो होला ?
– मैले कल्पना गरेअनुसारको आईजीपी २०४० सालपछि त देख्न पाइनँ । एउटा आईजीपीमा सबैभन्दा पहिले म यो समाजलाई कस्तो स्तरको सुरक्षा दिन्छु र त्यो सुरक्षा के–के रणनीति अपनाई हासिल गर्दछु भन्ने विषयमा आफ्नै दिमागमा एउटा स्पष्ट भिजन हुनुपर्छ । कल्पनै नभएका र त्यो कल्पना हासिल गर्ने भिजन नै नभएका आईजीहरू त्यो पदमा पुगेपछि हुरीको कागजस्तै हुन्छन् । निश्चित रूपमा यस विषयमा म अलग्गै छवि बनाउँथेँ । दोस्रो, एउटा आईजीपीका मुनि रहेका करिब ७० हजार प्रहरी फौज, हात–हतियार, गाडीलगायत सम्पूर्ण स्रोत र साधनलाई समय र आवश्यकताअनुसार परिचालन गर्न सङ्गठन तालिकामै फेरबदल गरी मानव परिचालन गर्ने क्षमता हुनुपर्छ । आफूसँग रहेका मानिस र साधनलाई आईजीपीले लक्ष्य प्राप्तिका लागि अनेकौँ प्रकारले परिचालन गर्नुपर्छ । धेरै आईजीपीहरू केवल सनातनदेखि चलिआएको सङ्गठन तालिकालाई परिवर्तन गर्ने दक्षता राख्दैनन् ।

म यस क्षेत्रमा बिल्कुल नयाँ काम गर्थें । तेस्रो प्रहरीको लक्ष्य जनतालाई सुरक्षित महसुस भएको विश्वास दिलाउने हो । डन, अपराधी, आतङ्कवादी, फटाहा, दलाल र काम गरी खानेहरूलाई दुःख दिनेहरूको प्रहरीको नाम सुन्दा नै सातो जानुपर्छ । यस्तो सातो अपराधीहरूको गएको मैले देखिनँ । यदि म प्रहरी प्रमुख भएको भए यो क्षेत्र पछिसम्म सम्झने बनाउँथेँ । त्यस्तै, प्रहरीलाई समाजले सहयोग नगरी सफलता मिल्दैन ।

स्कुल, कलेज, क्लब, सामाजिक क्षेत्रसँग टाई अप गरी म प्रहरी कार्यमा सहयोग लिने बृहतु काम गर्थें । प्रहरीहरूको वृत्ति विकासमा खाली भएको पद पन्ध्र दिनभित्र र सरुवा चक्राकार प्रणलीको बनाउँथेँ जहाँ सबका सबले दुर्गमदेखि प्रशासनिक इकाइ र फिल्डमा जानैपर्ने बाध्यता हुन्थ्यो र कामको मूल्याङ्कनको विशेष व्यवस्था गर्थेँ । प्रहरी कर्मचारीमा उच्च नैतिकता ल्याउने कार्यक्रम चलाउँथेँ । सरकारमा यदि कृष्णप्रसाद सिटौलाजस्ता नै गृहमन्त्री भएका भए पनि मेरो काम देखेर तिनले नाक फुलाउने र यी हाम्रो सरकारले गरेको काम भन्दै फुर्ती लाउन सक्ने र चुनावमा मैले गरेको काम भन्दै भाषण गर्न सक्ने बनाइदिन्थेँ । अरूभन्दा म प्रहरी सेवाको क्षेत्रमा केही न केही त अविस्मरणीय काम गर्थेँ भन्ने लाग्छ ।

० तपाईंहरूजस्तो अन्तराष्ट्रमै ख्याति कमाएका ड्रग्स व्यवस्थापनका विशेशज्ञहरूलाई प्रहरी र सरकारले उपयोग गरी फाइदा लिएका छैनन् ?
– म र मजस्तै थुप्रै विभिन्न क्षेत्रमा अन्तराष्ट्रमा ख्याति कमाएका सयौँ व्यक्ति नेपालमा छन् । के तिनीहरूमध्ये कसैको राज्यले दिमाग प्रयोग गरेको देख्नुभएको छ ? सायदै होला त्यो पनि कुनै दलमा चन्दा दिएको वा झन्डा बोकेको व्यक्ति भए । मैले अवकाशपछि आफूले काम गरेको सङ्गठनमा गई कमसेकम नेपालको ५६ लाख धुरीमा ड्रग्स के हो भन्ने सानो पम्प्लेट टाँसौँ न । पम्प्लेट म जुटाउँछु प्रहरीको नेपालभरि सङ्गठन छ बाँडौँ न भनेँ । त्यस्तो पवित्र काम पनि हुन दिएनन् । वल्लवल्ल गृहसचिवस्तरको निर्णय गराई यो कार्यक्रम लागू गरियो, तर तत्कालीन आईजीपी कुवेर राना र डीआईज. राजेन्द्रसिंह भण्डारी तथा सुरेन्द्रबहादुर शाह मिली यसलाई रोके । ४३ जिल्लासम्म केही गरियो, त्यसपछि उहाँहरूले शक्ति देखाउँदै रोके । तिनले त्यो रोकेर के पाए ? किन रोके ? के ड्रग्सको माफियालाई मद्दत गर्न यसो गरे ? मैले बुझ्न सकिनँ । एउटा आईजीपीलाई कसैले ड्रग्सविरुद्धको पम्प्लेट घरघरमा बाँड्छु मद्दत पाऊँ भन्दा त उनी खुसी पो हुनुपर्ने हो, तर रानाले त रोके । एकपटक एउटा गृहमन्त्रीलाई मैले तिनको नजिकको मान्छेमार्फत ड्रग्स रोक्ने बृहत् योजना पठाई यो काम गर्दा मन्त्रीज्यूलाई जस मिल्छ भनेँ, तर केही दिनपछि ती नजिकका मान्छेले मलाई भने कि कुरा सकारात्मक नै छ, तर मन्त्रीज्यूलाई चाहिँ कति आउँछ ? म त छक्कै परेँ । जुन मन्त्रीको जिम्मेवारीमै ड्रग्स रोक्ने काम परेको छ उनले त मलाई धन्यवाद दिँदै चियामा पो बोलाउनुपर्ने, तर सायद उनलाई बेस्सरी डलर आएछ कि क्या हो भन्ने पो परेछ । प्रशासनमा रहेका व्यक्तिहरूमा पनि ज्ञान कम घमन्ड बढी र म आफैँ अरूभन्दा जान्ने–सुन्ने छु भन्ने परेको पाइन्छ । त्यसैले सकारात्मक र सेवामुखी सोचका अधिकृत वा जनप्रतिनिधि ठाउँमा नभएसम्म हामीले न राज्यका लागि केही गर्ने मौका पाउँछौँ न राज्यले हामीलाई कदर र प्रयोग गर्ने क्षमता नै राख्छ ।
० वास्तवमा ड्रग्समा नेपालको स्थिति कस्तो छ ?
– दक्षिण एसियाका अफगानिस्तान, पाकिस्तान, बंगलादेश र भारतको तुलनामा नेपाल ड्रग्सका दृष्टिले जोखिममा छैन । भुटान भने ड्रग्स नियन्त्रणमा धेरै हदसम्म सफल मानिन्छ । श्रीलंका गएर मैले अध्ययन गर्न पाएको छैन । माल्दिभ्समा पनि प्रकोप बढ्दै छ । नेपालमा कसैले मानुन् वा नमानुन् ड्रग्सबारे सचेतना जगाउन नार्काेनन् नेपालको ठूलो भूमिका छ । नियमित टेलिभिजनबाट कार्यक्रम चलाउनेदेखि पचहत्तरै जिल्लामा पुगी जनचेतना जगाउने, हजारौँ स्कुल–कलेजमा पढाउनेदेखि पत्रपत्रिकामा तथा एसएमएसद्वारा जानकारी गराउनेजस्ता काम नार्काेनन् नेपालले नै व्यापक मात्रामा गरेको छ ।

मलाई लाग्छ– नेपालमा ड्रग्स भयाभह हुन नदिन हामीले सरकार तथा दातृसंस्थाबाट एक रुपैयाँ नपाए पनि आफ्नै प्रयासमा महत्वपूर्ण काम गरेका छौँ । प्रहरीहरूले ड्रग्स खाएपछि मात्र थाहा पाउँछन्, खानै नदिने बनाउनका लागि समाजकै भूमिका ठूलो हुन्छ । यदि नार्काेनन् नभएको भए सायद नेपालमा केही त फरक अवश्य नै पथ्र्याे होला जस्तो मलाई लाग्छ ।
० तपाईं उच्च तहको प्रहरी नेतृत्वमा पुगेको भए ड्रग्स व्यवस्थापनको क्षेत्रमा के गर्नुहुन्थ्यो ?
– यो कार्यमा म गृह मन्त्रालयलाई स्पष्ट कार्यक्रमसहित एउटा सशक्त योजना दिन्थेँ र नेपालमा त्यो योजना कार्यान्वयन भएपछि कम्तीमा दक्षिण एसियाका देशहरू नेपालले ड्रग्स रोक्न गरेको मोडेल अध्ययन गर्न आउने बनाउँथेँ । ड्रग्सलाई नियन्त्रण गर्न ज्यादै सजिलो छ । नखाएकालाई खान नदिने, खाएकालाई चिन्ने, चिनेकालाई उपचारमा लैजाने, उपचारबाट फर्किएकालाई फेरि खान नदिने र बेचबिखन तथा ओसारपसार, उत्पादन, सञ्चय गर्नेविरुद्ध कडा कदम चाल्ने । यो बृहत् योजना गृह मन्त्रालयको नेतृत्वमा सञ्चालन गर्दा एउटा सशक्त नतिजा आउने कुरामा मलाई कुनै शङ्का छैन । हामीजस्तो एउटा साधारण व्यक्ति जोसँग न फौज छ, न गाडी, न हतियार न कानुनी अधिकार, न युनिफर्म, न ७५ जिल्लामा आफ्ना कार्यालय, न सञ्चार नै त्यस्ता एक्ला व्यक्तिले त नार्काेनन् भन्ने एउटा साधारण सामाजिक संस्थामार्फत यतिसम्मको काम गर्न सक्दोरहेछ भने राज्यकै संरक्षणमा देशभरको स्रोत–साधन परिचालन गर्न सक्ने ठाउँमा म आफू पुगेको भए त के गर्थेँ होला ? मलाई कहिलेकाहीँ यस्ता कुराले भने पीडा दिन्छ किनकि मैले योग्य हुँदाहुँदै पनि माथिल्लो पदमा पुगी देशका लागि ठूलै काम गर्ने मौका पाइनँ ।
० यस्तै सोच भएकाहरू आईजीपीमा किन आएनन् होला ?
– सबैभन्दा पहिले जो व्यक्ति प्रहरी प्रमुख हुनुहुन्छ, उहाँहरूले म जनताका लागि प्रहरी प्रमुख भएको हँु र भगवान्ले मलाई जुन पद दिएका छन् त्यो पद भगवान् आफँै धर्तीमा आई दीनदुःखीको मद्दत गर्न नसक्ने हुनाले प्रतिनिधिको रूपमा मलाई फुली दिएर सेवा गर्ने मौका प्रदान गरेका हुन् भन्ने कुरा नबुझेसम्म त्यस्ता प्रहरी प्रमुखले सेवा गर्नै सक्दैनन् । पहिला यो कुरा बुझ्नुपर्छ कि जो व्यक्ति आईजीपी भएका छन्, उनीहरू के सर्तमा र कुन प्रकारले त्यो पदमा पुगेका छन् । यदि उनीहरू राजनीतिक दलको स्वार्थ पूरा गर्ने सर्तमा, व्यापारीहरूको सहयोग लिई पैसा तिरेर, त्यो पदमा पुगेका छन् भने भने त्यस्ता प्रहरी प्रमुखबाट नागरिकले सेवाको अपेक्षा गर्नु बेकार हुन्छ ।

यी व्यक्तिहरू केवल फाइदा बटुल्न र फाइदा पु¥याउन मात्रै त्यो पदमा आएका वा ल्याइएका हुन्छन् जसले आईजीपी हुनुको वास्तविक अर्थ नै बुझेका हँुदैनन् । उनीहरू केवल जागिर जोगाउन र सरुवा–बढुवा गर्ने कार्यमै समय बर्बाद गर्दछन् । यस्ता व्यक्तिबाट नागरिकले सोचेजस्तो प्रहरी सेवा पाउन असम्भव छ ।
० तपाईंले प्रहरीमा हाल भएको आईजीपी नियुक्ति प्रकरण देख्नुभएको छ । लौ त भनौँ भने त त्यहाँ भाँडभैलो नै भएको देखियो । यसमा तपार्इंको धारणा के छ ?
– यो जम्मै समस्या सिनियर व्यक्तिलाई प्रहरी प्रमुखमा नलगेकै कारण आएको हो । सशस्त्रमा एउटै ब्याचका भए पनि सिनियरलाई दिएका कारण त्यहाँको प्रशासन स्मुथ्ली चलेको छ । सुरक्षा फौजमा एउटै ब्याचको भए पनि सिनियर दाइने बस्छ । त्यो भनेको उसको नेतृत्वलाई अरूले स्वीकार गर्ने आदत बसाएको हो । यदि सिनियर सक्षम छ भने फौजमा त्यसैलाई माथि लानुपर्छ किनकि त्यो व्यक्तिले प्रहरी महानिरीक्षकमा उक्लिने पदमा पुगुन्जेल धेरैवटा परीक्षाबाट माझिएर त्यहाँ पुगेको हुन्छ । अहिले प्रहरीमा नवराज सिलवाललाई सरकारले खुरुक्क आईजीपी बनाइदिएको भए त्योभन्दा तलका एआईजीलगायत तल्लो तहसम्म पदोन्नति भइसक्थ्यो । सबै मिली प्रदेशमा आईजीपी रहने केन्द्रमा डीआईजी रहने व्यवस्था बनाएका भए त्यो ब्याचका सबै आईजीपी पनि भइसक्थे । तर न सरकारलाई धैर्यता भयो न माथि उक्लन चाहने एउटै ब्याचका मुनिका साथीहरूलाई नै । सबैलाई पद्धति मिचेर भए पनि माथि ल्याउन र जान हतार भयो । अब त स्थिति यस्तो छ कि भएकाहरू नवराज फर्केला कि त्यसलाई कसरी रोक्ने भन्नेमै तर्सेर कसरी सिलवाललाई रोक्ने होला भनी षड्यन्त्रका तानाबाना बुनेर बसेका छन् ।

जो भए तिनलाई कसरी अडौँ भन्नेमै चिन्ता छ, जो भएर पनि फेरि तल झर्नुप¥यो तिनलाई फेरि कसरी उक्लिऊँ भन्ने चिन्ता छ । जो अदालतमा गएका छन् उनलाई कसरी मुद्दम जितौँ र जो हुँदै भएनन् तिनलाई कसरी छिटो एआईजी बनौँ भन्ने चिन्ता छ । तलकालाई माथिका झगडाले गर्दा हामी बर्बाद भयौँ भन्ने गुनासो छ । प्रहरीमा यो समय इतिहासकै सबैभन्दा दुःखद र घातक अक्षरले लेखिने समय हुनेछ । यो घटनाले प्रहरी सङ्गठनको परम्परा, वृत्ति विकास, चेन अफ कमान्ड र अनुशासनमा ज्यादै नराम्रो अराजकता ल्याउनेछ ।
० आखिर सरकारले यस्तो विवाद आउने काम किन ग¥यो होला ?
– तपाईं के कुरा बुझ्नुहोस् भने चाहे प्रहरीमा होस्, सशस्त्रमा वा सेनामा होस् वा प्रशासनमा यदि परम्पराअनुसार हुनुपर्ने कुरा भएन र नहुनुपर्ने कुरा भयो भने ठान्नु होस् त्यहाँ पैसा वा राजनीतिक स्वार्थ जोडिएको छ । जबजब चुनाव आउँछ राजनीतिक दललाई पैसा र सुरक्षा फौज अनि प्रशासनको फेवर चाहिन्छ । त्यति वेला जसले पैसा दिन्छन् र राजनीतिक स्वार्थ पूरा गर्न वचन दिन्छन् प्रायः त्यसैलाई माथि ल्याउन प्रयास गरिएको देखिन्छ । हामीले विगतमा हे¥यौँ भने पनि महानिरीक्षकहरूलाई अप्राकृतिक रूपले माथि तान्ने वा पजनी गर्ने कार्य चुनाव आएको बेलामा र सरकार परिवर्तन भएको बेलामा नै भएको छ ।

आज सुरक्षा फौजमा कसैलाई चुनावको मुखमा प्रचलनमै नरहेको प्राक्टिस गर्दै यदि कसैलाई म्याद थपेर वा तलकालाई माथि तान्ने काम भएको छ भने बुझे हुन्छ त्यहाँ पैसा र चुनावको फेवर जोडिएको छ । त्यहाँ केही गोलमाल छ । गोलमाल नभए फौजको परम्परा किन तोडिन्छ ? के तिनलाई त्यो पदमा नलैजाँदा मुलुक नै ध्वस्त हुने वा फौज नै ध्वस्त हुने अवस्था थियो र ? यस्तो गोलमाल अवस्थामा व्यावसायिकता र परम्पराभन्दा पनि पैसा र दलको फाइदा हेरिएको हुन्छ र लोभीपापी फौजका सदस्यहरू जो परम्परा नै तोडेर भए पनि हरप्रकारका सम्झौता गर्दै त्यो पदमा उक्लेका हुन्छन् तिनले समाज, जनता र मातहतका सदस्यबाट भने सम्मान त प्राप्त गर्दैनन्, तर उक्लन सक्छन् ।

जब सत्तामा भएमा राजनीतिक दल र सुरक्षा फौजमा रहेका स्वार्थीको भेट हुन्छ तब हुने नहुने र नहुने हुने वा अप्राकृतिक निर्णय देखिन पुग्छ । त्यही भएको हो अहिले जताततै । यसै कारण हुन्छ विवादित निर्णय ।
० यदि प्रहरीमा विवादित वा अप्राकृतिक निर्णय भएको हो भने त्यसले अब सङ्गठनमा कस्तो प्रभाव पार्छ ?
– भयङ्कर नराम्रो असर पर्छ । अब प्रहरी कर्मचारीहरूको बढुवा फ्री स्टाइल कुस्तीजस्तै हुन्छ । अब हेर्नुस् हरेक पदमा सबैले प्रमोसन हुन कोसिस गर्नेछन् र पैसाको ठूलो खेल हुनेछ । सरकारलाई निर्णय गर्न पनि यति गाह्रो हुनेछ कि आईजी काण्डमा महाअभियोग प्रयोग भएझैँ सरकार नै ढल्न पनि सक्छ । एउटै समूहका सबैले कसैले कसैलाई नमानेपछि अनुशासन खत्तम हुन्छ र हुनसक्छ सरकारका साझेदार दलहरूले प्रधानमन्त्रीको समय तोकेजस्तै आईजीपीहरू पनि समय बाँडेर सम्झौता गरी जागिर खानेछन् । हुनसक्छ भएका आईजीसँग पहिले राजिनामा लेखाएर लिइएको पनि हुन सक्छ । यदि किस्तामा आईजीपी भएका छन् भने बुझे हुन्छ तिनले खर्च गरेरै आईजीपी भएका छन् ।

त्यो खर्च तलब र घर बेचेर दिन सकिन्न तब बुझे हुन्छ त्यहाँ व्यापारी वा आपराधिक कार्यको पैसा छ । यदि व्यापारीले दिएको छ भने बुझे हुन्छ प्रहरी सङ्गठनबाट त्यसले ठूलै फाइदा लिँदै छ । यदि अपराधीबाट लिएको छ भने बुझे हुन्छ प्रहरी महानिरीक्षक हुनेले अपराधीलाई संरक्षण गर्नुपर्छ । यस स्थितिमा भएका आईजीपीले अर्काेलाई आउन नदिन षड्यन्त्रमूलक कार्य गर्न पनि सक्छन् । यस्ता सम्झौता गरी आएका आईजीपीहरूलाई सरकारबाट जागिर जोगाउन र पैसा चलाएकाहरूको पैसा उठाउन नै समय हुँदैन ।

आमजनताका बारेमा यिनले सोच्न पनि सक्दैनन् र पूरा सङ्गठन भाँडभैलो हुनेछ । यस्तो सोच्नुपर्दा मनै खिन्न हुन्छ । त्यसैले फौजको कमान्डर परम्परा र प्राक्टिसअनुसार सिनियरलाई दिँदा यी सब विकृति आउने सम्भावना कम हुन्छ भन्ने सुझाव दिन मन लाग्छ ।
० ड्रग्सविरुद्धको अन्तर्राष्ट्रिय दिवस जुन २६ आउनै लाग्यो । यसपटक के–के हुँदैछ ?
– हामीले आफ्ना संस्थाका तर्फबाट त्यस अवसरमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरिसकेका छौँ । तर, यो दिन संयुक्त राष्ट्रसङ्घको आह्वानमा सरकाले नै विशेष कार्यक्रम गर्ने दिन हो । सरकारले दिएको कार्यक्रमहरू सफल पार्न नार्काेनन्जस्ता संस्थाले आ–आफ्नोतर्फबाट प्रयास गर्ने हो । नार्काेनन्लाई गत दुई वर्ष गृहले बोलाएर मिटिङमा राखेन । त्यसैले मैले चाहेर पनि विचार राख्न पाइनँ, तर यस वर्ष भने म पनि बोलाइएको छु र आफूलाई लागेको विचार दिएको छु । अहिले गृहमा लागूऔषध नियन्त्रणको प्रमुख भएर एकजना केदार न्यौपाने नामका सहसचिवज्यू आउनुभएको छ ।

उहाँमा ज्यादै सकारात्मक सोच रहेछ । नेपालमा कसरी ड्रग्स रोक्न सकिएला भन्नेबारेमा उहाँमा चिन्ता र चासोको भावना रहेछ । उहाँले नै यस वर्ष सरकारको कार्यक्रम बनाउने समूहमा मलाई पनि कुरा राख्ने अवसर दिनुभयो । उहाँलाई देख्दा मलाई लाग्न थाल्यो– प्रशासनमा पनि सकारात्मक र सेवाका भावना भएका अधिकृतहरू रहेछन् । म ज्यादै थोरैलाई मात्र साँच्चिकै मनबाट सम्मान गर्छु । त्यसमध्ये एक उहाँ पनि पर्नुभएको छ । मलाई लाग्छ यी व्यक्ति त्यस स्थानमा वा गृहको निर्णय गर्ने पदमा रहिरहे ड्रग्सविरुद्ध नेपालमा ठूलै अभियान चल्न सक्छ र नेपाल दक्षिण एसियामै यस क्षेत्रमा उदाहरण हुनसक्छ । यसपटक जुन २६ को कार्यक्रम उपलब्धिपूर्ण र भव्य हुन्छ भन्ने मलाई लागेको छ ।
० अन्तमा…?
म यही भन्छु कि ठूलो मान्छे ठूलो पद पाएर र कुलमा जन्मेर मात्र हँुदैनन्, वल्की ठूलो हुन ठूलो समूहलाई फाइदा हुने काम गर्नुपर्छ । आज धेरै मान्छे आफू र आफ्ना परिवारका बारेमा सोच्दै जीवन समाप्त गर्दछन् । आफू बस्ने समाज र देश सुरक्षित र सभ्य नभए त्यसले आफ्नै जीवनमा के–कस्तो प्रतिकूल असर गर्छ भन्ने बुझ्दैनन् । त्यसैले हामी जे–जस्तो भए पनि छोराछोरीलाई समाजका लागि पनि केही गर्न प्रेरणा दिनुपर्छ र नैतिकतामा अड्न प्रेरित गर्नुपर्छ । यही नैतिकताको कमीले नै मानिसलाई अपराधी, दुव्र्यसनी, भ्रष्ट, षड्यन्त्रकारी बनाउँछ र यी प्रवृत्ति बढे देश बस्नसमेत लायक हुँदैन । समाज कसरी बस्न लायक बनाउने ? यो कुरामा हरव्यक्ति चिन्तित हुनुपर्छ किनकि नेपाल क्रमशः अराजकतातर्फ गइरहेको छ । समाज विभाजित र संवेदनहीन हुँदै गइरहेको छ ।

ठूला–ठूला पदमा पुगेकाहरू नै भ्रष्ट भइरहेका छन् । उनीहरू आफ्नै लागि मात्र सोच्ने भएका छन् । स्वार्थ, षड्यन्त्र, ठगी, फटाई बढ्दै गइरहेका छन् र अपराधीहरू प्रभावशाली हुँदै गएका छन् । सरकारी मेसिनरीको पकड ढिलो हुँदैछ भने राजनीतिक दल केवल दलकेन्द्रित भइरहेका छन् । मुलुक टुक्र्याउनुपर्छ भन्नेसमेत सक्रिय छन् भने जातीय राज्य बनाउन तम्सने पनि उफ्रेका छन् । यो स्थितिमा एउटा सभ्य, सुरक्षित र आफू बस्न लायक नेपाल बनाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान गरौँ । घटना र विचारबाट

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan